तीनवर्षमा बनाइसक्ने लक्ष्यका साथ २०७१ मा शिलान्यास गरिएको ठिमुरा–देवघाट जोड्ने पुलको निर्माण ढिलो गरि सकिन लागेको थियो।
२०७४ कात्तिकमा बनिसक्नुपर्नेमा थप तीनवर्ष लाग्यो। यसै आर्थिक वर्षभित्र पुल बनाइसक्ने योजनाका साथ द्रुत गतिमा काम भइरहेको थियो। चैत २४ गते त्यो योजना तुहियो। बनाउँदा-बनाउँदैको पुल गर्ल्यामगुर्लुम्मै ढल्यो।
पुल भत्किएको घटनालाई लिएर विभिन्नखाले प्रतिकृया आइरहेका छन्। मानिसहरूले निर्माण कम्पनीको लापरबाहीदेखि गुणस्तरहीन सामानको प्रयोगले पुल भत्किएको आशंका गरेका छन्।
उक्त पुल बनाउन झन्डै दुई वर्षदेखि खटिरहेका भरतपुरस्थित सडक डिभिजन कार्यालयका इन्जिनियर विजय दराई भने ‘दशा लागेर दुर्घटना’ भएको बताउँछन्। उनले पुल निर्माणमा निर्माण कम्पनीको कुनै लापरबाही आफूले नदेखेको दाबी गरे।
‘सबै कामहरू ठीकठाक चल्दै थियो, निर्माण कम्पनीको काममा कुनै खोट देखिएको थिएन। हाम्रो खटाइ उस्तै थियो,’ उनले भने, ‘कहिलेकाहीँ जति राम्रो काम गर्दा पनि दशा बिग्रिएर दुर्घटना हुन्छ भन्छन्। यहाँ यही भयोजस्तो लाग्छ।’
चितवनको ठिमुरालाई तनहुँको देवघाटमा जोड्ने उक्त पुल त्रिशुलीमाथि बन्दै थियो। देशकै प्रमुख धार्मिकस्थल देवघाटधामलाई चितवनसँग जोड्ने यो पहिलो पक्की पुल थियो। पुल बन्दै गरेको स्थानबाट केही परमात्रै कालिगण्डकी नदी मिसिएर नारायणी नदी सुरू हुन्छ।
यसै त निर्माण कार्य ढिलो भएको अन्तिम समयमा आएर पुल भत्किँदा सरकारी लगानीमा बन्ने पूर्वाधारको गुणस्तरमा प्रश्न उठ्न थालेको छ। पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले निर्माणकै क्रममा भत्किँदा प्राविधिक र सामानको गुणस्तरमा प्रश्न उठेको बताए।
‘धेरै वर्षअघि बनिसक्नुपर्ने पुल विभिन्न बहानामा ढिलाइ हुँदै आयो,’ उनले भने,‘अब त बन्ने भयो भन्ठानेको फेरि यो अवस्था देखियो। यस विषयमा गम्भीर छानबिन हुनु पर्ने माग हाम्रो छ।’
पुल भत्किएको विषयमा सडक विभागले सहसचिव कैलाश श्रेष्ठको नेतृत्वमा छानबिन समिति बनाएको छ। इन्जिनियर दराईले समितिले छानबिन गरेपछि मात्रै कारण पत्ता लाग्ने बताए।
‘हामीले निर्माणाधीन पुल कमजोर अवस्थामा हुने हुँदा भूकम्पको धक्का कारण भत्किएको हो कि भन्ने अनुमान गरेका छौं,’ उनले भने, ‘खास कुरो के हो भन्ने जानकारी त समितिबाटै आउला।’
दराईकाअनुसार ८.५ मिटर चौडाइ र २२० मिटर लम्बाइको उक्त पुल तीन वटा खण्ड (स्पान) जोडेर बनाउने भन्ने तय भएको थियो। तीनमध्ये दोस्रो खण्डमा तार जोडेर ‘प्रिस्टेसिङ’को काम अघि बढ्दै थियो। स्पानलाई तारले जोड्ने पद्धतीलाई प्रिस्टेसिङ भनिन्छ। पुलको माथिपट्टिको भागसँगै पुलको मुख्य भागमा स्टिलको ट्रस्ट संरचना बन्दै थियो।
‘त्यो दिन प्रिस्टेसिङको काम सकिएन, अर्को दिन गर्ने योजना थियो,’ इन्जिनियर दराईले भने, ‘भत्किन थालेपछि बाँकी रहेको खण्डले अन्य दुई खण्डलाई पनि तान्यो र ठूलो क्षति हुन पुग्यो।’
उनले यसलाई काम गर्दै जाँदा भएको दुर्घटना मान्नु पर्ने बताए।
इलाइट, एडभेन्चर र इन्द्रेणी जेभी तीन वटा कम्पनीले बनाउँदै गरेको उक्त पुल भत्कनुभन्दा २१ दिनअघि ढलान भएको थियो।
प्राविधिकका अनुसार पुलको ढलान सुक्न सामान्यत: २८ दिन लाग्छ। २१ दिनको अवधिमा ढलान ९० प्रतिशत काम गर्न सक्ने अवस्थामा हुन्छ। २८ दिनपछि ढलानभएको पुल अड्याउन राखिएका टेकाहरू ('स्काफोल्डिङ’) निकालिन्छ। यो पुल ती टेकाहरू निकाल्न नपाउँदै ढलेको हो।
विगतमा सडक डिभिजन कार्यालय चितवनमा पनि काम गरेका अवकासप्राप्त इन्जिनियर प्रकाश उपाध्याय प्राविधिक, प्रयोग गरिएका सामानको गुणस्तर हुँदाहुँदै पनि प्रक्रियागत त्रुटिका कारण पनि यस्ता दुर्घटना हुनसक्ने बताउँछन्।
‘यो पुल निर्माणका क्रममा गुणस्तरमा यताउता गरियो भन्ने मलाई लाग्दैन। यहीँका निर्माणकर्ताले मुग्लिनमा बनाएको पुलको स्तर असाध्यै राम्रो छ,’ उनले भने, ‘कहिलेकाहीँ सबै कुरा राम्रो गर्दा गर्दै पनि प्रक्रियामा तलमाथि हुँदा दुर्घटना हुन सक्छ। पहिले गर्नुपर्ने काम पछि, पछि गर्नुपर्ने काम पहिले हुँदा पनि यस्तो हुन्छ।’
इन्जिनियर उपाध्यायले नेपालमा प्रिस्टेचिङ गरी पुल बनाउन थालेको धेरै समय नभएका कारण प्राविधिकहरू पनि सिकाईकै क्रममा रहेको बताए।
‘यो घटनाले सिकाइ पुगेको रहेनछ, थप तालिम, अध्ययनको आवश्यकता छ भन्ने पनि देखायो,’ उनले भने, ‘आगामी दिनमा यसप्रति सजग हुन भने घटनाले सिकाएको छ।’
उनले यो पद्दतिको सुरुआत गर्दा विकसित देशहरूमा पनि यस्ता घटना हुने गरेको बताए।
‘भारत, रूसलगायत देशमा प्रिस्टेचिङका क्रममा ठूला दुर्घटना भएको मैले सुनेको छु। नेपालमा केही वर्षमात्रै भयो यसरी काम सुरु भएको, पहिलो पटक देखिएको यो घटनाबाट हामीले पाठ सिक्नुपर्छ जस्तो लाग्छ,’ उनले भने।
उपाध्यायका अनुसार नेपालमा पुल निर्माणका क्रममा स्काफोल्डिङको विकल्पमा माटोले पुरेर पैसा जोगाउन खोज्ने क्रम बढेको छ। यस्तो गर्न दिँदा दुर्घटनाको भय बढ्ने उनले बताए।
‘स्पानहरूलाई तारले जोडेर बनाइने प्रिस्टेसिङ पद्धतिबाट पुल बनाउँदा असाध्यै ध्यान दिनुपर्छ। सानो कुरामा मात्रै चुक्यौं भने यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ,’ उनले भने।
निर्माणाधीन पुल भत्किएपछि निर्माणकर्ताले बाँकी काम आफ्नै खर्चमा गर्ने बताएको इन्जिनियर दराईले बताए।
‘दुई महिनामा सक्ने तयारी गरिएको काम सक्न अब एक वर्ष लाग्ने भयो,’ दराईले भने, ‘तर यसको थप बोझ सरकारलाई दिनुहुन्न भन्नेमा निर्माणकर्ताले प्रतिवद्धता जनाएका छन्। अनुसन्धान सकिएलगत्तै काम अघि बढ्छ।’
२०७१ सालमा १६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको पुलको डिजाइन परिमार्जन गरी २१ करोड ६८ लाख रुपैयाँ पुर्याइएको थियो। डिजाइन परिमार्जन गर्न १८ महिना, भूकम्प र नाकाबन्दीका कारण करिब एक वर्ष काम प्रभावित भएपछि दुई पटकसम्म पुल निर्माणको म्याद थप गरिएको थियो। गत पुस १३ गते सकिएको पछिल्लो म्याद कोरोना भाइरसको महामारी फैलिएपछि फेरि थपिएको थियो।