कोरोनाभाइरसको असर बढ्दै जाँदा चितवनको मुख्य अस्पताल भरतपुर अस्पताल भने प्रमुखविहीन बनेको छ।
अस्पतालमा रहेको १० शैयाको कोभिड आइसियू र २५ शैयाको एचडियू भरिएको छ। कोरोना संक्रमितको उपचारका लागि भनेर छुट्टाइएका अन्य शैया पनि भरिने क्रममा छन्।
अस्पतालको सम्पूर्ण जिम्मेवारी रहने प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को पद भने एक सातादेखि खाली छ। मेसुको पद खाली हुँदा अत्यावश्यक कामसमेत प्रभावित बन्ने गरेको प्रवक्ता डाक्टर युवानिधि बसौलाले बताए।
‘अस्पतालको आर्थिक कामको जिम्मेवारी मेसुकै हुन्छ, मेसु नहुँदा उपचारका लागि आवश्यक सामग्री खरिद गर्न, नयाँ स्वास्थ्यकर्मी नियुक्त गर्न समस्या भएको छ,’ प्रवक्ता बसौलाले भने, ‘स्वास्थ्य मन्त्रालयले छिट्टै नयाँ मेसु पठाउँछौं भने पनि पठाएको छैन।’
कोरोना संक्रमितको संख्या बढ्दै गर्दा मेसुविहीन भएपछि अक्सिजन सिलिन्डर थप गर्न तथा उपचार सामग्री खरिद गर्न नसकिएको उनले बताए। उनकाअनुसार आधा दर्जन बढी मेडिकल अफिसर, एक दर्जन बढी स्टाफ नर्स र उत्तिकै संख्यामा जुनियर स्वास्थ्यकर्मीले काम छाडेका कारण ती दरबन्दी रिक्त छन्।
‘महामारी बढ्दै जाँदा ती दरबन्दीमा नयाँ स्वास्थ्यकर्मी नियुक्त गर्नुपर्ने मेसु नहुँदा काम अघि बढ्न सकेको छैन,’ बसौलाले भने, ‘आवश्यक कर्मचारी नहुँदा काममै समस्या भइरहेको छ।’
भरतपुर अस्पताल संघीय सरकारको मातहतमा रहने केन्द्रीय अस्पताल हो। यहाँका लागि मेडिकल सुपरिटेन्डेन्टको नियुक्ति संघीय सरकारले नै गर्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ औं तहका स्वास्थ्यकर्मीलाई यस अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गर्ने गरेको छ।
वैशाख ५ गतेदेखि रिक्त रहेको मेसु पदमा मन्त्रालयले नयाँ नियुक्ति गर्न सकेको छैन।
२०७७ फागुन ५ गते मन्त्रालयले ११ औं तहका जिवाणु विज्ञ डाक्टर वासुदेव पाण्डेलाई प्रमुख मेडिकल सुपरिटेन्डेन्ट बनाएर भरतपुर अस्पताल पठाएको थियो। फागुन १५ देखि काम थालेका उनले वैशाख ५ गते स्वतः अवकाश पाए।
‘दुई महिनाका लागि हो भन्ने उहाँ आउँदा नै थाहा थियो, नियुक्ति लिएर आएपछि थप एक वर्ष बढाउन सकिन्छ कि भनेर काठमाडौंतिर निकै दौडधुप गर्नुभयो तर सक्नुभएन,’ अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले भने, ‘त्यो दुई महिना मेसु भए पनि कुनै अर्थ भएन।’
अहिले यस अस्पतालमा डाक्टर जगन्नाथ तिवारी निमित्त मेडिकल सुपरिटेन्डेन्ट छन्। तर उनलाई आर्थिक अधिकार दिइएको छैन।
‘अस्पतालमै कार्यरत ११ औं तहका डाक्टर यो पदमा बस्न नचाहने, दशौं तहकाले इच्छा देखाए पनि मन्त्रालयले नदिने र अन्य ठाउँका ११ औं तहका पनि यहाँ आइहाल्न नमान्ने भएकाले समस्या भएको छ,’ अधिकारीले भने, ‘हामीलाई छिटो प्रमुख चाहियो भनेर मन्त्रालयलाई भनेका छौं तर कहिले पठाउने हो थाहा छैन।’
स्वास्थ्य मन्त्रीले आफूअनुकूलका मेसु पठाउने र मन नपर्दा हटाइहाल्ने गरेका कारण भरतपुर अस्पतालमा मेसु परिवर्तनको श्रृंखला चलिराख्छ। केपी शर्मा ओली पछिल्लो पटक प्रधानमन्त्री भएयताको तीन वर्षे अवधिमा यस अस्पतालमा ७ जना मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भइसकेका छन्। अस्पताल प्रमुख बनेर आउने अधिकांश डाक्टरले दुई-तीन महिनामात्रै काम गर्ने अवसर पाएका छन्।
ओली प्रधानमन्त्री हुँदा डा.रुद्रप्रसाद मरासिनी अस्पतालका प्रमुख थिए। त्यसयता डा.रविन खड्का ४ महिना, डा.कृष्णप्रसाद पौडेल ७ महिना, डा.विश्वबन्धु बगाले डेढ महिना, डा.श्रीराम तिवारी ११ महिना, डा.राजन पाण्डे तीन महिनाभन्दा पनि थोरै, डा.जगन्नाथ तिवारी आर्थिक अधिकारसहितको निमित्त मेसु बनेर तीन महिना र डा.वासुदेव पाण्डे २ महिनामात्रै टिके।
२०१३ सालमा स्थापना भएको यस अस्पतालमा अहिलेसम्म ४३ जना प्रमुख नियुक्त भएका छन्। २०४४ सालबाट अस्पताल प्रमुखकारुपमा मेडिकल सुपरिटेण्डेन्ट नियुक्त गर्न थालिएको थियो। त्यसयताका ३३ वर्षमा ३३ जनै मेडिकल सुपरिटेन्डेन्ट फेरिएका छन्।
केन्द्रीय राजनीति र मन्त्रीको प्रत्यक्ष हस्तक्षेप हुने भएका कारण योग्यता पुगेकाले पनि भरतपुर अस्पतालको मेसुको पदमा जाने इच्छा नदेखाउने गरेको अस्पतालका स्वास्थ्यकर्मीहरु बताउँछन्। ‘यहाँ गएर आफूले भनेअनुसारको काम गर्न पाइंदैन। कुन दिन फालिदिन्छ पनि भर हुँदैन,’ अस्पतालमा कार्यरत ११औं तहका एक जना चिकित्सकले भने, ‘यो पदमा गएर कठपुतली बन्नुभन्दा आफ्नो सुरले उपचार सेवामा लाग्नु बेस।’
अध्यक्ष डा.अधिकारीले काम गर्न चाहँदा चाहँदै पनि अस्पताल कार्यकारी प्रमुखविहीन हुँदा गर्न नसकिएको बताए।
‘सामान्य खरिद, निर्माण, नियुक्तिमा पनि मेसु नभई हुँदैन। अहिले निमित्त मेसु भनिएको डा.तिवारीलाई यो अधिकार छैन,’ उनले भने, ‘कोरोनाले आक्रान्त बन्दै गरेको अवस्थामा सम्पूर्ण ध्यान त्यता लगाउनुपर्ने हो, मन्त्रालयले समयमा मेसु पठाउन नसक्दा अप्ठेरो भइरहेको छ।’
योजना छन्, हस्ताक्षर गर्ने मेसु छैनन्
अस्पतालको बोर्ड बैठकले अत्यावश्यक काम तथा भौतिक संरचना निर्माण, सुधार, कर्मचारी व्यवस्थापनलगायत विषयमा निर्णय गरे पनि कार्यकारी प्रमुख नभएका कारण काम अड्किएको डा.अधिकारीले बताए।
अघिल्लो हप्ता बसेको बैठकले अस्पताल परिसरमा ढल, पिउने पानीको संरचना, शौचालय निर्माणको काम अघि बढाउने निर्णय गरेको छ। अहिलेका ढल, शौचालय पुराना भएकाले नयाँ बनाउन संघीय र प्रदेश सरकारसँग सहयोग मागिएको भए पनि सहयोग नपाएपछि अस्पताल विकास समितिमार्फत् काम अघि बढाउन लागिएको अधिकारीले बताए।
अस्पताल परिसरमा निर्माण भएको कुरुवा घरलाई तत्कालका लागि पिसिआर परीक्षणका लागि स्वाब संकलन र फिभर क्लिनिकका रूपमा प्रयोग गर्ने निर्णय उक्त बैठकले गरेको थियो।
त्यस्तै, अस्पतालमा रहेका दिनगन्ती, ज्यालादारी र ठेकेदारमार्फत् काम गर्दै २४४ जना आएका कर्मचारीलाई करारमा राख्नका लागि केन्द्रसँग अनुमति माग्ने, स्वास्थ्य कार्यालय र पुरानो मेडिकल कलेजको बीचमा रहेको खाडललाई पुर्ने तथा भरतपुर अस्पताल र पुरानो मडिकल कलेजको बीचमा रहेको जमिनलाई व्यवस्थित गरेर एम्बुलेन्स पार्किङ निर्माण गर्ने निर्णय बोर्ड बैठकले गरेको छ।
साथै आकस्मिक सेवा निशुल्क गर्नका लागि सामाजिक सुरक्षा शाखामार्फत् व्यवस्थित गर्ने, बी ब्लकको माथि ट्रस राखेर नर्सिङको पढाइ र तल्लो तल्लामा बर्थिङ सेन्टर तयार गर्ने, सरूवा रोग अस्पताल बन्दै गरेको डी ब्लकको साढे ४ कट्ठा जमिन सिटिइभिटीको कम्पाउन्डभित्र परेकाले खाली गर्न आग्रह गर्नेलगायतका निर्णय बैठकले गरेको उनले बताए।
‘तर यी सबै काम गर्न पनि आर्थिक अधिकार भएको मेसु चाहिन्छ,’ अध्यक्ष डा.अधिकारीले भने, ‘हामीले नयाँ मेसु नियुक्त भएर आएपछि फटाफट काम गर्न सकुन् भनेर योजना बनाएर पर्खिरहेका छौं।’