करिब पाँच महिना अघिको कुरा हो, भरतपुर महानगरपालिका-१० की धनकुमारी लामा अस्वस्थ भएपछि काठमाडौंस्थित एक अस्पतालमा जँचाउन पुगिन्।
काठमाडौंको एक सहकारीमा कार्यरत श्रीमान रनबहादुर तामाङ धनकुमारीलाई लिएर अस्पताल पुगेका थिए। आवश्यक परीक्षणपछि चिकित्सकले भनेको कुराले रनबहादुर छाँगोबाट खसेझैं भए। उनकी बिरामी श्रीमतीको कलेजो काम गर्न नसक्ने अवस्थामा पुगेछ।
‘तपाईंभन्दा तपाईंकी श्रीमतीको आयु कम होला जस्तो छ भनेर मलाई सुनाए, के गरौं कसो गरौं भयो,’ रनबहादुरले सुनाए, ‘त्यो अस्पतालमा यसको उपचार नै रहेनछ। अब कहाँ लगेर, कसरी उपचार गर्ने भन्ने चिन्ताले सतायो।’
उनले वीर अस्पतालका चिकित्सकलाई यसबारे सोधे।
श्रीमतीलाई ग्रीन लाइफ अस्पताल पनि पुर्याए। श्रीमती कस्तो अवस्थामा छिन् भन्ने जान्न उनको स्वास्थ्य जाँचका कागजपत्र रनबहादुरले भारतका नाम चलेका धेरै अस्पतालमा पठाए। चिनेजानेका मान्छेमार्फत जताततै बुझे।
धेरै सोधखोजपछि बल्ल उनले मेसो पाए आफ्नै वडामा रहेको मेडिकल कलेजले नै ‘कलेजो प्रत्यारोपण’ को तयारी गर्दै रहेछ। भरतपुर–१० मै रहेको चितवन मेडिकल कलेजले २०७६ सालमा कलेजो प्रत्यारोपणको अनुमति लिएर यसको तयारी गर्दै थियो।
‘यो कुराको जानकारी पाएपछि मैले वीर अस्पतालका डाक्टरमार्फत यहाँका चिकित्सकलाई सम्पर्क गरेँ,’ उनले भने, ‘उनीहरूले केही समयमा श्रीमतीको उपचार यहीँ हुनसक्ने बताएपछि त्यहीअनुसार तयारीमा लागियो, अहिले त प्रत्यारोपण सफल पनि भयो।’
५४ वर्षीया धनकुमारीलाई उनकी ३४ वर्षे छोरी उषा तामाङले कलेजो दान गरेकी हुन्। ‘पहिले भान्जीको कलेजो दिने भन्ने कुरा भएको थियो, तर पछि छोरी नै तयार भइन्,’ रनबहादुरले भने, ‘अहिले आमाको अवस्थामा सुधार आउन थालेपछि छोरी असाध्यै खुसी छिन्, आमा उस्तै खुसी। मेरो र अरू आफन्तको खुसीको त कुरा गरी साध्य छैन।’
कलेजो दिने उषाले बुधबारबाट जाउलो खान थालेकी छन्, लिने धनकुमारीले कालो चिया खान थालेकी छन्। चिकत्सकले दुई हप्ता भित्रमा दुवै जान निको भएर घर फर्किन मिल्ने बताएको रनबहादुरले सुनाए।
अस्पतालका अध्यक्ष प्राध्यापक डाक्टर हरिशचन्द्र न्यौपानेले लामो मेहनत पछि चितवनमा कलेजो प्रत्यारोपण सम्भव भएको बताए।
डा.न्यौपाने यसैको विषयमा बुझ्न भारतका विभिन्न अस्पताल पुगेका थिए। ‘एक दिन म मेदान्त अस्पताल पुग्दा एक जना नेपाली बिरामीको कलेजो प्रत्यारोपणको तयारी हुँदै रहेछ। त्यहाँ उपचारमा संलग्न डाक्टर पनि नेपाली नै हुनुहुँदो रहेछ, शल्यक्रिया अघि बिरामीलाई बेहोस बनाउने एनेस्थेसियोलोजिष्ट पनि नेपाली नै हुनुहुँदो रहेछ,’ उनले भने, ‘हाम्रा देशका चिकित्सक विदेशमा यसरी काम गरिरहेका रहेछन्, यही वातावरण देशमै किन नबनाउने भन्ने लाग्यो। त्यसपछि नै हो यहाँ कलेजो प्रत्यारोपणको तयारी सुरु गरेको।’
डा.न्यौपानले नेपालमा काठमाडौं बाहिर पहिलो पटक कलेजो प्रत्यारोपण सुरु भएको बताए। काठमाडौं उपत्यकामा भने सन् २०१६ देखि नै प्रत्यारोपण हुँदै आएको छ। भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्र र काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कलेजो प्रत्यारोपणको काम गर्दै आएका छन्। तर ५ वर्षको अवधिमा यी अस्पतालमा ७ जनाको मात्रै कलेजो प्रत्यारोपण गरिएको डा.न्यौपानेले बताए। उनकाअनुसार चितवन मेडिकल कलेजमा गरिएको प्रत्यारोपण नेपालमै गरिएको आठौं कलेजो प्रत्यारोपण हो।
धनकुमारीको उपचारमा मेदान्त अस्पतालमा वर्षौं काम गरेका कलेजो प्रत्यारोपण विशेषज्ञहरु डा.सञ्जय यादव, डा.जयन्तकुमार शाह, एनेस्थेसियोलोजिष्ट डा.किरण अधिकारी, हेपाटोलोजिष्ट डा.सागर पौडेल, एपोलो अस्पतालमा काम गरेको अनुभव भएका डाक्टर एकानन्द सिंह, कोरियाको अस्पतालमा काम गरेर फर्किएका डा.प्रविन जोशीका साथै नेपालकै अनुभवी चिकित्सकहरु डा.अभिषेक भट्टराई, एनेस्थेसियोलोजिष्ट डा.सुरेश गौतम, डा.नविन यादव, हेपाटोलोजिष्ट डा.बरुण श्रेष्ठ, रेडियोलोजिष्ट डा.विज्ञान पौडेलको सहभागि थिए। साथै नयाँ दिल्लीस्थित अपोलो अस्पतालका डा.निरभ गोयल, डा.अरुणकुमार र डा.सञ्जिव अनिजालाई सहयोगका लागि ल्याइएको थियो भने विशेष तालिम प्राप्त १० जना नर्सलेसमेत १२ घण्टा लगाएर कलेजो प्रत्यारोपण सम्पन्न गरेको अस्प्तालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए।
‘क्रोनिक लिभर डिजिज’ का कारण कलेजो प्रत्यारोपण गर्नुपर्ने भएपछि काठमाडौंको वीर अस्पतालका डाक्टर अजित खनालले धनकुमारीलाई चितवन मेडिकल कलेज रिफर गरेका थिए। चितवन मेडिकल कलेजलका अध्यक्ष डा.न्यौपानेले कलेजो प्रत्यारोपणका लागि वर्षमा करिब ६० जना बिरामीहरु विदेश जाने गरेको भन्दै चितवनमा सुरु भएको सेवाले उपचारको परनिर्भरता हटाएको दाबी गरे।
भारतको मेदान्त अस्पतालमा ५०० जना भन्दा बढीको कलेजो प्रत्यारोपणमा सहभागि भएका विशेषज्ञ डा.सञ्जय यादवले चितवनमा सुरु भएको सेवाले बिरामीलाई यसको उपचारका लागि विदेशिनुपर्ने बाध्यता हटेको बताए। १८ देखि ८० वर्षसम्मका व्यक्तिहरुले कलेजो प्रत्यारोपण गर्न सक्ने र कलेजो दान गर्ने व्यक्ति करिब २ महिनाको अवधिमा पुनः विगतकै अवस्थामा फर्किने बताए।
मेदान्त अस्पतालमै ३०० बढी बिरामीको उपचारमा संलग्न भएका डाक्टर सागर पौडेलले मदिरा सेवन गर्ने, कलेजोमा बढी मात्रामा बोसो जमेका व्यक्तिबाहेकले कलेजो दान गर्न सक्ने बताए।
उनकाअनुसार नेपालमा वार्षिक १ हजार भन्दा बढीको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था आउने गरेको छ। चितवन मेडिकल कलेजमा मात्रै दैनिक ३० जनासम्म कलेजो सम्बन्धी बिरामीहरु उपचारका लागि पुग्छन्। ती मध्ये करिब २० प्रतिशत बिरामी प्रत्यारोपण गर्नुपर्ने अवस्थाका भेटिने गरेको उनले बताए। ‘यो अवस्थामा देशमै सहजरूपमा प्रत्यारोपण हुने अवस्था बनाउनु आवश्यक थियो,’ उनले भने, ‘अन्ततः चितवन मेडिकल कलेजमा यो सेवा सुरु भएको छ। धेरै बिरामीहरु प्रत्यारोपणका लागि सम्पर्क आउन थालेका छन्।’
धनकुमारीलाई निको भएर फर्किएलगत्तै अर्को बिरामीको प्रत्यारोपण गर्ने तयारी उक्त अस्पतालले गरेको छ। ‘सहज कानुनी व्यवस्था र राज्यको अभिभावकीय भूमिका भयो भने हामी यसलाई सफल बनाउन सक्छौं,’ उनले भने।
नेपालमा मानव अंग प्रत्यारोपण गर्न आफ्नै परिवारका सदस्यले मात्रै अंग दान गर्न मिल्ने प्रावधान छ। यसका लागि प्रकृया निकै झण्झटिलो छ। त्यस्तै सरकारले मिर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गर्ने गरे पनि कलेजो प्रत्यारोपणका लागि सहयोग गर्ने गरेको छैन। ‘हामीले यी कुराहरु सबैतिर पुर्याएका छौं। प्रधानमन्त्री पनि यस विषयमा सकारात्मक हुनुहुन्छ,’ डा.न्यौपानेले भने, ‘बिस्तारै सहज बन्दै जाने आशा छ।’
उक्त अस्पतालले कलेजो प्रत्यारोपणका लागि २५ लाख रूपैयाँ शुल्क लिने जनाएको छ। यही समस्याले विदेश जानुपर्ने बिरामीले यसको दोब्बर खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै चितवन मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले सरह शुल्क निर्धारण गरेको जनाएको छ।
कलेजो दुषित पानी र खानाका कारण बिग्रने अस्पतालका निर्देशक डा.दयाराम लम्साल बताउँछन्। साथै हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण पनि कलेजोमा समस्या आउँछ। नेपालमा ६० प्रतिशत कलेजोको समस्या मदिरा सेवन र हेपाटाइटिस ‘बी’ र ‘सी’ कै कारण देखिएको डा.लम्सालले बताए। साथै मधुमेहका कारण कलेजोमा बोसो जमेर पनि समस्या आउने उनले बताए।
कलेजो ५० देखि ६० प्रतिशत बिग्रिएपछि मात्र यसको लक्षण देखिन्छ। त्यतिबेला कलेजोलाई जोगाउन निकै मुस्किल पर्ने उनले बताए। ‘त्यसैले कम्तिमा पनि वर्षमा एक पटक कलेजोको अवस्था के छ भनेर जाँच गराउन हामी आग्रह गर्छौं’, डा.लम्सालले भने।
कलेजोको प्रत्यारोपणका लागि यहाँ छुट्टै शल्यक्रिया कक्ष र आइसियूको व्यवस्था गरिएको छ। आइसियूमा कार्यरत स्टाफ नर्स अस्मिता थापाले कलेजोको समस्या भएका विरामीलाई अरु बिरामीलाई भन्दा बढी ध्यान दिनुपर्ने भएकाले दिनरात मेहनत गरेर काम गर्दै आएको बताइन्।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कलेजो र मिर्गौलाको सफल प्रत्यारोपण गर्दै उक्त अस्पताललाई ‘ट्रान्सप्लन्ट सेन्टर’ का रूपमा विकास गर्ने लक्ष्य राखेको अध्यक्ष डा.न्यौपानेले बताए।