बर्डफ्लुको एक किसिम मानिने (एचनाइन एन टु) र रानीखेत नामको जिवाणुको संक्रमणले केही महिनायता नेपालको पोल्ट्री व्यवसाय प्रभावित बन्दै आएको छ। यी रोगका कारण गत फागुनयता छोडुवादेखि व्यवसायिक रूपमा पालिएका पंक्षी ठूलो संख्यामा मरेका छन्।
नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार पछिल्लो चार महिनामा देशभरमा व्यवसायिक रूपमा पालिएकामात्रै ६० लाख बढी कुखुरा मरेका छन्। यसबाट कुखुरापालकलाई करिब साढे २ अर्ब रुपैयाँ घाटा लागेको छ।
कुखुरापालक किसान एचनाइनविरूद्धको भ्याक्सिन सहज रूपमा उपलब्ध नहुँदा समस्या बढेको बताउँछन्। पंक्षी रोगका विज्ञहरू पनि रोग बढ्दै जाँदा सरकारले भ्याक्सिनको विषयमा चासो नदिँदा समस्या भइरहेको बताउँछन्।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका पंक्षी विज्ञ डाक्टर सुविर सिंहका अनुसार कुखुरामा रानीखेतका साथै एचनाइनको संक्रमण पनि धेरै देखिएको छ। रानीखेतको भ्याक्सिन नेपालमै बन्छ। तर एचनाइनको भ्याक्सिन भने व्यवसायीले भारतबाट लुकाइछिपाई ल्याएको प्रयोग गर्छन्।
‘सरकारले उक्त भ्याक्सिनलाई वैधानिक रूपमा आयात गर्न नदिँदा बजारमा जस्तो भेटायो त्यस्तै, जति मूल्यमा पायो त्यतिमै प्रयोग गर्ने चलन छ,’ डाक्टर सिंहले भने, ‘लुकिछिपी भित्र्याइएका भ्याक्सिनमा पहुँच हुनेका कुखुरामा खासै समस्या छैन। त्यसमा पहुँच नहुनेका कुखुरा सोत्तरै भएका छन्।’
भारतमा एक हजार डोजको २ हजार २०० नेपाली रुपैयाँमा पाइने एचनाइनविरूद्धको भ्याक्सिन नेपालमा ५ हजार रुपैयाँभन्दा माथि पर्छ। थोरै परिमाणमा आवश्यक पर्नेले यसलाई १० हजार रुपैयाँसम्म तिर्ने गरेका छन्।
पंक्षी रोगका विज्ञ डाक्टर रेवन्तकुमार भट्टराई वर्डफ्लुविरूद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउने ‘किल भ्याक्सिन’ सर्वसुलभ रूपमा प्राप्त हुन नसक्नु समस्या रहेको बताउँछन्।
‘पहाडी क्षेत्रतिर पंक्षी छोडुवा रूपमा पाल्ने चलन छ। छोडुवा पंक्षीलाई खोप लगाउनै हुँदैन भन्ने मानसिकता त्यहाँ छ। तीनै पंक्षीबाट सुरू भएको संक्रमण फैलँदै जताततै पुग्छ,’ उनी भन्छन्, ‘बेलैमा रोगविरूद्धको स्तरीय भ्याक्सिन लगाउन सकिएन भने त बचाउनै सकिँदैन।’
उनले लोकल कुखुरा, हाँस, गिरीराज, टर्कीजस्ता पंक्षीहरू बिना भ्याक्सिन छोडुवा रूपमा पाल्ने चलन र व्यवसायिक रूपमा पाल्नेले सर्वसुलभ रूपमा भ्याक्सिन नपाउने कारणले समस्या बढेको बताए।
उनकाअनुसार समयमै भ्याक्सिन लगाइएका कुखुरामा रोगको संक्रमण कम देखिएको छ।
‘एचनाइनको भ्याक्सिन वैधानिक रूपले आयात गर्नुपर्यो भनेर हामीले सरकारलाई आग्रह गरेको पनि महिनौं भयो तर अहिलेसम्म यसलाई स्वीकृति दिएको छैन,’ उनले भने, ‘वैधानिक रूपमा ल्याउन नदिएपछि अवैध रूपमा ल्याइएका जस्ता भ्याक्सिन पनि लगाउने चलन देखिएको छ।’
डाक्टर भट्टराईकाअनुसार सरकारले उक्त भ्याक्सिनको आयात गर्न नदिनुको पछाडि भ्याक्सिन लगाइएको कुखुराको मासु निर्यात गर्न नमिल्ने कारण देखिन्छ।
‘तर अहिले हामी मासुमा आत्मनिर्भर बन्ने प्रयासमा छौं। भएका कुखुरा पनि रोगले मरेर सकिँदैछन्,’ उनले भने, ‘यस्तो अवस्थामा व्यवसायीका समस्यालाई सरकारले सुन्नुपर्छ। निर्यात त पछिको कुरा हो।’
कुखुरापालक किसान भने सरकारले उक्त खोपको अवैध आयातबाट फाइदा लिने गरेको दाबी गर्छन्।
‘एचनाइनले कुखुरा खत्तम हुने भएपछि किसानले जस्तोसुकै मूल्य चुकाएर पनि भ्याक्सिन खरिद गर्छन्,’ एचनाइनका कारण क्षति व्यहोरेका चितवनका एक जना कुखुरापालक किसानले भने, ‘वैधभन्दा अवैध बाटोबाट आएकै भ्याक्सिनबाट उनीहरूलाई फाइदा छ।’
कतिपय कुखुरापालकले त रानीखेतको भ्याक्सिन पनि भारतबाट अवैध रूपमा भित्रिएको प्रयोग गर्ने गरेका छन्।
चितवनस्थित भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डाक्टर दयाराम चापागाईंले एचनाइन भ्याक्सिनको वैध आयात गरी अवैध रूपमा भित्रिन नदिन दुई वर्षअघि नै केन्द्रलाई सुझाव दिइएको बताए।
‘हामीले कपिलवस्तुदेखि चितवनसम्मको अनुगमन गरी त्यस्तो रिपोर्ट केन्द्रलाई बुझाएका थियौं तर सरकारले अहिलेसम्म निर्णय गरेको छैन,’ उनले भने, ‘अहिले पनि विज्ञहरू सम्मिलित समितिले अनुसन्धानको काम गरिरहेको छ। यसको रिपोर्ट के आउँछ हेरौं।’
मन्त्रालयल, पशु सेवा विभागलगायतका तालुकका कार्यालयलाई वर्डफ्लुविरूद्धको भ्याक्सिनको अवैध कारोबार भइरहेको स्पष्ट थाहा छ। तर उनीहरू यस विषयमा मौन बसिरहेका छन्।
‘पोल्ट्री क्षेत्रका विषयमा हुने छलफल तथा अन्तरक्रियामा व्यवसायीहरूले अवैध रूपमा आएका भ्याक्सिन किनेर प्रयोग गरिरहेको कुरा स्पष्ट रूपमा भन्ने गरेका छन्,’ डा.चापागाईंले भने, ‘यो विषय सबैतिर छर्लंगै छ। तर नियन्त्रण हुन सकेको छैन। यसमा कसको के कमजोरी छ तपाईंहरू नै पत्ता लगाउनुहोला।’
भारतीय सीमा क्षेत्रबाट भित्रिने चल्ला, अण्डालाई अवैध भन्दै नष्ट गर्ने गरिए पनि भ्याक्सिन भने सरकारी कर्मचारीकै सहयोगमा अवैध रूपमा भित्रिने गरेको छ। वर्षौंदेखि भित्रिराख्दा पनि भ्याक्सिन नियन्त्रणमा लिएर नष्ट गरेको जानकारी कसैलाई छैन।
कुखुरापालक किसान वीरबहादुर गुरुङ अवैध रूपमा भित्रिएकै भ्याक्सिनका कारण रोग बढेको पनि हुनसक्ने बताउँछन्। २३ वर्षदेखि कुखुरा पाल्दै आएका उनी विज्ञले आधिकारिक रूपमा प्रमाणित नै नगरेका भ्याक्सिनको प्रयोगले समस्या निम्तिएको बताउँछन्।
‘मैले त रोगले घाटा भएपछि गत वर्षबाट एउटा फार्ममा कुखुरा पाल्नै छाडें,’ उनले भने, ‘सरकारले सिफारिस गरेका औषधीजस्तै प्रयोग गर्न मिल्ने भ्याक्सिन आए प्रयोग गरौंला भनेर बसेको छु।’
भ्याक्सिन लगाएका कुखुरा पनि मरिरहेको दाबी गर्दै उनले अवैध रूपमा आयात गर्नेलाई समातेर क्षतिपूर्ति भराउनुपर्ने माग गरे।
‘ठूला व्यापारीहरूले त्यसरी भ्याक्सिन भित्र्याइरहेका छन्। उनीहरूलाई किन यसरी छुट दिइएको हो भनेर मैले पटक-पटक आफ्ना कुरा राख्दै आएको छु,’ उनले भने, ‘त्यस्तालाई कारबाही गरेर वैध बाटोबाट भ्याक्सिन भित्र्याइयोस् भन्ने मेरो माग छ।’
उनले आफूजस्ता साना व्यवसायीको कुरा कसैले नसुनेको बताए।
‘आखिर सरकारी अनुदान, सहुलियत लिने नै तिनै ठूला व्यवसायी हुन्। हाम्रो कुरा कसैले सुन्दैन,’ उनले गुनासो गरे।
देशभरका पोल्ट्री व्यवसायीको नेतृत्व गर्ने संस्था नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेलले बजारमा पाइने भ्याक्सिन र कुखुरामा लागेको रोगको तारतम्य नमिल्दा समस्या भएको बताए। रानीखेत रोगको भ्याक्सिन नेपालमै पर्याप्त उत्पादन भए पनि एचनाइनको अवैध आयात भइरहेको र त्यसैको प्रयोग नेपालमा पालिएका कुखुरामा गर्ने गरिएको उनले बताए। भ्याक्सिन लगाइएका कुखुराहरू पनि मरिरहेको उनले बताए।
‘भ्याक्सिन त लगाइयो तर त्यो भ्याक्सिन अहिले देखिएको रोगका लागि उपयुक्त थियो कि थिएन भन्ने कुरा पत्ता लगाउनु पर्नेछ,’ उनले भने, ‘नेपालमा मरेका कुखुराको नमूना जाँचका लागि अष्ट्रेलिया पठाएका छौं। त्यहाँको ल्याबबाट वास्तविक कुरा आउला।’
उनले वास्तविक रोग पत्ता लगाएर विज्ञबाट प्रमाणित भ्याक्सिन प्रयोग गर्दामात्रै समस्या हट्ने बताए।
कुखुरापालक व्यवसायीले अवैध रूपमा भ्याक्सिन भित्रिएको स्पष्ट जानकारी हुँदा पनि कारबाही नगरी निरिह बनेर बस्ने र वैधानिक बाटोबाट आयात गर्नमा अलमल गर्ने अवस्थाको अन्त्य सरकारले गर्नुपर्ने माग राखेका छन्।
केही महिनाअघि काठमाडौंमा कुखुरामा वर्डफ्लु देखिएको थियो। अहिले नेपालमा एचफाइभ एन वान (मान्छेमा पनि संक्रमण हुनसक्ने र पंक्षीमा छिटो संक्रमण हुने वर्डफ्लू) घातक रोग नदेखिए पनि एचनाइन एन टु (पंक्षीमामात्रै संक्रमण हुने) वर्डफ्लु देखिएको छ। लकडाउनका कारण प्रभावित बनेको पोल्ट्री क्षेत्रलाई यही समयमा देखिएका रोगहरूले थप समस्यामा पारेको छ।