चितवनका ठूला अस्पतालमा १५६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जिल्लामा रहेका ८३५ जना सक्रिय संक्रमितमध्ये लक्षण देखिएकालाई मात्र अस्पतालमा भर्ना गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार भरतपुर अस्पतालमा भन्टिलेटरमा १, आइसियूमा ६, एचडियूमा २५ र अन्य शय्यामा ४५ जना संक्रमितको उपचार भइरहेको छ। चितवन मेडिकल कलेजको भेन्टिलेटरमा ५ जना संक्रमित छन्। आइसियूमा १० जना, एचडियूमा २ र अन्य शय्यामा २१ जना छन्।
पुरानो मेडिकल कलेजको भेन्टिलेटरमा २, आइसियूमा ८ र एचडियूमा १७ जनाको उपचार भइरहेको छ।
यी तीन अस्पतालले कोरोना संक्रमितहरूको उपचारका लागि भनेर करिब तीन सय शय्या तयारी अवस्थामा राखेको जनाएका छन्।
भरतपुर अस्पतालसँग १० शय्याको आइसियू, २५ शय्याको एचडियू र ७० शय्याको वार्ड कोरोना संक्रमितका लागि प्रयोग गरिँदैछ। यहाँ पाँच वटा भेन्टिलेटर छन्।
चितवन मेडिकल कलेजमा ३० वटा भेन्टिलेटरसहितको कोभिड आइसियू छ। पुरानो मेडिकल कलेजमा ५ वटा भेन्टिलेटरसहितको ३० शय्याको आइसियू र ४० शय्याको एचडियू छ।
चिकित्सकहरूले अधिकांश संक्रमितको अक्सिजनको सहायतामा उपचार भइरहेको बताएका छन्।
कोरोना संक्रमितका लागि आइसियू चाहियो भनेर तारन्तार फोन आइरहेको अस्पताल सञ्चालक बताउँछन्।
‘चितवनमात्र नभएर अन्य विभिन्न जिल्लाबाट पनि कोरोनाको लक्षणसहित अस्पताल आउने गरेका छन्। अधिकांश बिरामी एम्बुलेन्सबाट आउँदा नै अक्सिजन लगाएरै आउँछन्,’ चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले भने।
भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले कोरोना संक्रमण भएका अधिकांश बिरामीलाई अधिकतम मात्रामा अक्सिजन दिनुपरिरहेको बताए।
‘अधिकतम मात्रामा अक्सिजन चढाउँदा पनि बिरामीले सास फेर्न गाह्रो भयो भनिरहेका छन्,’ अधिकारीले भने, ‘अवस्था असाध्यै गम्भीर हुने भयो। आज भारतमा जस्तो अवस्था देखिँदैछ त्यस्तो अवस्थामा नआउँदै सतर्क बनौं।’
भरतपुर अस्पतालका प्रवक्ता डाक्टर युवानिधि बसौलाले भर्ना भएका ८१ जना सबैलाई सुरूआतमा अक्सिजन आवश्यक परेको बताए।
‘भर्ना हुँदा अक्सिजन नभई हुँदैन, बिस्तारै सहज अवस्था हुनेलाई अक्सिजन हटाएका छौं,’ उनले भने, ‘८० प्रतिशतभन्दा बढी बिरामीलाई नियमित अक्सिजन दिनुपरेको छ।’
यस अस्पतालमा उपचार गराइरहेका दुई जना संक्रमितको शुक्रबार मृत्यु भएको छ।
चैत २५ यता कोरोना संक्रमण भएर चितवनका ७ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म कोरोना संक्रमणबाट चितवनका ११७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दियो।
गत वर्षको कात्तिक महिनामा चितवनमा सबभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। त्यस महिना जिल्लामा २ हजार १५८ जना नयाँ संक्रमित थपिएका थिए।
फागुनमा ९६ जनामात्रै नयाँ संक्रमित रहेकोमा वैशाखमा फेरि बढेपछि जिल्लामा निषेधाज्ञा नै लगाइएको छ।
बिहीबार भरतपुर अस्पतालको ल्याबमा गरिएको पिसिआर परीक्षणमा ४६ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको थियो।
बुधबार गरिएको परीक्षणमा ४० प्रतिशत र मंगलबारमा ३७ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको थियो।
‘संक्रमितको दर हरेक दिन बढिरहेको छ, त्यसैको अनुपातमा अस्पतालमा भर्ना हुनेक्रम पनि बढेको छ,’ डा.बसौलाले भने, ‘जनस्वास्थ्य मापदण्ड पालनामा आलटाल गरे अवस्था सम्हालिनसक्नुको हुने देख्छु।’
पछिल्ला दिनमा संक्रमण देखिएकाहरू २० देखि ५० वर्षसम्मका बढी छन्।