नेपालमा पहिलोपटक हिमालयन इन्टरनेसनल स्ट्रोक समिट आयोजना हुने भएको छ।
नेपाल पक्षघात संघले नेपाल स्ट्रोक प्रोजेक्टसँगको सहकार्यमा साउन ३१ गतेबाट सम्मेलनको आयोजना गर्न लागेको हो।
भदौ १ गतेसम्म चल्ने सम्मेलनमा नेपालसहित ११ वटा देशका विज्ञहरूले प्रस्तुति दिने नेपाल पक्षघात संघका अध्यक्ष एवम् वरिष्ठ न्यूरोलोजिष्ट डा. राजु पौडेलले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्ने सम्मेलनको पहिलो दिनको वैज्ञानिक सत्रमा २८ जना अन्तर्राष्ट्रिय र ३२ जना राष्ट्रिय विज्ञहरूले प्रस्तुति दिने डा.पौडेलले जानकारी दिए।
‘जसमा क्लिनिकल प्रगति, अनुसन्धान अद्यावधिक तथा नीतिगत दिशा–निर्देशन लगायतका कुराहरू समेटिनेछन्,’ उनले भने।
त्यस्तै, दोस्रो दिन भने सीपमा आधारित तालिम तथा कार्यशालाहरू हुने जनाइएको छ। जसमा एनआइएच स्ट्रोक स्केल (एनआइएचएसएस) स्ट्रोक अनुसन्धान विधि, थ्रोम्बोलाइसिस, मेकानिकल थ्रोम्बेक्टोमी, बोटोक्स थेरापीका साथै मौखिक र पोस्टरको प्रस्तुतीकरण हुने प्रस्तुति समेत हुनेछन्।
नेपालको स्ट्रोकको वास्तविक अवस्थालाई प्रस्तुत गर्न र यससम्बन्धी चासोलाई उजागर गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको डा. पौडेलले जानकारी दिए।
‘यो सम्मेलनले नेपालमा स्ट्रोकको ताजा अवस्था, निदान र व्यवस्थापनका लागि भएका प्रयासका विषयमा प्रष्ट पार्नेछ,’ उनले भने, ‘यसैगरी नेपालको सात वटै प्रदेशमा स्ट्रोकको अवस्था र उपचारको पाटोलाई समेत यसले उजागर गर्नेछ।’
सम्मेलनमा सहभागी हुन डब्लूएसओका अध्यक्ष, युरोपियन स्ट्रोक अर्गनाइजेसनका नवनिर्वाचित अध्यक्ष र एपीएसओका प्रतिनिधिहरू नेपाल आउँदैछन्।