‘नसा च्यापिएको’ बोलीचालीको भाषा हो। ढाडको नसा च्यापिएका बिरामीले यसको प्रयोग बढी गर्छन्। कोही नसा च्यापिएको, कोही नसा खप्टिएको भन्दै अस्पताल आइपुग्छन्, कोही बिरामी सियाटिका भयो भनेर पनि आउँछन्। बोलीचालीमा जे भने पनि यसले खासमा मेरूदण्डको नसालाई केही न केही दख्खल परेको बुझाउँछ।
ढाड दुख्ने, खुट्टाहरू झमझम गर्ने, पिडौंला दुख्ने समस्या लिएर धेरै बिरामी अस्पताल आउँछन्। हाडजोर्नी र नसा सम्बन्धी डाक्टरको ओपिडीमा सबैभन्दा बढी बिरामी आउने नै यी समस्याका हुन्। बुझ्दै नबुझेका बिरामी पनि ढाड दुख्यो भने नसा च्यापियो भन्दै आइपुग्छन्।
हात खुट्टा झमझम गर्ने, हिँड्दाखेरि ढाड, पिडौंला धेरै दुख्ने, खुट्टाका औंला लुला हुने, दिशा, पिसावमा समस्या आउने लक्षण यस रोगका बिरामीमा देखिन्छ। मानसिक रोगका बिरामीहरु पनि यस्तै लक्षण लिएर नसा च्यापियो भन्दै आउँछन्। तर उनीहरुको समस्या भने अर्कै हो।
साँच्चै नसा च्यापिएको रोग भनेको मेरूदण्डको हड्डीको बीचबाट गएका नसालाई हड्डी भाँचिएर, खिइएर, पलाएर, मेरूदण्डको वरिपरि ट्यूमर भएर, टिबीका कारण इन्फेक्सन भएर नसाको घर सानो हुने र सहायक नसाहरु च्यापिने समस्या हुन्छ। त्यसले नसाले सप्लाई गर्ने ठाउँमा असर पर्न जान्छ। यसो हुँदा कसैलाई सिस्नोले छोएको जस्तो अनुभव हुन्छ, कसैलाई छोएको पनि थाहा हुँदैन, कसैलाई अत्यधिक दुख्छ। त्यसपछि उनीहरु उपचारका लागि अस्पताल आइपुग्छन्। सामान्य झमझम गर्दैको अवस्थामा कम आउँछन्।
यो समस्या धेरै काम गर्ने मान्छेमा र बुढेसकालमा बढी हुन्छ। ३० देखि ६० वर्ष सम्मका बिरामी यो समस्या लिएर बढी आउने गरेका छन्। उनीहरु सामान्य काम गर्न लागेको ढाड सड्कियो भनेर पनि आउँछन्। धेरैजसो १-२ वर्ष अघिदेखि समस्या भएको भनेर आउँछन्।
यसको तीन स्टेज हुन्छ। स्टेज वान र टुलाई आराम, औषधि र राम्रो काउन्सिलिङले नै निको हुन्छ। उनीहरुले धैर्य गरे र डाक्टरको सल्लाह माने भने ठीक भइहाल्छ। ८० प्रतिशत भन्दा बढीलाई यसरी नै निको हुनेगरेको छ। कोहीलाई फिजियोथेरापी पनि चाहिन सक्छ।
स्टेज थ्री भनेको धेरै समस्या भइसकेको अवस्था हो। यो अवस्थामा बिरामीलाई हलचल गर्नै गाह्रो हुन्छ। नसालाई दीर्घकालीन समस्या गर्ला जस्तो भयो भने अप्रेसन गर्नुपर्ने हुन्छ। त्यो पनि अप्रेसन गरेपछि त निको भइहाल्छ।
स्टेज थ्रीमा पुग्दा पनि हेल्चेक्र्याँई गर्दा स्थायीरुपमै नसाले काम नगर्ने अवस्था आउनसक्छ। सँधैभरी खुट्टा नचल्ने, प्यारालाइसिस हुने सम्भावना पनि हुन्छ।
पहिलो स्टेजकै बिरामीलाई एमआरआई गर्न लगाएर खर्च गराउने चलन पनि छ तर रोगको पहिचानका लागि सिधै एमआरआई गर्नुपर्दैन। अन्य परीक्षणबाट पनि रोग पहिचान गर्न सकिन्छ। जटिल अवस्थाका बिरामीलाई मात्र यसको आवश्यकता पर्छ। पहिचानमा १५-२० हजार रूपैयाँसम्म खर्च हुन्छ। अप्रेसनमा ३० हजारदेखि डेढ लाख रुपैयाँसम्म लाग्न सक्छ।
यसको अप्रेसन जटिल प्रकारको उपचार हो। बिरामीलाई रोगको गम्भीर्यता थाहा हुँदैन। कतिपय त बुझाउँदा पनि डराउँछन्। नसाको अप्रेसन गर्दा जोखिम हुन्छ भनेर हच्किन्छन्। परिवारलाई राम्रोसँग बुझाइदियो भने बल्ल बिरामी तयार हुन्छन्।
यो रोग लाग्न नदिन काम गर्ने क्रममा ढाडलाई जोगाउनुपर्छ। ढाडलाई लोड हुने काम सकेसम्म नगर्ने, बस्दाखेरि सिधा पोजिसनमा बस्ने गर्नुपर्छ। तर भुईँमा खसेको लुगा खस्दा पनि सड्किन सक्छ, हरेक काम गर्दा ढाडलाई ध्यानमा राखेर गरियो भने समस्या आउँदैन।
नसा च्यापिने समस्याबारे हामीले चितवनको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरका कार्यकारी अध्यक्ष रहेका अर्थोपेडिक्स सर्जन डा.प्रमोद लामिछानेसँग राजेश घिमिरेले गरेको भिडिओ कुराकानी :