मकवानपुरबाट बहेर आउने राप्ती नदीको चितवनमा निश्चित धार थिएन।
लोथरबाट तत्कालीन कुमरोज गाविस हुँदै बछौलीको सौराहासम्म समथर भूभागमा यसको फैलावट बढ्दो क्रममा थियो।
नदी जथाभावी बहँदा जमिन बगर बनेका थिए। आसपासका बासिन्दालाई नदीले धुरूक्कै रूवाएको थियो।
यसैबीच उनीहरूले वृक्षारोपण अभियान चलाए।
२०४१ सालमा वृक्षारोपण अभियान सुरू हुँदा पनि कुमरोज क्षेत्रका बासिन्दाले राप्तीको 'दादागिरी' कम हुने ठानेका थिएनन्।
बगर बनेको जमिनमा रोपिएका बाँस र अन्य बिरूवा हुर्कँदै थिए, २०५० सालमा झन् ठूलो बाढी आयो। त्यो बाढीले जनधनको ठूलो क्षति गर्यो। तर जता–जता बिरूवा हुर्कँदै थियो त्यहाँ क्षति कम भयो।
सधैँजसो नदीले दिने सास्तीले पीडित बन्ने गरेका स्थानीयले बल्ल मेसो पाए, ‘बिरूवा रोप्यो भने बाढीको जोखिम र क्षति कम हुन्छ।'
त्यसपछि सरकारी, गैरसरकारी संस्था र स्थानीय मिलेर कुमरोजको राप्ती नदी छेउमा वृक्षारोपणको अभियानलाई तीव्रता दिन थाले। बिस्तारै राप्ती नदीमा तटबन्ध गर्न थालियो, रोपिएका बिरूवाहरू पनि हुर्कन थाले।
बाढी रोक्न रोपिएका ती बिरूवा बढेर अहिले घना जंगल बनेको छ। वारपार छ्यांगै देखिने बगर कुमरोज मध्यवर्ती सामुदायिक वनका रूपमा परिचय बनाउँदै छ।
त्यतिमात्र होइन वन्यजन्तुको अवलोकनका लागि चितवन आउने पर्यटकको रोजाइ बन्दै गएको छ। पाटेबाघ, एक सिंगे गैंडा, घडियाल गोही, गौरीगाईलगायत दुर्लभ वन्यजन्तुको बासस्थान बन्दै गएको छ, कुमरोज सामुदायिक वन।
हराभरा वन र दुर्लभ वन्यजन्तुको अवलोकनका लागि दैनिक एक हजार बढी पर्यटक यहाँ पुग्ने गरेको कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले बताए।
‘२०४० सालअघि हाम्रो एकमात्रै लक्ष्य राप्तीको बाढीलाई गाउँ पस्न नदिने थियो। त्यसका लागि बगरलाई मिलाएर वृक्षारोपण गर्यौं,’ श्रेष्ठले भने, ‘अहिले ती बिरूवा बढेर बाढी रोकथामसँगै पर्यापर्यटनमा भूमिका खेल्दै स्थानीय वासिन्दाको जीवन सुधारमा समेत सहयोगी बनेका छन्।’
पर्यटनमार्फत् यो वनले वार्षिक ४ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको अध्यक्ष श्रेष्ठले बताए।
पर्यटकले जिप र हात्ती सफारीमार्फत् कुमरोज वन अवलोकन गर्ने गर्छन्। यस वनमा ७५ वटा जिप पर्यटक बोकेर घुम्नका लागि दर्ता भएका छन्।
यहाँ ११ जना पर्यटक बोक्ने जिपले दैनिक १७० वटासम्म सफारी गर्ने गरेको अध्यक्ष श्रेष्ठले बताए। १३ वटा हात्तीले पनि नियमित सफारी गर्ने गरेका छन्। हात्ती चढेर अन्य जीवजन्तु हेर्नेको संख्या दैनिक ४०० सम्म रहने गरेको उनले बताए।
वनले पर्यटकलाई डुंगा सफारीका लागि भनेर कृत्रिम तालहरूसमेत बनाएको छ। तालमा स्थानीय दराई, बोटे समुदायले माछापालन गरी आयआर्जन गर्छन् भने पर्यटकले डुंगा चढेर मनोरञ्जन लिन्छन्।
अध्यक्ष श्रेष्ठकाअनुसार वनबाट भएको आम्दानीको ६० प्रतिशत संरक्षणमा र ४० प्रतिशत हिस्सा सामाजिक विकासमा खर्च गर्ने गरिएको छ।
सामाजिक विकासअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कल्भर्ट निर्माणलगायतमा खर्च गरिएको उनले बताए। संरक्षणका लागि छुट्टाइएको रकमको ठूलो हिस्सा केही वर्षदेखि मानवबस्ती र वनबीचमा कंक्रिट लगाउनका लागि खर्च गरिएको उनले बताए।
कुमरोज सामुदायिक वनका सदस्य रेशमराज सापकोटाले वन र वन्यजन्तुप्रति नकरात्मक दृष्टिकोण भएका स्थानीयवासीले अहिले तिनैबाट फाइदा लिइरहेको बताए।
‘वन बढेपछि जनावरको बासस्थानका रूपमा विकास भयो। जनावरले गाउँलेलाई दुःख दिन थाले। मान्छेमाथि आक्रमण गर्ने, बाली खाइदिने भएकाले जनावरप्रति हेर्ने दृष्टिकोण नकरात्मक थियो,’ उनले भने, ‘वन्यजन्तु हेर्नैका लागि देश, विदेशबाट पर्यटक आउन थालेपछि स्थानीयले रोजगारी पाएका छन्। वनमार्फत् धेरै कुरामा सहयोग पाउन थालेका छन्।’
कुमरोज सामुदायिक वनमा २ हजार १०९ घरधुरी आवद्ध छन्। सामुदायिक वनले बिरामी भएका सदस्यलाई ५ देखि ३० हजार रूपैयाँ सहयोग गर्ने गरेको छ।
त्यस्तै, खानेपानी जडानका लागि ६ हजार, सुत्केरी भत्ता २ हजार, दूध उत्पादक किसानलाई प्रतिलिटर ५० पैसा उपलब्ध गराउँछ। साथै आदिवासी, जनजातिका लागि माछापोखरी र होमस्टे सञ्चालन गर्न वनले सहयोग गरेको छ।
सदस्य सापकोटाले वन्यजन्तुलाई गाउँ प्रवेश गर्न नदिन कंक्रिटको पर्खाल लगाउने काम चलिरहेकाले यसले मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण गर्ने बताए।
‘पहिले गाउँलेहरू गाई भैंसी चराउन जंगल जान्थे, अचेल जंगलको घाँस उपयोग गर्छन्। लुकीछिपी माछा मार्नका लागि राप्ती जान्थे, अहिले उनीहरूका लागि पोखरी नै काफी छ,’ सापकोटाले भने।
सौराहाबाट ९ किलोमिटर पर रहेको यस वनमा पर्यटक प्रवेश गर्न थालेको २०७४ सालको पुस ११ बाट हो।
३ किमि चौडाइ, ७ किमि लम्बाइसहित ७५० हेक्टरमा फैलिएको यो वनमा जिप र हात्ती चढेर घुम्नेमात्र नभई जंगलभित्र रहेका मचानमा बास बस्ने सुविधा पनि छ।
खैरहनी-१२ की दिलमाया दराईले पर्यटक आउने क्रम बढेपछि होमस्टे र माछापोखरीमार्फत आयआर्जनमा सहज भएको बताइन्।
‘वनका कारण रोजगारी मिलेको छ, खेतीपातीको मात्र भर पर्नु पर्थ्यो, अहिले आयआर्जनका विकल्प थपिएका छन्,’ उनले भनिन्।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरमा कार्यरत रेञ्जर योगेश ढकालले कुमरोज वनले गर्दै आएको कामले निकुञ्जलाई पनि संरक्षणमा सहयोग पुगेको बताए।
‘मानिसहरू निकुञ्जभित्र जान छाडे, माछा मार्न नजाँदा गोहीको संरक्षणमा फाइदा भइरहेको छ,’ उनले भने, ‘केही नभएको ठाउँ प्राकृतिक रूपले जनावरको निकै राम्रो बासस्थान बन्यो।’
उनले चितवनका सामुदायिक वनमा कुमरोज र बाघमारा नमूना बनेको बताए।
चरा विज्ञ टीकाराम गिरी पर्यटकसँग धेरै पटक यो वन पुगेका छन्। यहाँ पुग्दा उनले केही न केही नयाँ कुरा देख्न पाउँछन्।
‘कहिले चरा, कहिले अन्य जीवजन्तुले मोहित पार्छ। यहाँ आउने पर्यटक पनि यसै भन्छन्,’ गिरी भन्छन्, ‘संरक्षणका लागि गरेका कामकै कारण कुमरोज वन पर्यटकको रोजाइ बन्दै छ।’
वनपालेलाई तलब खुवाउन नसकेर ऋण लिएको वन
वन हराभरा बन्दै जाँदा पनि आम्दानीको श्रोत नहुँदा कर्मचारीलाई तलब दिन हम्मे हुन्थ्यो। अध्यक्ष श्रेष्ठले २०७२ सालमा वनपालेलाई तलब दिन नसक्दा जमिन धितो राखेर ऋण लिनुपरेको सुनाए।
‘त्यतिखेर हामीसँग १२ जना कर्मचारी थिए, उनीहरूलाई तलब दिन साह्रै आपत् हुन्थ्यो,’ उनले भने, ‘केही उपाय नभएपछि वनका लागि किनेको नम्बरी जग्गा धितो राखी ऋण लिएर तलब खुवाइयो।’
२०७४ बाट पर्यटक आउने क्रम बढेपछि भने त्यस्ता दिन देख्नु नपरेको उनले सुनाए। अहिले यस वनमा १६ जना कर्मचारी काम गर्छन्।
स्थानीय सरकारले जस्तै काम गर्ने वन
पर्यटकबाट आएको आम्दानीले स्थानीय तहले गर्न नसकेका काम आफूहरूले गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए।
‘हामी हरेक वर्ष सामाजिक विकासका काम के-के गर्ने भनेर योजना बनाउँछौं, यही योजनाअनुसार काम गर्छौं,’ उनले भने, ‘स्थानीय तहले के-के काम गर्न सकेको छैन पत्ता लगाएर ती कामका लागि बजेट खर्च गर्छौं।’
उनले सडक, बत्ती, पुल, पुलेसा निर्माण, विद्यालयमा निजी स्रोतमा पढाउने गर्ने शिक्षकहरूलाई तलब उपलब्ध गराउने, खेलकुदका गतिविधिका लागि सहयोग गर्ने, स्वास्थ्यसम्बन्धी सचेतना अभियान चलाउने काम वनले गर्दै आएको बताए।
‘हामी वनको आयस्रोत बढाउँदै सामाजिक विकासमा थप योगदान गर्ने उद्देश्यले अघि बढेका छौं,’ श्रेष्ठले भने, ‘डुंगा सफारी, मचानलाई थप व्यवस्थित बनाउँदै बढी आम्दानी लिने प्रयासमा छौं।’
उनले घाँसे मैदान बढाउँदै वन्यजन्तुको संख्या बढाउन पनि वनले मेहनत गरिरहेको सुनाए।
अहिले ३०० हेक्टर घाँसे मैदान रहेको यस वनले थप २०० हेक्टर क्षेत्रफललाई घाँसे मैदानको रूपमा व्यवस्थापन गर्ने प्रयास गरिरहेको उनले बताए।
कुमरोज वनले घाँस बिक्री गरेर पनि आम्दानी लिँदै आएको छ। सौराहाका हात्ती पालक व्यवसायीहरूले यहीँको घाँस खरिद गरेर हात्तीलाई खुवाउँछन्।
अर्को वर्ष वन र बस्तीको बीचमा कंक्रिट पर्खाल लगाउने काम सकिएपछि स्थानीयवासी पूर्ण रूपमा सुरक्षित बन्ने उनले बताए।
गत वर्ष ७१ लाख रूपैयाँ लागतमा छ सय ८७ मिटर पर्खाल लगाइएकोमा यस वर्ष सात सय ६० मिटर पर्खालका लागि ८५ लाख खर्च गर्न लागिएको छ। बाँकी १ हजार ३ तीन सय ४४ मिटर पर्खालका लागि प्रदेश सरकारलाई आग्रह गरिएको उनले बताए।
सबै तस्बिरहरू: राजेश घिमिरे/सेतोपाटी