जीवनको जिउने आधार अनि बुढेसकालको साहरा, आफ्नो प्रिय छोरा भूपेन्द्र २३ वर्षको उमेरमै संसारबाट बिदा भएपछि लम्कीकी भावना बडुवाल भावविह्वल छिन्।
भूपेन्द्रले उनको साथ छोडेको एक महिना बितिसकेको छ। तर, उनले न त छोराको यादलाई भुल्न सकेकी छन् न त अतितका सम्झना मेट्न सकेकी छन्। मात्र बगाइरहेकी छिन्, छोराको वियोगमा आँसुका थोपा।
घटना कात्तिक २३ गतेको हो।
टीकापुरको सिद्धार्थ होटल नजिकै २३ वर्षीय भूपेन्द्रमाथि सांघातिक हमला भयो।
बुवा डम्मर बडुवाल र आमा भावना बडुवालका एकमात्र छोरा भूपेन्द्रले त्यही दिन संसार छोडे।
दुई समूहको रिसइबीका कारण निर्दाेष भूपेन्द्रको ज्यान गएको प्रहरीको अनुसन्धानले देखाएको छ।
लगत्तै अनुसन्धान थालेको प्रहरीले घटनामा संलग्न भएको पुष्टि गर्दै १२ जनालाई पक्राउ गरिसकेको छ। जसमध्ये जिल्ला अदालत कैलालीले ९ जना अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। तर पक्राउ परेका ३ जना धरौटीमा रिहा भएपछि न्यायालयको न्यायप्रति असन्तुष्ट हुँदै भावना बडुवाल न्यायको मागसहित सडकमा उत्रिएकी छन्।
आफूहरूलाई अन्याय भएको महसुस गर्दै सोमबार भूपेन्द्रका आफन्तले जिल्ला अदालत कैलाली परिसरमा नाराबाजी गरेका छन्।
मुख्य आरोपी नविन रावलसहित ९ जना अझै फरार रहेको अवस्थामा ३ जना अभियुक्तलाई धरौटीमा रिहा गरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नाराबाजी भैरहेका बेला भावना भने छोरोको अस्तु हातमा लिँदै आँखामा आँसु टिलपिलाइरहेकी थिइन्।
भावनालाई अब छोराले न्याय पाउँदैन कि भन्ने चिन्ताले पिरोल्न थालेको छ। मुख्य अभियुक्त फरार छन् पक्राउ परेका अभियुक्त पनि छुट्न थालेपछि उनको मुहारमा निराशाको पीडा गडेको छ।
‘यो देशमा न्याय हराएको छ, गुण्डागर्दी गर्नेहरू मौलाएका छन्’, उनले भनिन्।
उनीसँग निराशामात्र छैन। प्रतिशोधको भावना उब्जिन थालेको छ। पुत्र वियोगमा भावविह्वल उनी बेला-बेलामा बदलाको कुरा सुनाउँछिन्।
‘आज मेरो निर्दाेष छोराको बली चढ्यो, भोलि अर्काेलाई यस्तै, भयो भने मजस्ता आमाहरूले अब छोरा बचाउन खुकुरी उठाउनुपर्ने अवस्था नआउँला भन्न सकिँदैन,’ उनले भक्कानिँदै भनिन्।
आफूहरूलाई न्यायालयबाट अन्याय भएको महसुस गर्दै आन्दोलनमा उत्रिएका भूपेन्द्रका आफन्तले अब पुनरावेदन गर्ने तयारी गरेका छन्।
जिल्ला अदालतले गरेको फैसला चित्त बुझ्दो नभएपछि पुनरावेदन गर्ने सल्लाह भएको भूपेन्द्रका बुवा डम्मर बडुवालले सुनाए।
‘हामीले छोराको लागि महिनौं दिनदेखि न्यायको भिख मागिरहेका छौं, तर, अझै दर्जनौं अपराधी लुकेर बसेका छन्’, उनले भने।
भूपेन्द्रको हत्या भएदेखि नै न्यायको माग गर्दै आएका लम्कीबासी अहिले आन्दोलनमा छन्।
उनीहरू आफ्नो क्षेत्रमा भएको यो घटनाले चिन्तित छन्।
भूपेन्द्र हत्याकाण्डले देशभर चर्चा पाएको छ। न्यायका आवाज पनि उठ्न थालेका छन्।
भविष्यमा यस्ता घटना दोहोरिन नदिन भूपेन्द्रले न्याय पाउनुपर्ने आवाज स्थानीयको छ।
यता, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले फरार ९ जनाको खोजतलास भइरहेको बताए।