कोरोना संक्रमित बढेसँगै चितवनमा ‘रेम्डेसिभिर’को कालोबजारी हुन थालेको छ।
कोरोना संक्रमितका आफन्तले सघन उपचार गराइरहेका बिरामीका लागि उपयोगी हुने भनिएको औषधी रेम्डेसिभिर कालोबजारबाट खरिद प्रयोग गर्दै आएको खुलेको छ।
औषधि व्यवस्था विभागले एक हप्ताको अवधिमा २२२ भाइल रेम्डेसिभिर चितवन पठाएको उल्लेख गरेको छ। यहाँको चितवन मेडिकल कलेजलाई १०२, पुरानो मेडिकल कलेजलाई ४८ र भरतपुर अस्पताललाई दुई पटकमा गरेर ७२ भाइल रेम्डेसिभिर पठाएको विभागको सूचनामा उल्लेख छ।
तर, गम्भीर अवस्थाका कोरोना संक्रमितका लागि ६ भाइल आवश्यक पर्ने भनिएको यो औषधी आवश्यक मात्रामा अस्पतालबाट नपाएपछि बिरामीका आफन्तले कलोबजारबाट खरिद गरी प्रयोग गर्ने गरेका छन्।
चितवन मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत् एक बिरामीका आफन्तले दुई दिनअघि १३ हजार रुपैयाँका दरले तीन भाइल रेम्डेसिभिर काठमाडौंबाट मगाए।
‘दुई भाइल अस्पतालबाट पाइयो, अब एक भाइल आवश्यक छ,’ उनले भने, ‘अस्पताल छैन भन्छ, सरकारी अस्पतालले पनि छैन भनेको छ, बाहिर बुझ्दा ३५ हजार रुपैयाँ भनिरहेका छन्।’
उनले आइतबारसम्म कुर्दा पनि सरकारी औषधी नपाए बाध्य भएर फेरि कालोबजारकै किन्नुपर्ने बताए। ६ दिनदेखि आइसियूमा उपचार भइरहेका संक्रमितका आफन्तले भने, ‘यसैको कारण बिरामी बाँच्छ भने ५० हजार भने पनि तिर्नेपर्यो नि।’
उनले दर्जनौं व्यक्तिसँगको सम्पर्क पश्चात बल्ल औषधी बेच्ने मान्छेसम्म पुग्न सकेको बताए।
‘अहिले अस्पतालहरूबाट पाहिन्छ कि भनेर प्रयास गर्दा मैले एक सय जनालाई फोन गरिसकें होला तर पाउने निश्चित छैन,’ उनले सुनाए, ‘डाक्टरले छैटौं भाइल आज लगाउनुपर्छ भन्नुभएको थियो, अन्योलमा परियो।’
चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले विभागले पठाएको भनेको १०२ भाइल रेम्डेसिभिर अस्पताल आइनपुगेको बताए। ‘केही दिनअघिसम्म यो औषधी हाम्रै फार्मेसीमा थियो, बिरामीले त्यहीँबाट किनेर प्रयोग गर्थे तर अहिले फार्मेसीमा पनि सकिएको छ। सरकारले पनि पठाएको छैन,’ उनले भने।
सरकारले सूचना निकालेको जानकारी पाए पनि अस्पताल आइनसकेको उनले बताए। तर, विभागले भने तिनै अस्पताललाई उक्त औषधी पठाइसकेको दाबी गरेको छ।
डाक्टर न्यौपानेले अनावश्यक औषधीलाई हौवा बनाएर कालोबजारी भइरहेको बताए। ‘प्रभावकारिताको हिसाबमा हेर्दा यो आवश्यक औषधी नै होइन। तर, यो नभई नहुने जसरी प्रचार गरेर कालोबजारी गरिँदैछ,’ उनले भने, ‘यो नहुँदा पनि केही हुने होइन।’
यद्यपि, चिकित्सकहरूले बिरामीलाई औषधी सिफारिस गर्दा रेम्डेसिभिर पनि सिफारिस गर्ने गरेका छन्। चिकित्सकको सिफारिसपछि यसलाई कोरोनाको एक मात्र औषधी ठानेर बिरामीका आफन्तले ठूलो मूल्य चुकाएर भए पनि खरिद गर्दै आएका छन्।
भरतपुर अस्पतालले विभागले सूचनामा ७२ भाइल लेखे पनि ४८ भाइलमात्रै प्राप्त गरेको जनाएको छ। ‘शनिबार अपरान्ह मात्रै ४८ भाइल रेम्डेसिभिर अस्पताल आइपुगेको छ,’ अध्यक्ष डाक्टर भोजराज अधिकारीले भने, ‘संक्रमितको अवस्था हेरेर आवश्यकताअनुसार यसको प्रयोग गर्छौं।’
गत वर्ष कोरोनाका संक्रमितको चाप बढेको समयमा पठाएपछि सरकारले पहिलो पटक रेम्डेसिभिर पठाएको उनले बताए। ‘यो औषधिको प्रभावकारिता खासै छैन भनेर प्रयोग गर्न छाडिएको थियो,’ उनले भने, ‘कतिपय बिरामीले आफैंले लिएर आउने गर्नुभएको छ, उहाँहरूले ल्याएको औषधी लगाइदिने गरेका र्छौं। अब सरकारले नै पठाएपछि पुनः सुरू गर्छौं।’
विभागले वितरण गरेको रेम्डेसिभिरको मूल्य ५ हजार १०० रुपैयाँ छ। तर, यही औषधी बिरामीले ३५ हजार रुपैयाँमा किनेर प्रयोग गर्दै आएका छन्।
भेन्टिलेटरमा आफन्तको उपचार गराइरहेका एक जना स्वास्थ्यकर्मीले रेम्डेसिभिर किन्न पाउने थाहा पाएपछि सम्पर्क गर्दा ३५ हजार रुपैयाँ मागिएको बताए। ‘मेरा आफन्त अन्यन्तै जटिल अवस्थामा उपचाररत् हुनुहुन्थ्यो, रेम्डेसिभिर किन्न पाहिन्छ भन्ने थाहा पाएपछि फोन नम्बर पत्ता लगाएर बुझ्दा ३५ हजार रुपैयाँ मागे,’ उनले भने, ‘मिलाइदिनुस् भन्दा २८ हजारसम्म मिलाइदिन्छु भनेका थिए तर किनिनँ।’
उनकाअनुसार संक्रमित धेरैले तिनै व्यक्तिसँग ३५ हजार रुपैयाँ तिरेर उक्त औषधी किनेका छन्। ‘औधषीको कालोबजारीमा सरकारी कर्मचारी, ठूला अस्पताल, फार्मेसीदेखि डाक्टरसम्म लागेका छन्,’ उनी भन्छन्, ‘यतिविधि हुँदा पनि प्रशासन मौन बसिरहेको छ।’