नेपालकै 'सम्भावित खतरनाक' हिमतालमध्ये एक, उत्तरी दोलखाको च्छो रोल्पामुनि गत आइतबार बिहान यस्तो दृश्य देखियो-
रोलवालिङ उपत्यकामा परेको झमझम पानीले च्छो रोल्पा हिमताल (४,५८० मिटरको उचाइ) बाट करिब १५ किलोमिटर पश्चिमतिर नदी बगरमा बसेको बेदिङ गाउँवासी पनि रुझ्दै थिए। करिब ३,७०० मिटर उचाइमा रहेको बेदिङ गाउँ गौरीशंकर हिमालको काखैमा छ र यो बस्ती रोलवालिङ खोलाको तिरमा पर्छ। च्छो रोल्पाको पानी बेदिङको आँगनबाटै बग्ने रोलवालिङ खोलाबाट पश्चिमतिर डोङयाङ हुँदै तामाकोसीमा झर्छ जुन सप्तकोसीको एक सहायक नदी हो।
लगातारको वर्षापछि च्छो रोल्पाबाट झर्ने रोलवालिङ खोला गड्गडाइरहेका बेला ७० वर्षीय नवाङ शेर्पा चाहिँ आफ्नो घरबाट केही पर रहेको बेदिङ गुम्बातिर हतारिँदै अघि बढिरहेका थिए।
बेदिङ गाउँमा रोलवालिङको बाढी पस्न नदिन चार-पाँच फिट अग्ला ग्याबिन तारले बेरिएका ढुंगे पर्खाल लगाइए पनि गुम्बानजिकै मोडिइसकेको त्यो खोलाको बाढी रोक्न कुनै संरचना छैन।
'टाशी डेलेक (नमस्ते), तपाईंहरूको हालखबर के छ?' भनेर सोध्नेबित्तिकै नवाङले मुस्कुराउँदै अभिवादन फर्काइहाले।
च्छो रोल्पा हिमताल फुट्न सक्ने सम्भाव्य जोखिमबारे कुरा गर्दा नवाङले भने, 'माथि लेकमा च्छो रोल्पामा पानी भरिसकेको छ, गाउँमा बाढी पस्ने डर छ। हामी त अब माथि नाँ गाउँतिर भागिहाल्नुपर्छ। बाढीको डरले बर्खामा कोही पनि बेदिङमा बस्दैन, सबै जना माथि (नाँ गाउँ– ४१०० मिटरमा) जान्छन्। हिउँदमा पानी घटेपछि फेरि सबै यहाँको घर फर्किन्छन्।'
'बेदिङमा हामीलाई बाढीको सधैं डर हुन्छ।'
च्छो रोल्पामुनिको बस्ती
यो साता नेपालका अधिकांश भू-भाग भारी वर्षासँगै बाढीपहिरो र डुबानसँग संघर्ष गर्न बाध्य भएका बेला मध्यपूर्वी नेपालको रोलवालिङ र तामाकोसी नदी उपत्यकामा पनि बाढी र पहिरोको त्रास निकै बढ्न गयो।
दोलखा सदरमुकाम चरिकोटबाट ६० किलोमिटर सडक यात्रा र दुई दिनको लामो पदयात्रापछि पुगिने गौरीशंकर-१ का शेर्पा समुदायका मानिस ठूलो पानी पर्दा वा भुइँचालो जाँदा निकै भयभित हुने गर्छन्।
च्छो रोल्पाको पानीको मुहान रोलवालिङ हिमालमा हिउँ पहिरो जाँदा पनि उनीहरू भयभित हुन्छन्।
त्यसको कारण हो, २१ वर्षअघि विदेशी दाताको सहयोगमा तालको पश्चिमी डिलमा ७० मिटर लामो नहर बनाएर च्छो रोल्पाको पानीको सतह तीन मिटर घटाएर नियन्त्रित रूपमा पानी बाहिर पठाउन थालिए पनि यो हिमताल विस्फोट हुने जोखिम अझै टरिसकेको छैन।
८० प्रतिशत जोखिम कायमै
सन् २००० को जुन महिनामा च्छो रोल्पामा नहर र निकास खोलिएपछि हिमताल विस्फोटनको खतरा २० प्रतिशत घटेको बताइयो। त्यसको अर्थ च्छो रोल्पा हिमताल विस्फोटनको खतरा अझै ८० प्रतिशत जीवितै छ।
हिमतालको पानी र बरफको स्रोतका रूपमा रहेका नजिकैका हिम चुचुराबाट अचानक हिउँपहिरो खस्दा वा अत्यधिक गर्मी बेला हिमतालको मोरेन ड्याम (ढुंगामाटो र बरफ मिलेर बनेको प्राकृतिक बाँध) को तल्लो भागमा रहेको बाक्लो निलो बरफ पग्लिएर बाँधमा ठूलो छिद्र उत्पन्न हुँदा वा नजिकै केन्द्रविन्दु भएको ठूलो भूकम्प जाँदा हिमताल विस्फोट हुनसक्ने चिन्ता विज्ञहरूले व्यक्त गर्ने गरेका छन्।
विज्ञहरूका अनुसार करिब ७० वर्षअघि रोलवालिङ हिमालको हिमनदीमुनि निकै सानो आकारमा रहेको च्छो रोल्पा हिमतालको आकार यो अवधिमा सात गुना बढिसकेको छ। पृथ्वी तात्ने क्रम बढेसँगै हिमालय क्षेत्रमा हिमनदी पग्लिने क्रम तीव्र भएकाले हिमतालहरूको संख्या र आकार बढ्न थालेको पाइएको छ। सँगसँगै, हिमताल विस्फोटनको जोखिम बढ्नसक्ने चिन्ता व्याप्त छ।
विज्ञहरूका अनुसार पृथ्वीको औसत तापक्रम बढ्दा हिमालयको तापक्रम औसतभन्दा ०.७ प्रतिशत बढ्ने गरेको पाइएको छ।
गत वर्ष एकीकृत अन्तर्राष्ट्रिय पर्वत विकास केन्द्र (इसिमोड) र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार च्छो रोल्पा र सगरमाथा क्षेत्रमा रहेको इम्जा च्छो हिमताल 'नेपालका सबभन्दा बढी सम्भावित खतरनाक हिमताल' हुन्।
त्यसैले आगामी दिनमा च्छो रोल्पा र इम्जा च्छोको 'निरन्तर संवेदनशील र नियमित अनुगमन गर्नुपर्ने खाँचो' रहेको त्यो अध्ययनको निष्कर्ष थियो।
सन् २०१५ यताका भूउपग्रहीय तस्बिर विश्लेषणका आधारमा गरिएको उक्त अध्ययनअनुसार हिमालय क्षेत्रमा रहेका ४७ जोखिमपूर्ण हिमतालमध्ये २१ वटा नेपालको कोसी, गण्डकी र कर्णालीको उद्गम क्षेत्रमा छन्। तीमध्ये पनि च्छो रोल्पा र इम्जा च्छो सबभन्दा जोखिमपूर्ण पाइएका छन्।
एकैछिन पुरानो संयोगको सम्झना।
एक्काइस वर्षअघि च्छो रोल्पाको नहर उद्घाटन गर्न काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरमा दोलखा उडेको तत्कालीन विज्ञान तथा प्रविधिमन्त्री सुरेन्द्र चौधरी नेतृत्वको टोलीमा काठमान्डू पोस्ट संवाददाताको हैसियतमा यो लेखक पनि सामेल थियो। कर्णेल मदन केसीले उडाएको एमआई-१७ मा जल तथा मौसम विभागका महानिर्देशक आदर्श पोखरेल लगायत थिए।
मौसमले साथ नदिएपछि त्यो टोली लामाबगरमा दुई घन्टा कुरेर च्छो रोल्पा नहरको औपचारिक उद्घाटन नै नगरी राजधानी फर्किएको थियो।
नहर निर्माणपछिको कालखण्डमा च्छो रोल्पाको नहर हुँदै तल झर्ने रोलवालिङ खोलाबाट निकै धेरै पानी बगेर तल्लो तटमा तामाकोसी र सप्तकोसीमा मिसिइसकेको छ।
हिमतालको तीन मिटर घटाउन नहर खोलिएको २१ वर्षपछि गत शनिबार यो लेखक च्छो रोल्पा पुग्दा तालमा पानी टनाटन भरिएको थियो। तर नहरबाट लगातार पानी तल रोलवालिङ उपत्यकातिर खसिरहेको थियो।
हिमतालभन्दा पश्चिम-उत्तरतर्फको प्राकृतिक बाँध केही भासिएको देखियो। तालको पश्चिमी डिलमा बनाएको भवन, प्रयोग गरिएका गह्रौं उपकरण राखिएको जस्ताको ठूलो टहरा र तलपट्टि भीरमा बनाइएको माइक्रोहाइड्रो प्लान्ट भने मर्मतको पर्खाइमा रहेको स्पष्ट भयो।
कर्मचारी बस्न बनाइएको भवनमा ताल्चा लगाइएको थियो। नजिकै नाँ गाउँका सगरमाथा आरोही पेम्बाग्याल्जेन शेर्पाको भनाइमा 'वर्षको एकपटक मात्र' कर्मचारी त्यो भवनमा आउँछन्। सरकारी भनाइमा चिसोका कारण त्यहाँ सधैं कर्मचारी बस्न सम्भव छैन।
नहरको पश्चिमी किनारतर्फ जमिन थोरै भासिएको पनि देखियो। नियन्त्रित पानी निकासनजिकै दायाँतर्फ ग्याबिन तारले बेरिएको ढुंगाको बाँध पनि थोरै लच्किएको देखियो।
पेम्बाग्याल्जेनका अनुसार रोलवालिङ खोलामा भेलबाढी आए स्वचालित रूपमा साइरेनसहित पूर्वसूचना दिन बनाइएको प्रणालीले पनि काम गर्न छोडिसक्यो। हिमताल अचानक फुटे रोलवालिङ र तामाकोसी नदी किनारवासीलाई पूर्वसूचना दिन ती साइरेन पनि २१ वर्षभन्दा बढी पुराना हुन्।
रोलवालिङ र तामाकोसीवासीको चिन्ता
यो हिमतालबाट करिब आठ किलोमिटर तल रहेको नाँ गाउँ च्छो रोल्पाबाट सबभन्दा नजिकको बस्ती हो।
तर नाँ गाउँ रोलवालिङ खोलादेखि केही पर र अग्लो स्थानमा बसेकाले रोलवालिङवासी नाँ गाउँलाई अझै चार-पाँच किलोमिटर तल बसेको बेदिङ गाउँभन्दा तुलनात्मक हिसाबले सुरक्षित ठान्छन्।
नाँ गाउँमा पर्यटन व्यवसाय गरिरहेका पेम्बाग्याल्जेनको आँगनबाटै च्छो रोल्पा हिमतालबाट करिब ५०० मिटर तल खसालिएको ठाडो झरनारूपी रोलवालिङ खोला प्रस्ट देख्न सकिन्छ। नाँ गाउँ केही सुरक्षित देखिए पनि बेदिङ गाउँ ठूलो जोखिममा रहेकोमा रोलवालिङवासी चिन्तित छन्।
रोलवालिङको माथिल्लो भूभागका रहेका ३५० घरधुरीका मानिस आफ्ना याक, नाक र चौंरीसहित हिउँदमा बेदिङ र बर्खामा नाँ गाउँमा बसाइ सर्दै आएका छन्।
'च्छो रोल्पाबाट ठूलो बाढी आउने डरका कारण हामी बर्खा लागेपछि नाँमा आइहाल्छौं। आफ्नो सुरक्षा त गर्नुपर्यो नि। हिउँदमा पानी घटेपछि चाहिँ बेदिङ जान्छौं। तर खोलानजिकै भएकाले बेदिङको भविष्य राम्रो छैन। अहिले सबै मानिस गाउँ छाडेर काठमाडौंतिर बसाइ भागिसके,' पेम्बाग्याल्जेनले भने।
तर बेदिङदेखि तल रोलवालिङ खोलाको तल्लो तटमा रहेको डोङयाङ (२,८०० मिटर) मा रोलवालिङ किनारमै २० वर्षदेखि लज सञ्चालन गरिरहेकी जाङ्मो शेर्पालाई कुनै चिन्ता छैन।
'हाम्रो देवता बलियो छन् ताल फुट्दैन,' उनले भनिन्।
डोङयामा खोला किनारमै बनाइएका तीन भवनले पदयात्रुलाई आश्रय दिँदै आएका छन्। तर ती बाढीको जोखिमा देखिन्छन्।
कयौं रोलवालिङवासी भने 'यस क्षेत्रमा मारकाट भए मात्र बाढी आउँछ' भन्ने पुरानो कथनमा विश्वास राख्छन्।
च्छो रोल्पाको जोखिम कहाँ कहाँ
२१ वर्षअघि च्छो रोल्पा हिमताल फुट्नसक्ने चिन्ता बढेपछि यो हिमतालले काठमाडौंसहित पूरै देशको ध्यान आफूतिर तान्यो।
त्यति बेला हिमताल फुटे च्छो रोल्पाको बाढी रोलवालिङ उपत्यका हुँदै तामाकोसीमा आइपुग्ने र तामाकोसी बगरमा सिंगटी र मन्थलीजस्ता सहरबजारका साथै बगरमा बसेका थुप्रै गाउँ-बस्तीका लाखौं मानिस जोखिममा पर्न सक्ने चिन्ताहरू प्रकट भए।
दाताको सहयोगमा हिमतालको पानीको सतह घटाउने काम सकिएपछि त्यो चिन्ता हट्यो। तथापि अहिले रोलवालिङदेखि ४० किलोमिटर तल पर्ने सिंगटी बजारमा त्यस्तो चिन्ता अझै हटिसकेको छैन।
चरिकोटदेखि ४० नै किलोमिटर उत्तरमा रहेको सिंगटी बजार च्छो रोल्पाको पानी बगेर आउने तामाकोसीको किनारमै बसेको छ जहाँ पछिल्लो समय सहरीकरण तीव्र भइरहेको छ। भटाभट नयाँ घरहरू बन्न थालेका छन्।
सिंगटी बजारमा हरदिन पशुपन्छीको उपचार र औषधिमूलोमा व्यस्त रहने स्थानीयवासी केशरबहादुर खत्री च्छो रोल्पाको वर्तमान अवस्था र भविष्यबारे निकै चासो र चिन्ता लिने गर्छन्।
उनका विचारमा च्छो रोल्पा हिमताल फुट्न नदिन स्थानीयवासीका अतिरिक्त दोलखाका सबै निर्वाचित जनप्रतिनिधिले चासो लिनुपर्छ र जोखिम कम गर्न हरसम्भव उपाय अवलम्बन गर्नुपर्छ।
खत्री र अन्य सिंगटीवासीले असार १ गते सिन्धुपाल्चोकको मेलम्ची बजारमा आएको अप्रत्यासित र अकल्पनीय भेलबाढीको त्रासदीका तस्बिर देखेका छन्। त्यही बेला मनाङले भोगेको विपतबारे पनि उनीहरूलाई थाहा छ।
यो साता नेपालका विभिन्न भागले भोगेका बाढीपहिरो र डुबानबारे पनि उनीहरू जानकार छन्।
भर्खरै लामाबगरमा नदी थुनेर बनाइएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले बिजुली उत्पादन थालेपछि दोलखावासी हर्षित छन्। तर तामाकोसी किनारका सिंगटीवासी आफू पनि भविष्यमा भेलबाढी वा पहिरोको जोखिममा पर्न सक्ने हो कि भन्ने चिन्तामा छन्।
'जोखिम कम गर्न च्छो रोल्पाको निरन्तर निगरानी र त्यहाँको बाँधको नियमित मर्मतसम्भार हुनुपर्छ,' केशरबहादुर खत्रीले भने, 'त्यसका लागि दोलखाका सबै निर्वाचित प्रतिनिधि सक्रिय हुनुपर्ने हो। तर त्यस्तो भरहेको देखिँदैन जुन दुर्भाग्यपूर्ण छ।'
जोखिम कसरी कम होला?
प्रश्न उठ्छ, च्छो रोल्पाबाट उत्पन्न हुने जोखिम कम गर्न सरकार के गर्दै होला?
संघीय सरकारको विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले राष्ट्रसंघ र अन्य दातृ संस्थासँग समन्वय गरेर नेपालका हिमतालको अध्ययन तथा जोखिम घटाउने काम गर्दै आएको छ।
विभागका अनुसार च्छो रोल्पाबाट उत्पन्न हुन सक्ने जोखिमबारे नयाँ अध्ययनसँगै त्यहाँ २१ वर्षअघि बनाइएका संरचनाको मर्मतसम्भारको काम अब अघि बढ्न लागेको छ।
विभागको हिम तथा हिमनदी शाखा प्रमुख सुवास तुलाधरका अनुसार च्छो रोल्पा हिमतालको ताजा अवस्था र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको विस्तृत अध्ययन गर्न विभागका वैज्ञानिकहरूको टोली आगामी केही साताभित्रै रोलवालिङको भ्रमणमा जान लागेको छ।
'त्यही अध्ययनकै आधारमा हामीले च्छो रोल्पाका जोखिम घटाउन के-के काम गर्न आवश्यक छ त्यसको निर्क्यौल गर्न सक्छौं। त्यसकै आधारमा मर्मतसम्भारका काम अघि बढ्नेछन्,' तुलाधरले भने।
विभागका सूचना अधिकारी रामप्रसाद अवस्थीका अनुसार च्छो रोल्पामा बनाइएका संरचना मर्मतका लागि टेन्डर भएर काम अघि बढ्न लागिसकेको छ। तर कोरोना कहरका कारण अध्ययन र मर्मतको काममा केही ढिलाइ भइरहेको छ।
गौरीशंकर हिमालपूर्वको च्छो रोल्पा र त्यहाँबाट बहने रोलवालिङ किनारका स्थानीयवासीलाई भने सम्भाव्य भेलबाढीबाट सबभन्दा पहिले आफ्नै घर गाउँ र गुम्बा जोगाउने हतारो हुने नै भयो।
बेदिङका नवाङ शेर्पाको सुझाव चाहिँ यस्तो छ- रोलवालिङवासीलाई च्छो रोल्पाबाट बग्ने रोलवालिङ खोलामा आउन सक्ने बाढीबाट बचाउने हो भने सरकारले रोवालिङका नाँ, बेदिङ र डोङयाङजस्ता बस्तीमा बाढी पस्न नदिन आवश्यक संरचना बनाइहाल्नुपर्छ।
उनले भने, 'बेदिङ गाउँलाई बचाउन ग्याबिन तार चाहिएको छ। ढुंगाका अग्ला पर्खालहरू बनायो भने हाम्रो गाउँ र गुम्बा जोगिन सक्छ। यो खबर काठमाडौं पुर्याइदिनुहोला। धन्यवाद।'