तनहुँ घर भएकी किना केसीले चितवन राष्ट्रिय निकुञ्जमा काम गर्न थालेको ६ वर्ष भयो।
निकुञ्जको रेञ्जर उनी दिन रात नभनी गैंडा, हात्ती, बाघ, गोही जस्ता जनावरको वरिपरि खट्छिन्। काम सुरू गर्दैगर्दा उनलाई डरको महसुस हुन्थ्यो। तर अचेल बानी पर्न थालेको छ। ‘सुरूआततिर काममा जाँदा डर लाग्थ्यो, जंगलको काम छ के हुने हो जस्तो महसुस हुन्थ्यो तर अब बानी पर्न थाल्यो,’ उनले भनिन्, ‘कोही भन्दा कम छैनौं जस्तो लाग्छ।’
काममा हिँडेपछि महिला वा पुरूषमा कुनै फरक नहुने उनी बताउँछिन्।
‘काम आएपछि जुनसुकै अवस्थामा तयार हुनुपर्छ, यो महिला त्यो पुरूष भन्ने हुँदैन,’ उनी भन्छिन्, ‘रात बिरात हिँड्नु पर्दा डर त सबैलाई लाग्छ। महिला भएकै कारण काममा कुनै समस्या छैन।’
वन्यजन्तुमा रुची राख्ने उनी फोटोग्राफीको पनि पारखी हुन्। फोटोग्राफीले पनि उनलाई वन्यजन्तुसम्म तान्ने गरेको छ।
२०७४ सालदेखि चितवन निकुञ्जको रेञ्जर पदमा कार्यरत स्मृती लामाको रुची वन्यजन्तु र चरामा सानैदेखि थियो।
यही रुचीले उनलाई वन विज्ञानको अध्ययनमा डोर्यायो।
‘अहिले म आफ्नो काममा रमाइरहेकी छु,’ उनी भन्छिन्, ‘आफ्नो रुचीको पेशा भएका कारण मनैदेखि काम गर्ने जाँगर चल्छ।’
यही जाँगरले उनलाई घण्टौंसम्म पानी पनि नपिई काम गर्न सक्ने बनाएको छ।
‘जंगलमा काम गर्दा कहिलेकाहीँ पानी पनि पाइँदैन। तै पनि काम नसकी कार्यालय फर्कन मिल्दैन,’ उनी भन्छिन्, ‘दुःख असाध्यै हुँदा पनि यसैमा रमाउँछु।’
कामको क्रममा कहिलेकाहीँ आफूलाई महिला भनेर होच्याइएको महसुस उनले गरेकी छन्।
त्यस्तो सुन्दा उनलाई दुःख लाग्छ।
‘तै पनि त्यसलाई सामना गरेर अघि बढ्नुपर्छ,’ उनी भन्छिन्, ‘बाहिरी मान्छेले त्यसरी होच्याउने गरे पनि कार्यालयबाट त्यस्तो व्यवहार हुँदैन। सहयोग धेरै पाइन्छ।’
चितवनमा निकुञ्ज नजिकै घर भएकी प्रतिमा चौधरी सिनियर गेम स्काउट हुन्। सानैदेखि निकुञ्जको वातावरण बुझेकी उनलाई काम पनि यहीँ मिल्यो। अहिले उनी आफूले जाने बुझेको सीप र मेहनत लगाएर चितवन निकुञ्जको काममा खट्दै छिन्।
‘२०७० सालदेखि काम गर्दै आएको छु। कामका क्रममा महिलाकोरूपमा आजसम्म कुनै समस्या भोगेको छैन,’ उनी भन्छिन्, ‘यो काममा सक्षम छु र त आजसम्म यहीँ छु।’
उनले कामका क्रममा धेरै कठिनाइहरू आइपर्ने भए पनि त्यसलाई पन्छाउँदै अघि बढेको बताइन्।
‘यहाँ काम गर्ने सबैको समस्या हो यो, पुरूषहरूले भोग्नुहुन्छ,’ उनी भन्छिन्, ‘बिहानै काममा निस्कने हामी फर्कंदा कस्तो अवस्था हुन्छौं थाहै हुन्न।’
मकवानपुरको मनहरीकी कौशिला मोक्तान पनि निकुञ्जको गेम स्काउट हुन्।
चितवन निकुञ्जको सुनाचुरी पोष्टमा कार्यरत छिन् उनी।
यो पोष्ट एक सिंगे गैंडाको बाक्लो उपस्थिति रहेको पूर्वी क्षेत्रमा छ। जंगली हात्ती, पाटे बाघ पनि देखिने ठाउँ हो यो। निकुञ्जको मध्यवर्ती क्षेत्रमै हुर्किएकी कौशिलालाई भने तिनै वन्यजन्तुसँग उठबस गर्न मन पर्छ।
‘रातिको समयमा कतै इमरजेन्सी पर्यो भने नाइट एम्बुस बोकेर पनि हिँड्छु,’ उनी भन्छिन्, ‘म यो निकुञ्जको संरक्षणका लागि भनेर काममा खटेको छु। अहिलेसम्म त्यो काममा जिम्मेवारी निभाएको पनि छु।’
आफूलाई प्रकृतिप्रेमी ठान्ने कौशिला एकान्त मन पराउँछिन्। त्यसैले उनी जंगलमै रमाउँछिन्।
घना जंगलभित्र, जनावरहरूसँग काम गर्दाको जोखिमलाई उनले बुझेकी छन्।
‘हात्ती चढेरै काममा जाँदा पनि जोखिम हुन्छ, कहिले जंगली हात्तीले लखेट्छ, कहिले अरु जनावरसँग जम्का भेट हुन्छ। कहिले काहीँ त आफैं चढेको हात्तीले निर्देशन मान्दैन उसैबाट जोखिम हुन्छ,’ उनी भन्छिन्, ‘यी सबै कुरालाई बुझेर सावधानी अपनाउँदै फिल्डमा उत्रनु पर्छ।’
शारीरिक अवस्थाका कारण केही व्यक्तिलाई यो काममा समस्या आउने भए पनि महिला भएकै कारण समस्या नभोगेको उनले सुनाइन्।
‘पुरूष, महिला जो भए पनि लक्ष्य त उही हो, जिम्मेवारी पनि उही हो,’ उनी भन्छिन्, ‘त्यसलाई त जसरी पनि निभाउनै पर्छ।’
अम्बेकली नामको हात्ती चलाउने माउते हुन् अमृता महतो।
चितवनको मेघौली घर भएकी उनी निकुञ्जको आदेशअनुसारका मान्छे बोकेर जंगलको कुना–कुनासम्म पुगेकी छन्।
चितवन निकुञ्जमा अराजकताका लागि कुख्यात मान्ने गरिएको ध्रुवे र रोनाल्डो नामका हात्तीसँग उनको पटक-पटक जम्काभेट भएको छ।
तै पनि आफूले सिकेको सीप खर्च गरेर उनले आफू, हात्तीदेखि त्यसमा सवार व्यक्तिहरूलाई सुरक्षित गन्तव्यमा पुर्याएकी छन्।
दुई छोरा र एक छोरीकी आमा अमृता आफ्नो पारिवारिक जिम्मेवारी उठाउन दिन रात नभनी मेहनत गरिरहेको बताउँछिन्।
‘यहीँबाट आएको तलबले छोरा, छोरीले पढेका छन्। घर खर्च पनि भइरहेको छ,’ उनले भनिन्, ‘काममा दुःख त छ तर मेरो काम देखेर अरूले गर्ने प्रशंसाले काम गर्ने प्रेरणा दिन्छ।’
विगतमा निकुञ्जमा काम गर्ने महिलाको संख्या निकै कम हुन्थ्यो। बिस्तारै महिला कर्मचारीको संख्या बढ्दै गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए।
अहिले चितवन निकुञ्जमा ७ वटा रेञ्जर पदको दरबन्दीमा महिला छन्। उनीहरूमध्ये दुई जना काजमा अन्य क्षेत्रमा खटिएका छन्। यहाँ कार्यरत पुरूष रेञ्जरको संख्या ११ छ।
निकुञ्जमा ३ जना सिनियर गेम स्काउटसहित १५ जना महिला गेम स्काउट कार्यरत छन्। कुल ३७६ जनाको दरबन्दी रहेकोमा चितवन निकुञ्जको प्राविधिक र प्रशासनका पदमा २२१ र हात्तीसारमा १५५ जना कर्मचारी कार्यरत छन्।
महिलाले गरेको काम देखेर नयाँ पिँढीको पनि यस क्षेत्रमा आकर्षण बढेको छ।
‘रेञ्जर स्मृति लामा वन विज्ञान पढ्दा आफ्नो ब्याजमा करिब २० प्रतिशत मात्रै महिला रहेको बताउँछिन्। तर अहिले यहाँ इन्टर्न गर्न आउने बहिनीहरूलाई देख्दा यसमा आकर्षण बढेको छ। महिला पनि कोही भन्दा कम छैनन्, यो कामका लागि पनि तयार छन् भन्ने सोचको विकास भएको महसुस हुन्छ,’ उनले भनिन्।
काठमाडौं फरेष्ट्री कलेजमा वन विज्ञान पढ्दै गरेकी स्याङ्जाकी आस्था पौडेल चितवन निकुञ्जमा गैंडाको बासस्थान मूल्यांकन र जोखिम विश्लेषण शीर्षकमा खोज गर्दै छिन्।
इन्टर्नसीपका लागि निकुञ्ज पुगेपछि पहिलो पटक हात्ती चढेकी उनी अहिले दिन रात हात्ती चढेर गैंडा गन्ने काममा संलग्न छिन्।
‘वन र वन्यजन्तुमा रुची भए पनि सुरूमा जंगल जाँदा डर लागेको थियो तर यसलाई अवसर ठानेर गैंडा गन्ने काममा पनि सहभागी भएको छु,’ उनले भनिन्, ‘काम गाह्रो र जोखिमपूर्ण छ तर यही क्षेत्रमा लाग्छु भनेर आँटिसकें अब पछि हट्ने ठाउँ नै छैन।’
उनले डरलाई जित्दै अन्य सरह काम गर्ने जोश पलाएको बताइन्।
आस्थासँगै इन्टर्नसीप गर्दैछिन् नवलपुरको गैंडाकोटकी आरती पौडेल पनि।
इन्स्टिच्यूट अफ फरेष्ट्री हेटौंडामा वन विज्ञान पढ्दै गरेकी आरतीलाई गैंडा गन्न गरेको मेहनतले ‘यति त गरें भने जे पनि गर्न सक्छु’ जस्तो लाग्छ।
‘पानी, खाना नभई पनि हिँड्नुपर्ने पेशा रहेछ। कहिलेकाहीँ त यति तिर्खा लाग्छ कि खोलाको पानी खाइदिऊँ जस्तो लाग्छ। जंगली जनावरको भय उस्तै धेरै हुन्छ,’ उनले भनिन्, ‘केही समयको अनुभवले धेरै कुरा सिकाएको छ।’
उनले ती समस्याका बाबजुद पनि बलियो बनेर उभिने साहस पलाएको बताइन्।