चितवनको राप्ती नगरपालिका-१३ कालिटारका शिव चेपाङ भरतपुरमा घरमा रङ लगाउने काम गर्थे। वैशाखको मध्यतिर निषेधाज्ञाको जानकारी पाएपछि हतार-हतार घर फर्किएका उनी काममा फर्कने दिनको प्रतीक्षामा छन्।
‘त्यही कामले परिवार पाल्दै आएको थिएँ,’ उनले सुनाए, ‘गाउँमा काम छैन, खाने कुरा पनि छैन।’
भर्खरै गेडा लाग्न लागेको हरियो मकैले उनी, श्रीमती र दुई नाबालक छोराहरूको जीवन चलिरहेको छ।
ज्यारबाङका कविलाल चेपाङ कामको सिलसिलामा काभ्रे पुगेका थिए। उतै हुँदा निषेधाज्ञा भयो। उनी घर फर्कन पनि पाएनन्। ‘उहाँ उतै रोकिनुभयो, काम पनि छैन रे,’ श्रीमती संगीता चेपाङले भनिन्, ‘काम हुँदा आइएमईबाट अलिअलि पैसा पठाइदिनुहुन्थ्यो, त्यसैले नुन, तेल बेसाउँथें, परिवार पालेको थिएँ। कमाउने मान्छे नै अलपत्र परे।’
कान्दाकी कृतिमाया चेपाङले यसपालि खेतमा लगाएको मकै किराले खाएर हुर्कनै दिएन। केही समयमा मकै फल्ला भन्ने आशामा रहेको उनको परिवार अहिले भोकमरीको चिन्तामा छ।
‘जंगल गएर दुई डोको गिठा खोजेर ल्याएकी छु,’ उनले भनिन्, ‘मकै फल्ने भएन, अवस्था यस्तै भइराख्यो भने त खानै नपाएर मरिन्छ कि भनेर गिठाको जोहो गरेको छु।’
६ जनाको उनको परिवारले अहिले त्यही गिठाको सहारामा पेट भर्दै आएको छ।
कृतिमाया यो समस्याको प्रतिनिधि पात्र हुन्। उनको परिवारकै जस्तो समस्या छ चितवनको चेपाङ बाहुल्य पहाडी गाउँका अधिकांशको। यहाँको इच्छाकामना गाउँपालिका, राप्ती र कालिका नगरपालिकाका पहाडी क्षेत्रमा चेपाङ समुदायको बसोबास छ। अधिकांशले भिरालो जमिनमा खोरिया खनेर मकै, कोदोलगायतका अन्न उब्जाउँछन्। केहीले त्यस्तै जमिनमा व्यवसायिक रूपमा तरकारी खेती पनि गर्ने गरेका छन्। उब्जिएका तरकारी बिक्री हुने वातावरण नहुँदा उनीहरू पनि समस्यामा परेका छन्।
राप्ती-१३ कै स्यामराङस्थित दुङवाङ आधारभूत विद्यालयका प्रधानाध्यापक अतिवल प्रजा स्यामराङ गाउँमा रहेका एक सय भन्दा बढी परिवारमा भोकमरी लागेको बताउँछन्। उक्त गाउँमा गत वर्ष वर्षा बढी हुँदा मकै र पानी नपुग्दा कोदो नफलेपछि अनिकाल लाग्न थालेको विषयमा केही महिनाअघि नै सेतोपाटीमा खबर प्रकाशन भएको थियो।
‘पोहोर मौसमले साथ दिएन, यसपालि किराले मकै फल्न दिएन,’ प्रधानाध्यापक प्रजाले भने, ‘सहयोगका लागि सरले भनसुन गरिदिनुपर्यो भन्छन्। सरकारी निकायबाट केही सहयोग आएन, गाउँले भोकभोकै छन्।’
सार्लिङ गाउँमा घर भएका मानबहादुर चेपाङले भकारी रित्तिएपछि सहयोग लिएर कोही गाउँ आउँछन् कि भनेर बाटो हेर्न थालेको बताए।
‘पोहोर त अलिअलि भने पनि राहत सहयोग आएको थियो,’ उनले भने, ‘यसपालि पनि सरकारले हेर्ला नि भन्ने लागेको थियो तर कोही आएनन्।’
उक्त वडाका वडाध्यक्ष सूर्यबहादुर चेपाङले गाउँमा रोगको भन्दा पनि भोकको समस्या रहेको बताए।
‘कोरोनाको महामारी बढ्यो भनेर सरकारको ध्यान त्यता गयो तर हाम्रोतिर रोगसँग डर छैन, बरू भोकले पो लैजान्छ किझैं लाग्छ,’ उनी भन्छन्, ‘सबै देखेर पनि केही गर्न सकिएन।’
उनले आफू वडाध्यक्ष भएर पनि वडाबासी भोकमरीको चपेटामा पर्दा सहयोग गर्न नसकेको बताए।
‘नगरपालिकाको योजनामा अनिकाल लागेको ठाउँमा के गर्ने, कसरी सहयोग गर्ने भन्ने कुरा नै छैन,’ उनले भने, ‘यो कुरा जान्दाजान्दै मैले नगरपालिकामा गएर यहाँको समस्या सुनाएर पनि हुने केही होइन। त्यसैले मैले भनेको पनि छैन।’
उनले जे-जसो छ त्यही खाएर अहिलेलाई बाँच्ने उपाय गरौं भनेर सम्झाउने गरेको बताए।
उनले आफ्नो वडामा केही व्यक्तिलाई कोरोनाको लक्षण देखिएको खबर आए पनि अहिलेसम्म कसैलाई पिसिआर परीक्षण नगरिएको बताए।
‘भगवानले यहाँका जनतालाई रोगबाट जोगाइरहनुभएको छ। अहिलेसम्म केही समस्या छैन,’ वडाध्यक्ष चेपाङले भने, ‘रोगले त मार्दैनजस्तो लाग्छ, मार्यो भने भोकैले हो।’
उनले राहत वितरण गर्न वडाको क्षमता नभएको र नगरपालिकाको योजना नभएको बताए।
गत वर्ष नगरपालिकाले यहाँका ५९६ परिवारलाई राहत बाँडेको थियो। अन्य सामाजिक संस्थाहरूले पनि खाद्यान्न सहयोग गरेका थिए। तर यसपालि फाट्ट-फुट्ट सामाजिक संस्था सहयोग सामग्री बोकेर गाउँ उक्लिए पनि नगरपालिका उक्लिएको छैन।
‘सरकारको कानमा यो कुरा पुर्याइदिनुपर्यो,’ वडाध्यक्ष चेपाङले भने, ‘गाउँमा यसपालि ठूलो अनिकाल देखिनेवाला छ।’
यो वडामा अहिले ६ सय भन्दा बढी परिवार र १० हजारभन्दा बढी जनसंख्या छ।
राप्ती नगरपालिकाको आधिकारिक वेवसाइटमा रहेको वार्ड प्रोफाइलमा वडा नम्बर १३ मा आफ्नै उत्पादनले वर्षभरि खान पुग्ने एक परिवार पनि नरहेको उल्लेख गरिएको छ।
राप्ती नगरपालिकाको वडा नम्बर १२ को अवस्था पनि उस्तै छ। यहाँका स्थानीयले कोरोना संक्रमणकै लक्षण देखिँदा पनि त्यसलाई बेवास्ता गर्दै आएका छन्। वैशाखको अन्त्यतिर यौरालीटारका सन्त तामाङको घरमा ५ जनालाई ज्वरो आयो। केही दिनमा उनीहरूमा स्वाद, बासना थाहा नपाउने लक्षण पनि देखियो। बिस्तारै यस्तो लक्षण छिमेकका अन्य ४० जनामा पनि देखियो। लक्षण देखिनेहरू बच्चादेखि ७० वर्षमाथिका पनि थिए। सन्तसहितका तीन जना भण्डारा पुगेर स्वाब परीक्षण गराउँदा कोरोना पुष्टि भयो। अन्यले भने परीक्षण गराउन आवश्यक ठानेनन्।
‘हामीलाई कोरोना संक्रमण देखिएपछि सतर्क भएर बस्न थाल्यौं, सतर्क भएरै काम गर्न थाल्यौं,’ उनले भने, ‘कोरोना भयो भनेर अत्तिन थाल्या भए त जे पनि हुन्थ्यो होला। हामी काम नगरी खान नपाउने मान्छे सिटामोल र जडिबुटी खाँदै काम गर्न थाल्यौं, अहिले सबैलाई ठीक भइसकेको छ।’
उनले गाउँमा सबैभन्दा ठूलो डर भोकसँग रहेको भन्दै परिवार भोकमरी आउन नदिन रोगलाई जितेर प्रयास गरिरहेको बताए।
भण्डारा-मलेखु चेपाङ मार्गको आसपासमा पर्ने साविकको लोथर गाविसका यी वडा जिल्लाकै विकट गाउँ हुन्। यहाँ पुग्न पूर्व-पश्चिम राजमार्गको भण्डाराबाट करिब ३ घन्टा गाडीमा यात्रा गर्नुपर्छ। कतिपय गाउँमा पुग्न गाडीबाट ओर्लिएर पनि घन्टौं पैदल हिँड्नुपर्छ।