स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भरतपुर अस्पतालको समग्र फार्मेसी विभाग हेर्ने गरी फर्मासिस्ट नियुक्त गरेर पठाएको ७ महिना भयो।
औषधी ऐन २०३५, राष्ट्रिय औषधी नीति, औषधी बिक्री–वितरण संहिता २०७१, राष्ट्रिय स्वास्थ्य नीति २०७१ र अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ मा अस्पतालमा औषधीको अनुमान, खरिद र वितरण प्रक्रियामा दक्ष फर्मासिष्ट जनशक्तिको अनिवार्य व्यवस्था हुनुपर्ने उल्लेख छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको कार्य विवरणमा पनि अस्पतालको भौतिक एंव अन्य जिन्सी सामानलगायत औषधीको जिन्सी अभिलेख राख्ने, सामानको सुरक्षाको प्रबन्ध मिलाउने, आवश्यकताअनुसार अस्पताल सञ्चालनका लागि जिन्सी सामान उपलब्ध गराउने काम फार्मेसी सुपरभाइजरको रहेको उल्लेख छ। साथै बिरामीको स्वास्थ्य परीक्षणका क्रममा औषधीको व्यवस्था मिलाउने, औषधी उपकरणको चाँजोपाँजो मिलाउने तथा स्वास्थ्य परीक्षण गराउने शाखा तथा फाँटमा औषधी उपलब्ध गराउने जिम्मेवारी पनि फार्मेसी सुपरभाइजरकै भएको कार्य विवरणमा उल्लेख छ।
यीनै कामको व्यवस्थापन गर्न भनेर मन्त्रालयले २०७७ कात्तिकमा भरतपुर अस्पतालमा स्थायी दरबन्दीमा एक जना फर्मासिस्टलाई फार्मेसी सुपरभाइजरको जिम्मेवारी दिएर पठाएको थियो।
केन्द्रीय अस्पतालका रूपमा रहेको यस अस्पतालले ती सबै नीति, संहिता, निर्देशिकाले तोकेको व्यवस्था र मन्त्रालयले तोकेको कार्यविवरणलाई अटेरी गर्दै महिनौंदेखि अहेबलाई फार्मेसी स्टोर हेर्ने जिम्मेवारी दिँदै आएको छ। फार्मेसी विभागको सबैभन्दा महत्वपूर्ण इकाइमा अदक्ष कर्मचारीलाई जिम्मा दिएर मन्त्रालयले दक्ष भनेर पठाएको फार्मेसी सुपराइजरलाई भने फार्मेसीमा औषधी बिक्रीको मात्रै जिम्मा दिइएको भन्दै कर्मचारीले विरोध जनाउँदै आएका छन्।
उनीहरूले अस्पतालको व्यवस्थापनमा रहनेले व्यक्तिगत फाइदाका लागि नियम मिचेर महत्वपूर्ण ठाउँमा अयोग्य व्यक्तिलाई जिम्मेवारी दिने गरेको आरोप लगाएका छन्। फार्मेसी विभागको स्टोर शाखामा औषधी खरिद गर्ने महत्वपूर्ण जिम्मेवारी हुन्छ।
‘औषधी खरिदको टेण्डर प्रकृयामार्फत् फाइदा लिने मनासयले नै मन्त्रालयले तोकेको कर्मचारीलाई जिम्मेवारी नदिई अस्पतालले आफूखुसी नियुक्ति गर्दै आएको छ,’ कर्मचारीहरूको आरोप छ।
अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ को निर्देशनअनुसार २०७४ सालको कात्तिकमा यस अस्पतालमा फार्मेसी सञ्चालनमा आएको थियो। विगतमा फार्मेसी नभएको र दक्ष जनशक्ति पनि नभएको अवस्थामा अस्पतालले स्टोर शाखा हेर्नेगरी राखेका अदक्ष कर्मचारी नै अहिले पनि उक्त शाखामा काम गर्दै आएका हुन्।
भरतपुर अस्पतालले अस्पतालका एकमात्र स्थायी फर्मासिस्ट सविनराज लामिछानेलाई फार्मेसी विभागको प्रमुख तोकेको छ। तर सोही विभागअन्तर्गतको फार्मेसी स्टोरको जिम्मेवारीबाट भने बञ्चित गरिएको छ। अहिले अस्पतालमा स्थायी, मन्त्रालयको करार र विकास समितिको करारमा गरी २१ जना फर्मासिस्ट कार्यरत छन्।
‘मैले नीति, निर्देशिका र मन्त्रालयको टिओआरअनुसार गर्नुपर्यो भनेर धेरै पटक अस्पताल व्यवस्थापनको ध्यानाकर्षण गराएको छु, मेडिकल सुपरिटेन्डेन्टलाई भेटेर मलाई तोकिएको जिम्मेवारी दिनुस् भनेको छु तर प्राप्त गर्न सकेको छैन,’ लामिछानेले भने, ‘पदस्थापन भएको ७ महिना भइसक्दा पनि जिम्मेवारी पाउन सकिएन। बरू अदक्ष कर्मचारीको निर्देशन मान्नु पर्ने गरी अपमानजनक ढंगले काम गर्नु परेको छ।’
उनले आफू विभागको प्रमुख भए पनि बिरामीको मागअनुसार फार्मेसीका लागि आवश्यक औषधीको व्यवस्थापन गर्न नसकेको बताए।
‘यो-यो औषधीको माग बढी छ भनेर पठायो, आउने बेलामा माग बढी भएका औषधी आउँदैनन्, मागै नहुने औषधीको थुप्रो लाग्छ,’ उनले भने, ‘अस्पतालभित्र फार्मेसी सञ्चालन गर्नुको औचित्य पुष्टि हुनै सकेको छैन।’
कर्मचारी, बिरामी तथा औषधी व्यवसायीबाट धेरै गुनासो आउन थालेपछि अस्पतालले वस्तु तथा सेवा खरिद प्रणाली, फार्मेसी व्यवस्थापन, भण्डार र आपूर्ति व्यवस्थापन प्रणालीसम्बन्धी अध्ययन गर्न समिति नै बनायो।
उक्त समितिले देशका विभिन्न अस्पतालको अनुगमन गरी औषधीको भण्डारण, बिक्री वितरण एंव व्यवस्थापनको जिम्मा फर्मासिस्टलाई दिनुपर्ने निष्कर्ष निकाल्यो।
अस्पताल विकास समिति, चिकित्सक तथा कर्मचारी सहभागी समितिले तयार पारेको प्रतिवेदन अस्पताल प्रमुखले बुझेको पनि तीन महिना हुन लाग्यो। आफैंले बनाएको समितिको सुझावलाई कार्यान्वयन गर्न अस्पताल व्यवस्थापनले बेवास्ता गर्दै आएको छ।
‘मैले वैशाखको सुरूमा पनि मेसुलाई समितिको प्रतिवेदन अनुसार गर्नुपर्यो भनें, उहाँले दश दिन पर्खनु भन्नुभयो तर अहिलेसम्म कार्यान्वयन गरिएको छैन,’ उनले भने, ‘स्टोर शाखामा म हुनुपर्छ भन्ने छैन, योग्य व्यक्ति जसलाई राख्दा पनि हुन्छ। तर त्यहाँ अहिलेकै जस्ता जनशक्ति रहिरहँदा फार्मेसी राख्नुको अर्थ भएन।’
उनले पावर र व्यापारीको प्रलोभनमा परेर अयोग्य कर्मचारीलाई जिम्मेवारी दिई योग्यलाई अपमान गरिएको गुनासो गरे।
जिल्ला अस्पतालका रूपमा रहँदै आएको भरतपुर अस्पताललाई दुई वर्षअघि मन्त्रिपरिषद बैठकले केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको थियो। त्यसपछि अस्पतालले केन्द्रीय अस्पतालका लागि आवश्यक दरबन्दीको माग मन्त्रालयसँग गरेको थियो। तर मागेअनुसारको दरबन्दी मन्त्रालयले दिन नसकेको अस्पताल बताउँछ।
कर्मचारीहरूले भने भएका कर्मचारीलाई पनि ‘उचित ठाउँमा, उचित जनशक्ति’लाई जिम्मेवारी नदिँदा काम गर्न असहज भएको बताएका छन्। यस विषयमा नेपाल फार्मेसी परिषद, नेपाल फर्मास्युटिकल एसोसिएसन, नेपाल फार्मेसी संघलगायतका संस्थाले पटक-पटक अस्पताल व्यवस्थापनको ध्यानाकर्षण गराएका छन्।
‘हामीले सही मान्छे, सही पदमा हुनुपर्छ भनेर अस्पताललाई भन्यौं तर हाम्रो कुरालाई अस्पतालले वास्तै गरेन,’ नेपाल फार्मेसी संघका अध्यक्ष अमृत खनाल भन्छन्, ‘दक्ष जनशक्तिलाई थन्क्याएर अहेबको अन्डरमा स्टोर चलाइएको छ। त्यहाँ सबै कुरामा त्यही तहका कर्मचारीको पहुँच चल्छ। यसले काममा गुणस्तर आउँदैन।’
भरतपुर अस्पतालमा फार्मेसी सुरू हुँदा अहेब राजकुमार ढुंगानाले फार्मेसी, स्टोर सबैको जिम्मेवारी पाएका थिए। पछि फर्मासिस्ट अमृत महर्जनको पदस्थापन भएपछि त्यो जिम्मेवारी उनलाई दिइयो। तर महर्जन स्टोर शाखामा ४ महिनाभन्दा टिक्न सकेनन्। भरतपुर अस्पतालमा १० महिना काम गरेर उनी बिदा भए। उनी रहँदाको बाँकी समय शाखा अधिकृत कृष्ण गौतमलाई उक्त शाखाको जिम्मेवारी दिइयो।
२०७५ मा डाक्टर रविन खड्का मेडिकल सुपरिटेन्डेन्ट (मेसु) भएर आएपछि स्टोरको जिम्मेवारी सिनियर अहेब रामहरि ढकालले पाए। मेसु खड्का आफू त ४ महिना पनि टिक्न सकेनन् उनले नियुक्त गरेका ढकाल भने तीन वर्षदेखि स्टोर शाखाको प्रमुखमै छन्। अहेब ढकालले करारका फर्मासिस्टलाई काम लगाउँछन्।
अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगन्नाथ तिवारीले फार्मेसी विभागको पुरै जिम्मेवारी फर्मासिस्टलाई दिने विषयमा आफू सकरात्मक भए पनि कोरोना महामारी बढ्दै गर्दा त्यसतर्फ समय दिन नसक्दा निर्णय नभएको बताए।
अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्र मरासिनी १० मिनेट पनि नलाग्ने काम कोरोनाका कारण गर्न सकिएन भन्नु अस्वभाविक भएको बताउँछन्। मरासिनी मेसु हुँदा भरतपुर अस्पतालमा फार्मेसी सञ्चालनमा आएको थियो। त्यतिखेर उक्त अस्पतालमा फर्मासिस्टको स्थायी दरबन्दी थिएन।
डा.मरासिनीले आफ्नो कार्यकालमा २६ जना फर्मासिस्टलाई करारमा नियुक्त गरिएको बताए।
‘तर करोडौंको सामान रहने र ठूलो कारोबार हुने फार्मेसी स्टोरमा करारमा काम गर्नेलाई जिम्मा दिन हुँदैन भनेर हामीले अहेबलाई जिम्मा दियौं। त्यतिखेरको बाध्यता थियो त्यो,’ उनले भने, ‘अहिले स्थायी फर्मासिस्ट नै हुँदा पनि पहिलेकै नजिर देखाएर अहेबलाई जिम्मेवारी दिइराख्नु गलत हो।’
उनले फर्मासिस्ट हुँदाहुँदै अर्को पदको व्यक्तिलाई लगेर स्टोरको जिम्मा लगाउने काम आफूले भरतपुर अस्पतालबाहेक अन्यत्र कतै नदेखेको बताए।
‘खरिद प्रकृयामा सेटिङ मिलाउन सहज हुने ठानेर त्यसो गरिएको होला। यो बिल्कुलै गलत काम हो,’ उनले भने, ‘यो काममा राजनीतिले पनि काम गरेको जस्तो लाग्छ।’
उनले नभ्याएर स्टोरको प्रमुख परिवर्तन गर्न सकिएन भन्नु भित्र अस्पतालले अहिलेकै अवस्थालाई निरन्तरता दिन चाहेको नियत लुकेको बताए।
‘१० मिनेटमा निर्णय गरेर दिन सकिन्छ। अहिले भएकाले हिसाब बुझाएर जिम्मेवारी हस्तान्तरण गरेर कुरा सक्किहाल्छ,’ उनले भने, ‘सिस्टमअनुसार चल्ने हो भने यो हो, होइन भने त जे गरे पनि भयो।’
औषधी सप्लायर्स भन्छन्– स्टोरमा पैसा र पहुँच हुनेको मात्रै चल्छ
भरतपुर अस्पतालले टेन्डरमार्फत् औषधी खरिदका लागि सम्झौता गरेका औषधी सप्लायर्स यस अस्पतालसँग सम्झौता गरेर ठूलो धोका पाएको बताउँछन्।
आर्थिक वर्ष २०७६/०७७ को टेन्डरमार्फत् औषधी खरिद गने जिम्मेवारी पाएको भरतपुरस्थित रिलिफ फर्मास्युटिकल्स प्रालिका सञ्चालक सुदीप सुवेदीले भरतपुर अस्पतालसँग काम गर्दा ठूलो हण्डर खाएको बताए।
उक्त वर्ष उनले १४४ किसिमका औषधी दिने सम्झौता गरेका थिए। तर अस्पतालले उनीसँग ३५ किसिमका औषधीमात्रै लियो। सम्झौता गरिएका बाँकी औषधी भने अस्पताल फोर्मसी तथा थेराप्युटिक समितिमार्फत् निर्णय गराएर महँगो दरमा अन्यत्रबाट खरिद गरिएको उनले दाबी गरे।
यो समितिलाई टेण्डरमार्फत मागिएका औषधी नभई अस्पताललाई आवश्यक पर्ने ‘कुनै खास ब्राण्ड’का महत्वपूर्ण औषधीमात्र खरिद गर्ने अधिकार छ। तर उक्त समितिले धेरै बिक्री हुने ग्याष्ट्रिक, उच्च रक्तचाप, मधुमेह, एन्टिबायोटिक्सलगायतका औषधी तथा सर्जरीमा प्रयोग हुने सामग्री पनि टेण्डरभन्दा बाहिरबाट खरिद गर्दै आएको स्रोत बताउँछ।
‘खास ब्राण्ड भनेर मगाइने ती औषधीका लागि महँगो रकम तिरिए पनि औषधी भने टेण्डरमा सम्झौता गर्ने सप्लायर्सले सस्तोमा दिने भनेकै स्तरका हुन्छन्,’ अस्पताल स्रोत भन्छ।
‘गत वर्ष सम्झौताभन्दा ५० प्रतिशत कम औषधी मात्रै मबाट लगियो। धेरै परिणाममा किन्नु पर्ने औषधी मैले सम्झौता गरेभन्दा बढी रकममा अन्यत्रैबाट लगियो,’ सप्लायर्स सुवेदीले भने, ‘मैले त्यतिखेर पठाएको औषधीको बिल पनि पुरै पाएको छैन, अहिले आएर औषधी एक्स्पायर भयो फिर्ता लैजानुस् भन्दैछन्।’
टेण्डरमा सम्झौता भएका सप्लायर्ससँग कम बिक्री हुने औषधी मात्र मगाएर धेरै बिक्री हुने औषधी आफूअनुकूलका व्यापारीसँग खुसुक्क किन्ने गरिएको दाबी उनले गरे।
‘यसको नियत के हो सहजै बुझ्न सकिन्छ, म त आजित भएर यो वर्ष टेण्डरको फारम नै भरिनँ,’ उनले भने, ‘सिस्टमअनुसार काम गर्नुपर्छ भन्नेहरू भरतपुर अस्पतालसँग काम गर्नै सक्दैनन्।’
पाँच वर्ष देखि भरतपुर अस्पतालमा औषधी पठाउने काम गर्दै आएका कास्की जिल्लाका एक सप्लायर्सले टेण्डरका क्रममा बैंक ग्यारेन्टी राखिएको भन्दा धेरै कम औषधीमात्र अस्पतालले लिने गरेको बताए।
‘पठाएका औषधी पनि सबै एक्स्पायर भयो फिर्ता लैजाऊ भन्छन्। मैले पठाएका मात्र होइन अरूले पठाएका औषधी पनि जबरजस्ती लैजा भन्ने चलन छ,’ उनले भने, ‘बिरामीका लागि काम गर्नुपर्छ भन्ने भन्दा पनि पैसाका लागि काम गर्नुपर्छ भन्नेको हालीमुहाली स्टोरमा हुँदा खरिद प्रकृया भद्रगोल भएको देख्छु।’
उनले देशका अन्य ठूला अस्पतालमा पनि सामान पठाउने गरेको भन्दै भरतपुर अस्पतालमा जस्तो भद्रगोल अन्त कतै नदेखेको बताए।
‘चितवनकै बकुलहर रत्ननगर अस्पताल, क्यान्सर अस्पतालमा पनि औषधी पठाउँछु तर त्यहाँ असाध्यै व्यवस्थित छ। भरतपुर अस्पतालमा त काम गर्नै नसकिने अवस्था छ,’ उनले भने, ‘सार्वजनिक खरिद ऐनविपरीतको गतिविधि निरन्तर हुँदा पनि कसैले रोक्दैन।’
सेतोपाटीसँग सम्पर्कमा आएका सप्लायर्सहरूले यस विषयमा अस्पताल प्रशासन, प्रमुख, विकास समितिसँग कुरा राख्दा पनि बेवास्ता भइरहेको बताए।
‘मैले मेसुलाई पनि यो विषय जानकारी गराएँ तर उहाँले पनि केही गर्न सक्नुभएन,’ एक सप्लायर्स भन्छन्, ‘सबैलाई भाग पुर्याउने देखि आवश्यक पर्दा अस्पताल प्रमुख नै परिवर्तन गर्ने हैसियत राख्ने कर्मचारी स्टोरमा काम गर्छन्। हामी जति बोले पनि कुनै अर्थ छैन।’
केही महिनाको अन्तरालमै मेसु परिवर्तन हुने गरेकाले भरतपुर अस्पताल वर्षौंदेखि अस्थिर बन्दै आएको छ।
विवादित विषयमा जानकारी माग्दा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगन्नाथ तिवारीले विगतमा जस्तो अवस्था अहिले नरहेको दाबी गरे।
‘पहिले बाहिरबाट पनि औषधी आएको भन्ने जानकारी थियो तर अहिले त्यस्तो अवस्था छैन। यो वर्षको टेन्डर बाहिरबाट औषधी आएकै छैन,’ उनले भने, ‘त्यस्ता कुरालाई नियन्त्रण गर्न हामी सचेत छौं।’
अस्पताल स्रोत भने गत फागुनसम्म पनि बाहिरबाट औषधी आइरहेको बताउँछ।
यस वर्ष भरतपुर अस्पतालमा फार्मेसीका लागि औषधी खरिद गर्न १० र सर्जिकल सामान खरिद गर्न ६ वटा सप्लायर्सले जिम्मा पाएका छन्।