एउटा विद्यालय जो केही वर्षअघिसम्म नाम मात्रैको थियो। पढ्नका लागि विद्यार्थी फाट्टफुट्ट आउँथे, ती पनि नियमित हुन्थेनन्।
अभिभावकमा शिक्षाको चेतना थिएन, बालबालिका अभिभावकको पछि लागेर मेलापात जान्थे।
खरले छाएको सानो छाप्रो थियो, विद्यालयको भवन। विकट ठाउँ भएकाले यहाँ पुगेर पढाउने शिक्षक पनि भेटिन्थेनन्। जेनतेन एक जना शिक्षक पुगे भने उनको काम विद्यालय कुर्नेमात्रै हुन्थ्यो।
समय फेरियो।
अहिले त्यो विद्यालय विद्यार्थीले भरिएको मात्रै छैन, विद्यार्थीको चाप थेग्न नसकेर शिक्षकको दरबन्दीदेखि नयाँ भवनको माग गरिएको छ।
खरले छाएको सानो झुप्रोको ठाउँमा अहिले ४ वटा पक्की भवन बनिसके, तैपनि विद्यार्थी राख्न पुगेको छैन।
प्रसंग कान्देश्वरी आधारभुत विद्यालयको हो।
चितवनको राप्ती नगरपालिकाको वडा नम्बर १३ मा रहेको यो विद्यालय जिल्लाकै सबैभन्दा उचाइमा रहेका विद्यालयमध्येमा पर्छ। चेपाङ समुदायको बसोबास रहेको यस गाउँमा पुग्न पूर्व-पश्चिम राजमार्गबाट करिब तीन घन्टाको कच्ची बाटो गाडी चढेर तीन घन्टा उकालो बाटो पैदल हिँड्नुपर्छ।
२०७० साल अघिसम्म पनि यस विद्यालयको अवस्था दयानीय थियो।
भौतिक संरचना नाम मात्रैको थियो भने स्थानीयबासीमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना कम थियो। त्यसमाथि घन्टौं हिँडेर विद्यालय पुग्नु बालबालिकाका लागि सहज थिएन।
३ कक्षासम्म मुस्किलले पढाइ हुने गरेको कान्देश्वरी आधारभुत विद्यालयमा अहिले कक्षा ७ सम्म पढाइ हुन थालेको छ। यहाँ करिब दुई सय जना चेपाङ बालबालिका नियमित अध्ययन गर्छन्।
विगतमा शरीर ढाक्ने कपडा पनि नलगाई विद्यालय जाने बालबालिका युनिफर्ममा टाई झुण्ड्याएर विद्यालय पुग्छन्। किताब, कापी, कलम नबोकी विद्यालय पुग्नेहरू अचेल कम्प्युटरबारे पनि जान्ने भएका छन्। उनीहरूको चहलपहल शहरको कुनै निजी विद्यालयको भन्दा कम देखिँदैन।
विद्यालय यसरी आनका तान फेरिनुको पछि एउटा दु:खद घटना जोडिएको छ। २०६७ सालको जेठमा कान्दामा विषालु च्याउ खाएर एउटा चेपाङ परिवारका ७ जनाको ज्यान गएको थियो।
घटनापछि यो गाउँको विषयमा सोधखोज हुन थाल्यो। सरकारी निकायको पहुँच लगभग शून्यजस्तै थियो। शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, विद्युत् लगायतको पहुँचबाट पर रहेको कान्दा वास्तवमै ‘अनकन्टार’ थियो। सञ्चारमाध्यममा यो गाउँ र स्थानीयको दयानीय अवस्थाबारे समाचार आउन थाले।
च्याउ खाएर सात जनाको ज्यान गएपछि सरकारी, गैरसरकारी निकाय, सामाजिक संघ संस्था, सहयोगी व्यक्ति यही घटनापछि कान्दासम्म पुगेका थिए।
मितेरी फाउण्डेशन, लक्ष्मी प्रतिष्ठानलगायतका संस्थाको अग्रसरतामा अनकन्टार कान्दामा सोही घटनापछि रूपान्तरणको अभियान सुरू भएको बताउँछन्, विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलिया।
उनका अनुसार फाउण्डेशनले कृषि, पशुपालनमा सुधार गर्दै स्थानीयको जीवनस्तर उकास्ने र शिक्षासम्बन्धी चेतनामा वृद्धि गर्दै बालबालिकालाई विद्यालय पठाउन अभिप्रेरित गर्ने काम गर्यो। लक्ष्मी प्रतिष्ठानले स्थानीयको कमजोर आर्थिक अवस्थाका कारण बालबालिका पढाइबाट बञ्चित भएको महसुस गर्दै आवासीय पढाइको बन्दोबस्त मिलायो।
प्रधानाध्यापक थपलियाकाअनुसार २०७२ सालमा लक्ष्मी प्रतिष्ठान नामक गैरसरकारी संस्थाले विद्यालयनजिकै होस्टल सञ्चालन गरिदिएपछि गाउँमा ठूलो परिवर्तन देखिएको छ। यस संस्थाले ५० जना बालबालिकालाई राखेर कान्दामा छात्रावास सुरू गरेको थियो।
‘छात्रावास खुलेको थाहा पाएपछि अन्यले पनि बालबालिका ल्याउन थाले,’ छात्रावासका व्यवस्थापक मनोज श्रेष्ठ भन्छन्, ‘अहिले बढेर दुई सय पुग्न लागे।’
लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले सवारी दुर्घटनामा मृत्यु भएका छोराहरूको सम्झनामा यहाँ छात्रावास निर्माण गरेका हुन्।
जेठा छोरा कुमारको काठमाडौंको तिलगंगामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको ९ महिनामै अर्का छोरा बलरामको अमेरिकामा कार दुर्घटनामा मृत्यु भएको थियो। यिनै दुई जना छोराको नाममा उनले यहाँ कुमार-बलराम स्मृति छात्रावास सञ्चालनमा ल्याएका हुन्। १६ वटा कोठा रहेको छात्रावास सञ्चालनका लागि लक्ष्मी प्रतिष्ठानले आर्थिक सहयोगको आह्वान गर्ने गरेको छ। धेरै व्यक्ति तथा संस्थाले यसमा आर्थिक सहयोग गर्ने गरेका छन्।
‘विद्यार्थीलाई खाने, बस्ने, लगाउने सबै बन्दोबस्त प्रतिष्ठानले गर्दै आएको छ,’ श्रेष्ठले भने, ‘यसका अलावा छात्रावासमा अतिरिक्त पढाइको व्यवस्था मिलाइएको छ।’
विद्यार्थीलाई समय–समयमा मासु खुवाउन छात्रावास परिसरमै बाख्रा, सुँगुर र कुखुरा पालिएको छ। दूधका लागि गाई पालिएको छ। छात्रावास वरपर फर्सी, भन्टा, मुला, सागलगायतका तरकारी लगाइएको छ। यी सबै कामका लागि १३ जना कर्मचारी खटेका छन्। १ जना व्यवस्थापक, ५ जना केयर गिभर, कृषिका लागि २ जना, पशुपालनमा १ जना, भान्सामा २ जना, स्वास्थ्यमा १ जना तथा सरसफाइमा १ जनाले काम गर्छन्।
५ जना केयर गिभरमध्ये दुई जनालाई मितेरी फाउण्डेशनले राखेको हो।
उनीहरू सबैले दिउँसोको समयमा विद्यालयमा पढाउँछन्, विद्यालय छुट्टी भएपछि छात्रावासमा बसेर विद्यार्थीहरूको हेरचाह गर्छन्। विद्यालयमा सरकारी दरबन्दीमा रहेका शिक्षकहरू पनि छात्रावासमै बस्छन्।
यसको सट्टामा विद्यार्थीहरूलाई बिहान-बेलुका अतिरिक्त कक्षा पढाउँछन्।
छात्रावास व्यवस्थापक मनोज श्रेष्ठका अनुसार विद्यार्थीका लागि खाना, लत्ता कपडा, शैक्षिक सामग्री, कर्मचारीको तलबलगायतमा मासिक ६ लाख रुपैयाँ खर्च हुने गरेको छ।
‘मासिक २ हजार किलोभन्दा बढी चामल चाहिन्छ, दाल पनि किन्नुपर्छ,’ उनी भन्छन्, ‘विद्यार्थी थपिने क्रम बढेसँगै खर्च पनि बढिरहेको छ।’
साथीको लागि साथी कार्यक्रममार्फत् यहाँका २५ जना बालबालिकाको २५ जना विदेशीसँग सम्बन्ध जोडिएको छ। यसमार्फत् पनि विदेशबाट सहयोग आउँछ।
‘उक्त रकम पनि समग्रमा खर्च गर्छौं,’ उनले भने।
विद्यालयका प्रधानाध्यापक थपलिया छात्रावास सञ्चालनमा आएपछि गाउँमा धेरै परिवर्तन आएको अनुभूति गरेको बताउँछन्।
‘विद्यार्थीमार्फत् अभिभावकको चेतनाको स्तर पनि बढ्न थालेको छ,’ १८ वर्षदेखि यहाँ पढाइरहेका थपलिया भन्छन्, ‘विद्यालय र छात्रावास दुबैतिर पढ्न पाएपछि विद्यार्थी पनि जान्ने भएका छन्। शहरका विद्यालयमा पढेकासँग पनि प्रतिष्पर्धा गर्न सक्छन्।’
उनकाअनुसार विगतमा ४ घन्टासम्म हिँडेर विद्यालय आउनु पर्ने भएका कारण विद्यार्थी संख्या न्यून थियो। राप्ती १२ र १३ का सार्लिङ, गिनमाङ डाँडा, ब्रेतेस, कालीटार, कोराक ड्यामलगायतका ठाउँका विद्यार्थी यहाँ आवासीय अध्ययन गर्छन्। छात्रावासमा बसेर पढेकामध्ये ५ जना विद्यार्थीले यसपालि एसईई परीक्षा दिँदै छन् ।
विद्यालयका सहायक प्रधानाध्यापक अनिलकृष्ण श्रेष्ठले चेपाङ बालबालिकालाई प्रतिष्पर्धी बनाउँदै बिकट ठाउँमा पनि यस्तो प्रगति हुन सक्छ भन्ने नमूना देखाउन विद्यालय र छात्रवासमा कार्यरत सबै कर्मचारी लागि परेको बताए।
‘सुरूमा विद्यार्थी फोहोरी हुन्थे, कपडा लगाउन पनि नजान्ने, सरसफाइबारे जानकारी नभएका। अहिले धेरै सुधार आएको छ। सबै सफा बनेर हिँड्छन्। सरसफाइमा ध्यान दिन्छन्,’ उनले भने।
विद्यार्थीलाई नृत्य, गायनलगायतका अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराइन्छ। खेलकुदका गतिविधिमा पनि बालबालिका उत्तिकै सकृय हुन्छन्।
च्याउदिङ गाउँकी विमला प्रजा अहिले यस विद्यालयमा कक्षा ६ मा पढ्दै छिन्। परिवारको कमजोर आर्थिक अवस्थाका कारण पहिले उनले नियमित रूपमा पढ्न पाएकी थिइनन्।
‘स्कुल गएरमात्रै सुख हुन्थेन, बिहान-बेलुका घाँस दाउरा खोज्न जंगल जानुपर्थ्यो, आमाबासँगै मेला पनि जानुपर्थ्यो,’ उनले भनिन्, ‘अहिले हाम्रो पढाइमा आमाबाले कुनै बोझ उठाउनु परेको छैन। अब राम्रो पढेर गाउँमा शिक्षाको ज्योति फैलाउन चाहन्छु, अभिभावकलाई सिकाएर बुझ्ने बनाउँछु।’
कक्षा ७ मा पढ्ने वुद्धिबहादुर प्रजा इलेक्ट्रोनिक इन्जिनियर बनेर अनकन्टार गाउँलाई उज्यालो बनाउन चाहन्छन्।
‘यति पनि पढ्न पाइएलाजस्तो लाग्थेन। अब त धेरै पढ्न पाए हुन्थ्यो भन्ने लाग्छ,’ उनी भन्छन्, ‘धेरै पढेर गाउँलाई उज्यालो बनाउने लक्ष्य छ।’
आफ्ना बालबालिकाको प्रगति देखेर अभिभावक दंग छन्।
‘छात्रावास नभएको भए त पढाउन पनि सकिन्थेन,’ स्थानीय बुद्धिबहादुर चेपाङले भने, ‘गाउँभरका केटाकेटी पढेको देख्दा दंग छु। हेरिरहुँजस्तो लाग्छ।’
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष सीताबहादुर चेपाङले पढाइसँगै बालबालिकामा हौसला बढेको बताए।
‘हामीले जन्माइदिने काममात्रै गर्यौं, लालन-पालन, शिक्षातिर अघि बढ्नै सकेनौं,’ उनले भने, ‘छात्रावासले यो सबै गर्यो। यो नभएको भए छोराछोरी पनि हामीजस्तै बन्थे होलान्।’
व्यवस्थापक श्रेष्ठले छात्रावास सञ्चालनका लागि नियमित बजेटको आवश्यकता रहेका कारण स्रोत जुटाउन संस्थाले गाउँमा रिसोर्ट खोल्ने योजना बनाएको सुनाए।
पर्यटकीय सम्भावना धेरै भएर पनि सरकारी निकायले ध्यान नदिँदा आझेलमा परेको कान्दा गाउँमा सडक पुर्याउन सके विकासले गति लिने उनको बुझाइ छ।
‘यहाँ लगानीका लागि विदेशी पनि इच्छुक छन्, केही विदेशी ठाउँ हेरर, नाप जाँच पनि गरेर फर्किएका छन्,’ उनले भने, ‘जिल्लाकै उच्च ठाउँ कामिनचुलीबाट पूरै जिल्ला हेर्न सकिने, सूर्योदय तथा सूर्यास्तको सुन्दर दृष्य अवलोकन गर्न सकिने, चिसो हावापानीलगायतका कारण यहाँ सडकको पहुँच पुगे लगानी भित्र्याउन कठिन छैन।’
लक्ष्मी प्रतिष्ठानले काभ्रेमा पनि छात्रावास स्थापना गरेको छ। कान्दाबाट आधारभूत शिक्षा लिएकाहरू उच्च शिक्षाका लागि काभ्रे जाने गरेका छन्।
यहाँ आधारभूत कक्षा पढेर काभ्रे गएका २ जनाले एसईई उत्तीर्ण गरेका छन्। यस वर्ष थप ५ जनाले काभ्रेबाट एसईई परीक्षा दिँदैछन्।
‘अब यो गाउँको विकासका लागि सडक र बिजुलीको अभाव छ,’ प्रधानाध्यापक थपलिया भन्छन्, ‘बालबालिकाले त लय समात्न थालिसके, सडक र बिजुली पनि आइपुग्यो भने अभिभावकले पनि धेरै प्रगति गर्न सक्ने थिए।’
राप्ती-७ का वडाध्यक्ष सूर्यबहादुर चेपाङले आफ्नो वडाको सबै गाउँमा मोटर बाटो पुग्न लागेको बताए।
कान्दाका लागि पनि सडक निर्माणमा बजेट विनियोजन भएको जानकारी दिँदै उनले सडक सञ्जालमार्फत् चेपाङ समुदायको जीवनस्तर सुधार्न स्थानीय तहले प्रयास गरिरहेको दाबी गरे।
उनले शिक्षाका लागि भने धेरै काम गर्न नसकेको स्वीकार गरे।
‘वडा र स्थानीय तहले चाहेरमात्रै हुँदो रहेनछ,’ उनले भने, ‘यहाँको अवस्था र शिक्षामा सुधारको माग बोकेर केन्द्रसम्म धाउने गरेको छु तर हाम्रो कुरा सुन्छन्, बजेट दिँदैनन्।’
उनले गैरसरकारी संस्था, सामाजिक संस्था तथा दाताहरूसँग हात फैलाएर भए पनि शिक्षाको सुधारका लागि केही काम भइरहेको बताए।
सबै तस्बिरहरू: राजेश घिमिरे/सेतोपाटी