केही दिनदेखि सुनसान देखिएको जिल्ला प्रशासन कार्यालयमा मंगलबार दिउँसो भने चहलपहल देखिन्थ्यो। केही युवाहरु प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई आफ्ना कुरा सुनाउन गेटमा लामबद्ध भएका थिए।
उनीहरु प्ले कार्डमा लेखिएका चोटिला प्रश्नमार्फत महामारीमा प्रशासनले गर्नुपर्ने कामको विषयमा ध्यानाकर्षण गराउँदै थिए।
सिडिओलाई उनीहरुका प्रश्न थिए, ‘मेडिकल सिटीमा, जनता मर्नुपर्ने अस्पतालको पेटीमा, आइसियू नभएर जाँदैछ ज्यान, सिडिओ साब कता छ ध्यान?, जनताको उपचारको ग्यारेन्टी खोई?, प्रशासन जनताले रोग थेग्ने कि भोक?, भेन्टिलेटर कता किन्न पाइन्छ?, प्राइभेट अस्पतालको आइसियू केका लागि?, जनताका प्रतिनिधिको दायित्व के?, यो महामारीमा दायित्व स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मात्र?, महामारीको पूर्वतयारी खोई?’
विभिन्न क्षेत्रमा आवद्ध रहेका युवाहरुको यो समूहले भरतपुरको चौबीसकोठीमा स्वतस्फूर्तरुपमा हेल्प डेक्स स्थापना गरेर संक्रमितका लागि आवश्यक सहयोग पनि गर्दै आएका छ। उक्त समूहमा सक्रिय स्माइल नेपाल नामक सामाजिक संस्थाका सन्तोष पन्तले भरतपुर महानगरपालिकाले कोरोना संक्रमितको उपचारमा आवश्यक भूमिका खेल्न नसकेको आरोप लगाए।
‘हामी गर्छौं भन्दा पनि उहाँहरुले सहयोग गर्नुभएन, उहाँहरुले पनि गर्नुभएन,’ उनले भने, ‘मेडिकल सिटीमा उपचार नपाएर अस्पतालको पेटीमा मर्नुपर्ने अवस्था आयो।’
उक्त अभियानमा सक्रिय अमृत काफ्लेले प्रशासनले निजी अस्पतालहरुलाई पनि संक्रमितको उपचारका लागि दबाब दिनुपर्नेमा त्यसो नगर्दा संक्रमित उपचारबाट बञ्चित हुनुपर्ने अवस्था आएको दाबी गरे।
‘अहिले उपचार गराइरहेका तीनवटा अस्पतालहरु चितवन भन्दा बाहिरका बिरामीले भरिन थालेका छन्। चितवनमा अब बल्ल गम्भीर बिरामीहरु देखिन थाल्दैछन्,’ स्वास्थ्यकर्मी समेत रहेका उनले भने, ‘के यहाँका बिरामीले अब उपचार नपाएर मर्नुपर्ने?’
उनले निजी अस्पतालमा भएका संरचनाहरुको भरपुर उपयोग गरी बिरामीको उपचार गरिनुपर्ने बताए। हेल्प डेक्स स्थापना गर्ने यो समूहमा चिकित्सकदेखि सामाजिक संस्थामा आवद्ध युवाहरु सहभागी छन्। एक हप्ताअघि सुरु भएको उक्त डेक्सले अहिलेसम्म करिब ३०० जनालाई सहयोग गरेको पन्तले बताए। यो अवधिमा विभिन्न ठाउँमा पुगेर स्टकमा रहेका ५० वटा अक्सिजन सिलिण्डर जम्मा गरेको उनले बताए।
‘दैनिक ५० जना भन्दा बढीले हामीलाई उपचारमा सहयोग गरिदिनुपर्यो भनेर फोन गर्ने गर्नुहुन्छ, हामीले उहाँहरुका लागि निशुल्क रुपमा एम्बुलेन्स सेवा दिएका छौं,’ पन्तले भने, ‘अस्पतालमा उपचार नपाउने अवस्थामा अक्सिजन आवश्यक पर्नेलाई घरमै अक्सिजन पुर्याएर उपचारमा सहयोग पनि गर्दै आएका छौं।’
चितवनका अस्पतालहरुमा अहिले करिब ५ सय जना कोरोना संक्रमतिको उपचार चलिरहेको छ। उनीहरुमध्ये ५० प्रतिशत भन्दा बढीको सघन उपचार चलिरहेको छ। तीन ठूला अस्पतालहरुमा ५० जना विरामी भेन्टिलेटरमा छन्।
स्वास्थ्य कार्यालयकाअनुसार वैशाख १५ गते देखि सोमबारसम्ममा चितवनका विभिन्न अस्पतालहरुमा उपचारकाक्रममा ६७ जनाको मृत्यु भइसकेको छ। उनीहरुमध्ये १९ जना चितवनका हुन्।
जिल्लामा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार पुग्नै लागेको छ। मेडिकल सिटी भनेर चिनिने भरतपुरमा अन्य जिल्लाहरुबाट पनि उपचारका लागि आउने गर्छन्। केही दिन यता काठमाडौंबाट रिफर भएर पनि बिरामी आइरहेका छन्।
कोरोना संक्रमितको उपचार गराइरहेका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज बिरामीले भरिँदैछन्। उपचारका लागि टाढाबाट ल्याइएका कतिपय बिरामी त शैया नपाएर अस्पताल परिसरमै छटपटाइरहेका भेटिन्छन्। केही बिरामीले उपचार कुर्दाकुर्दै एम्बुलेन्समै ज्यान पनि गुमाए।
कोरोना महामारीले देश आक्रान्त बन्दै गर्दा यहाँका प्रायः निजी अस्पतालहरुले भने कोरोना संक्रमितको उपचार गरेका छैनन्। केही अस्पतालले केही दिन देखि उपचार सुरु गर्न थालेका छन्।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अस्पतालहरुमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहँदा प्रशासनको सामथ्र्यले भ्याउनेजति काम गरिरहेको बताए।
‘हामी आफ्नो तरिकाले लागेका छौं, हामीलेमात्रै गरेर हुने कुरो होइन,’ उनले भने, ‘अस्पतालको क्षमताले भ्याउँदासम्म त उपचार भइहाल्छ।’ उनले निजी अस्पतालका सञ्चालकहरुसँग आफूले छलफल गरेर निर्देशन पनि दिइसकेको भन्दै केहीले आवश्यक संरचना तयार गर्न समय मागेको बताए।
‘केही अस्पतालले उपचार सुरु गरिसकेका छन्, केहीले अहिलेको भौतिक संरचनामा गाह्रो छ केही समय चाहिन्छ भन्नु भएको छ,’ उनले भने, ‘उहाँहरुले पनि सुरु गर्नुहुन्छ, हामी उपचार सबैले पाउने व्यवस्था मिलाउन लागिरहेका छौं।’