पश्चिम नेपालमा कोरोना भाइरसको संक्रमण बढेसँगै चितवन रिफर भएर आउने बिरामीको संख्या बढेको छ।
चितवनको भरतपुर अस्पताल र मेडिकल कलेजहरूमा पश्चिमको बुटवल, दाङ, नेपालगञ्जबाट जटिल अवस्थाका कोरोना संक्रमित उपचारका लागि आउन थालेको ती अस्पतालले जनाएका छन्।
बिहीबारमात्रै बुटवलबाट तीन जना कोरोना संक्रमितहरू उपचारका लागि आइपुगेको अध्यक्ष भोजराज अधिकारीले बताए।
चितवन मेडिकल कलेजमा पश्चिमका ती ठाउँका अलावा पूर्वको वीरगञ्जबाट पनि जटिल अवस्थाका संक्रमितहरू आउन थालेको अस्पताल निर्देशक डाक्टर दयाराम लम्सालले बताए।
‘कतिपय गम्भीर बिरामीहरू कोरोनाको लक्षण देखिँदा पनि आफ्नै ठाउँमा पिसिआर जाँच नगराई एम्बुलेन्स चढेर यहाँ आएका छन्,’ डा.लम्सालले भने, ‘उनीहरूलाई कहाँ राखेर के जाँच गराउने नै अन्योल हुन्छ। स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा ढिला भइसक्छ।’
जिल्लामै संक्रमणको दर उच्च भइरहँदा अन्य जिल्लाबाट पनि बिरामी आउनेक्रम बढेपछि समस्या थपिएको अस्पतालहरूले जनाएका छन्।
अहिले भरतपुर अस्पतालमा ४८ जना कोरोना संक्रमितहरूको उपचार भइरहेको छ।
उनीहरूमध्ये ८ जना आइसियूमा छन्। २ जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ। बाँकी संक्रमित पनि अक्सिजनको आवश्यकता पर्नेहरू छन्।
चितवन मेडिकल कलेजको आइसियूमा ४ जनाको उपचार भइरहेकोमा २ जना भेन्टिलेटरमा छन्। १० संक्रमितको एसडियूमा उपचार भइरहेको छ। यस अस्पतालले कोरोना संक्रमित भएर आउनेलाई भर्ना लिएको छैन। अन्य समस्या भएर आएकाको पिसिआर परीक्षण गर्नेक्रममा पोजेटिभ देखिँदा भने उसले उपचार गर्ने गरेको छ।
पछिल्ला दिनमा भारतीय सीमा नाका हुँदै नेपाल भित्रिनेको संख्या बढ्दै जाँदा सीमा क्षेत्रका अस्पतालहरूमा कोरोना संक्रमितहरूको चाप बढेको छ।
‘त्यहाँ उपचार नपाएपछि चितवन आएको हुनसक्छ,’ डा.अधिकारीले भने, ‘हामीले क्षमताले पुगेसम्म त राखेर उपचार गरिरहेका छौं। तर यसैगरी अन्य प्रदेशबाट पनि आउनेक्रम चलिरह्यो भने केही दिनपछि सम्हालिनसक्नुको अवस्था आउन सक्छ।’
डा.अधिकारीकाअनुसार भरतपुर अस्पतालले कोरोना संक्रमित बिरामीका लागि भनेर तत्काल ११० शय्याको प्रबन्ध मिलाएको छ। यसमा १६ वटा आइसियू र २५ शय्याको एसचडियू छन्। बाँकी आइसोलेसन हुन्। थप ४० शय्या कोरोना संक्रमितका लागि व्यवस्थापन गर्ने उनले बताए।
‘सर्जरी, अर्थोपेडिक्स, न्यूरोलगायतका वार्डहरूलाई कोभिड- १९ का बिरामीको उपचारका लागि प्रयोग गरिएको छ। कोरोना संक्रमितको चाप बढ्न थालेपछि अन्य बिरामीको उपचारमा पनि असहज अवस्था आउन थालेको छ,’ अधिकारीले भने, ‘अतिआवश्यक बाहेककालाई अस्पताल नआउन सूचना नै जारी गरेका छौं।’
चितवनमा अहिले २३७ जना कोरोना संक्रमित छन्। बाँकी होमआइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
चितवनमा अहिलेसम्म कोरोना संक्रमित ११५ जनाको मृत्यु भइसकेको छ।
शुक्रबार बिहानमात्रै ३९ वर्षीया युवतीको चितवन मेडिकल कलेजमा उपचारकाक्रममा मृत्यु भएको थियो।
भरतपुर अस्पतालका फिजिसियन डाक्टर प्रमोद पौडेलले पछिल्ला दिनमा अस्पताल आएका कोरोना संक्रमितहरू अक्सिजनको आवश्यकता पर्नेहरू रहेको बताए।
‘पहिले खोकी, ज्वरो जस्ता लक्ष्यण देखिएका बिरामीहरू कोरोनाको आशंकामा अस्पताल आउँथे अहिले त्यस्ता बिरामी घरमै छन्, निमोनिया भएर श्वासप्रश्वासमा समस्या भएकाहरू आउने क्रम बढेको छ,’ उनले भने, ‘२५ शय्याको एचडियू भरिएको छ, आइसियू पनि भरिन थालेको छ।’
डा.पौडेलकाअनुसार अहिले अस्पताल आउने बिरामीहरू ३० देखि ६० वर्षसम्मका बढी छन्।
उनकाअनुसार गत वर्ष कोरोनाको बढी असर ६० वर्षदेखि माथिका उमेर समूहमा देखिएको थियो। बिहीबारमात्रै ३९ वर्षीया महिलाको अवस्था जटिल बनेपछि हेलिकप्टरबाट उपचारका लागि काठमाडौं गएको उनले बताए।
भरतपुर अस्पतालले एचडियू र आइसियूले धान्न नसक्ने अवस्थामा अन्य वार्डका शय्याहरूमा अक्सिजनको सिलिण्डर राखेर भए पनि उपचार गर्ने तयारी भइरहेको जनाएको छ।
‘हिजोसम्म ३३ जना कोरोना संक्रमित बिरामी थिए आज ४८ पुगे, निकै द्रुत गतिमा बिरामीको संख्या बढिरहेको छ,’ उनले भने, ‘यो अत्यन्तै जटिल अवस्था हो। चितवनमा भयावह अवस्था आउँदै छ भन्ने आकलन हामीले गरेका छौं।’
उनले कोरोना भाइरसको संक्रमण समुदायमा फैलिसकेको हुनसक्ने भन्दै लकडाउनको आवश्यकता आउन थालेको बताए।
चितवनमा गत चैतको २६ गते देखि कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएको थियो। २६ गते ४८ जनामा संक्रमण देखिएकोमा २७ गते संक्रमितको संख्या ५२, २९ गत ६१ ३० गते ६८, ३१ गते ७८ जनामा देखियो।
वैशाख १ गते संक्रमितको संख्या ९६, २ गते ९८, ३ गते ११७ पुगेको थियो। उनीहरूमध्ये ८ जना अस्पतालमा उपचार गराइरहेका थिए।
वैशाख ४ गते संक्रमितको संख्या १२७ पुग्दा अस्पतालमा २६ जना भर्ना भएका थिए। त्यसयता अस्पताल भर्ना हुनेक्रम हरेक दिन बढेको छ।
कोरोना भाइरसको संक्रमणको दर बढ्दै गर्दा यहाँका अन्य निजी अस्पतालहरूले भने कोरोना संक्रमितको उपचार गराएका छैनन्।
चितवनमा करिब २ दर्जन निजी अस्पतालहरू छन्। जिल्ला प्रशासन कार्यालयले निजी अस्पतालका २० प्रतिशत शय्या कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा राख्न निर्देशन दिए पनि अहिलेसम्म ती अस्पतालहरूले कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरूको उपचार नगरी सरकारी अस्पतालमा पठाउँदै आएका छन्।
चितवनमा अहिलेसम्म ८ हजार २२१ जनाले कोभिड १९ विरूद्धको भ्याक्सिन लगाएका छन्। भरतपुर महानगरपालिकाभित्र मात्रै ६ हजार ५४१ जनाले भ्याक्सिन लगाइसकेका छन्।