चितवनमा पछिल्लो चौबीस घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
भरतपुर अस्पतालमा ४, चितवन मेडिकल कलेजमा ५ र पुरानो मेडिकल कलेजमा उपचाररत् १ जना कोरोना संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेहरू ४ जना चितवनका छन्, ४ जना रूपन्देही, एक जना हेटौंडा र एक जना नवलपरासीका हुन्। उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पछिल्लो चौबीस घण्टाभित्र भरतपुर अस्पतालमा चितवनका २, हेटौंडाका र रूपन्देहीका १/१ जनाको मृत्यु भएको छ।
चितवन मेडिकल कलेजमा रूपन्देहीका ३, चितवन र नवलपरासीका १/१ जनाको मृत्यु भएको छ।
पुरानो मेडिकल कलेजमा उपचार भइरहेका चितवनका १ जनाको पनि मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिए।
तिवारीकाअनुसार चितवनका यी तीन ठूला अस्पतालमा अहिले २२१ जना संक्रमितको उपचार भइरहेको छ।
१२ संक्रमितहरूको भेन्टिलेटरमा, ४९ जनाको आइसियूमा, ४३ जनाको एसचडियूमा र ११८ जनाको कोभिड वार्डमा उपचार भइरहेको छ।
भरतपुर अस्पतालले १३५, चितवन मेडिकल कलेजले १७९ र पुरानो मेडिकल कलेजले १०० गरी ४१४ शय्या कोरोना संक्रमितको उपचारका लागि छुट्टाएका छन्।
यसबाहेक बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले २० शय्याको कोभिड वार्ड तयार पारेर उपचार थालेको छ।
यहाँ अहिले एक जना संक्रमितमात्रै छन्।
रत्ननगर नगरपालिकाले अक्सिजन सिलिण्डरसहितको २८ शय्या, खैरहनी नगरपालिकाले १५ शय्या (११ अक्सिजन सिलिण्डरसहित), कालिका नगरपालिकाले १२ र इच्छाकामना गाउँपालिकाले २० शय्या (१० अक्सिजन सिलिण्डरसहित)को आइसोलेसन तयार पारेका छन्।
जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहहरूलाई आइसोलेसन वार्ड स्थापना गर्न निर्देशन दिए पनि भरतपुर महानगरपालिका र माडी नगरपालिकाले आइसोलेसन तयार पारेका छैनन्।
स्वास्थ्य कार्यालयकाअनुसार चितवनका अस्पतालमा उपचार गराइरहेका २२१ जनामध्ये ८९ जनामात्रै चितवन ठेगाना भएका हुन्। बाँकी दाङ, रूपन्देही, नवलपरासी, तनहुँ, मकवानपुर, पर्सालगायतका जिल्लाका छन्।
अधिकांशको अक्सिजनको सहारामा उपचार भइरहेको अस्पतालहरूले जनाएका छन्।
तिवारीकाअनुसार चितवनमा अहिले १ हजार ६३९ जना सक्रिय कोरोना संक्रमित छन्। यसमध्ये १ हजार ५५० जना होम आइसोलेसनमा छन्।
‘संक्रमितमध्ये केही दोस्रो पटक संक्रमण भएका र कोरोना भाइरसविरूद्धको खोप लगाएकाहरू पनि छन्। हामी यसको तथ्यांक संकलन गरिरहेका छौं,’ उनले भने, ‘संक्रमित सबैलाई फोन गरेर जानकारी संकलन गरिरहेका छौं। संक्रमणको दर निकै बढेकाले यकिन तथ्यांक आइसकेको छैन।’
चितवनमा पछिल्लो चौबीस घण्टामा २५० जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा पिसिआर परीक्षण गरिएकामध्ये ६५ प्रतिशतभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
तिवारीकाअनुसार जिल्लाका विभिन्न अस्पतालमा फ्रन्टलाइनमा खटिएका ७० जनाभन्दा बढी स्वास्थ्यकर्मीहरूलाई कोरोना संक्रमण भएको छ।
तत्काल संक्रमितको उपचार गर्न सकिन्नः निजी अस्पताल
तीन वटा ठूला अस्पतालहरू संक्रमितले भरिन थालेपछि स्वास्थ्य कार्यालयले निजी अस्पतालहरूलाई स:शुल्क संक्रमितको उपचार गराउन दररेटसहितको सार्वजनिक सूचना जारी गरेको थियो। तीन दिन भित्रमा सूचीकृत हुन भन्दै सूचना जारी गरे पनि अन्तिम समयसम्म कुनै पनि निजी अस्पताल यसमा सूचीकृत भएका छैनन्।
स्वास्थ्य कार्यालयले जारी गरेको सूचनामा गैरसरकारी, निजी र सामुदायिक अस्पताललाई आइसोलेसनका लागि प्रतिव्यक्ति दैनिक ३ हजार ५००, मध्यम उपचारका लागि ७ हजार र आइसियू वा भेन्टिलेटर आवश्यक हुनेलाई १५ हजार रुपैयाँमा उपचार सेवा दिन आग्रह गरिएको थियो।
तर निजी अस्पताल सञ्चालकहरूले भौतिक संरचना, जनशक्ति, स्रोत र साधनको अभाव रहेको भन्दै तत्काल कोरोना संक्रमितको उपचार सुरू गर्न नसकिने बतताएका छन्।
निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीले २०७२ सालको भूकम्पका घाइतेलाई उपचार गर्दा र गत वर्ष कोरोना संक्रमितको उपचार गर्दाको रकमसमेत सरकारले शोधभर्ना नगरेको भन्दै सरकारले निजी अस्पतालका विषयमा नसोच्दासम्म जोखिम उठाउन नसक्ने बताए।
‘उहाँहरूले सरकारसँग हाम्रा माग छन्, ती मागको सुनुवाइ होस् त्यसपछि उपचार सुरू गरौंला भन्नुभएको छ,’ स्वास्थ्य कार्यालयका प्रमुख तिवारीले भने।