७६ वर्षीय शेरबहादुर चेपाङ देख्न सक्दैनन्। उनकी ७४ वर्षीया श्रीमती फूलमाया स्पष्ट सुन्न सक्दिनन्।
चितवनको कालिका नगरपालिकाको पुछारमा पर्ने गाउँ सैपामको एउटा पाटोमा खरले छाएको एक कोठे झुप्रो छ। त्यही झुप्रोमा बस्छ यो दम्पती। झुप्रोको वरिपरि तीन कट्ठा खोरिया छ। त्यहाँ लगाइएको मकैमा बल्ल पात लाग्न थालेका छन्। घर भित्रको डोको रित्तिएको ६ महिना भइसक्यो। कोठाको छेउमा रहेका पानी भर्ने बोतल पनि रित्ता छन्। अगेनाको माथि भारमा एक कचौरा भुजाबाहेक खानलाई केही छैन।
शेरबहादुर भने सबै कुरामा बेखबर छन्। उनलाई त घर भित्रैको अवस्थाबारे पनि थाहा छैन।
‘दुलहीले गाउँतिरबाट केही ल्याउली, त्यही खाने हो,’ शेरबहादुरले आशा व्यक्त गरे।
काठ, स्याउलाले बारेको झुप्रो भित्रै थुपुक्क बसिरहन्छन् शेरबहादुर। उनी हिँडडुल गर्न सक्दैनन्। फूलमाया सुन्न नसक्ने भए पनि शेरबहादुरभन्दा बलियी छन्। गाउँघरतिर ज्यालादारी, मेलापात गएर खानाको जोहो गर्ने उनै हुन्। तर केही हप्तादेखि फूलमायाले काम पाएकी छैनन्। खेतमा अहिले मकै गोड्ने बेला भइरहेको छ। तर कोरोना सर्ने डरले उनलाई अचेल कसैले मेलामा बोलाएको छैन।
‘मेलामा जान पाएको भए खानेकुराको जोहो हुन्थ्यो। दिनभर काम गर्दा दुई जनालाई एक दुई दिनलाई पुग्ने खाना आउँथ्यो,’ फूलमाया भन्छिन्, ‘अचेल कसैले काममा बोलाउँदैनन्। खानेकुरा देख्न पनि गाह्रो भएको छ।’
कोठाको बीच भागमा रहेको अगेनामा मुस्किलले कहिलेकाहीँ आगो बल्ने गरेको छ।
‘आज छिमेकीको घरमा गएर एक बटुको भात मागेर ल्याएको छु, अब दुई जना बाँडेर खाने हो,’ मध्यान्न १२ बजेतिर घर आइपुगेकी उनले भनिन्, ‘हिजो बिहान चामल पैंचो मागेर घरमै भात पकाएर खाएका थियौं। अब कहिले भात पकाउन पाइने हो थाहा छैन।’
सैपाम गाउँमा ६० घर छन्। यी अधिकांश परिवारको आर्थिक अवस्था कमजोर छ। ‘मागम भने पनि कोसँग मागम सबैको हालत उस्तै हो,’ फूलमायाले भनिन्, ‘पहिलेजस्तै ज्यालादारी काम नपाउँदासम्म पेटभरी खानै मुस्किल छ।’
फूलमायाले कहिलेकाहीँ जंगलबाट गिठा, भ्याकुर ल्याएर खाने गरेकी छन्।
‘साउनसम्म त यसैको भरमा पनि बाँच्न सकिएला त्यसपछि त छिप्पिएर खान सकिन्न,’ उनले भनिन्, ‘त्यतिखेरसम्म मकै फल्ला। मकै राम्रै भयो भने त केही महिना खान पाइन्छ।’
पोहोर यो खोरियामा ५ डोको मकै फलेको थियो। यो दम्पतीले त्यो कमैले चार महिनाको गुजारा चलाए। यसपालि मकै पात पलाउँदै फौजी किराले खान थालिसकेको छ। गाउँलेहरू मकैमा रोग आयो भनेर निरास बनिरहेका छन्।
‘यो मकै पनि फलेन, काम पनि पाइएन भने त कसरी बाचौँला र खोई?,’ फूलमायाले दुःख देखाइन्।
केही वर्ष अघिसम्म शेरबहादुर मेलापात गएर काम गर्न सक्थे। त्यतिमात्रै नभएर उनी वरपरका चेपाङ समुदायका लागि ज्योतिष थिए। हात हेराउन आउनेहरूले उनलाई ५/१० रुपैयाँ दिएर जान्थे। यसबाट उनीहरूको गुजारा राम्रै चलेको थियो। यही काम गरेर उनले ४ भाइ छोरा, ४ छोरीलाई हुर्काएका थिए। तर अरूको हात हेर्ने शेरबहादुरले बुढेसकालमा भने आँखै गुमाए। ‘उमेरमा सबैको हात हेराएँ, उनीहरूको भविष्य बताएँ। अहिले आफ्नो अवस्था यस्तो छ,’ उनी भन्छन्, ‘अहिले आफैंलाई हेर्ने कोही छैन।’
शेरबहादुरका छोराहरूको हालत पनि उस्तै छ। करिब दुई सय मिटर पर घर भएका छोरा वीरबहादुर मन भएर पनि बाबु, आमाको पेट भर्न नसकेको बताउँछन्।
वीरबहादुर ज्यालादारी मजदुरी गर्न विभिन्न जिल्ला पुग्ने गर्थे। गत वर्षको लकडाउनपछि उनले काम गुमाए। त्यतिखेर घर फर्किएका उनलाई बाहिरबाट काममा कसैले बोलाएका छैनन्।
‘गाउँतिर नजिकै नपरे हुन्थ्योजस्तो गर्छन्। कमाई भइन्जेल त बा, आमालाई पनि सकेको दिएकै थिएँ,’ उनले भने, ‘अहिले त आफ्नै बच्चालाई पनि खुवाउन गाह्रो भइरहेको छ।’
उनका तीन जना छोरी छन्।
शेरबहादुरका अन्य छोराहरू पनि छुट्टिएर बसेका छन्। सबैको अवस्था उस्तै हुँदा सहयोग गरेनन् भनेर कसैलाई केही भन्न नसक्ने फूलमायाले बताइन्।
‘सक्ने भए बा, आमा भोकै बसेको कसरी हेर्थे होलान् र,’ उनले भनिन्, ‘समय राम्रो होला, कमाई होला, खान पाइएला भनेर आस गर्नेमात्रै हो अब।’
शेरबहादुर हालको राप्ती नगरपालिकाको लोथरमा पर्ने खोलाघारीबाट करिब ४० वर्ष अघि बसाइ सरेर यहाँ आइपुगेका थिए। बाढीले घर खेत बगाएपछि दाइ सिंगबहादुर र उनको परिवार सैपाम आइपुगेको थियो। सैपाम राप्ती र कालिका नगरपालिकाको सीमानामा पर्छ। यहाँ पुग्न पूर्व-पश्चिम राजमार्गको खुरखुरेबाट डेढ घन्टा सवारी साधनमा गएर आधा घन्टा पैदल हिँड्नुपर्छ। कालिका नगरपालिकामा पर्ने भए पनि यहाँका बासिन्दालाई सहज भने राप्तीतिर छ।
शेरबहादुर बसाइ सरेर आउँदा यहाँ १० घरमात्रै थिए। त्यतिखेर उनी यहाँ १० कट्ठा जमिन ओगटेर बसेका थिए। छोराहरू सबैलाई भाग लगाउँदा उनको भागमा अहिले केहीमात्रै बचेको छ।
‘जग्गा पनि सकियो, घर पनि पुरानो भइसक्यो, छाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘लगातार पानी पर्न थालेको छ, माथिबाट पनि चुहिन्छ, छेउबाट पनि भिजाउँछ।’
पानी पर्दा घर आहाल बन्ने गरेको फूलमायाले बताइन्।
‘पिउने पानी लिन आधा घन्टा पर जानुपर्छ, घर भने पानीले आहाल बन्छ,’ उनले सुनाइन्।
स्थानीय युवा अजय चेपाङले सैपाम गाउँका अधिकांशको अवस्था दयानीय रहे पनि यो दम्पतीको अवस्था कहालीलाग्दो रहेको बताए।
‘यस्तो अवस्थामा पनि कसैको सहयोग छैन, महामारीको बेलामा कसरी बाँचिरहेका छन् भनेर कोही पनि बुझ्न आउँदैनन्,’ उनले भने, ‘भगवान् भरोसामा बाँच्नुपर्ने अवस्था छ।’
कालिका नगरपालिकाको वडा नम्बर ११ का वडाध्यक्ष कृष्णबहादुर प्रजाले कोरोना संक्रमितका लागि उपचारमा सहजीकरण गर्ने र नि:शुल्क उपचार गर्ने व्यवस्था स्थानीय तहले गरेको बताए। तर गत वर्ष जसरी लकडाउनमा काम गुमाएकालाई खाद्यान्न सहयोग भने नगरिएको उनले बताए।
‘हाम्रो वडा चेपाङ समुदायको बाहुल्यता रहेको वडा हो। प्रायः चेपाङको आर्थिक अवस्था कमजोर छ। यो बेलामा उनीहरूलाई खानामै धौ-धौ छ भन्ने कुरा पनि थाहा छ,’ उनले भने, ‘तर पनि स्थानीय तहले यसपालि खाद्यान्न सहयोग गर्न सकेको छैन।’
उनले चेपाङ बस्तीमा अनिकाल सुरू भएको जानकारी सबैतिर गराइएको भए पनि सहयोग गर्न नसक्नु दुःखद् भएको बताए।
‘हाम्रो वडामा अहिलेसम्म कोरोना संक्रमित भेटिएको छैन। बिस्तारै लकडाउन पनि खुल्ला, अवस्था सहज होला भन्नेमा छौं,’ उनले भने।
उक्त वडाका सैपाम र रामक्लम गाउँ सबैभन्दा विपन्न चेपाङ समुदायको बसोबास रहेका गाउँ हुन्।
यस वडामा ३७५ घर धुरी चेपाङ छन्। करिब ४ हजार चेपाङ समुदायको जनसंख्या रहेको वडाध्यक्ष प्रजाले बताए।
सबै तस्बिरहरू: राजेश घिमिरे/सेतोपाटी