कोरोना संक्रमितको संख्या बढ्दै जाँदा चितवनमा अक्सिजनको माग बढेको छ। अक्सिजन उत्पादक तथा बिक्रेताले अक्सिजन भरिएको सिलिन्डरको माग अत्याधिक बढेको बताएका छन्।
कोरोना संक्रमितको संख्या बढेसँगै भारतमा अक्सिजनको अभाव भएको र नेपालबाट अक्सिजन भरिएका सिलिन्डर निर्यात हुन थालेको हल्ला चलेपछि चितवनमा माग अत्याधिक बढेको सञ्जीवनी अक्सिजनका सञ्चालक निरञ्जन न्यौपानेले बताए। पुनः लकडाउन हुनसक्ने भयले ग्राहकले घरमा सिलिन्डर स्टक राख्न खोजेको उनले बताए।
‘केही दिनदेखि एकैदिनमा ५० भन्दा बढी फोन अक्सिजन सिलिन्डर चाहियो भनेर आएको छ,’ उनले भने, ‘मागेअनुसार दिनसक्ने अवस्थामा हामी छैनौं।’
चितवनको रामनगरमा प्लान्ट रहेको सञ्जीवनी अक्सिजनसँग करिब ५ हजार थान ठूला र ५०० थान साना सिलिन्डर रहेको सञ्चालक न्यौपानेले बताए। भरतपुरमा रहेको डिपोबाट ग्राहकले सिलिन्डर लैजान्छन्।
‘ग्राहकले आवश्यकताअनुसार लैजाने र काम सकेपछि फिर्ता गर्ने भएकाले हामीसँग स्टकमा कम रहन्छ,’ न्यौपानेले भने।
सञ्जीवनीले प्रायः उत्पादन ग्राहकलाई दिन्छ। नवलपुरको गैंडाकोटमा रहेको सिद्धीविनायक र नवलपरासीमा रहेको शंकर अक्सिजनले चितवनका अस्पतालहरुलाई अक्सिजन दिन्छन्। भरतपुरको हिमाल अक्सिजनको डिपोबाट भाजुरत्न इन्जिनियरिङले ग्राहक र अस्पताललाई अक्सिजन उपलब्ध गराउँदै आएको छ।
यी सबै प्लान्ट र डिपोका अक्सिजन सिलिन्डर बिरामी र अस्पतालमा भन्दा बढी कलकारखानामा पुग्ने गरेका छन्। न्यौपानेले आफ्नो प्लान्टमा उत्पादित अक्सिजनको दुई तिहाइ हिस्सा कलकारखानामा पुग्ने गरेको बताए।
भाजुरत्न इन्जिनियरिङका इन्जिनियर अरुण महतोले भरतपुर डिपोमार्फत् वितरण भएका १ हजार ५०० अक्सिजन सिलिन्डरमध्ये आधा बढी कलकारखानामा गइरहेको बताए।
‘ग्राहकबाट माग केही दिनयता निकै बढेको छ। हामी भन्नेबित्तिक्कै सिलिन्डर थप्न सक्ने अवस्थामा छैनौं,’ उनले भने, ‘जे छ त्यसैलाई छिटो रोटेशन गर्नेबाहेकको विकल्प हामीसँग छैन।’
भाजुरत्नले चितवन मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल, मनकामना अस्पताल लगायतलाई पनि अक्सिजन दिँदै आएको छ।
भाजुरत्नको हेटौंडा डिपोले श्वासप्रश्वासमा समस्या भयो, तुरुन्तै चाहियो भन्दै सिलिन्डर माग्न आउनेको संख्या ह्वात्तै बढेको जनाएको छ।
‘अब हामीसँग ठूला ३० र साना २० सिलिन्डरमात्रै स्टक छन्। त्यहाँभन्दा बढी ग्राहक आए भने दिन सक्ने अवस्था छैन,’ डिपोमा कार्यरत गणेश चालिसेले भने।
गैंडाकोटको सिद्धीविनायक अक्सिजनले चितवनका धेरै अस्पतालमा अक्सिजन सिलिन्डर पुर्याउँछ। प्लान्टका इन्जिनियर किरण कुमारले दैनिक २०० वटा सिलिन्डर नियमित रूपमा खपत हुने गरेको बताए।
‘अहिले विशेष माग भएको भन्ने छैन, पहिले जस्तै हो,’ उनले भने, ‘माग बढ्यो भने उत्पादन थप गर्न सकिन्छ।’
माग आएको अवस्थामा दैनिक ६०० सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्न सकिने उनले बताए।
चितवनमा कोरोना संक्रमितको उपचार गराउने मुख्य अस्पताल भरतपुर अस्पतालसँग अक्सिजन उत्पादन गर्ने आफ्नै प्लान्ट छ। भरतपुर अस्पतालले आवश्यकताअनुसार नवलपरासीको शंकर अक्सिजनबाट पनि अक्सिजन मगाउँछ।
भरतपुर अस्पतालको अक्सिजन प्लान्टका इन्जिनियर चन्द्रमणि बस्यालकाअनुसार भरतपुर अस्पतालमा अहिले अक्सिजन भरिएका ५० ठूला, २० मध्यम र १० वटा साना सिलिन्डर तयार छन्।
‘मध्यम र साना सिलिन्डर आफ्नै प्लान्टबाट नियमित रूपमा भर्छौं, ठूला सिलिन्डर भर्न यहाँ समय लाग्ने भएकाले बाहिरका प्लान्टबाट भरेर ल्याउँछौं,’ उनले भने।
भरतपुर अस्पतालको ‘ए’ ब्लक, आइसियू र एचडियूमा प्लान्टबाट पाइपलाइनमै अक्सिजन जान्छ। ‘बी’ ब्लकका केही कक्षमा पनि पाइपलाइन पुगेको छ।
अहिले भरतपुर अस्पतालमा ४८ जनाभन्दा बढी कोरोना संक्रमित उपचाररत् छन्।
‘संक्रमितको संख्या ह्वात्तै बढ्यो भने त अक्सिजनको व्यवस्था गर्न गाह्रै पर्छ। हामीसँग भएको सिलिन्डर तिनै हुन्, तिनैलाई व्यवस्थापन गर्ने हो,’ बस्यालले भने।
चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पनि आ-आफ्नै अक्सिजन प्लान्ट छन्। तर अस्पतालमा सिलिन्डरको संख्या सामान्य अवस्थाका लागि मात्रै पुग्ने छन्।
चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले गत वर्षको जत्तिको अवस्थालाई थेग्ने सिलिन्डर आफूहरूसँग रहेको बताए। सीमा क्षेत्रका जिल्लामा देखिएको संक्रमितको संख्या हेर्दा केही समयमा चितवनमा व्यवस्थापन गर्न गाह्रो अवस्था आउने देखिएको बताए।
‘उता संक्रमितले अस्पताल भरिएर व्यवस्थापन गर्नै गाह्रो अवस्था छ, यता पिसिआर जाँच गराउनेको संख्या पनि असाध्यै न्यून छ,’ डाक्टर लम्सालले भने, ‘पिसिआर जाँच नगराई बस्ने र अन्तिम अवस्था भएपछि बल्ल एम्बुलेन्स चढेर अस्पताल आउनेको संख्या बढ्दो छ। यसले समस्यामा पार्छ।’
उनले एकै पटकमा धेरै संक्रमित अस्पताल आउने अवस्था भयो भने अहिले भएका संरचना र स्वास्थ्य सामग्रीले थेग्न नसक्ने बताए।
‘त्यो अवस्थामा कम्तीमा अक्सिजनको व्यवस्थापन कसरी गर्ने भनेर सरकारले सोच्नु पर्ने हो तर त्यस विषयमा छलफल भएको म देख्दिनँ,’ उनले भने।
जिल्ला स्वास्थ्य कार्यालयसँग चितवनमा अक्सिजन प्लान्ट र तिनको उत्पादन, अस्पतालमा अक्सिजन सिलिन्डरको उपलब्धताबारे तथ्यांक छैन। स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले अस्पताल अनुगमनका क्रममा अक्सिजन प्लान्ट र सिलिन्डरको अवस्थाको विषयमा अनुगमन गरिने बताए।
सञ्जीवनी अक्सिजनका सञ्चालक न्यौपानेले कलकारखाना बन्द गरेर त्यहाँ जाने गरेका अक्सिजन सिलिन्डर बिरामीका लागि उपयोग गर्ने विकल्प बाँकी रहेको बताए।
‘संक्रमितको संख्या बढ्दा कलकारखानाका सिलिन्डर ल्याएर प्रयोग गर्ने हो भने व्यवस्थापन गर्न सहज हुन्छ,’ उनले भने, ‘भारतमा पनि संक्रमण उच्च भइरहँदा सिलिन्डर थप्न सकिने अवस्था छैन।’
तीन ठूला अस्पतालमा कोरोना, बाँकीमा अन्य बिरामीको उपचार गर्ने तयारी
भरतपुर अस्पतालले १६ आइसियू, ६ भेन्टिलेटरसहित ११० शैयाको व्यवस्था मिलाएको छ। चितवन मेडिकल कलेजले १९ आइसियू, १६ एचडियूको व्यवस्था गरेको छ। पुरानो मेडिकल कलेजले १७ आइसियूसहित १०० शैयामा कोरोना संक्रमितको उपचार गर्ने तयारी गरेको छ।
जिल्लामा रहेका दुई दर्जन बढी निजी अस्पतालमध्ये अन्यले कोरोना संक्रमितको उपचार गराएका छैनन्।
'हाम्रो तयारी तीन ठूला अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने र अन्य बिरामीको उपचार अन्य अस्पतालमा गराउने व्यवस्था गर्ने छ,' स्वास्थ्य कार्यालयका प्रमुख तिवारीले बताए।
चितवनका सबै अस्पतालमा गरी १८० वटा आइसियू र ६० वटा भेन्टिलेटर छन्।
क्षमताको १० प्रतिशतमात्रै पिसिआर परीक्षण
चितवनमा कोरोनाको पिसिआर जाँच गर्ने अनुमति पाएका तीन वटा ल्याब छन्।
अस्पतालको ल्याबको क्षमता २४ घन्टामा १ हजार वटा नमूना परीक्षण गर्न सक्ने छ।
चितवन मेडिकल कलेजको ल्याबले पनि एकदिनमा १ हजार जनाको नमूना परीक्षण गर्न सक्छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको ल्याबले दैनिक ५०० नमूनाको परीक्षण गर्न सक्छ।
जिल्लामा दैनिक २ हजार ५ सय नमूना परीक्षण गर्ने क्षमता भए पनि दैनिक २०० सयको हाराहारीमा मात्रै परीक्षण भइरहेको छ। भरतपुर अस्पतालको ल्याबले शुक्रबार ६४ र चितवन मेडिकल कलेजले १२३ जनाको पिसिआर जाँच गरेको थियो।
भरतपुर क्यान्सर अस्पतालले अस्पतालमै उपचारका लागि आउने बिरामी र तिनका कुरुवाको मात्रै पिसिआर जाँच गराउने गरेको छ।
सबै तस्बिरहरू: राजेश घिमिरे/सेतोपाटी