आफ्नो खेत र गाउँ नै खतरामा पर्नेगरी गिटी, ढुंगा उत्खनन् गर्न थालेपछि चितवनको इच्छाकामना गाउँपालिकाको गर्दासका स्थानीयबासीले मंगलबार दर्जनौं टिपर चालकलाई लखेटेका छन्।
इच्छाकामना–७ को भालुमारे र गर्दासबीच भएर बहने स्याङ्दी खोलाको बगरलाई आफ्नो जमिन भन्दै दैनिक सयौं टिपर गिटी, ढुंगा, बालुवा उत्खनन् गरिएपछि स्थानीयबासी आक्रोशित बनेका हुन्।
यो ठाउँ कालिका नगरपालिकाको पदमपुरबाट करिब ७ किलोमिटर उत्तरतर्फ पर्छ।
‘मंगलबार सबेरै दुई दर्जन बढी टिपरले गिटी, ढुंगा लिएर गइसकेका थिए। दर्जनौं लाइन लागेर बसेका थिए,’ स्थानीय दानबहादुर मगरले भने, ‘एक हप्ता पहिलेबाटै यसैगरी दिनभर उत्खनन् गरेर लैजान थालेपछि हामीले हिजो अस्ति पनि यसो नगर्नुस् भनेर आग्रह गरेका थियौं, मानेनन्। आज लखेट्न बाध्य भइयो।’
उनले यसरी अनियन्त्रित ढंगले गिटी, ढुंगा, बालुवा उत्खनन् गर्दा बगरसँग जोडिएको गर्दासबासीको जमिन र घर खतरामा परेको भन्दै धेरै पटक ध्यानाकर्षण गरेको बताए।
गर्दास गाउँ बगरबाट करिब २०० मिटरमात्रै पर छ। बगर र गाउँबीचमा खेतीयोग्य जमिन छ।
इच्छाकामना गाउँपालिकाकाअनुसार उक्त खोलामा प्रतिघनमिटर ३१७ रुपैयाँ राजश्व आउनेगरी गिटी, ढुंगा उत्खनन् गर्न दिने सम्झौता भएको छ।
वडा नम्बर ७ का वडाध्यक्ष बमबहादुर थापाले अहिले खोलाको बगर रहेको जमिन आफ्नो नाममा रहेको लालपुर्जासहितको दाबी आएपछि ६ लाख रुपयाँ राजश्व बराबरको गिटी, ढुंगा उत्खननको अधिकार गाउँपालिकाले दिएको बताए।
उनकाअनुसार काठमाडौं बस्ने युवराज थापा क्षेत्री र गौरीलाल श्रेष्ठको नाममा वर्षौंदेखि बगर रहेको ४५ कट्ठा जमिन छ। जुटपानी गाविस, दाहखानी गाविस हुँदै हाल इच्छाकामना गाउँपालिकामा पर्ने ४५ कट्ठा क्षेत्रफलको यो बगर नापी कार्यालयको नक्सामा जुटपानी ९ ख को कित्ता नम्बर ७८ र ७९ उल्लेख गरिएको छ। उक्त कित्तासँगै जोडिएको ८ कट्ठा जमिन नापीको नक्सामा तीन कित्तामा देखिएको छ।
वडाध्यक्ष थापाले सानो आकारमा बहने स्याङ्दी खोलाले २०३९ सालको बाढीपछि धेरै क्षेत्र ओगटेर बगर बनाएको बताए।
खोलाको नजिकै घर भएका वडाध्यक्ष थापाले बाढी आउनुअघि उक्त स्थानमा राम्रै खेतीपाती हुने गरेको आफैंले देखेको बताए।
उनकाअनुसार स्थानीय सेपबहादुर मगरको नाममा उक्त जमिन थियो। करिब १५ वर्ष पहिले सेपबहादुरले आफ्नो जमिन विक्री गरेका थिए।
सेपबहादुरले आफ्नो नाममा रहेको उक्त बगर विक्री गर्दा त्यहाँ खोलो बग्न थालेको १५ वर्षभन्दा बढी भइसकेको थियो।
‘खरिद गर्नेले बगर देखेर गर्यो कि हेर्दै नहेरी गर्यो थाहा भएन। गाउँपालिकाले खोलाको गिटी, ढुंगा उठाउनका लागि टेण्डर आह्वान गर्न थालेपछि जग्गाधनी आफू रहेको दाबी गर्दै उनीहरू आइपुगे,’ उनले भने, ‘गाउँपालिकाले उनीहरूकै नाममा बगर रहेछ भनेर सम्झौता पनि उनीहरूसँगै गर्यो, टिपरवालासँगको सम्झौता उनीहरूको हो।’ उत्खनन् अघि आइई भने गर्न लगाएको उनले बताए।
जग्गाधनीहरूले गाउँपालिकासँग ६ लाख रुपैयाँ राजश्व बराबरको गिटी, ढुंगामात्र उत्खनन् गर्नेगरी सम्झौता गरे पनि स्थानीयबासी भने दैनिक सयौं टिपर उत्खनन् गरेर लैजाने गरिएको दाबी गर्छन्।
वैशाखको सुरूबाट दुइटा एक्साभेटरले नियमितरूपमा उत्खनन् गरेर आफ्नो खेत र बस्तीमाथि खतरा बढाएको दाबी उनीहरूको छ।
‘यतिविधि गर्दा पनि गाउँपालिका मौन बसेको देख्दा हामी दंग परेका छौं,’ स्थानीय दानबहादुर मगरले भने, ‘अति गरेपछि हामी आफैं लागिपरेर उनीहरूलाई पन्छाएका छौं।’
प्रति घनमिटर ३१७ रुपैयाँ राजश्व लिँदा ६ लाख रुपैयाँ कुल राजश्वले करिब १ हजार ९०० घनमिटर उत्खनन् गर्न मिल्छ।
डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर शिव खनालकाअनुसार एउटा टिपरले एक पटकमा ६ देखि १२ घन मिटरसम्म गिटी, ढुंगा ढुवानी गर्छ। न्यूनतम परिमाणमा ढुवानी गर्दा पनि सम्झौताअनुसार करिब ३०० टिपर मात्रै ढुवानी गर्न मिल्छ। जबकि यहाँबाट एकै दिनमा २०० भन्दा बढी टिपर गिटी, ढुंगाको ढुवानी भइरहेको दाबी स्थानीयबासीको छ।
यो खोलामा वैशाख २ गतेदेखि लगातार उत्खनन् र ढुवानी भइरहेको छ।
टिपर व्यवसायीहरूले भने आफूले गरेको सम्झौताअनुसारको ढुवानी गर्न नपाएको गुनासो गरेका छन्।
स्थानीयले गाउँपालिकाको मौन सहमतिमा बगर धनीले मनपरी उत्खनन् गरिरहेको आरोप लगाएका छन्।
वडाध्यक्ष थापाले बगर धनीसँग चैत ३० गते सम्झौता भएको जानकारी दिए।
सम्झौताको म्याद १५ दिनलाई तोकिएको उनले बताए।
‘स्थानीयबासीले विरोध गरेपछि हामीले टिपर धनीहरूलाई तत्काल गिटी, ढुंगा लिन नआउनु भनेका छौं, जग्गाधनीलाई पुनः नाप जाँच गरेर प्रमाणित भएपछि स्थानीयलाई असर नपर्ने गतिविधि मात्रै गर्न पाउने जानकारी गराएका छौं,’ उनले भने।