आइतबार बिहान चितवनको भरतपुर-१ ठिमुराका पुष्प देवकोटा केराबारीमा औषधी छर्न त्रिशूली नदीमा पानी भर्दै थिए। ड्रम भरिएर बोक्ने सुर गर्दैगर्दा पछाडि टिपरबाट ढुंगा झारेजस्तो ठूलो आवाज आयो। फर्किएर हेर्दा नदीमाथि बन्दै गरेको पुल भत्किँदै रहेछ।
उनले झट्ट सम्झिए- २०७२ सालको भूकम्प। वैशाख १२ गते नै आएको भूकम्पको धक्काले सबैलाई तर्साएको थियो। उनको होसहवास उड्यो।
‘मान्छेहरू बगिरहेका थिए, चिच्याइरहेका थिए। म बगरमा दौडिएर त्यहाँ पुग्दा मिनेटभरमा पुल त झर्यामझुरूम गइसकेछ,’ देवकोटाले सुनाए, ‘देखेका जति सबै मरें-मरें भनेर चिच्याउँदै थिए।’
बिहान सवा नौ बजेको यो घटनापछि उनले पुल निर्माण व्यवस्थापन समितिका अध्यक्ष टंकनाथ पौडेललाई खबर गरे। केहीबेरमा उद्धार सुरू भयो।
१८ दिनअघि मात्रै यही पुलको दुई वटा कंक्रिट स्पान (पुल निर्माणका लागि कंक्रिट ढलान गरिएको) भत्किएका थियो। आइतबार तिनै कंक्रिट स्पानसँग केवलले जोडिएको फलामको ट्रस खसेको हो। यो पुलको चार भागमध्ये ४०-४० मिटरका तीन भागमा कंक्रिट स्पान र ८० मिटरको एक भाग फलामको ट्रसबाट तयार हुँदै थियो।
गत चैत २४ गते बिहान ४ बजेतिर पुल भत्कँदा त्यहाँ काम गर्ने मान्छे थिएनन्। आइतबार भने एक दर्जन बढी कामदारले काम गर्दैगर्दा स्पान खस्यो। फलामे स्पानसँगै त्रिशूलीमा खसेका भारतका विजय यादवले ज्यान गुमाए। उनीसँगै खसेका दुई जना हराइरहेका छन्। घाइते भएका ८ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
‘पहिले पिलरसँग जोडिएको फलामको ट्रस झर्यो, त्यसपछि ठिमुरातिरको ट्रससँग उठेको टावर अनि अन्तिममा देवघाटतर्फको टावर झर्यो,’ प्रत्यक्षदर्शी देवकोटाले भने, ‘फलाममा अडिएर काम गर्दै गरेकाहरू फलामसँगै नदीमा खसे।’
डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पुलका सबै स्पान र ट्रसलाई एकआपसमा केबलले बाँधिएको हुन्छ। बन्दै गरेको स्पान खसेपछि त्यसमा बाँधिएको केबलले ट्रसलाई पनि दबाब दिइरहेको थियो।
‘हामीले त्यो दबाबले ट्रस नखसोस् भनेर बटम कर्ड (ट्रसको आधारको रूपमा रहेको फलामको बिम)लाई केबलबिना नै पिलरमा अडिने बनाउन खोजेका थियौं,’ उनले भने, ‘कामदारहरूले ट्रसमा चढेर नट, बोल्टु कस्ने काम गरिरहनुभएको थियो, एक्कासी ट्रस खस्न पुग्यो।’
उनले अघिल्लो पटक पुल भत्किएपछि काम रोकेर राख्नुभन्दा फलामको ट्रसलाई जोगाउने र भुइँमा झरेको स्पानलाई हटाउने काम गर्दा राम्रो हुने देखेर उक्त काम अघि बढाइएको भए पनि दुर्घटना भएको बताए।
‘सडक विभागको टोलीले अनुसन्धान सकेर रिपोर्ट बुझाउने तयारी गर्दै थियो। पहिलेको घटना के कारणले भयो भनेर एक-दुई दिनमै आउने कुरा थियो। फेरि अर्को दु:खद् घटना हुन पुग्यो,’ उनले भने।
पुल निर्माण कम्पनी इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले जुनसुकै हालतमा तोकिएकै बजेटमा यो पुलको निर्माण कार्य सम्पन्न गर्नु पर्ने सूचना अधिकारी खनालले बताए।
‘निर्माण कम्पनीका मान्छेहरू हाम्रो साइट इन्जिनियरको सम्पर्कमा छन्, उनीहरूले बीमा कम्पनीलाई देखाएर पुल निर्माणको काम सक्नु पर्ने हुन्छ,’ उनले भने।
२०७४ कात्तिक १९ गते निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ २०७१ कात्तिक २० मा सम्झौता भएको ठिमुरा–देवघाट जोड्ने पुलको निर्माण अवधि चार पटक सरिसकेको छ। सुरुआतमा १९ करोड १० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको पुलको डिजाइन परिमार्जन गरी २१ करोड ६८ लाख रुपैयाँ पुर्याइएको थियो।
पहिलो पटक तोकिएको मितिमा निर्माण सम्पन्न नभएपछि २०७५ सालको जेठ ४ सम्मलाई म्याद थपिएको थियो। उक्त मितिमा पनि नसकिएपछि एक वर्ष थप गर्दै २०७६ सालको वैशाख ९ गतेसम्म पुर्याइयो। त्यसपछि पुनः २०७७ सालको फागुन १३ सम्म समय थप्दा पनि पुल नबनेपछि २०७८ सालको असार १२ गते भित्रमा निर्माण गरिसक्ने सम्झौता भएको थियो।
डिजाइन परिमार्जन गर्न १८ महिना, भूकम्प र नाकाबन्दीका कारण करिब एक वर्ष र कोरोनाभाइरसको महामारीले केही महिना काम प्रभावित हुँदा निर्माण कम्पनीलाई पुल निर्माणको म्याद थप गर्न सहज हुँदै आएको थियो।
‘यो अवधिमा काम सकिनेवाला थियो भत्किएपछि फेरि टर्यो,’ इन्जिनियर खनालले भने।
पुल निर्माण व्यवस्थापन समितिका सदस्य रहेका स्थानीय देवेन्द्र पौडेलले ठेकेदार र इन्जिनियरको लापरबाहीले पटक-पटक पुल भत्किएको आरोप लगाए।
‘एक हप्तामा आउने भनिएको प्रतिवेदन तीन हप्ता सकिन लाग्दा पनि नआउनु, ठेकेदार पुलको अवस्था बुझ्नै नआउनु, ठूलो दुर्घटना हुँदा पनि सडक कार्यालयका अधिकारी घटनास्थलमा नदेखिनुले पनि उनीहरूको लापरबाहीलाई प्रस्ट्याउँछ,’ उनले भने।
स्थानीयले पुलको निर्माण समयमै नसकिए पनि भत्किएर नदीमा खसेको स्पान र ट्रस झिकेर बाहिर राखिदिन माग गरेका छन्।
‘यो यत्तिकै रह्यो भने वर्षायाममा बढेको नदीले हाम्रो गाउँ, खेतलाई असर पार्छ। यसलाई तुरुन्तै बाहिर निकालेर काम अघि बढाउनुपर्यो,’ स्थानीयको माग छ।
पुल निर्माणस्थलको अवलोकनका लागि पुगेका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले दुर्घटनाले ठूलो क्षति पुगेको भन्दै पुल निर्माणको काम छिटो सक्न समन्वय र सहजीकरण गर्ने बताए।
‘दुर्भाग्यवस ठूलो क्षति भएको छ। धार्मिक पर्यटनको दृष्टिले महत्वपूर्ण यो पुलको काम छिटो अघि बढाइदिन मैले पहिले पनि विभागमा आग्रह गरेको थिएँ, फेरि यो दुर्घटना भयो,’ लामिछानेले भने, ‘म अब पनि यो कामलाई जति सक्दो छिटो सक्न आवश्यक समन्वय र सहजीकरण गर्छु।’
सबै तस्बिरहरू: राजेश घिमिरे/सेतोपाटी