प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पूजा गरी पठाएको राम–सीताको मूर्ति कडा सुरक्षाका बीच देवघाट आइपुगेको छ। काठमाडौंबाट र्यालीसहित ट्रकमा राखेर ल्याइएको राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरुलाई दासढुंगाबाट तनहुँ हुँदै देवघाट पुर्याइएको हो।
चितवनको माडीस्थित अयोध्यापुरीमा भगवान् रामको जन्म भएको दाबी गरेका प्रधानमन्त्री ओलीले यी मूर्तिहरु निर्माण गर्न लगाएर चितवन पठाएका हुन्। मूर्ति लिएर आएका सयौं उपस्थित र्यालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले स्वागत गरेका थिए।
तनहुँको देवघाट गाउँपालिकासम्म गाडीमा आएको र्याली त्यहाँबाट पदयात्रामा बदलिएको थियो। यात्रामा तनहुँ र चितवनका हजारौं व्यक्तिहरुको उपस्थिति थियो। गाउँपालिकाबाट पञ्चे बाजाको समूहलाई अघि लगाएर मन्त्री ढाकालले र्यालीको नेतृत्व गरेका थिए।
कोरोना भाइरस संक्रमणका कारण सरकारले सुरक्षाका मापदण्ड पालना गर्नमा कडाई गरिरहँदा देवघाट पुगेका मन्त्री भने हजारौं सहभागीका बीच नै मास्कविहीन देखिन्थे। र्यालीमा सहभागी अधिकांशले मास्क लगाएका थिएनन् भने सामाजिक दूरीको पालना पनि गरिएको थिएन।
मंगलबार देवघाट पुर्याइएका मूर्तिहरुलाई बुधबार रामनवमीको दिन विहान कालीगण्डकी र त्रिशूली नदीको जलमा स्नान गराएर अयोध्यापुरीतर्फ पठाउने तयारी देवघाट क्षेत्र विकास समितिले गरेको छ। अयोध्यापुरीमा मूर्ति राख्नकै लागि भनेर अस्थायी मन्दिर तयार पारिएको छ।
बागमती प्रदेश सरकारको १६ लाख रुपैयाँ बजेटमा सो मन्दिर तयार पारिएको हो। बुधाबार पूजाआजा गरी विधिवतरुपमा उक्त मन्दिरमा मूर्तिहरु स्थापना गरिने अयोध्याधाम व्यवस्थापन समितिका प्रचार संयोजक श्रीप्रसाद दवाडीले बताए।
बुधबार विहान देवघाटबाट निस्कने र्याली पुनः दासढुंगा पुगेर जुगेडी, रामनगर, आँपटारी, नारायणगढ, हाकिमचोक, पटिहानी हुँदै माडी पुग्नेछ। त्यहाँ पर्यटन मन्त्री ढकालसहित मूख्यमन्त्री डोरमणि पौडेल पनि सहभागी हुनेछन्। हिन्दू धर्मगुरुहरुको उपस्थितिमा मूर्तिहरु स्थापना गर्ने तयारी भएको दवाडीले बताए।
माडीमा हुने कार्यक्रममा सहभागी हुनका लागि अयोध्याधाम व्यवस्थापन समितिले नागरिकहरुमा आह्वान गरेको छ। सरकारी निकायहरुलेसमेत उक्त कार्यक्रमको प्रचार गर्दै उपस्थितिका लागि सर्वसाधारणमा आह्वान गरेका छन्। जिल्ला प्रशासन कार्यालयले र्याली र अयोध्यापुरीको कार्यक्रमलाई व्यवस्थापन गर्नका लागि आवश्यक तयारी गरिएको जनाएको छ।