शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ जना मानिसमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी गरायो। योसँगै नेपालमा ओमिक्रोन भेरियन्ट संक्रमितको संख्या २७ पुगेको छ।
मन्त्रालयले ओमिक्रोन संक्रमितहरूको स्वास्थ्य अवस्थाबारे भने कुनै जानकारी गराएको छैन।
अहिले नयाँ भेटिएका २४ जना ओमिक्रोन संक्रमितमा कस्ता खालका स्वास्थ्य समस्या देखिएका छन् भन्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छैन। साथै ती संक्रमितहरू कहाँबाट आएका भन्नेबारे पनि मन्त्रालयले खुलाएको छैन।
तर मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले ओमिक्रोन पुष्टि भएका सबै संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।
उनले अहिले पुष्टि भएका सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको भन्दै कसैमा पनि जटिलता नरहेको बताए।
'सबै संक्रमितहरू स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ। अहिलेसम्म कसैमा पनि जटिलता देखिएको छैन। उहाँहरू सबै आइसोलेसनमा हुनुहुन्छ,' अधिकारीले भने।
उनका अनुसार अहिले भेटिएका ओमिक्रोन संक्रमितहरूमा सामान्य रूघाखोकी लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने र ज्वरो आउने जस्ता लक्षणहरू देखिएका छन्।
त्यस्तै, केही संक्रमितलाई श्वासप्रश्वासमा थोरै समस्या देखिए पनि जटिलता नदेखिएको अधिकारीले बताए।
उनले भन्छन्, 'धेरै संक्रमितलाई केही पनि नभएको देखिएको छ। त्यही बाहिरबाट आउनुभयो र संक्रमणको आशंका लागेर परीक्षण गर्दा पोजेटिभ देखिएको हो।'
अहिले पुष्टि भएका ओमिक्रोन संक्रमितहरू कहाँबाट आएको भन्नेबारे अधिकारीले खुलाउन चाहेनन्।
यसअघि पुष्टि भएका संक्रमितहरू पनि कुन ठाउँबाट आएको भनेर मन्त्रालयले खुलाएको थिएन। यद्यपि यसपटक भेटिएका केही संक्रमित भने देशभित्रैका पनि रहेको अधिकारीले बताए।
'संक्रमितहरू विभिन्न देशबाट आउनुभएको हुनुहुन्छ। केही भने विदेशबाट नआएको पनि हुनुहुन्छ,' उनले भने।
यद्यपि समुदायभित्रका मानिसमा पनि ओमिक्रोन भेटिएसँगै यसले समुदायमा विस्तारै यो संक्रमण फैलिँदै गएको भन्ने बुझ्न सकिन्छ। यसले संक्रमणको जोखिम बढ्दै गएको भन्ने संकेत गर्छ।
तर महत्वपूर्ण कुरा भनेको ओमिक्रोन भेरियन्ट संक्रामक रहे पनि त्यसले जटिलता ल्याउने सम्भावना निकै नै कम रहेको विभिन्न अध्ययनहरूले देखाएको छ। तर नेपालमा यसले कस्तो किसिमको असर पार्छ भन्ने हेर्न बाँकी नै छ। तर कतिपय विज्ञहरूले भने यसले धेरै मानिसलाई संक्रमण गर्ने देखिए पनि जटिलता ल्याउने सम्भावना कम हुँदा नआत्तिन आग्रह गरेका छन्।
साथै, नेपालमा धेरै मानिसले खोप लगाएका कारण त्यसले पनि संक्रमण फैलिनमा रोक्न मद्दत पुर्याउने विज्ञहरूको विश्वास छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको झन्डै ४० प्रतिशत मानिसले खोप लगाएका छन्।
पछिल्लो समय भारतमा व्यापक रूपमा ओमिक्रोन संक्रमण फैलिरहेको छ। जसले गर्दा नेपालमा जोखिम ह्वात्तै बढेको छ।
भारतमा संक्रमण व्यापक हुन थालेपछि अबको दुई साताभित्र नेपालमा पनि त्यसको असर देखिने विज्ञहरूको विश्लेषण छ।
स्वास्थ्य मन्त्रालयले पनि ओमिक्रोन भेरियन्टले नेपालमा छिट्टै जोखिम बढाउने भन्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
मन्त्रालयकी प्रवक्ता डाक्टर संगिता मिश्राले संक्रमण जोखिमलाई मध्यनगर गर्दै सबै अस्पतालहरूलाई खाली रहेका अक्सिजन सिलिण्डरहरू भरेर राख्न र बिग्रिएर रहेका अक्सिजन प्लान्टहरूलाई मर्मत गर्न भनिएको जानकारी दिइन्।
ओमिक्रोन संक्रमणले जोखिम ल्याउने देखिएसँगै शुक्रबार प्रधानमन्त्रीसहित सिसिएमसीको बैठक बसिरहेको छ।