राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहामा कार्यरत लोकबहादुर महतराको व्यस्तता अचेल बढेको छ। एक हप्ता हुन लाग्यो ‘अञ्जली’ पनि उनको जिम्मेवारीमा थपिएको।
करिब एक वर्ष अघि ‘पुष्पा’ नामको टुहुरी केटी (एक सिंगे गैंडाको पोथी बच्चा)को स्याहार गर्दै आएका थिए महतरा।
चैत २३ गते चितवन राष्ट्रिय निकुञ्जको नवलपुरको दिव्यपुरीबाट उत्तरतर्फको कुँजौलीमा अलपत्र भेटिएको अर्को नवजात केटीलाई निकुञ्ज र कोषका कर्मचारीहरुले उद्धार गरेर ल्याएका थिए।
प्राय:जसो पुष्पासँग देखिने महतरा अचेल पुष्पाको सानी साथीलाई पनि स्याहार्दै गरेको भेटिन्छन्।
केन्द्रका प्रमुख डा.बाबुराम लामिछानेले निकुञ्जभित्र माउले छाडेको करिब एक हप्ताको अलपत्र बच्चा भेटेपछि उद्धार गरिएको बताए।
‘बच्चाको वरिपरि बाघका पाइला थिए, वरपर कतै पनि माउ भेटिएन,’ उनले भने, ‘केही घण्टाको निगरानीपछि उद्धारको आवश्यकता देखियो।’
उनले जन्मेको केही दिनमै माउबाट टाढा भएको केटीलाई गाई-भैंसीको दुध चुसाएर पेट भर्ने गरिएको बताए।
एक वर्षअघि यस्तै सानी पुष्पालाई दुध खुवाउने, तेल दल्ने, टहलाउनेदेखि सुताउनेसम्म गरेर ठूली बनाएका महतरालाई अचेल पुष्पा आफ्नै छोरीजस्तो लाग्छ।
‘अब अर्की छोरी पनि आइन्, उनलाई पनि त्यस्तै माया गरेर हुर्काउँछु,’ उनले भने, ‘सँधै आफ्नै नजिक हुने भएपछि आफ्नै छोरी जस्तो लाग्ने रहेछ।’
पुसमा जन्मिएका कारण अघिल्लो केटीको नाम पुष्पा राखिएको थियो। नयाँ केटीको नाम पुष्पासँग मिल्नेगरी अञ्जली राखिएको छ।
महतराको स्याहार पाएकी अञ्जली तेलले टिलिक्क टल्किएकी छन्। ऊ पुष्पासँगै छुनुमुनु गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसर डुल्छे। उनीहरूलाई देख्नेले फोटो खिच्न छुटाउँदैनन्।
पुष्पालाई निकुञ्जका कर्मचारीहरूले गत सालको माघ ३ गते चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा पर्ने तमासपुरको घना जंगलमा फेला पारेका थिए।
निकैबेर माउको खोजी गर्दा पनि नभेटिएपछि उसलाई गाडीमा हालेर सौराहा ल्याइएको थियो।
यी दुई निकुञ्जभित्रका सयौं एक सिंगे गैंडामध्ये कुनको सन्तान हुन् भन्ने कसैलाई थाहा छैन तर उनीहरूले यहाँ आएपछि सुन्दर नाम र उस्तै माया पाइरहेका छन्।
केही महिनाअघिसम्म गाई, भैंसीको दुध मात्रै खाने पुष्पा अचेल घाँस, कुँडो, बन्दा खाने भएकी छ।
यसबाहेक उनलाई बेला-बेलामा फलफुल र अन्न पनि खान दिइन्छ। जंगलमा भेटिँदा जुरुक्क उठाएर गाडीमा हलिएकी पुष्पा अचेल हच्काउन पनि नसकिने भएकी छ।
उनको हेरचाहमा खटिएका महतरा भन्छन्, ‘हेर्दा हेर्दै यति ठूली भइसकी।’
पचाउन नसक्ने भएकाले बच्चालाई सुरूमा दुधसमेत फ्याट निकालेर दिने गरिन्छ। उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्ने गरिन्छ।
लामिछानेका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रले अहिलेसम्म जंगलमा टुहुरो अवस्थामा भेटिएका २० वटा गैंडाका बच्चालाई उद्धार गरिसकेको छ।
पुष्पासँगै उद्धार गरिएको एउटा केटोलाई ठूलो भएपछि जंगलमा लगेर छाडिएको थियो तर धेरै दिन बाँच्न सकेन।
‘त्यसकारण पुष्पालाई तत्कालै जंगल लगेर छाड्न सकिएको छैन,’ उनले भने, ‘मान्छेको वरिपरि हुर्किएको जनावरलाई प्रकृतिमा समायोजन हुन गाह्रो हुन्छ।’
पुष्पालाई जस्तैगरी केही वर्षअघि उद्धार गरिएका दुई वटा टुहुरा गैंडा मेघौली, मंगलपुरे, माडी भाले अचेल सौराहा वरपर देखिन्छन्। कहिलेकाहीँ त उनीहरू सौराहाको मूख्य बजारमै पुग्छन्। उनीहरूलाई हेर्न पर्यटकहरूको लाइन नै लाग्छ।
केन्द्रमा पालिएका टुहुरा जनावरहरू यसरी मानवबस्तीमा नपसुन् भनेर सजग रहेको उनले बताए।
‘आफ्नै अगाडि गैंडा देखेर पर्यटकहरु खुसी त भएका छन् तर मान्छेसँग धेरै घुलमिल हुँदा सहर पस्ने र क्षति गर्ने सम्भावना हुन्छ’, उनी भन्छन्, ‘त्यसैले सकेसम्म जंगलमै फर्काउने प्रयास हाम्रो रहन्छ।’
निकुञ्ज र कोषले टुहुरा गैंडाजस्तै अन्य जनावरहरूको पनि त्यसैगरी उद्धार गरेर आश्रय दिँदै आएको छ।
जंगलमा घाइते अवस्थामा भेटिएका जनावारहरूलाई वन्यजन्तु अस्पतालमा उपचार गराएपछि यहीँ आश्रय दिने गरिएको छ।
लामिछानेका अनुसार केन्द्रमा हुर्किएका टुहुरा वन्यजन्तु मध्ये अधिकांश प्राकृतिक बासस्थानमा फर्किएका छन्।
‘पुष्पा, अञ्जलीलाई पनि जंगलमै फर्काउन हामी प्रयास गर्छौं,’ लामिछाने भन्छन्, ‘एउटा पोथी गैंडालाई योग्य बनाएर प्राकृतिक वातावरणमा पुर्याइयो भने यसमार्फत धेरै केटाकेटी जन्मन सक्छन्।’
गत वर्ष मात्रै एक सयभन्दा बढी टुहुरा वन्यजन्तुको उद्धार गरिएकोमा अधिकांशलाई आवश्यक उपचार गरेर प्राकृतिक बासस्थानमै फर्काइएको छ।