पछिल्लो एक हप्तामा चितवनका १ सय ३२ जना कोरोना मुक्त भएका छन्। अघिल्लो हप्ताको शुक्रबार चितवनका अस्पताल र होम आइसोलेसनमा गरी ९८८ जना कोरोना संक्रमित थिए। यो एक हप्तामा १ हजार १ सय २१ जना संक्रमित थपिए।
स्वास्थ्य कार्यालय चितवनकाअनुसार आज (शुक्रबार) १ हजार ९ सय ७७ जना सक्रिय संक्रमित छन्। उनीहरुमध्ये २७२ जनाले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्। बाँकी होम आइसोलेसनमा छन्।
पछिल्लो एक हप्तामा चितवनका अस्पतालहरुमा उपचार गराइरहेका ४१ संक्रमितहरुको मृत्यु भएको छ। एक हप्ताको अवधिमा मृत्यु हुनेहरु मध्ये १२ जना चितवनका छन्। अन्य रुपन्देही, नवलपरासी, नवलपुर, मकवानपुर र पर्साका छन्।
गत शुक्रबार र शनिबार २/२, आइतबार ३, सोमबार र मंगलबार ४/४, बुधबार १०, विहीबार ७ र शुक्रबार (आज) ९ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दियो। यो हरेक २४ घण्टामा स्वास्थ्य कार्यालयले संकलन गरेको विवरणमा आधारित हो।
कार्यालयकाअनुसार अघिल्लो शुक्रबार चितवनका अस्पतालहरुमा १५६ जना कोरोना संक्रमित भर्ना थिए। अहिले आइसियूमा ६३, भेन्टिलेटरमा ११, एचडियूमा ३७ र कोभिड वार्डमा १६१ जना उपचार गराइरहेका छन्।
गम्भीर अवस्थाका बिरामी भरतपुर अस्पतालमा ९, चितवन मेडिकल कलेजमा ३४ र पुरानो मेडिकल कलेजमा ३१ जना छन्। अन्य सबै बिरामीलाई अस्पतालले मध्यम खालको भनेको छ।
चितवनमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या अहिलेसम्म १२३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। वैशाख महिनामा मात्रै १७ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये अधिकांशमा निमोनिया र श्वासप्रश्वासको समस्या रहेको स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले बताए।
अघिल्लो शुक्रबारसम्म यहाँका तीन ठूला अस्पतालहरुले संक्रमितको उपचारका लागि भनेर ३४३ शैया तयार पारेकोमा अहिले यी अस्पतालले ४ सय २५ शैया तयार पारेका छन्। यसका अलावा भरतपुर क्यान्सर अस्पतालले २० शैया तयार पारेको छ।
ती अस्पतालबाहेक जिल्लाका विभिन्न निजी अस्पतालहरुमा २१ जना संक्रमितको उपचार भइरहेको छ। साथै भरतपुर महानगरपालिकाबाहेकका स्थानीय तहहरुले कोरोना संक्रमितका लागि आइसोलेसन स्थापना गरेका छन्।