मञ्जु सिंजाली मगरले आइतबार साँझ ७ बजेतिर फोन गर्दा श्रीमान् अजयले काम सकेर फर्कनका लागि ट्याक्टर चढेको सुनाएका थिए।
श्रीमतीले ‘ल राम्रोसँग आउनुस्’ भनेर फोन राखिन्। करिब ५ मिनेटपछि उनको मोबाइलमा श्रीमानको फोन आयो। आवाज सुनियो, ‘म त मर्ने भएँ, ट्याक्टर पल्टियो।’
आत्तिएकी मञ्जुले १२ कक्षा पढ्दै गरेका छोरालाई बाबुले भनेको कुरा सुनाइन्।
‘भर्खरै ठीकठाक छ भनेको श्रीमानले एक्कासी म मर्ने भएँ भनेर फोन गर्नुभयो, के गरौं कसो गरौं भयो,’ उनले भनिन्, ‘छोरालाई बुझ्न लगाएर अस्पताल पठाएँ।’
राप्ती नगरपालिका-११ को कार्यालय भवनको ढलानका लागि गएका अजय सिंजाली मगर काम सकेर फर्कने क्रममा ट्याक्टर दुर्घटनामा घाइते भएर अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ‘हल्ल न चल्ल’ अवस्थामा उपचार गराइरहेका छन्। रोजगारीका लागि दुई पटकसम्म कतार पुगेका अजय विदेशको हण्डर खाएर डेढ वर्षअघि देश फर्किएका थिए।
‘महिनामा २० देखि २५ हजार रुपैयाँसम्म पठाउनुहुन्थ्यो। पछि तलब दिएन छन्, विरोध गर्दा प्रहरीले थुनेछ,’ मञ्जुले सुनाइन्, ‘२० दिन थुनेर फर्काइदिएपछि चितवनमा बसेर घर ढलानका लागि सेन्टिङ (ढलानलाई बहन नदिन काठको बार लगाउने) गर्ने काम गर्दै आउनुभएको थियो।’
मकवानपुरको राकसिराङ घर भएका अजय परिवारसहित चितवनको खैरहनीमा बस्दै आएका थिए। कामबाट आएको कमाइले छोरा, छोरीलाई पढाउन र घर खर्च गर्न पुगेको थियो।
‘परिवारको उहाँ नै एकमात्र सहारा हुनुहुन्थ्यो, यस्तो अवस्था आयो। अहिले अस्पतालमा ल्याएर छाडिदिएका छन्, न डाक्टरले वास्ता गर्छन्, न त ठेकेदारले हेर्छ,’ मञ्जुले सुनाइन्।
वडा कार्यालयको ढलान र सेन्टिङका लागि २५ जना कामदार आइतबार बिहान ट्याक्टर चढेर राप्तीको आँपपानी पुगेका थिए।
यो ठाउँ राप्तीको मुकाम भण्डारादेखि करिब १० किलोमिटर पर पर्छ। पूर्व-पश्चिम राजमार्गको भण्डारालाई पृथ्वी राजमार्गको मलेखुसँग जोड्ने सबैभन्दा छोटो बाटो मानिने चेपाङ मार्गमा पर्छ, आँपपानी। यही सडकमा गत वर्ष अटो रिक्सा पल्टिँदा पाँच जनाले ज्यान गुमाएका थिए। आइतबार दुर्घटना भएको ठाउँ पनि गत वर्ष दुर्घटना भएको ठाउँबाट नजिकै पर्छ।
काम सकेर फर्कँदै गरेका कामदार बोकेको ट्याक्टर करिब एक किलोमिटर वर आइपुग्दा कच्ची सडकबाट पल्टिएर चिउँडे खोलामा झरेको थियो। दुर्घटनामा राप्ती नगरपालिका-५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका-९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो, राप्ती नगरपालिका-४ का ४५ वर्षीय सीताराम श्रेष्ठ र एक जना अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको छ। अन्य एक दर्जन बढी कामदार घाइते भएर विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।
भवन ढलानका लागि कामदार लिएर गएका विश्राम महतोकाअनुसार मृत्यु हुनेमध्ये मगन महतो सबै भन्दा पुराना हुन्। उनले घर ढलानको काम सुरु गरेको २५ वर्षभन्दा बढी भयो।
दीपक लामा नामका युवाले विश्रामलाई एक दिन अघि मात्रै भेटेका थिए। विश्रामले पहिलो पटक दीपकलाई आँपपानी पुर्याए। फर्कँदा उनी पनि दुर्घटनामा परेर घाइते भएका छन्।
विश्राम आफू भने मोटरसाइकल चढेर भवन निर्माणस्थल पुगेका थिए। फर्कँदा उनी ट्याक्टरको अघि लागे।
‘अगाडि र पछाडि पिच सडक भए पनि दुर्घटना भएको टर्निङसहितको केही ओरालो बाटो निकै अप्ठेरो छ। ट्याक्टर यो बाटो पार गरुञ्जेल कुर्नुपर्छ भनेर म खोलो तरेपछि आउने पिचरोडमा पुगेर रोकिएँ,’ उनले सुनाए, ‘परबाट ट्याक्टर बत्ती बालेर आउँदै गरेको देखियो तर हेर्दाहेर्दै गर्ल्याम्मगुर्लुम्मै खोलामा खस्यो।’
त्यो दृष्य देखेपछि सँगै रहेका भतिज र आफू के गरौं कसो गरौं हुँदै ट्याक्टर खसेको स्थानतिर कुदेको उनले सुनाए।
‘त्यहाँ पुग्दा कोही पल्टिएर छटपटाइरहेका, कोही बेहोस भएका थिए। मैले प्रहरी, एम्बुलेन्सलाई फोन गरें। चर्कोसँग कराएपछि स्थानीयबासी पनि आइपगे,’ विश्रामले सुनाए, ‘केही बेरमा बल्ल उद्धार गर्न सकियो।’
वर्षौं देखि ढलानको कामका लागि कामदारको जोहो गर्ने काम गर्दै आएका विश्रामले जिल्ला बाहिरका धेरै व्यक्तिलाई खैरहनीको बैरेनीमा रहेको आफ्नै घरमा राखेर काममा लगाइरहेका छन्। उनीसँग काम गर्नेले दैनिक ६०० देखि १ हजार १०० रुपैयाँसम्म ज्याला पाउँछन्। सबैले बिहान-बेलुकीको खाना पनि काममै खान्छन्।
बाराको सिमरनगढका सिउजीकुमार रामले यसरी काम गर्न थालेको १० वर्ष भयो। आइतबारको कामको ज्याला उनले ८०० रुपैयाँ पाउँदै थिए। हरेक दिन कमाएर जम्मा भएको पैसाले छोराछोरीलाई राम्रो स्कुल पढाउने सपना देखेका थिए। तर ट्याक्टरसँगै सिउजीका सपना पनि पल्टिए। टाउको, छाती, ढाड र खुट्टामा लागेको चोट लिएर उनी अस्पतालमा छटपटाइरहेका छन्।
‘घरमा रहेका श्रीमती, दुई छोरी, एक छोरी, बाबु आमाले मबाट धेरै आशा राखेका थिए तर अब पूरा गर्न सक्ने भइनँ,’ उनले दुखेसो गरे।
१८ वर्षदेखि यही पेशामा संलग्न भएर चितवनको खैरहनीकी ३२ वर्षीया सरिता महतोले छोरालाई ९ कक्षा र छोरीलाई ६ कक्षा पढ्ने बनाएकी थिइन्। ट्याक्टरको टेलरमा बसेर घर फर्कँदै गर्दा सरिताले आफूले पाउने ज्यालाले के-के गर्ने भनेर योजना बुन्दै थिइन्। सोच्दा-सोच्दै आफू बसेको टेलर खोलामा खसेको पनि चाल पाइनन्, होसमा आउँदा उनी अस्पतालको आकस्मिक कक्षमा छटपटाउँदै थिइन्। छाती, ढाड र खुट्टामा चोट बोकेर उनी अस्पतालको शैयाबाट परिवारलाई सम्झँदै छिन्।
घर ढलानका लागि समूहमा हिँड्ने चितवनको पुरानो चलन हो। समथर क्षेत्रमा उनीहरू साइकलमा यात्रा गर्ने छन्।
पहाडी क्षेत्रमा काम परेका कारण आइतबार ट्याक्टरको जोहो गरिएको थियो। तर ट्याक्टर के कारणले दुर्घटनामा पर्यो भन्ने विषयमा अझै पत्ता नलागेको जिल्ला प्रहरीले बताएको छ। दुर्घटनामा ट्याक्टरका चालक पनि घाइते भएर पुरानो मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार गराइरहेका छन्।
राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले पहाडी क्षेत्रको बाटो सुरक्षित बन्न नसक्दा दुर्घटनाको जोखिम रहेको स्वीकार गर्दै यसलाई सुरक्षित बनाउन प्रयास गर्ने बताइन्।
‘म सडक कार्यालयलाई पनि यस सडकलाई व्यवस्थित बनाउन आग्रह गर्छु र नगरपालिकाकातर्फबाट पनि प्रयास गर्छु,’ उनले भनिन्, ‘चालक र यात्रुहरुले पनि यस विषयमा सतर्कता अपनाउनु पर्छ।’
मेयर बरालले घाइतेको उपचारका लागि कुनै कसर बाँकी नराख्न अस्पताललाई आग्रह गरिएको जानकारी दिँदै आगामी दिनमा दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने काम बारे छलफल गरेर योजना बनाउने बताइन्।