भगवान् रामको जन्म भारतमा नभई नेपालकै अयोध्यापुरीमा भएको दाबी प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको भानु जयन्तीमा गरेका थिए। उनी दाबीमा मात्रै रोकिएनन्, करिब ९ महिनाको अवधिमा उनले मन्दिरका लागि आवश्यक जग्गाको बन्दोबस्त गर्न र राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति नै तयार पार्न लगाए। प्रधानमन्त्रीकै अग्रसरतामा निर्माण भएका ती मूर्तिहरू अहिले बालुवाटारको आँगनमा छन्।
अब ती मूर्तिलाई वैशाख ८ गते रामनवमीका अवसरमा माडीको अयोध्यापुरी पुर्याएर स्थापना गर्ने तयारी भइरहेको छ।
ती मूर्ति राख्न अयोध्यापुरीमा माडी नगरपालिकाले छुट्टाएको एक सय बिघा जमिनको केही हिस्सामा अहिले अस्थायी मन्दिर तयार पारिँदैछ।
‘तत्कालका लागि मूर्ति स्थापना गर्ने उद्देश्यले अस्थायी मन्दिर र सत्तलको निर्माण कार्य धमाधम भइरहेको छ। ६ गतेभित्र मन्दिर तयार भइसक्छ,’ अयोध्यापुरी व्यवस्थापन समितिका प्रचारप्रसार संयोजक श्रीप्रसाद दवाडीले भने, ‘रामनवमीका दिन धुमधामका साथ मूर्ति स्थापना गर्ने कार्यक्रम छ।’
प्रधानमन्त्री ओलीले रामनवमीको अघिल्लो दिन काठमाडौंको पशुपतिनाथ क्षेत्रमा रहेको राम मन्दिरबाट विधिवत् रूपमा ती मूर्तिहरू हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
माडीमा अयोध्याधाम निर्माणको पहल गर्दै आएका प्रदेश सांसद विजय सुवेदीले प्रधानमन्त्रीले मूर्ति हस्तान्तरण गरेपछि बग्गी र रथसहितको कलस यात्रा अयोध्यापुरीतर्फ प्रस्थान गर्ने बताए।
उनकाअनुसार पशुपतिनाथबाट भद्रकालीसम्म एक हजार कलससहितको र्याली हुनेछ।
‘बग्गी र मूर्ति बोकेको रथ रहने र्यालीमा हजारौंको सहभागिता हुनेछ। भद्रकालीबाट नागढुंगासम्म बग्गी र रथ हुनेछन् भने नागढुंगाबाट रथ र सर्वसाधारणको र्याली संगीत र भजन कृतनसहित अघि बढ्नेछ,’ सुवेदीले भने।
सो दिन उक्त र्याली चितवनको दासढुंगाबाट देवघाट पुगेर बस्ने सुवेदीले बताए। रामनवमीका दिन कालीगण्डकी र त्रिशुली नदीको दोभानमा स्नानगरी पुनः दासढुंगा पुगेर जुगेडी, रामनगर, नारायणगढ, भरतपुर हुँदै मूर्तिलाई माडी पुर्याइने उनले बताए।
‘राम नेपालमा जन्मिए कि भारतमा भन्ने विषय समयक्रमसँगै पुष्टि हुँदै जाला तर अहिले माडीमा भव्य कार्यक्रम गरी राम, सीताको मूर्तिको स्थापना गर्ने तयारी छ,’ सुवेदीले भने, ‘यो नेपालको धार्मिक पर्यटनको विकासका लागि ऐतिहासिक दिन बन्नेछ।’
पर्यटन मन्त्री भानुभक्त ढकाल र बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेल तथा हिन्दू धर्मका धर्मगुरुको उपस्थितिमा मूर्ति स्थापनाको कार्यक्रम गर्न लागिएको उनले बताए।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले काठमाडौंबाट प्रधानमन्त्रीले पठाउने मूर्तिसहितको र्यालीलाई व्यवस्थापन गर्न तयार रहेको बताए।
‘आवश्यक परे सुरक्षा समितिको बैठक नै राखेर तयारी गर्छौं,’ उनले भने, ‘ठाउँ-ठाउँमा आकर्षक गेट, तुल, ब्यानर टाँगेर कार्यक्रमलाई सफल पार्न प्रशासनले सहजीकरण गर्छ।’
उक्त कार्यक्रमलाई सफल पार्न जिल्ला समन्वय समितिले सहजीकरण गरिरहेको छ। समितिका अध्यक्ष कृष्णप्रसाद डल्लाकोटीले सरोकारवालालाई डाकेर प्रधानमन्त्री तथा मुख्यमन्त्रीको अग्रसरतामा माडीमा राम मन्दिर बन्न लागेको भन्दै सहयोगको आह्वान गरेका थिए।
चितवनका ओली पक्षीय जनप्रतिनिधि राममन्दिर निर्माणको विषयमा खुलेर बोल्ने गरेका छन्। नेपाली कांग्रेसभित्रका हिन्दू राष्ट्रको वकालत गर्ने नेता तथा जनप्रतिनिधिले पनि यसमा साथ दिएका छन्। नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्लेले माडीमा अयोध्याधाम निर्माणका लागि अहिलेको सरकारले गरेको प्रयासले कम्युनिष्टले धर्म मान्दैनन् भन्ने कुरालाई गलत प्रमाणित गरेको भन्दै आवश्यक सहयोग गर्ने बताइन्।
अयोध्याधाम व्यवस्थापन समितिका प्रचार संयोजक दवाडीकाअनुसार अयोध्याधामको गुरुयोजना निर्माणको काम अहिले भइरहेको छ। आगामी २२ महिनाभित्र गुरुयोजनाअनुरूपको मन्दिर तयार हुने र सोही मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा गरिने उनले बताए।
माडी नगरपालिकाले सिफारिस गरेको एक सयमध्ये १९ बिघा क्षेत्रफलमा मन्दिर र जटायु पार्क निर्माण गर्न लागिएको छ।
माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले राम मन्दिर बन्दै गर्दा माडीमा रहेका सुकुम्बासी, भूमिहीन, सीमान्तकृतको समस्या पनि समाधान गर्न सरकारसँग माग गर्दै आएका छन्। विगतमा यी कुरा पुरा नभई अयोध्याधामको कुरामात्रै अघि बढ्न नसक्ने बताउने मेयर ढकालले अहिले भने मन्दिर निर्माणमा असहयोगी नबन्ने मनस्थितिमा देखिन्छन्।
‘रामनवमीमा राम-सीताको मूर्ति स्थापना गर्ने तय गरिएकाले माडीका सबै क्षेत्र समुदायको यसमा सहभागिताका लागि म आग्रह गर्छु,’ वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘तर यससँगै जोडिएका केही महत्वपूर्ण विषयमा भने हालसम्म निर्णय हुनसकेको छैन। माडी क्षेत्रका सुकुम्बासीले बसोबास गर्दै आइरहेको बाँदरझुलाको नापीको विषय, कान्छी बगई, प्याउली, छरछरेलगायतका क्षेत्रका किसानको जमिनको समस्या, सुकुम्बासीको घर बनाउनका लागि रोकिएको विषय र राष्ट्रिय निकुञ्जले जग्गाको सिफारिसका लागि रोक लगाएको विषय पनि सँगसँगै हल हुन अत्यावश्यक देखिन्छ।’
सांसद सुवेदीले भने माडी नगरपालिकाले उठाएका सबै विषयमा सम्बोधन गर्न प्रधानमन्त्री तयार रहेको दाबी गरे।
‘ती सबै विषयको प्रकृया पनि अघि बढेको छ। आवश्यक समयमा आवश्यक काम गर्दै जानुपर्छ,’ उनले भने, ‘अहिले मन्दिरको काम सकौं, सुकुम्बासीका समस्याको विषयमा भूमिसम्बन्धी आयोगले काम गरिरहेको छ, निकुञ्जबाट आएको समस्या समाधानका लागि ऐन परिमार्जन आवश्यक देखिएकाले त्यता पनि छलफल जारी नै छ।’
अयोध्याधाम निर्माणका लागि पूर्वसांसद तीर्थ भूषालको अध्यक्षतामा अयोध्याधाम व्यवस्थापन समिति निर्माण गरिएको छ।
समितिले सरकारले गठन आदेश जारी गरेर उक्त समितिलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग राखिएको जनाएको छ।