धेरै वर्षअघिको कुरा हो, छोरीहरूलाई शिर उठाएर बोल्न, हिँड्न र बाँच्न मनाही थियो, त्यसमाथि बुहारीहरूलाई घुम्टो खोलेर!
समाज त्यस्तै भएपनि बुवाले भने छोरीलाई पढाउनुपर्छ भन्ने सोच्थे।
रौतहटको सेरवा– ब्रह्मपुरी गाउँमा रहेको स्कुलमा रिता कुमारी मिश्र र उनकी दिदीले पाँच कक्षासम्म पढे। त्यसपछि पढ्न सदरमुकाम गौर जानुपर्ने भयो।
उनका बुवाले एकदिन गौर गएर ‘त्यहाँको एक हाई स्कुलमा उनीहरूको भर्ना गरिदिए।
उनका दिदी बहिनी फुर्किँदै आफ्ना सामान प्याक गर्न थालेका थिए। मनमा नयाँ स्कुलको नयाँ नयाँ चित्र बन्दै थिए, उनीहरूको खुट्टा भुँइमा थिएन।
तर गाउँमा त अर्कै हल्लाखल्ला मच्चियो।
उनका बुवा विरूद्ध गाउँको पञ्चायतीमा उजुरी परेको रहेछ। बुजुर्गहरू जम्मा भए। उनी भने घरमै बसिरहेकी थिइन् । पञ्चायतीमा बुवा गएका थिए। उनलाई बुवाले सबैलाई सम्झाएर आउँछन् भन्नेमा ढुक्कै थियो।
तर केहीबेरमा उनका स्कुले मित्र आइपुगे ।
‘पञ्चायतीमा त हंगामा भएको छ,’ ती साथीले उनलाई भने,’ तिमीहरूलाई गौरमा पढ्न जान दिन्छन् जस्तो छैन ।’
बाहिर पढ्न पठाएमा छोरीहरू बिग्रिन्छन् र समाजको नाक काटिन्छ भन्ने जिकर गर्दै उजुरीकर्ता काका/ठूलाबाहरूले उनको बुवाको हुर्मत लिएछन्।
त्यसपछि उनी जुरूक्क उठिन्।
‘त्यतिबेला साथीले पञ्चायतीको खबर ल्याएपछि म रिसले जुरूक्क उठेकी थिएँ। मैले आँखै देखिन। उठेर पञ्चयती पुगेँ। जबकी त्यहाँ महिलालाई जाने अनुमति थिएन,' उनले सम्झिइन्, 'मलाई त डर पनि लागेन। सक्ने जति सबै कुरा सुनाएँ।'
छोरीमान्छेले आएर किन पढ्न नपाउने भन्दै प्रश्न गरेको देखेर पञ्चायती अवाक भयो, यता घरमा आमा, दिदी र काकीले भने उनलाई झपारे। छोरीलाई अदब नसिकाएको भनेर आफैले गाली खाइन्छ कि भन्ने डरमा थिइन् आमा।
अहिले तिनै मिश्र जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख भएकी छन्। उपप्रमुख मिश्र त्यो घटना सम्झँदा अचेल मुस्कुराउँछिन्। धन्न पञ्चायतीमा पुगेर आफ्ना कुरा राखेछु भन्ने लाग्छ उनलाई।
उपमेयर स्थारनीय सरकार अन्तर्गत न्यायिक समितिको संयोजक हुन्छ।
न्यायिक समिति भनेको गाउँ र टोलको पञ्चायती जस्तै हो तर वैधानिक अदालत।
अहिले उनी उपमहानगरपालिकाको भरका मुद्दा मामिलामा न्याय / अन्याय छुट्याइ हेर्छिन्।
न्यायिक समितिमा फौजदारी बाहेक सामान्य मुद्दाहरू पर्छन्। त्यहाँ अदालतमा न्यायाधीशले जस्तै न्यायिक समितिका संयोजकले पक्ष विपक्षको कुरा सुनेर निष्पक्ष ढंगले फैसला सुनाउनुपर्छ ।
उनी सानै हुँदा जस्तै त समाज पनि छैन।
उनलाई जिताएर उपमेयर यही समाजका मानिसले बनाएका हुन्।
तर पुरै फेरिएको पनि छैन समाज। अझैपनि महिला भएकै कारणले उनले अनेक कुरा सुन्नु नै पर्छ।
किन भने अहिले पनि मुद्दा मामिलामा महिलाको संलग्नता निर्णायक मान्न समाजलाई हम्मे पर्छ। जस्तो पहिले उनी स्कुल जाँदा गाउँलेलाई हम्मे परेको थियो।
बरू त्यो बेला बुवालाई घेरेका पञ्चायतीले उनी पुगेपछि उनका कुरा सुन्न बाध्य भएका थिए।
‘पञ्चायतीमा मेरो उपस्थितिले ठुलाबाकाकाहरूको सोच नै बदलिएको थियो। हामी समाजकै राजीखुसीमा घरबाट करिब १५ किलोमिटर टाढा गौर गएर हाईस्कुल विद्यालयमा पढ्न पायौं,' उनले भनिन्।
स्कुल पढ्न जान पञ्चायती मनाउन जति गाह्रो थियो, उपमेयर भएर आएपछि न्यायिक समितिमा बसेर न्याय गर्छु भन्ने विश्वास दिलाउन पनि त्यतिकै गाह्रो भएको थियो।
सुरूमा उनी न्यायिक समितिको संयोजकको रूपमा उपमहानगरमा पस्दा उनलाई कसैले पत्याएका थिएनन्।
नगरमा न्यायिक समिति गठन भैसकेको थियो तर महिनौंसम्म कुनै उजुरी नपर्ने। स्थानीयहरू सानातिना विवादसमेत प्रहरी वा प्रशासनमा लिएर जान्थे।
उजुरी लिएर आफूकहाँ आउनुपर्ने स्थानीयहरू जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा धाउँछन् भन्ने सुनेर उनलाई खुब नरमाइलो लाग्यो।
उनले सोचिन् - अब कुरा गर्छु।
उनले सिडिओ र जिल्लाका प्रहरी प्रमुखलाई बोलाइन्। आफ्नो क्षेत्राधिकारकमा मुद्दा नगरपालिकामा पठाइदिन भनिन्। उनीहरूसँगको समन्वयले काम गर्यो।
प्रहरी र प्रशासनमा परेकामध्ये नगरपालिकाले हेर्न मिल्ने उजुरीहरू समितिमा पठाइदिन थाले।
‘विस्तारै आक्कल झुकल महिलाहरूको उजुरी हामी कहाँ पर्न थाल्यो,’ उनले भनिन्।
दुवैपक्ष छलफलका लागि बसेपछि विवादकै परिस्थिति सृजना हुन थाल्यो। न्यायिक समितिमा उजुरी आए दुईदिन त्यही विवाद मिलाउनै समय सकिन्थ्यो।
उपप्रमुख मिश्र कानूनका सबै प्रक्रिया बारे अहिले पनि पूर्ण रूपले जानकार भई सकेकी छैनन्। आफुले गरेको निर्णयमाथि कसैले प्रश्न नउठाओस भनेर कानूनी सल्लाहकारका रूपमा अधिवक्ता विजय प्रताप सिंहलाई समेत राखेकी छिन्।
‘मलाई कानूनको विधि र प्रक्रिया बारे सबै जानकारी हुन्न,’ उनले भनिन् ‘त्यो दुविधा मैले गर्ने फैसला वा निर्णयमा नहोस् त्यसका लागि मैले अधिवक्तालाई कानूनी सल्लाहकार राखेकी हुँ।’
न्यायिक समितिका संयोजकलाई न्यायको अवधारणा, तथ्य बारे जानकारी भएपनि न्याय गर्दा कुन कानूनको आधारको त्यहाँ आवश्कता छ भन्ने कुराको अवगत पनि हुनुपर्ने मिश्रका कानूनी सल्लाहकार सिंहले बताए।
संयोजक मिश्रका अनुसार समितिमा अहिले घर जग्गा विवाद र पति पत्नीबीचको विवादसम्बन्धी धेरै उजुरीहरू पर्ने गरेका छन्।
‘उजुरीकर्ता र आरोप लगाईएका दुबै पक्षलाई बोलाई दुबैको कुरा सुनेर निष्पक्ष ढंगले फैसला सुनाउँछौं,’ उनले भनिन्।
उपमेयर भएर आफूले धेरै काम गर्न बाँकी रहेको महसुस हुने उनले बताइन्। सबभन्दा बढी त उनलाई बाल्यकालमा आफूले मनमनै गरेको वाचा पुरा गर्नु छ।
उनलाई त उनका बुवाले पढ्न पठाएका थिए। तर गाउँले दिदीबहिनी पढ्नबाट बञ्चित थिए। त्यस्तो कुरा उनलाई चित्त बुझ्दैनथ्यो।
उनका बुवा स्थानीय विकास अधिकारी थिए। बेलाबेला सरूवा भइरहन्थ्यो। सानै हुँदा उनी पनि बुवा जता जान्छन् त्यतै जान्थिन्।
विशेष गरि पहाड र पहाडि समुदायका मानिस भएको ठाउँमा पुग्दा उनले मधेसीमाथिको विभेद भोग्नु परेको थियो।
मर्स्या, काली, धोती लगायतका शब्दले उनीहरूलाई मानिसहरू बोलाउँथे। यस्ता शब्द उनलाई अपशब्द जस्तै लाग्थ्यो, सुन्न समेत गाह्रो लाग्ने। मानिसहरू यस्तो किन भन्छन् भनेर उनले सुरूसुरूमा बुवालाई सोधेकी थिइन्।
मधेशीलाई पहाडका मानिसहरूले अर्कै सम्झिन्छन्। उनीहरूले जे भने पनि तिमीहरू मुख नलगाउनु भनेर बुवाले सम्झाउनु हुन्थ्यो,' उनले भनिन्।
बुवाले पहाडिलाई जति अधिकार मधेसीलाई छैन पनि भनेका थिए। उनको बालमस्तिस्कले बुवाको कुरा सुनेर नराम्रो मान्यो।
उनलाई अझै याद छ उनले मनमनै त्यतिबेला वाचा गरेकी थिइन्- म ठूली भएपछि महिलाले पढ्न नपाउने कुरा र मधेसीलाई हेप्ने कुरा बन्द गरिदिनेछु। म ठूली हुँदा यी सबले महिला र मधेसी भएकोमा हाइहाइ गर्ने छन्।
हुन त उनले यो वाचा अहिलेसम्म विर्सिएकी छैनन्। तर जब उनी २० पुगिन् जिन्दगीले अर्को बाटो समात्यो।
२० वर्षको उमेरमा उनको विहे भयो। एसएलसी सकिसकेकी थिइन्।
तराई मधेशमा छोरी विवाह गरेर ससुराली गएपछि घुम्टोमा बस्नुपर्ने हुन्थ्यो चलन त्यो बेला निकै कडारूपमा लागु हुन्थ्यो।
बिना ईजाजत कोही कसैसँग बोल्ने छुट हुन्नथ्यो, झन् कथित उच्च जातका छोरी बुहारी त घर बाट निस्किनु नै हुन्न भन्ने थियो। रिताले पनि यी रित मान्नै पर्यो। ससुरालीमा अन्य महिला जस्तै उनी पनि घुम्टो ओढेर बसिन् ।
विवाहको केही दिनमै उनको परिवार गाउँबाट बसाई सरेर जनकपुरमा स्थापित भए।
‘परिवार सहरमा आईपुगेपनि मानसिकतामा भने कुनै आधुनिकता थिएन्’ उनले भनिन् ‘जनकपुरमा करिब ५ वर्षसम्म घरमै ‘कनिया’ बनेर बिताएँ।’
उनका पति सरकारी जागिर गर्थे। उनको कमाइले मात्र घर धान्न मुस्किल हुँदै गएको थियो।
रितालाई भने आफूले पनि केही गर्नुपर्छ भन्ने हुटहुटी मनमा थियो। दुख गरी पढेको उनले विर्सेकी थिइनन्। मनमा महिलाले पनि गर्न सक्छन् है भनेर देखाउने आगो जो थियो।
एकदिन उनले पतिसँग सल्लाह मागिन्, 'यहीँ घरकै सटरमा किताब पसल खोल्ने सोचेकी छु मैले। कस्तो हुन्छ? '
पतिले पनि सहमति जनाए। परिवारका अरू सदस्यले पनि रोकतोक गरेनन्। उल्टै गाउँको ५ कठ्ठा जग्गा बेचेर दिन राजी भए। ३/४ लाखसम्मको लगानीमा उनले किताब पसल खोलिन्।
उनले घुम्टो हटाएर पसलमा बस्ने निर्णयमा पुगिन्।
मिश्रका अनुसार, पसल खुलेपछि टोलमा हल्ला चल्यो- बुहारी नै विना घुम्टो पसल चलाउँछिन् रे।
'मैले पसल खोलेको दिन मलाई हेर्न टोलभरीका मानिस जम्मा भएका थिए,' उनले भनिन्, ‘जुन समाजमा बुहारीको मुख हेर्न पैस लिएर जानुपर्थ्यो त्यहाँ म घुम्टो हटाएर पसलमा बसेकी थिएँ, समाजका व्यक्तिहरूले अनौठो मान्नु स्वभाविक थियो।’
उनलाई सुरूको दिन अप्ठेरो भयो रे। त्यतिका मान्छेका नजरमा बस्नु निकै गाह्रो थियो तर परिवार उनको साथमा थियो। उनको हिम्मत बढ्दै गयो।
पतिको सरकारी जागिरबाट आएको पैसा र आफुले चलाएको व्यापारमा भएको नाफाले घर चलाउन निकै सहज हुँदै गयो। छोराहरूलाई पढाउन पनि मुस्किल भएन।
किताब पसलमा बस्ने, पसलको सबै व्यवस्थापन गर्दा रिताको आत्मविश्वास बढीसकेको थियो।
२०६२/६३ साल आयो। त्यतिबेला आन्दोलनको माहोल थियो। पसलमा बसेर उनले सडकको आन्दोलनमा मानिसहरू के भनिरहेका छन् भनेर सुनिन्। त्यो मधेसीको अधिकार प्राप्तिको आन्दोलन रहेछ भनेर बुझिन्।
त्यही बेला उनले आफ्नो बाल्यकालिन बाचा सम्झिइन्। उनले आफूले मधेसी र महिला भएका कारण खेपेका विभेद सम्झिइन्। उनलाई लाग्यो सडकमा त म पनि हुनुपर्थ्यो।
उनले परिवारमा फेरि कुरा गरिन्। श्रीमान् र ससुराको अघि भनिन्- म आन्दोलनमा जान्छु।
उनीहरूले नाइ भनेनन्।
उनका अनुसार जनकपुरधाममा महिलाहरू आन्दोलनमा उत्रिदाँ उनैले नेतृत्व गरेकी थिईन्।
जब उनले आन्दोलनमा जाने निर्णय गरिन्, उनलाई थाहा थियो अरू महिलालाई पनि ल्याउनुपर्छ एक्लै हिँडेर हुन्न।
उनी टोल र बजारका घरघर पुगिन्। महिलालाई सम्झाइ बुझाइ गरिन्। मधेसी महिलाको मनमा बर्षौंदेखि अन्याय र विभेदले दिएको घाउ उनले उक्काइदिइन्।
‘बोल्नमा सुरु देखि नै बाठी थिए म,’ उपप्रमुख रिता भन्छिन् ‘घर घरमा गएर हामीले भोगेको विभेद के हो भनेर संझाएँ। मेरा कुरा सुनेपछि महिलाहरू मसँग सडकमा आउन राजी हुन थाले।'
आन्दोलन सकियो। उनी पुरानै काममा फर्किइन्।
उनको नेतृत्व गर्ने क्षमता पार्टीका नेताहरूले देखिसकेका थिए। उनलाई प्रस्ताव आयो कि उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार पार्टीमा धनुषा जिल्लाको महिला संगठन हेर्न पर्यो।
मधेसी जनाधिकार फोरमको धनुसा महिला संगठनकी प्रमुख भइन्।
यसरी राजनीति गर्ने योजना विनै राजनीतिमा होमिइन्।
पछि पार्टी फुट्यो। उनी महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीमा संलग्न भईन्। अरू मधेसी दलसँग पार्टी एकता भएर राष्ट्रिय जनता पार्टी बन्यो। २०७४ मा भएको स्थानीय तहको चुनावमा उनलाई तत्कालिन राजपा नेपालले उपप्रमुखमा चुनाव लड्नका लागि टिकट दिएको थियो।
राजनीतिमा लागेको झण्डै १० वर्षपछि उनी जनकपुर उपमहानगरपालिकाको उपमेयरमा चुनाव लडिन्। जितिन् पनि।
उपप्रमुख मिश्रलाई अहिले पनि वाल्यकालको त्यो वाचाले झस्काइरहन्छ।
आफू जिम्मेवार पदमा आइपुग्दा पनि समाज परिवर्तनको लागि गर्न पर्ने जति गरेको छैन भन्ने कुरा उनको मनमा छ।
‘राजनीतिमा लाग्दा मैले बाल्यकालमा आफैँसँग गरेको वाचा पूरा गर्नेछु भन्ने ठानेकी थिएँ। त्यो भने अहिलेसम्म पूरा गर्न सकेको छैन,' उनले भनिन्, ‘सुरूमा उपमेयर भएपछि महिलाको हकहितका सबै काम गर्नेछु भन्ने जस्तो लागेको थियो। तर त्यस्तो हुँदो रहेनछ। महिलामैत्री योजना बनाएपनि पास गर्ने ठाउँमा महिला छैनन् अनि गाह्रो हुने रहेछ।'
चुनाव अघि महिलामैत्री उपमहानगर बनाउने भन्दै उनले भाषण गरेकी थिइन्। समाजले बरू महिलाको विषयमा उत्ति चासो दिन्न। तर उनका कान्छा छोराले भने त्यो भाषण सम्झाइरहन्छन्।
‘ममीले चुनावको बेला उपमहानगरलाई महिलामैत्री बनाउँछु सहितका वाचा गर्नु भएको थियो,’ आशिषले सेतोपाटीसँग भने ‘उहाँले गरेका वचन पुरा हुनुपर्छ भन्ने मलाई लाग्छ। कति त पुरा पनि गर्नु भएको छ होला। उहाँले अझ धेरै काम गर्न बाँकी नै छ।'
आफूले आमालाई राम्रो काम गर्दा तारिफ र नराम्रो काम गर्दा यो त भएन है भन्ने गरेको आषिशले बताए।
उपप्रमुख मिश्र अब अर्को तयारी पनि गर्दै छन्। उनले उपप्रमुख हुँदा थाहा पाइन्, नेतृत्वमा नपुगेसम्म महिलाले आफ्नो वाचा पुरा गर्न गाह्रो हुन्छ। समाज बदल्न पनि महिला नै नेतृत्वमा पुग्न पर्ने रहेछ भन्ने उनले बुझिन्।
'जस्तो सुकै महिलामैत्री योजना किन न बनाईदिउँ पास त गर्नेमा पुरूष छ भने उसले बुझ्दैन,' उनले भनिन्,'महिलामैत्रि उपमहानगरको वाचा मैले पुरा गर्न अझ धेरै काम गर्न पर्ने छ। अहिले त महिलाहरू अन्यायमा पर्दा म पनि उनीहरूका लागि मैले काम गर्न नसकेर पो हो कि भन्ने महसुस हुन्छ, नराम्रो लाग्छ। समाज फेरिन त महिलाले नेतृत्व लिनै पर्ने रहेछ।'