माडीका झारीप्रसाद महतो ५० वर्षका भए। उनको बाबुबाजेदेखिकै थातथलो माडी हो। कृषि कर्म गरेर जीवन निर्वाह गर्नुपर्ने झारीप्रसादको परिवारले यो पेसाबाट कहिल्यै सन्तुष्टि पाएनन्। यहाँ रहँदा बाजे, बाबु हुँदै उनी र उनका सन्तानसम्मले अनेक हन्डर खाँदै आए। कारण थियो घर खेतसँगै भएर बहने खहरे ‘रक्तेनी खोला’।
केही वर्षअघि झारीप्रसादले १५ कट्ठा खेतमा पाकेको धान काटेर सुकाए। असोज महिनाको दिउँसो काटेर सुकाएको सबै धान राति आएको बाढीले बगाएर लग्यो। भोलिपल्ट खेतमा खोलो बगिरहेको थियो।
केही दिनमा खहरे त सुक्यो तर अन्न उब्जाएर परिवारको जीवन धान्ने उनको जमिन बगरजस्तै बन्यो।
माडी–३ को गुल्मेली टोलमा बसोबास रहेका झारीप्रसाद मात्र नभई रक्तेनी खोला आसपासका करिब ८०० परिवारले एक वर्षअघिसम्म भोग्दै आएको समस्या हो यो।
रक्तेनी खोलाले माडी–५ बसन्तपुरकी माधुरी शाहको दस वर्षमा दुईपटक घर नै बगायो। कयौंपटक घर त जोगियो, बाढी पसेर घरका सामानहरू काम नलाग्ने भए।
जुनसुकै समय बाढी आउने भयले माडी–३ रेवा टोलका महोमद हसुमुदिन मियाँ त अत्यावश्यक कागजात र सामानको गुन्टो कसेर मात्रै सुत्ने गर्थे।
‘बाढी आएको चाल पाउनेबित्तिकै बोकेर भाग्नुपर्छ भनेर हाम्रो पहिल्यै तयारी हुन्थ्यो,’ उनले भने, ‘सुत्नुअघि निदाउने कि ननिदाउने भनेर सोच्नुपर्थ्यो, आनन्दले निदाएको कुनै रात थिएन।’
खाना पाक्दा–पाक्दै बाढीले बगाइदिएको घटना उनले कहिल्यै बिर्सँदैनन्। ‘भकारीमा भएको धान बगाइदिने, खेतलाई बगरसरी बनाइदिने गरेर रक्तेनी खोलाले दिनुविधि दुःख दियो,’ उनले सुनाए, ‘बालुवाले भरिएको खेतमा कहिले सक्खरखण्ड, कहिले खरभुजा फलाएर जीवन निर्वाह गर्यौं।’
उनको गाउँबाट करिब १५ मिनेट पैदल हिँडेपछि माडीको मुकाम बसन्तपुर बजार पुगिन्छ। तर खोलाकै कारण मियाँ र उनका गाउँका बासिन्दाले बसन्तपुरमा कोठा भाडामा लिएर छोराछोरीलाई पढाउने गरेका थिए।
आफ्ना दुःख, मर्का बोकेर पीडित समुदायका प्रतिनिधि पञ्चायतदेखि नगरपालिकासम्म धाए। तर ती निकायले उनीहरूको दुःख हटाउन सकेनन्। ‘वर्षमा मुस्किलले ५० हजारदेखि १ लाख रुपैयाँ बजेट दिन्थे। त्यति रकमले यो खोलोको एउटा छेउ पनि छुन्थेन,’ उनले सुनाए।
करिब एक वर्षदेखि भने रक्तेनी खोला आसपास बस्नेका जीवनमा आशाको किरण छाएको छ। रक्तेनी खोलाको तटबन्धका लागि ठूलो परियोजना आएर धमाधम काम हुन थालेपछि यहाँका बासिन्दाले आनन्दको स्वास फेर्न थालेका छन्।
नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) चितवनको विपत् व्यवस्थापनका लागि ‘एक नदी एक समुदाय परियाजना’ ले २०७६ माघ २२ गतेबाट रक्तेनी खोलाको करिडोरमा बाढीबाट हुने जोखिम घटाउने काम गर्न थालेको छ।
जापानको सहयोग निकाय साप्ला निर तथा जापान दूतावासको आर्थिक र प्राविधिक सहयोगमा १३ करोड १६ लाख ९ हजार ८ सय ९९ रुपैयाँ बजेटसहित जलउत्पन्न जोखिम न्यूनीकरणका लागि काम भइरहेको परियोजना प्रमुख रविन्द्र सिंह ठकुरीले बताए।
चुरे पर्वत हुँदै बहेर बाँदरमुढे खोलासँग मिसिँदै रेवा नदीलाई भेट्ने रक्तेनी खोलाको मुख्य प्रभावित क्षेत्र माडी नगरपालिकाको वडा नम्बर ३, ५ र ६ लाई मुख्य कार्यक्षेत्र बनाएर परियोजनाले काम गर्दै आएको छ। यो क्षेत्रमा रक्तेनी खोलाबाट प्रभावित १४ वटा समुदाय छन्।
ठकुरीले २०७९ माघ २१ गतेभित्र खोला व्यवस्थापन गरी माडी नगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम अघि बढिरहेको बताए।
परियोजनाले चुरेसँग जोडिएको मझुवाबाट मगुई पौवारीसम्मको ८ किलोमिटर लामो यो खोलाले ओगटेको न्यूनतम क्षेत्र विस्तार गरी दुवैतर्फ तटबन्ध गर्दै आएको छ। चुरे क्षेत्रमा भने उच्च स्थानबाट बहेर आउने ढुंगा, गेगरलाई रोक्ने गरी ‘चेक ड्याम’ बनाइएको छ।
‘पहिले खोलाको क्षेत्र कतै एक मिटर, कतै दुई–तीन मिटर थियो। अहिले यसलाई बढाएर करिब ५ किलोमिटर खोलामा चौडाइ २० मिटर कायम गरेर बाँध बाँध्ने काम भइरहेको छ,’ उनले भने, ‘यसो गर्दा अब खोलामा पानीको मात्रा अधिकतम हुँदा पनि गाउँ, खेतमा पस्न सक्दैन।’
बाँकी ३ किलोमिटर क्षेत्रमा बाँदरमुढे खोला पनि मिसिने भएकाले चौडाइ ४० मिटरको बनाइएको छ।
खोलाको आकार बढाउन स्थानीयबासीले बिना क्षतिपूर्ति आफ्नो जमिन दिएर सहयोग गरेका छन्। काम सुरू भएको १ वर्ष २ महिना अवधिमा ६ वटा समुदायमा काम गर्दा स्थानीयले खोलाको आकार बढाएर तटबन्ध गर्न करिब ३० विघा नम्बरी जग्गा सहयोग गरेको ठकुरीले बताए। बांगो भएर बहने खोलाको धारलाई स्थानीयको सहयोगमा सिधा र सुरक्षित बनाइएको उनले बताए।
खोलाको उचाइ गाउँ, खेतभन्दा माथि थियो, अहिले गहिरो बनाएर तटबन्ध गरिएको छ। तटबन्धसँगै खोलाको छेउमा ५ मिटर फराकिलो सडक पनि बनिरहेको छ।
अहिलेसम्म परियोजनाअन्तर्गतको ३ किलोमिटर क्षेत्रको काम सकिएको छ। अहिले १.५ किलोमिटर क्षेत्रमा धमाधम काम चलिरहेको छ।
परियोजनाअन्तर्गत सामुदायिक विपत् व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रकुमार श्रेष्ठले यो परियोजना सुरू भएर कार्यान्वयनमा आएपछि रक्तेनी खोला आसपासका बासिन्दा ढुक्कले निदाउन पाएको बताए।
‘राति १२, १ बजेतिर खोलो गडगडाउँदै आउँथ्यो, म चिच्याउँदै छिमेकीलाई जगाउँथें,’ बसन्तपुर नजिकै घर भएका ६३ वर्षीय श्रेष्ठले भने, ‘पीडा देखेर पनि सबैको बेवास्तामा पर्दै आएको खोला व्यवस्थापन गर्न आरआरएन नामको संस्था भगवान बनेर आयो।’
२०४१ सालदेखि रक्तेनी खोलाको डिलमा रहेको घरमा बस्दै आएका श्रेष्ठ र उनका परिवारले यो खोलाबाट धेरै कष्ट बेहोरेका थिए। उनले अब ती कष्टका दिन विदा भएको ठानेका छन्।
‘ढिलै भए पनि प्रयत्न सफल भएको छ। अब सुखको दिन आउँदैछ,’ उनले भने।
अत्यावश्यक कागजात र सामानको गुन्टो तयार पारेर मात्रै सुत्ने रेवा टोलका महोमद हसुमुदिन मियाँलाई अब त्यो पीर छैन। घर नजिकैको खोलामा बाँध बाँधिएपछि उनी ढुक्कले निदाउन थालेका छन्। छोरा, छोरी घरबाटै विद्यालय आउजाउ गर्न थालेका छन्। दुईपटक घर बाढीले भत्काएको पीडा बिर्सन नसके पनि माधुरी शाह अब भने घरसम्म बाढी नपुग्नेमा ढुक्क छिन्।
माडीका आदिवासी झारीप्रसादले बालुवा भरिएको जमिनलाई पुनः उब्जाउ बनाएका छन्। ‘केही जमिन खोलाको चौडाइ बढाउन दिएर सहयोग गरेँ, अब बाँकी रहेको जमिन सुरक्षित छ,’ उनले भने, ‘अब त जग्गा बिक्री गर्नुपर्दा पनि भाउ बढेको छ। अन्न उब्जाएरै पनि जीवन चलाउन सहज हुने अवस्था आएको छ।’
माडी–३ का भरत लामाले खोला व्यवस्थापनसँगै अब कृषि, पशुपालन, माछापालन लगायत व्यवसायका लागि आधार तयार भएको बताए।
माडीमा रक्तेनीजस्तै करिब आधा दर्जन खहरे खोलाहरूले वर्षा याममा दुःख दिने गरेका छन्।
नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) चितवनले रक्तेनी खोलाभन्दा अघि बाँदरमुढे खोला व्यवस्थापन गरेको थियो। २०७३ बाट सुरू भएको बाँदरमुढे खोलाको ६.५ किलोमिटर क्षेत्रमा तटबन्ध तथा व्यवस्थापनको काम गत वर्ष मात्र सकिएको थियो।
‘बाँदरमुढेले पनि रक्तेनी खोलाले जस्तै धेरै दुःख दिएको थियो, अहिले त्यहाँका बासिन्दाले सहज रूपमा जीवनयापन गरिरहेका छन्,’ ठकुरीले भने, ‘नदी व्यवस्थापन गर्दै आसपासका समुदायको जीवनस्तरमा परिवर्तन ल्याउने परियोजनाको उद्देश्य बाँदरमुढेमा सफल भयो। रक्तेनीमा पनि सफल हुने दिशामा छ।’