राप्ती-१० स्थित ढाँड खोला गाउँकी सुनिमाया चेपाङ ४९ वर्षकी भइन्। घरधन्दा र मेलापात उनको नियमित काम हो। घरायसी काममै व्यस्त रहने सुनिमायालाई गाउँमा कोही नयाँ मान्छे आयो भने डर लाग्छ। नयाँ मान्छेबाट कोरोना सर्ने डर हुन्छ र यसले ज्यानै लिन सक्छ भन्ने कुरा उनले छिमेकीबाट थाहा पाएकी थिइन्।
‘नयाँ मान्छेको अघि पर्न नपरे हुन्थ्योजस्तो लाग्छ,’ उनले भनिन्, ‘४ वटा छोरा-छोरी सानै छन्, म भइनँ भने तिनलाई कसरी हुर्काउने?’
सुनिमायाले कोरोनाबाट बच्न मास्क र स्यानिटाइजरको प्रयोग गर्नुपर्ने कुरा रेडियो सुनेर थाहा पाएकी थिइन्। तर बिहान-बेलुकी हातमुख जोर्नै धौ–धौ पर्ने उनको लागि ती स्वास्थ्य सामग्री ‘आकाशको फल’ सरह थिए। बिहीबार दिउँसो मितेरी फाउन्डेसन नामक सामाजिक संस्था खाद्यान्न सहयोग बोकेर उनको गाउँ पुग्दा सबैलाई एक-एक थान मास्क बाँड्यो। सुनिमायाले जीवनमै पहिलो पटक मास्क लगाइन्।
‘अरूले लगाएको त देखेको थिएँ, आफूले पहिलो पटक छोएँ,’ उनले भनिन्, ‘अब त पसल जान पनि मिल्छ क्या हो।’
उनले कोरोना सर्ने डरले गाउँ बाहिर निस्कन डर लाग्ने गरेको सुनाइन्।
मास्क लगाएपछि कोरोनाविरूद्धको भ्याक्सिनबारे प्रश्न गर्दा उनले सुई लगायो भने ठीक हुन्छ भन्ने सुनेको बताइन्।
‘बल्ल मास्क पाइयो, खोप त कहिले हो कहिले,’ उनले भनिन्, ‘लगाए पनि टाठाबाठाले लगाउलान्, हाम्रो पालो त के आउला र?’
राप्ती-१३ च्याउलिङका केशरसिङ चेपाङ पहिलो पटक मास्क लगाउँदा दंग थिए।
‘रोगबाट बच्न यस्तो लगाउनुपर्छ रे भन्ने सुनेको थिएँ, आज लाउन पाइयो,’ उनले भने, ‘सजिलो हुने रहेनछ, लगाउन अप्ठेरो भयो।’
५५ वर्षीय केशरसिङले कोरोनाविरूद्धको खोपको विषयमा आफूले केही पनि नसुनेको बताए।
सुनिमाया र केशरसिङ को उमेर समूहका लागि त सरकारले खोपको योजना ल्याएकै छैन। सरकारले खोपको योजना ल्याएको उमेर समूहका धेरैले पनि खोप लगाएका छैनन्। लगाएकाहरु दोस्रो डोज नपाउँदा के हुने हो भनेर आत्तिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालको माघ १४ गते खोप अभियानको सुरूआत गर्दै तीन महिना भित्रमा सबै नेपालीलाई खोप लगाइसक्ने दाबी गरेका थिए। त्यसको तीन दिनपछि चितवन आएका ओलीले आफ्नो दाबीलाई परिवर्तन गर्दै २०२१ को अन्त्यसम्ममा सबैले खोप लगाइसक्ने बताएका थिए। तर सन् २०२१ को आधा समय सकिनै लाग्दा चितवनमा ३९ हजार जनालेमात्रै खोप पाएका छन्। उनीहरूमध्ये पनि अधिकांशले दोस्रो डोज पाएका छैनन्। चितवनका जनसंख्या ६ लाखभन्दा बढी छ।
सरकारले फागुन २३ गतेबाट सुरू गरेको दोश्रो चरणको खोप कार्यक्रममा यहाँका ६५ वर्ष माथिका २७ हजार जनाले कोरोना भइरसविरूद्धको खोपको पहिलो डोज लगाएका थिए। कोभिसिल्ड खोप लगाएका उनीहरुले दोस्रो डोज लगाउन पाएका छैनन्।
७७ वर्षीया रेवीमाया थिङले सरकारले दोस्रो चरणको खोप अभियान सञ्चालन गर्दा खोप लगाएकी थिइन्।
‘खोप लगाइदिनेले एक महिना पछि फेरि लगाउनुपर्छ हामी खबर गर्छौं भनेका थिए। तीन महिना भयो खबर आएन,’ उनले भनिन्, ‘दुई पटक लगाउनु पर्ने कुरा एक पटकमात्रै लगाउँदा के हुने हो, डर लागेको छ।’
उनीसँगै खोप लगाउन पुगेकी ६८ वर्षीया फूलमाया प्रजाले दोस्रो डोज खोप के भयो भनेर सोध्दा कहिले आउँछ थाहा छैन भन्ने जवाफ पाएको बताइन्।
नयाँ खोप लगाउन नपाएको, दोस्रो डोज नपाएको चिन्तासँगै पहाडी क्षेत्रमा खोप लगाउँदा स्वास्थ्यमा थप खतरा आउँछ भन्ने प्रचार पनि निकै छ।
राप्ती-१० का वडाध्यक्ष अम्बरबहादुर तामाङले खोप लगाउँदा मरिन्छ भन्ने हल्ला फैलँदा आफ्नो वडाका धेरै व्यक्ति डराएको बताए।
‘सुई लगाएको ठाउँमा पाक्छ, ज्वरो आउँछ, अर्को समस्याले मरिन्छ भन्ने प्रचार गाउँतिर बढेको रहेछ,’ उनले भने, ‘यो हल्लाले सरकारले नि:शुल्क खोप अभियान चलाएको उमेर समूहका व्यक्ति पनि खोप लगाउन डराए।’
उनले म आफैंले खोप लगाएको छु, मलाई राम्रो हुँदै गएको छ भनेर मनाउन प्रयास गरेको सुनाए।
‘नकारात्मक सन्देशका कारण खोपका लागि धेरैले फारम भर्नै खोजेनन्,’ उनले भने, ‘राज्यले नि:शुल्क दिएको खोप लगाउनु पर्छ, खोप लगाएर भाइरसलई परास्त गर्नुपर्छ भनेर गाउँ-गाउँ भन्दै हिँडेको छु।’
७७ वर्षीय दिलबहादुर चेपाङलाई पनि केही व्यक्तिले खोप लगायो भने अरू समस्या आउँछ भनेर डर देखाएका थिए। तर उनले उनीहरूको कुरा सुनेनन्।
‘मैले जाने-बुझेका मान्छेलाई सोधें, उनीहरूकै कुरालाई विश्वास गरेर खोप लगाएँ,’ उनले भने, ‘खोपले त सञ्चो पो हुन्छ समस्या आउँदैन नि भनेर सम्झाउने गरेको छु।’
उनले दोस्रो डोजको खोप पनि छिट्टै लगाउन पाए बल्ल ढुक्क हुन सकिने बताए।
उनकाअनसार उक्त वडामा ६५ वर्ष माथिका १५० जना रहेकोमा १०३ जनाले खोपको पहिलो डोज लगाएका थिए। अहिले ६२ देखि ६४ वर्ष समूहका ८० जना भन्दा बढी रहेकोमा १० जनाले मात्र खोप लगाएको उनले बताए।
‘१८ देखि ६१ वर्षका लाई खोप लगाउन फारम भर्न लगाउने भनिएको छ तर अधिकांश युवाहरू फारम भर्न तयार छैनन्,’ वडाध्यक्ष तामाङले भने, ‘सम्झाउनसम्म सम्झाएका छौं तैपनि फारम भर्न धेरै बाँकी नै छन्।’
जिल्ला स्वास्थ्य कार्यालय चितवनकाअनुसार दुई दिनको अवधिमा चितवनमा करिब ९ हजार जनाले खोप लगाए। उनीहरूमध्ये अधिकांश यस जिल्लाका ६२ देखि ६४ वर्ष उमेर समूहका हुन्। खोप लगाउने सहरी क्षेत्रका बढी छन्। स्वास्थ्य कार्यालयले यो उमेर समूहका १२ हजार जनाले खोप लगाउने अनुमान गरेको थियो।
‘खबर थाहा पाएपछि स्वविवेकले आएर लगाउनु पर्ने विषय हो,’ स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले भने, ‘पहाडी क्षेत्रमा खोपको विषयमा जनचेतनाको कमीले गर्दा पनि लगाउनेको संख्या कम भएको हुन सक्छ।’
उनले स्थानीय तहहरूले समन्वय गरेर खोप लगाउने व्यवस्था गर्नुपर्ने बताए।
‘६५ वर्ष भन्दा माथिको उमेर समूहको खोप अभियान बढी प्रभावकारी भएको थियो। अहिले त्यतिखेरको जस्तो प्रभावकारी हुन सकेन,’ उनले भने, ‘नकरात्मक हल्लाको असरले त्यसो भएको हुनसक्छ।’
उनले ६५ वर्ष माथिको समूहले दोस्रो डोजको खोप नपाउँदा अन्य उमेर समूहका व्यक्तिले खोप लगाउन मन नगरेको पनि हुनसक्ने बताए।
‘पहिलो डोज लगाएकाको निकै ठूलो गुनासो छ,’ तिवारीले भने, ‘पहिलो पटकको कार्ड बोकेर कार्यालयमै आउनुहुन्छ। दोस्रो डोज खोई भन्नुहुन्छ, हामी खबर गर्छौं भनेर फर्काउने बाहेकको विकल्प अहिले हामीसँग छैन।’
उनले १८ देखि ६१ वर्षासम्मका व्यक्तिले अनलाइनबाट खोपका लागि फारम भर्ने क्रम चलिरहे पनि अनलाइनको पहुँचमा नभएकाहरू यसबाट बञ्चित रहेको बताए।
सबै तस्बिरहरू: राजेश घिमिरे/सेतोपाटी