चितवनको राप्ती नगरपालिका-१३ स्थित कान्दाका सिंगराम चेपाङ गाउँनजिकै सरकारी कार्यक्रम भयो कि लट्ठी टेकेर पुगिहाल्छन्।
उनको मनभरि अचेल एउटा आश छ- कसैले मेरो उमेर सच्याइदिन सक्छु भनि पो हाल्छ कि!
कोही सरकारी मान्छे भेटे उनी यही आश भरिएका नजरले हेर्छन्। गएर आफ्नो गुनासो सुनाउँछन्।
उनको गुनासो सुने पनि काम गर्दिन्छु भन्ने कोही निस्किएको छैन। आफ्ना दिन घर्किँदै जाँदा नागरिकतामा भएको उमेरले उनलाई हैरान पारेको छ।
उनी विस १९९५ मा जन्मिएका थिए। जन्मले सिंगरामको उमेर अहिले ८२ वर्ष भयो। तर नागरिकतामा उनी ६२ वर्षका भए।
उनका भाइ लालसिंह ७१ वर्षका छन्। नागरिकताअनुसार भाइ लालसिंहको भन्दा दाइ सिंगरामको उमेर ९ वर्ष कम देखिन्छ।
२०४६ सालमा नागरिकता बनाउने टोली गाउँ-गाउँ जाँदा यी दाजुभाइले पनि नागरिकता बनाएका थिए।
त्यतिखेर गाउँतिर जन्ममितिको ठाउँमा उमेर लेख्ने चलन थियो।
‘मैले ५१ वर्ष पुगें भनेको ३१ वर्ष सुनेर त्यही राखिदिएछन्,’ सिंगरामले भने, ‘उमेर ८२ पुगिसक्यो नागरिकताले ६२ भन्दो रहेछ।’
उमेर छँदा सिंगराम नागरिकतामै भए पनि कम उमेर देखेर खुसी नै थिए। खुसी हुनुको पनि कारण छ।
‘त्यतिखेरका मान्छेले बुढो भयो भने मार्छन् भनेर सुनाउँथे,’ उनी भन्छन्, ‘नागरिकतामा उमेर घट्दा राम्रै भएछ कि जस्तो लाग्थ्यो।’
उमेर बढ्दै गएपछि भने सिंगरामलाई नागरिकतामा लेखिएको कम उमेरले धोका दियो।
गाउँका आफू सरहकाले वृद्धभत्ता बुझ्न थाले। आफ्नै उमेरकाले भत्ता बुझ्न थालेको १२ वर्ष हुँदा पनि सिंगराम भने वृद्धभत्ता पाउने उमेर पर्खेर बसिरहेका छन्।
‘त्यतिखेरै याद गरेको भए १२ वर्ष अघिदेखि नै भत्ता पाउने रहेछु,’ उनले भने, ‘बाँचें भने अब ८ वर्ष पछि भत्ता खाने होला।’
उमेर सच्याइदिन उनले सरकारी कर्मचारीदेखि स्थानीय अगुवाहरूलाई धेरै आग्रह गरे। तर २०४६ सालमा बनेको नागरिकतामा ३१ वर्ष उमेर पुगेको लेखिएका कारण सरकारी कार्यालयहरूले पनि उनलाई सहयोग गर्न मानेनन्।
स्थानीय कान्देश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले सिंगरामले आफूसँग पनि नागरिकतामा उमेर गलत भएको गुनासो पटक–पटक गरेको बताए।
२०६३ सालमा तत्कालीन लोथर गाविसको कालिटारमा जिल्ला प्रशासन कार्यालयको शिविर आउँदा पनि थपलिया सिंगरामसँगै त्यहाँ पुगेका थिए।
‘प्रशासन कार्यालयका प्रतिनिधिसँग उहाँले आफ्नो गुनासो राख्नुभयो तर उमेर परिवर्तन गर्न नमिल्ने बरू जेष्ठ नागरिकलाई गाविसले नै भत्ता दिनसक्ने भनेर फर्काइदिए,’ थपलियाले भने, ‘गाविसले यसमा बेवास्ता गर्यो। उहाँले कतैबाट सहयोग पाउनुभएन।’
सिंगरामले वृद्ध अवस्थामा पनि मेहनत गरेर जीवन निर्वाह गरिरहेको बताए।
सिंगराम कान्दास्थित एक खोलाको आडमा पानी घट्ट चलाउने गर्छन्। छिमेकीले ल्याएको मकै, कोदो पिसेर हुने आम्दानीबाट जीवन चलाउन थालेको वर्षौं भयो। खोलाको डिलमा रहेको घट्ट अनि नजिकै रहेको ठूलो ढुंगा मुनिको ओडारलाई बारेर बनाएको कोठामै उनको दैनिकी बित्ने गरेको छ।
उनकी श्रीमती सुकमायाको मृत्यु भइसकेको छ। सुकमायाको तीन वर्षसम्म भत्ता बुझेपछि मृत्यु भएको सिंगराम बताउँछन्।
भाइ लालसिंहले २०४६ सालकै टोलीबाट नागरिकता बनाउँदा उमेर ४० वर्ष लेखिएको थियो। त्यसैले उनी अघिल्लो सालबाटै भत्ता बुझ्न योग्य भइसके।
सरकारले ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई महिनाको तीन हजार रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिने गरेको छ।
जन्मका आधारमा सिंगराम १२ वर्षअघि नै यो भत्ताका लागि योग्य भए पनि नागरिकतामा भएको कमजोरीले उनी हण्डर व्यहोर्न बाध्य छन्।
चितवनको विकट पहाडी क्षेत्रमा मुख्य बसोबास भएका चेपाङ नेपालको अति सीमान्तकृत वर्गमा पर्ने आदिवासी हुन्। विकटको बसाइ र विपन्न अवस्थाका कारण यस क्षेत्रका धेरैले अझै पनि नागरिकतासमेत पाएका छैनन्।
यी बस्तीमा सरकारी निकायको उपस्थिति कम हुन्छ। लामो समय हिँड्नु पर्ने बाध्यताका कारण चुनावको समयमा उम्मेद्वारसमेत पुग्न सक्दैनन्।