मध्यपश्चिमको दुर्गम पहाडी गाउँ थवाङ सशस्त्र माओवादी द्वन्द्वको उद्गम क्षेत्रका रूपमा चिनिन्छ। अहिले यो ठाउँ अर्को कारणले पनि चर्चामा छ।
थवाङलाई चर्चामा ल्याउने व्यक्ति हुन् जापानी चिकित्सक डा. रियुचिकी इशिदा, जसले एक दशकभन्दा बढी समयदेखि यहाँ बसेर स्वयंसेवा गरिरहेका छन्।
उनी सन् १९६८ मा क्षयरोगविरूद्ध खोप कार्यक्रमका लागि पहिलोपटक नेपाल आएका थिए। त्यति बेला उनको उमेर २० वर्ष थियो।
उनले स्वयंसेवकका रूपमा नेपालमा विभिन्न गाउँ-सहर घुमे। पोखराबाट काली नदीको किनारै किनार बेनी, बाग्लुङ हुँदै तानसेनसम्म हिँडे। पश्चिम पहाडका विभिन्न जिल्ला पनि चहारे।
त्यसपछि पनि डा. इशिदा पटकपटक नेपाल आइरहे।
सन् २००६ मा उनले रूकुमको चौरजहारीदेखि रोल्पाको घोरनेटीसम्म पैदल यात्रा गर्दै त्यहाँका विभिन्न गाउँमा स्वास्थ्य सेवा दिएका थिए। त्यसको दुई वर्षपछि २००८ मा उनी जुम्ला पुगे र २०११ मा पहिलोपटक रोल्पाको थवाङ टेके।
यसरी नेपालका कुनाकन्दरामा स्वास्थ्य सेवाबाट वञ्चित नागरिकको उपचार गर्दै, उनीहरूसँग घुलमिल हुँदै जाँदा यहाँको सरल जीवनशैली, सहनशील स्वभाव र आत्मीय बानीले मन जितेको डा. इशिदा बताउँछन्।
'पहिलोपटक नेपाल आउँदा नै म यहाँका गाउँहरूबाट आकर्षित भएको थिएँ। त्यही बेला मैले फेरि फर्केर आउँछु भनेर गाउँलेहरूसँग बाचा गरेको थिएँ,' ७५ वर्षीय इशिदाले आफ्नो विगत सम्झिँदै भने, 'त्यही बाचा पूरा गर्न म आएको हुँ।'
उनले अगाडि भने, 'म आफ्नो बाँकी जीवन नेपालमै स्वास्थ्य सेवा दिएर बिताउन चाहन्छु।'
उनी एक दशकदेखि थवाङको जलजला अस्पताल तथा अनुसन्धान केन्द्रमा कार्यरत छन्। बेलामौका अस्पतालबाट फुर्सद निकालेर गाउँ-गाउँ पनि डुल्न हिँड्छन्। यसरी डुल्दा उनको एउटै उद्देश्य हुन्छ, आफू पुगेको गाउँमा बढीभन्दा बढी स्वास्थ्य सेवा दिने।
आज पनि उनको सक्रियता २० वर्षे तन्नेरीको भन्दा कम छैन। उनीसँग उपचार गराउन थवाङ गाउँपालिका लगायत छिमेकी पुथा उत्तरगंगा, भूमे, मादी र परिवर्तन गाउँपालिकाबाट दैनिक बिरामीहरू आउँछन्।
अन्तरमुखी स्वभावका इशिदा सबै बिरामीसँग नरम बोल्छन्। फाट्टफुट्ट नेपाली र मगर भाषामा कुराकानी गर्छन्। सामान्य नेपाली खानपिन उनलाई मनपर्छ। उनी अस्पतालकै टिनको टहरामा सुत्छन्। हरेक दिन बिहान–बेलुकी एक घन्टाजति थवाङ गाउँ चक्कर लगाउँछन्। अनि दिनभर बिरामीको उपचारमा खटिरहन्छन्।
विकसित देश जापानमा जन्मे-हुर्केका डा. इशिदा यसरी गाउँ-गाउँ डुलेर स्वास्थ्य सेवा दिने प्रेरणा आफ्ना बुवा कान्किची ताकाहाशी र एक जना क्यानेडियन चिकित्सक डा. नोरमन बेथ्युमबाट पाएको बताउँछन्।
'मेरो बुवा र डा. नोरमनले आफ्नो पूरा जीवन विभिन्न देशका गरिब जनताको सेवामा बिताउनुभयो,' उनले भने, 'उहाँहरूको जीवन बुझेपछि मैले पनि नेपाल आएर यहाँका विकट ठाउँको सेवा गर्ने प्रण गरेँ।'
सन् १९१० मा जन्मिएका उनका बुवा ताकाहाशी जापान-चीन युद्ध हुँदा जापानी सेनाका चिकित्सक थिए। युद्धमा जापानले हार्नुभन्दा पहिला उनी चिनियाँ जनमुक्ति सेनाको कब्जामा परे। त्यही क्रममा उनी माओ-त्से-तुङको विचारबाट प्रभावित भए। जापान फर्केपछि उनले आर्थिक रूपमा पिछडिएका मानिस बसोबास गर्ने ठाउँमा सानो क्लिनिक खोले र निःशुल्क सेवा दिन थाले। उनको मृत्यु १९९२ मा भयो।
'उहाँको यही कामले मलाई डाक्टर भएर मानव सेवा गर्ने बाटो देखायो,' इशिदाले भने, 'बुवाको त्यो कामबाट म ज्यादै प्रभावित थिएँ। उहाँले दिएको प्रेरणा नै म नेपालका गाउँमा आएर सेवा दिनुको कारण हो।'
इशिदा हरेक वर्ष एकचोटि केही महिनालाई जापान जान्छन्। परिवार भेटेर फेरि रोल्पा फर्किन्छन्। कोभिड महामारी बेला उनकी श्रीमती पनि नेपाल आएकी थिइन्। करिब दुई महिना बसेर फर्किन्।
त्यो दुई महिनाको नेपाल बसाइमा इशिदाले श्रीमतीलाई आफ्नो जीवनको उद्देश्य सुनाएका थिए।
'मेरो मृत्युपछि म थवाङको डाँडामै आराम गर्न चाहन्छु,' उनले थवाङपारिको सहिद पार्क देखाउँदै श्रीमतीलाई भनेको कुरा हामीलाई सुनाए, 'त्यहाँ सहिदहरूसँगै मेरो पार्थिव शरीरको अन्त्येष्टि होस् भन्ने मेरो चाहना छ।'
'अनि उहाँले के भन्नुभयो त?'
जवाफमा इशिदाले भने, 'उनी भावुक भइन्। जीवनको उतरार्द्धसम्म थवाङमै रहे पनि मेरो मरण र अन्त्येष्टि मातृभूमि जापानमै होस् भन्ने परिवारको चाहना थियो। तर मेरी श्रीमतीले भारी मनले भए पनि मेरो इच्छामा सहमति जनाएकी छन्।'
उनले त्यहीँ डाँडाबाट हरेक दिन थवाङ गाउँ हेर्ने र तल झकिबाङमा बन्दै गरेको १५ शैय्याको अस्पताललाई अभिवावकका रूपमा निगरानी गर्ने इच्छा पनि हामीलाई सुनाए।
'यसबारे छोराछोरीसँग सल्लाह गरिसकेँ। मृत्युपछि मेरो शरीर थवाङमै राखे पनि अस्तु भने जापान लगेर चिहानमा राख्ने कुरा भएको छ। यसले पुर्खाहरूसँग पुनर्मिलन हुनेछ भनेर सबैले भनेका छन्,' उनले भने।
डा. इशिदाले आफ्ना छोराछोरीलाई पनि थवाङ घुमाउन ल्याइसकेका छन्। 'म कस्तो ठाउँमा बस्छु, के खान्छु र के गर्छु भनेर उनीहरूलाई देखाएँ,' तीन सन्तानका पिता इशिदाले भने।
बाँकी जीवन थवाङमै बिताउने निधो गरेका इशिदा भिसा प्रक्रियाले भने साह्रै असजिलो भएको बताउँछन्।
वर्किङ भिसामा नेपाल आएका उनले भिसा नवीकरण गराइरहनुपर्छ। सरकारले हरेक वर्ष भिसा नवीकरण गराउनुपर्ने झन्झटबाट आफूलाई मुक्त गरिदेओस् भन्ने उनको इच्छा छ।
'प्रत्येक वर्ष भिसा नवीकरण गर्न सम्बन्धित मन्त्रालयको सिफारिस, गृह मन्त्रालयको सहमति, श्रम विभागको स्वीकृति, करार सम्झौता वा नियुक्तिपत्र लगायत कागजात पेस गर्नुपर्छ,' उनले भने, 'म बूढो मान्छे कति ठाउँमा धाउनू! मेरो भिसा प्रक्रिया सहज बनाइदिए म यसको गुण कहिल्यै बिर्सने छैन।'
निःशुल्क स्वास्थ्य सेवा दिइरहेका यी मनकारी डाक्टरले आफूले जापानमा कमाएको पैसा थवाङमा अस्पताल बनाउन र स्थानीयको सेवामा लगानी गरेको बताउँछन्। 'अहिले मेरो आम्दानीको स्रोत जापानी सरकारबाट पाउने निवृत्तिभरण मात्र हो। मलाई अरू कसैको सहयोग छैन,' उनले भने।
उनले आफ्नै खर्चमा थवाङका केही स्थानीय युवालाई डाक्टरी पढाएका पनि छन्। थवाङको सामुदायिक विद्यालयमा पढेका तीन जना विद्यार्थीलाई छात्रवृत्तिमा डाक्टरी पढाइरहेको उनले बताए। तीमध्ये एक जनाले चीनबाट एमबिबिएस पास गरेका छन्। दोस्रोले दाङबाट आयुर्वेदमा एचए पास गरेका छन् भने तेस्रो विद्यार्थी पोखरामा डेन्टल मेडिसिन पढ्दै छन्।
'उनीहरूले यो विकट ठाउँमा डाक्टरको अभाव पूर्ति गर्ने छन् भन्ने मैले ठानेको छु,' उनले भने।
अहिले इशिदाकै सक्रियतामा जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थवाङ समायोजन गरेर थवाङ गाउँपालिकाअन्तर्गत १५ शैय्याको अस्पताल निर्माणको अन्तिम चरणमा छ। यो अस्पताललाई उनले आफ्नो जीवनको अन्तिम उद्देश्यका रूपमा लिएका छन्।
उनको निरन्तर योगदानको कदर गर्दै लुम्बिनी प्रदेश सरकारले 'समासेवा श्री पदक 'ख' बाट विभूषित गरेको छ। पदक पाउँदा भावुक हुँदै उनले भनेका थिए, 'म थवाङ गाउँपालिका र यहाँका जनताले गरेको सहयोगप्रति धेरै धन्यवाद दिन चाहन्छु। उनीहरूबिना यो पुरस्कार सम्भव थिएन।'
कुराकानीको अन्तिममा डा. रियुचिकी इशिदाले हामीसँग भने, 'म यहाँ थवाङको पहाडमा सुतिरहेका सहिदहरूसँग सधैंका लागि नेपाली भएर सुत्न चाहन्छु। यति भएमा मेरो आत्माले शान्ति पाउनेछ।'
हेर्नुहोस् भिडिओ