गीतानगरका मानबहादुर अधिकारी स्कुटरमा छोरी र भतिजीलाई लिएर खाना खान दाइको घर जगतपुर जाँदै थिए।
पकौडी बजारनजिकै एउटा मोडमा विपरीत दिशाबाट आइरहेको बससँग मानबहादुरले चलाएको स्कुटर ठोक्कियो। दुर्घटनामा मानबहादुर र उनीसँग रहेकी १७ वर्षीया छोरी विनिसा र १७ वर्षीया भतिजी दिविसाको मृत्यु भयो।
गीतानगरमा किराना पसल चलाउने मानबहादुरसँगै गत वर्षमात्रै एसईई उत्तीर्ण गरेर नर्सिङको पढाइ सुरू गरेकी विनिसा र जगतपुरमा रहेको लक्ष्मी माविमा कक्षा ११ पढ्दै गरेकी दिविसाले दुर्घटनामा ज्यान गुमाए।
मानबहादुरको आफ्नै बोलेरो गाडी थियो। उनी आफैं त्यो गाडी पनि चलाउँथे।
‘भाउजु भ्रमणका लागि चरिकोट जानुभएको थियो, उहाँको परिवार खाना खान दाइको घरतर्फ जाँदै गर्दा दुर्घटना भएछ,’ मृतकका आफन्त दीपक दवाडीले भने, ‘भतिज पनि सँगै थिए उनी कटिहालेछन्, दुबैतर्फ खाल्डो भएको साँघुरो मोडमा उहाँहरूले जोगिने ठाउँ पनि पाउनुभएन।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार चितवनको सडकमा पछिल्लो समयमा भइरहेका सवारी दुर्घटनामध्ये यो दुर्घटना भयानक हो।
‘मैले चितवनमा काम सुरू गरेको डेढ वर्षमा यति ठूलो दुर्घटना भएको थिएन,’ उनले भने, ‘मापदण्डविपरीत निर्माण भएका, निर्माणाधीन र जीर्ण अवस्थामा पुगेका सडकका कारण सवारी दुर्घटना भने निकै बढेर गएको छ।’
पछिल्लो दुर्घटना भएको सडक सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालयको योजनाअन्तर्गतको भरतपुर-माडी-ठोरी हुलाकी राजमार्गको हाकिमचोक-गीतानगर-पकौडी खण्ड हो।
यसको बिस्तारको काम सडक डिभिजन कार्यालय भरतपुरले गरिरहेको छ। यो सडक विस्तारको काम २ वर्षभित्र सक्ने गरी गत जेठ २९ गते एम.एस लामा/शिवशक्ति जेभी काठमाडौंसँग सम्झौता भएको थियो। सम्झौतायता उक्त कम्पनीले सडकको दुईतर्फ खन्ने काम गर्यो। पहिलेबाटै साँघुरो सडक दुईतर्फ ९/९ फिट चौडा र ४ फिट गहिरो खाल्डो खनेपछि थप साँघुरो बनेको छ।
खाल्डो खनेपछि यो सडकमा अरू काम केही भएको देखिँदैन। सवारी साधनहरु जोखिम मोलेर यो सडकमा यात्रा गर्न थालेको महिनौं भयो।
मृतक अधिकारीका आफन्तले सडकको दुरावस्थाकै कारण उनीहरूले ज्यान गुमाएको दाबी गरे।
‘यो सडकमा सुरू भएको काम तुरून्तै पूरा गर्नुपर्यो, खाल्डो बनाएर छाड्दा दुर्घटनाको जोखिम हुन्छ भनेर हामीले पटक-पटक सरोकारवालाको ध्यानाकर्षण गराउने गरेका थियौं तर हाम्रो कुरा कहिल्यै सुनेनन्,’ मृतकका आफन्त दीपक दवाडीले भने, ‘ठेकेदारको लापरबाहीका कारण आज यो अवस्था आएको छ। यसको जिम्मा सम्बन्धित निकायहरूले लिनुपर्छ।’
उनले दुर्घटनाको कारण सडक नै भएका कारण वडा, महानगर, ठेकेदार र सडक कार्यालय सबैलाई विपक्षी बनाएर प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरेको बताए।
‘यो अस्वभाविक दुर्घटना हो। सडक निर्माणकर्ताको लापरबाहीकै कारण यो दुर्घटना भएको हो,’ उनले भने, ‘आगामी दिनमा यस्तो हुन नदिन पनि हामी उनीहरूका विरूद्ध उजुरी दिँदैछौं।’
स्थानीयवासीले पनि सडकमा खाल्डो खनेर अलपत्र छाडिँदा दुर्घटना बढेको भन्दै विरोध गर्दै आएका छन्।
धनौजी-पकौडी बजार व्यवस्थापन समितिका अध्यक्ष अपिल घिमिरेले अलपत्र अवस्थामा छाडिएको योजनाले दुर्घटनाको त्रास बढेको बताए।
‘हामी यस विषयमा सडक कार्यालय र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउँछौं,’ उनले भने, ‘सुनुवाइ नभए चरणवद्ध आन्दोलन गर्ने तयारी छ।’
घिमिरेले सडक खनेर छाडिएपछि हरेक दिनजसो दुर्घटना भइरहेको बताए।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले उक्त सडक निर्माणमा भइरहेको ढिलाइबारे कारण खोजिरहेको बताए। ठेकेदार र सडक कार्यालयका प्रमुखलाई बोलाएर तत्काल निर्माण थाल्न सडक निर्माणका लागि निर्देशन दिन लागेको उनले बताए।
'ठेक्का लिएर काममा ढिलासुस्ती गर्नेलाई यसै छाडिन्न, उनीहरुले जोखिम नहुनेगरी समयमै काम सक्नुपर्छ, नसक्ने भए छोड्नुपर्छ,' उनले भने, 'म यस विषयमा कडा रूपमा जाँदै छु।'
ट्राफिक प्रहरी निरीक्षक भट्ट घटनाको प्रकृति र सडकको अवस्था हेर्दा शनिबार साँझ उक्त स्थानमा स्कुटरलाई जोगाउन खोजेको भए यात्रुवाहक बसमा झन् ठूलो क्षति हुने देखिएको बताउँछन्।
‘सडकको दुई छेउमा खनिएको खाल्डोका कारण सहज रूपमा सवारी साधन क्रस हुन पनि नसक्ने अवस्था छ,’ उनले भने, ‘दुवै सवारी साधन तीव्र गतिमा हुँदा दुर्घटना भयो।’
उनले सडक विस्तारका लागि भनेर खनेको खाल्डोका कारण सवारी साधन आधा मिटरमात्रै यताउता हुँदा पनि दुर्घटना हुने अवस्था रहेको बताए।
सडक निर्माणका क्रममा तत्काल काम गर्न सकिने क्षेत्रमा मात्रै सडक खनेर काम गरिहाल्नु पर्नेमा सबै क्षेत्रमा खनेर लामो समय यसै छाड्दा जोखिम बढेको भन्दै उनले यस विषयमा ट्राफिक प्रहरी कार्यालयले पनि जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको बताए।
चितवनमा विगतमा नारायणगढ-मुग्लिन सडकमा दुर्घटना निकै हुने गर्थ्यो। तर उक्त सडक नयाँ बनेपछि दुर्घटना घटेको छ। पूर्व-पश्चिम राजमार्गको पूर्वी चितवनको सडक र भित्री सडकमा भने दुर्घटना बढ्दै गएको छ।
‘नारायणगढ-मुग्लिन सडक मापदण्डअनुरूपको बनेका कारण दुर्घटना घट्यो तर पूर्व-पश्चिम राजमार्ग जिर्ण बन्दैछ, मापदण्डअनुसारको छैन, सवारी चाप बढ्दो क्रममा छ। भित्री सडकहरू पनि धमाधम बनिरहेका छन् तर अधिकांश मापदण्डअनुसार बनेका छैनन्,’ उनले भने, ‘सँगै सडक अनुशासनलाई चालकले पालना नगर्दा पनि दुर्घटना बढेको छ।’
पछिल्लो समयमा दुई पांग्रे र तीन पांग्रे सवारी साधनको संख्या बढेर सडक निकै व्यस्त हुन थालेको भट्टले बताए। यसले गर्दा दुर्घटना पनि बढ्दै गएको उनले बताए।
‘हामीले हरेक महिना ४ देखि ५ हजार सवारी साधनका चालकलाई सवारी नियम उल्लंघन गरेकोमा कारबाही गर्ने गरेका छौं। यो क्रम हरेक महिना बढ्दो छ,’ उनले भने, ‘सवारी साधनको बढ्दो चाप र नियम उल्लंघनको बढ्दो क्रमले दुर्घटना निम्त्याएको छ।’
सवारी चाप बढ्दै जाँदा ट्राफिक प्रहरीको जनशक्ति भने उस्तै रहेको र सबै क्षेत्रमा ध्यान दिन नसक्दा दुर्घटना नियन्त्रण हुन नसकेको उनले बताए।
चितवनमा पछिल्लो एक हप्तामा भएका सवारी दुर्घटनामा ५ जना युवायुवतीको मृत्यु भएको थियो। अघिल्लो शुक्रबार र शनिबार भएको दुर्घटनामा २ जना युवती स्कुटरमा सवार थिए भने १ युवक मोटरसाइकलमा सवार थिए। गत शुक्रबार दिउँसो भरतपु- ९ स्थित केन्द्रीय बसपार्कमा ट्रकले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा गैंडाकोटकी २१ वर्षीया रिता शर्माको मृत्यु भएको।
सोही दिन बिहान कालिका नगरपालिकामा ट्रयाक्टरले ठक्कर दिँदा स्थानीय २८ वर्षीय युवतीको मृत्यु भयो। गत बुधबारमात्रै नारायणगढ-मुग्लिन सडकमा ट्रकमा कार ठोक्किँदा दुई जनाको मृत्यु भएको थियो।
'दुर्घटना कम गर्न सचेतना गर्ने हो दुर्घटना हुन नदिन सम्बन्धित चालक आफैं पहिलो जिम्मेवार पक्ष मानिन्छ,’ प्रहरी निरीक्षक भट्टले भने, ‘दुर्घटना बढ्दै गर्दा त्यसैको अनुपातमा सतर्कता अभियान पनि चलाएका छौं तैपनि दु:खद खबर सुनिरहनुपरेको छ।’