भरतपुर अस्पतालले कोरोना संक्रमितको उपचारका लागि उपचार सामग्रीको कमी हुन थालेको बताएको छ।
संक्रमितको उपचारका लागि छुट्टाइएको शैया संख्या भन्दा बढी बिरामीको उपचार गर्नुपरेको भन्दै उक्त अस्पतालले उपचारका लागि आवश्यक पर्ने सुरक्षा सामग्रीको मौज्दातमा कमी आउन थालेको जनाएको छ।
‘आइसियू, एसचडियू, भेन्टिलेटर एवम् उच्च मात्राको अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या अत्याधिक रहेको तर बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको सन्दर्भमा उपचार व्यवस्थापन कठिन हुँदै गइरहेको छ,’ अस्पतालका
निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर जगन्नाथ तिवारीले सार्वजनिक अनुरोध जारी गर्दै भनेका छन्। अस्पतालमा भिडभाड हुँदा संक्रमण फैलने जोखिम बढेको भन्दै उनले अति आवश्यक अवस्थामा मात्रै अस्पताल आउन अनुरोध गरेका छन्।
केन्द्रीय सरकारी अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालमा ६ सय शैया छन्। त्यसमध्ये १८० शैया कोरोना संक्रमितको उपचार गराउन मिल्ने बनाइएको छ। तर यहाँ अहिले नै १४७ जनाको उपचार चलिरहेको छ। उक्त अस्पतालले बढीमा २ सय शैयामा संक्रमितको उपचार गर्न सक्ने जनाएको छ।
तर अस्पतालले अहिलेबाटै उपचार सामग्रीको अभाव हुन थालेको उल्लेख गरेको छ। डा. तिवारीले अहिलेको जति मात्रै बिरामी हुँदा करिब एक महिनाका लागि धान्ने उपचार सामग्री स्टक भएपनि बिरामी थप्दै जाँदा उक्त स्टक छिट्टै सकिने बताए।
‘हामीले १६ शैयाको जेनरल आइसियूलाई पनि संक्रमितको उपचारका लागि प्रयोग गर्ने निर्णग गरेका छौं। अब आकस्मिक, डायलासिस, मातृशिशु, हाडजोर्नी वार्ड बाहेकका सबै शैया कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने निर्णय भएको छ,’ उनले भने, ‘तर त्यो अनुसार उपचारमा सुरक्षा सामग्रीको अभाव हुने हो कि भन्ने चिन्ता छ।’
साथै उनले गम्भीर खालका संक्रमितको संख्या बढ्दा प्लान्टबाट पाइपलाइन हुँदै जाने अक्सिजनले दबाब थाम्न नसकेर समस्या भएको बताए। ‘बिरामीलाई एक मिनेटमा तीस लिटरसम्म अक्सिजन चाहिएको छ। यही अवस्था रहने हो भने अक्सिजनको पनि समस्या पर्छ,’ उनले भने। तत्कालका लागि सिलिण्डर अक्सिजनको भने समस्या नरहेको उनले बताए।
अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले आइसियूका लागि भनेर २२ जिल्लाबाट दैनिक एक सय भन्दा बढी फोन आइरहेको बताए। ‘तर हामीले आउनस् भन्न सकेका छैनौं, उपचार गर्ने संरचना तयार छैन,’ उनले भने, ‘चितवन भित्रैकालाई उपचार गर्ने ठाउँ दिन सकिएको छैन, एकै परिवारका चार जनासम्मलाई अक्सिजन चाहिने अवस्था देखिएको छ।’
उनले बिरामीको चाप बढेसँगै अक्सिजनको माग ६ गुणाले बढेको बताए। तर प्राप्त गर्ने स्रोत भने बिगतकै मात्र हुँदा सेवा दिन समस्या हुन थालेको उनले बताए।
डा. अधिकारीले स्थानीय तहले आफूअन्तर्गतका स्वास्थ्य संस्थाहरुमा अक्सिजनसहितको संरचना तयार पारेर मध्यम स्तरका संक्रमितलाई उपचार गर्ने व्यवस्था मिलाउनु अवश्यक रहेको बताए। ‘त्यहाँ अवस्था गम्भीर भएमात्रै ठूला अस्पतालमा पठाउने गर्नुपर्छ,’ उनले भने, ‘सबै बिरामी ठूला अस्पतालमा मात्रै केन्द्रित हुँदा उपचारमा समस्या भएको छ।’