ओखलढुंगा घर भएका तेजबहादुर कार्कीको दुइटै खुट्टा छैनन्। २०५७ माघ २३ गते पृथ्वी राजमार्गमा भएको दुर्घटनामा उनले आफ्ना खुट्टा गुमाए। दुर्घटनापछि अस्पतालको शैयामा पुगेका उनलाई ह्वील चियरसम्मको यात्रा तय गर्न पनि तीन वर्ष कुर्नुपर्यो।
त्यसपछिका दिनमा भने उनी कहिल्यै रोकिएनन्। बितेका १६ वर्षमा उनले नेपालका ७४ वटा जिल्ला र एसियाका ३४ वटा देश घुमेर सके।
२०२१ सालमा जन्मिएका तेजबहादुरले २० वर्षको छँदा ट्रक चलाउन थालेका थिए। पछि उनी बसका चालक बने।
काठमाडौंदेखि काँकडभिट्टा चल्ने बस चलाउँथे। ड्राइभरीबाट जीवन ठिकठाक चल्दै थियो तर एउटा रात तेजबहादुरको जीवनमा अभिशाप बनेर आइदियो।
काँकडभिट्टाबाट यात्रु बोकेर काठमाडौं हुइँकिरहेको उनको बसमा प्राविधिक गडबडी देखियो। उनले त्यसलाई नियन्त्रणमा लिन सकेनन्। बस धादिङको जोगिमारास्थित पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खस्यो। दुर्घटनामा ३२ जनाले ज्यान गुमाए। उनी घाइते भएर काठमाडौंको शिक्षण अस्पतालमा पुगे।
दुर्घटनामा बेहोस बनेका उनलाई होसमा आउन ३ महिना लागेको थियो। होस् आउँदा उनले आफूलाई खुट्टविहीन पाए। शिक्षण अस्पतालको एउटै शैयामा सुतेर करिब ३ वर्ष उपचार गरेपछि बल्ल उनी ह्वील चियर चढ्न सक्ने भएका हुन्।
उनी अस्पतालबाट घरसम्म त पुगे तर गाडी चलाएर पूर्व-पश्चिम पुगिरहने तेजबहादुरलाई घरमै थन्किनु पर्दा उकुसमुकुस हुन थाल्यो।
उनले सोचे, ‘बरू ह्विलचियरमै बसेर देश घुम्छु।’
उनी ह्विलचियरमा बस्न र गुड्न सघाउने सहयोगी लिएर मेची-महाकाली यात्रामा निस्किए।
‘खुट्टा गुमाएँ त के भयो, मेरो दिमाग त गुमेको छैन नि भन्ने लाग्यो,’ उनले भने, ‘ह्विलचियरलाई खुट्टा बनाएर देश घुम्न थालें।’
जिल्ला–जिल्ला पुग्दा उनले आफ्नो दुर्घटना र अपाङ्गताबारे जानकारी मात्रै गराएनन् सवारी दुर्घटना कसरी हुन्छ, कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने कुरा पनि मानिसलाई बुझाउन थाले।
‘कोही चालक भगवानजस्ता हुन्छन्, यात्रुलाई कसरी सुविधा दिने भन्ने सोच्छन् तर कोही अरूको बारे सोच्दैनन् जे पायो त्यही खाएर गाडी चलाउँछन्। यसले दुर्घटना निम्त्याउँछ,’ उनी भन्छन्, ‘मैले जहाँ पुग्दा पनि सडक पूर्वाधारको विकास र मादक पदार्थ सेवन गरी गाडी चलाउन एकदमै नियन्त्रण आवश्यक छ भन्ने गरेको छु।’
उनीसँग सबै जिल्लाका प्रशासन कार्यालयले ती जिल्लामा पुगेको भनेर दिएको प्रमाण छ।
‘ह्विलचियर पुग्ने ठाउँमा यसैको सहारामा नपुग्ने ठाउँमा अन्य सवारी साधनको सहारा लिएँ,’ उनले सुनाए, ‘पहाडी जिल्लाहरूमा त बोकिएर पनि पुगें।’
यात्राको दौरानमा निकै दुःख कष्ट व्यहोरेको उनी सम्झन्छन्।
‘खान, बस्न नपाउनु त सामान्य समस्या भयो,’ उनले भने, ‘हेपिने, लुटिने, पिटिने अवस्था पनि भोगें।’
एकदिन घरमै बसेर टिभी हेर्दा उनले विश्व साइकल यात्री पुष्कर शाहको अन्तर्वार्ता देखे। त्यो हेरेपछि उनले सोचे- चाहयो भने त बालुवामा कमल पनि फूल्दो रहेछ।
ह्वील चियर चढेर विदेश पनि घुम्ने निधो गरेर उनले पासपोर्ट बनाए। त्यो पासपोर्ट बोकेर उनी भारत पुगे।
२०६४ सालमा भारत पुगेका उनी श्रीलंका, माल्दिभ्स, बंगलादेश, म्यानमार, कम्बोडिया, भियतनाम, चीन, ताइवान हुँदै जापान, कोरियासम्म पुगेका छन्।
‘जहाँ पुग्यो त्यहीँका नेपालीहरूलाई भेट्न थालें, उहाँहरूले पनि मेरो अवस्था र इच्छा देखेपछि सकेको सहयोग गर्नुभयो,’ उनले सुनाए, ‘त्यो सहयोगले मेरो विश्व घुम्ने र नेपालीको पहिचान दिने इच्छा पूरा हुँदै जान थाल्यो।’
देशभित्रै यात्राका क्रममा हेपिने गरेका उनी विदेशमा नहेपिने त कुरै भएन। म्यानमार, बंगलादेश पुग्दा उनले धेरै दुःख पाए।
‘म्यानमारमा सिआइडी ठानेर बास दिन्थेनन्, खाना पनि पाइन्थेन। साथमा भएको केही बिस्कुटको भरमा हप्ताभरको गुजारा चलाइयो,’ उनले सुनाए ‘बंगलादेशमा त लुटिएँ, भएको घडी, क्यामरा पनि लुटेर लगे।’
तैपनि उनले हरेस खाएनन्।
‘दुःखलाई नै सुख ठानेर यात्रा गरिरहें। यसैलाई अमृत मानें,’ तेजबहादुरले सुनाए।
गत वर्षको फागुनमा उनी मंगोलियाबाट देश फर्किएका थिए। त्यसपछि कोरोनाभाइरसको महामारीसँगै उनको यात्रामा विराम लागेको छ। तैपनि उनी नेपालका बाँकी तीन जिल्ला र विश्वका अन्य देशहरु घुम्ने सोचमा छन्।
नेपालका मनाङ, हुम्ला र डोल्पा उनी पुगेका छैनन्। आर्थिक अभावका कारण यी जिल्लाहरूमा पुग्न नसकेको उनले बताए।
‘कसैको सहयोग भए यी जिल्लाहरू पनि पुग्न मन थियो,’ उनले भने, ‘दुबै खुट्टा नहुनेले पनि पुरै देश पुगेर देखायो भनेर अपाङ्गता भएका धेरैलाई प्रेरणा दिने मन छ।’
उनको चाहना देशमात्रै नभई ह्विल चियरमा चढेर विश्व भ्रमण गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नेपालको तर्फबाट आफ्नो नाम दर्ता गराउने छ।
‘अपाङ्गता भएकालाई नागरिकता पाउनै समस्या छ, त्यसपछि बल्ल भत्ता अनि अन्य सुविधाका कुरा आउँछन्, तर ती समस्याहरू सुन्न सत्तालाई फुर्सद छैन, मेरो कामले कम्तीमा पनि उनीहरूलाई प्रेरणा दिन सक्छ भन्ने आशा छ,’ तेजबहादुर भन्छन्।