यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथा:
घरमा छोरी जन्मिन्। खुसियाली छायो।
हुर्किँदै जाँदा छोरी अलि भिन्न देखिन थालिन्। तेह्र वर्ष उमेर पूरा भयो। स्वर तिख्खर हुँदै जानुपर्ने, फरक सुनिन थाल्यो। छातीमा स्तन देखिनुपर्ने, छेकछन्दै थिएन। महिनावारी पनि भएको छैन।
हेर्दाहेर्दै मखमल (परिवर्तित नाम) को ओठमा जुँगाको रेखी देखिन थल्यो! गालामा दाह्री उम्रिने लक्षण देखियो!
सुदूरपश्चिम बाजुराको दुर्गम त्यो गाउँमा छरछिमेकी र आफन्तहरूले उनको कुरा काट्न थाले। 'पूर्वजन्मको पाप' भन्दै गाइँगुइँ गरे।
छोरी नै हो तर ठ्याक्कै छोरो देखिने कसरी भयो?
आमाबाबुको पिर बढ्यो।
दिन बित्दै जाँदा जन्मिँदाको लैंगिक पहिचानबाहेक मखमलको शरीर छोराकै जस्तो हुँदै गयो। कपाल छोरीको जस्तो लामो थियो। आमाबाबु कुनै रोगका कारणले यस्तो भएको हुनुपर्छ भन्ने निष्कर्षमा पुगे। उपचारका लागि भारत लगे। डाक्टरले कुनै रोग लागेको भन्न सकेनन्। उनीहरू अन्यौलमै घर फर्के।
मखमल स्कुलमा एक्ला थिए। खेल्ने साथी भएनन्। साथीहरूका आमाबुबाले ऊसँग नबस्नू, 'रोग' सर्छ भन्दा रहेछन्। शिक्षकहरू समेत दुर्व्यवहार गर्न अघि सर्थे।
'होमवर्क नगरेको बहानामा शिक्षकहरू छातीतिर चिमोट्थे, कपाल तानिदिन्थे,' मखमलले भने, 'साथीहरू मसँग खेल्न मान्दैन थिए। म एक्लै हुन्थेँ।'
१४ वर्षका हुँदा उनले स्कुल नै छाड्नुपर्यो। दुर्व्यवहारकै कारण स्कुल जान नसक्ने अवस्थामा पुगे। आफूमाथि किन दुर्व्यवहार भइरहेको छ भन्ने उनलाई थाहा थिएन।
स्कुल छुटेपछि उनी झनै एक्लिए। मनमा नकारात्मक भाव उत्पन्न हुन थाल्यो। घरपरिवारसँग पनि घुलमिल हुन छाडे। एकोहोरो जस्ता भए।
'सबैतिर दुर्व्यवहार र विभेद भएपछि मेरो त संसार नै रहेनछ, बाँचेर केही काम छैन जस्तो लाग्यो,' मखमलले भने।
कपाल छोरीको जस्तो लामो। पोशाक छ महिलाले लाउने कुर्तासुरूवाल। देख्नेहरू छक्क पर्ने भइगए। मखमल आफैं पनि अचम्म पर्थे। यो के भइरहेको छ!
कपाल छोटो बनाउन र छोराको लुगा लगाउन मन हुन्थ्यो। मन पनि छोराकै जस्तो थियो, आफूलाई छोरो नै ठान्थे। तर भन्न सक्दैनथे। भन्नु पनि कसरी, प्रजनन अंग अर्थात् यौनांग छोरीको थियो।
'दाह्रीजुँगा आएको छ, कपाल लामो छ, केटीले लगाउने कुर्तासुरूवाल लगाउनुपरेको छ,' उनले भने, 'म छोरीको यौनांग लिएर जन्मेँ। शरीरमा केटाको जस्तो परिवर्तन आयो।'
यस्तै सकसका बीच उनले पढाइ अघि बढाए। उनका बुबा पढ्नुपर्छ भन्नेमा दृढ थिए। फकाईफुल्याई मखमललाई फेरि स्कुल भर्ना गरिदिए। स्कुलमा नियमित हुन नसके पनि १६ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरे। बाह्र कक्षा पनि पढेर सके।
स्नातक तहको पढाइका लागि मखमल बाजुराकै क्याम्पसमा भर्ना भए। अनेक अपमान र दुर्व्यवहार झेल्दै पढाइ चल्दै थियो। एक दिन बज्रपात पर्यो।
अचानक उनका बुबा बिते। आफ्नो शारीरिक र मानसिक अवस्थाप्रति संवेदनशील र सबभन्दा बढी माया गर्ने बुबा नै बितेपछि मखमलको मन बिथोलियो। उनलाई संसार नै टुटेको जस्तो भयो।
एकाएक उनले घर छाड्ने निर्णय गरे।
'बुबा बितेको एक वर्षपछि मैले घर छोड्ने निर्णय लिएँ,' उनले भने।
त्यतिन्जेलमा स्नातक तहको दोस्रो वर्षको परीक्षा दिइसकेका थिए। लामो कपाल, दाह्रीजुँगा झपक्कै थियो। आँखा मात्र देखिने गरी एउटा फेटाले टाउको र अनुहार ढाके अनि घरबाट निस्के।
'केटीजस्तो भएर हिँड्दा हिंसा हुन सक्छ भन्ने लागेर भनेर म केटाजस्तो भएर हिँडेको थिएँ,' उनले भने।
घर छोडेर त निस्के तर कहाँ जाने?
कैलालीको धनगढीमा नाता भाइ पर्ने आफन्त बस्थे। उनकै आश्रय पाउने आशामा धनगढी जाने बस समाए। सोचेजस्तै भयो। अपरिचित ठाउँ उनका लागि अलिक खुकुलो पनि भइदियो।
बीस रूपैयाँ तिरेपछि साइबरमा क्याफेमा एक घन्टा इन्टरनेट चलाउन पाइने समय थियो। इन्टरनेटले उनलाई धेरै कुराको जानकारी दियो। आफू लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको व्यक्ति रहेछु भन्ने थाहा पाए।
'मैले म अन्तर्लिंगी हुँ भनेर थाहा पाउन सकेको थिइनँ,' मखमलले भने।
आफ्नो लैंगिकता थाहा पाएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूसँग सम्पर्क बढाए। एक साथीमार्फत यो समुदायका लागि काम गर्ने संस्थामा काम पनि पाए। यसबीच धनगढीबाट बाजुरा पुगेर स्नातक तहको अन्तिम वर्षको परीक्षा दिए। धनगढीबाटै स्नातकोत्तरको पढाइ पनि पूरा गरे।
यतिन्जेलमा उनले कपाल काटिसकेका थिए। दाह्रीजुँगा थिए, छाती पुरूषकै जस्तो, स्वर पनि पुरूषकै। पहिरन पुरूषकै भयो। उनी पुरूष समाजमै घुलमिल भए।
सात वर्षअघिको कुरा। उनी अचानक बिरामी परे। त्यो बेला उनी २७ वर्षका थिए।
स्वास्थ्य परीक्षण गर्दा उनको स्त्री प्रजनन अंगको भित्र पाठेघर हुनुपर्ने ठाउँमा अण्डकोष देखियो। अरू परीक्षण पनि गरियो। बाहिरी प्रजनन अंग महिलाको भए पनि अन्य सबै अवस्थाले उनी पुरूष नै हुन् भन्ने भयो।
महिलामा एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन हुन्छन्। यी दुई हर्मोनले महिलाको प्रजनन प्रणाली विकास र व्यवस्थित गर्छन्। शरीरमा महिलाका जैविक गुण विकास गर्छन्। पुरूषमा टेस्टोस्टेरोन हर्मोन उत्पादन हुन्छ। यसले शरीरमा पुरूषका जैविक गुण विकास गर्छ र पुरूष प्रजनन प्रणाली व्यवस्थित गर्छ।
मखमलमा टेस्टोस्टेरोन हर्मोन थियो। त्यसैले उनमा पुरूषमा हुने जैविक गुण थिए। पाठेघरको ठाउँमा पुरूष अण्डकोष थियो। यस्ता विशेषता भएकाहरूलाई अन्तर्लिंगी भनेर चिनिन्छ। अन्तर्लिंगी पनि समलिंगी, पारलिंगी, क्वीर, द्विलिंगी लगायत जस्तै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायकै व्यक्ति हो।
अन्तर्लिंगी व्यक्तिमा जन्मँदा निर्धारित लैंगिकता हुर्किँदै जाँदा मेल नखाने हुन्छ। जन्मिँदा बाहिर देखिएको प्रजनन अंगअनुसार शारीरिक विकास नभई विपरीत किसिमको हुँदै जान्छ। यस्तो व्यक्तिको आन्तरिक प्रजनन अंगमा कतै विपरीत लिंगी अंग विकास भएको हुन्छ। यस्तो अंग अक्सर बाहिरबाट नदेखिने हुन सक्छ। विकिरण (रेडिएसन) प्रविधि वा शल्यक्रियाबाट मात्र थाहा हुन्छ।
'आफ्नो लैंगिक अवस्थाको अन्यौल सकिएपछि र पुरूषका रूपमा घुलमिल हुन पाएपछि मेरो आत्मविश्वास बलियो भयो। हिम्मत र हौसला बढ्यो,' मखमलले भने।
उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूसँग भेटघाट बढाए। आफूजस्तै व्यक्तिका व्यथा र भावनाहरू थाहा पाए। उनलाई यो समुदायका कथा बाहिर ल्याउनुपर्छ भन्ने लाग्यो।
मखमलकै पहलमा सन् २०१६ मा राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा नेपालमा 'अन्तर्लिंगी गोष्ठी' भयो। गोष्ठीमा अन्तर्लिंगीका समस्या र हित प्रवर्द्धनबारे छलफल गरियो। सहभागीहरूले अनुभव आदानप्रदान गरे।
अन्तर्लिंगीका अधिकारबारे संस्थागत रूपमा आवाज उठाउँदै जाँदा उनी 'इन्टरसेक्स एसिया' नामको संस्थाको बोर्ड सदस्य भए। हाल नेपालमा पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरूले अन्तर्लिंगीका सवाल समेट्न थालेका उनी बताउँछन्।
अन्तर्लिंगी व्यक्तिका कथा खोज्दै जाँदा उनले अनेक कहरहरू फेला पारेका छन्। सामाजिक दुर्व्यवहार त छँदै छ, धेरै समस्या सरकारी र अन्य संस्थागत कागजपत्रमा छ।
उनी आफैं पनि यस्तै समस्यामा थिए। उनको जन्म दर्ता छोरीको थियो, सोहीअनुसार २०६३ सालमा नागरिकता बन्यो। यस्ता सरकारी प्रमाणकै कारण उनले 'शिक्षक सेवा आयोग' को परीक्षा दिन पाएनन्। बैंक खाता खोल्न र राहदानी बनाउन झन्झट भयो।
उनले आफ्नो भुक्तमान सुनाए, 'मेरो नागरिकतामा महिला नाम हुँदा धेरै दुःख पाएको छु। पुरूष जस्तो देखेर यो त तिम्रो नागरिकता होइन, कसरी महिला भयौ भन्थे।'
लैंगिकता फरक परेका सरकारी प्रमाणपत्र सच्याउन धेरै हन्डर बेहोर्नुपर्छ। अनेक सिफारिस र मेडिकल परीक्षण रिपोर्ट समेत खोजिन्छ।
'कागजपत्र सच्याउने प्रक्रिया सहज हुनुपर्छ,' मखमल भन्छन्, 'मलाई मेरो लैंगिक पहिचान किशोरावस्थामा थाहा भयो तर मेरो जन्मदर्ता सच्चिएन। पुरूषका रूपमा नागरिकता लिन पाइनँ।'
निकै लामो प्रयासपछि जिल्ला प्रशासन कार्यालयले २०७६ सालमा उनको नागरिकताको लिंग जनाउने स्थानमा 'अन्य' लेखिदिएको छ। उनले रोजेअनुसार पुरूषको नाम लेखियो। राहदानी पनि यसैअनुसार नयाँ बनाए।
अन्तर्लिंगी व्यक्तिलाई हर्मोन उपचार गराएर बाहिरी प्रजनन अंगअनुसार यौनिकता विकास गराउने प्रयास हुन सक्छ। तर यसो गर्नु निकै जोखिमपूर्ण हुने उनी बताउँछन्। शल्यक्रिया वा हर्मोन उपचारबाट जन्मिँदाको लिंग कायम गर्न खोज्दा प्राकृतिक रूपमा त्यस्तो गुण विकास नहुन सक्छ। प्रजनन क्रोमोजोम पनि मिलाउन सक्दा मात्रै यस्तो उपचार सफल हुने उनले बताए।
'नेपालमा यस्तो उपचारबारे कुनै किसिमको कानुनी प्रबन्ध छैन। कुनै खास लिंग कायम गर्न कुनै किसिमको सर्जरी कति उपयुक्त छ भनेर गम्भीरतापूर्वक निर्णय लिनुपर्छ।'
कस्मेटिक शल्यक्रियाबाट अन्तर्लिंगी व्यक्तिको जन्मँदाको लिंगअनुसार शरीर बनाउन बन्द गर्नुपर्ने उनको धारणा छ।
'समाजमा छोराछोरीभन्दा फरक व्यक्तिको पनि जन्म हुन सक्छ भनेर डाक्टर र अभिभावक सचेत हुनुपर्छ। लैंगिक पहिचान भनेको आत्मनिर्णय हो। नीति र कानुन अन्तर्लिंगी अधिकारको बारेमा समावेशी हुनुपर्छ,' मखमलले भने।
अन्तर्लिंगी भएकाले भोग्नुपरेको दुर्व्यवहारकै कारण उनले आफ्नो भविष्यको सपना देख्न पाएनन्। आन्तरिक पीडामै लामो समय बित्यो। त्यसैले उनी अब आफूजस्तै अरूको सपना पूरा गर्न लागिपरेका छन्। अन्तर्लिंगी व्यक्तिमाथि हुने विभेद अन्त्यको अभियानमा अघि बढ्नुछ उनलाई। यस्ता व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारीमा र हकअधिकारका लागि आवाज आवाज बुलन्द पार्नुछ। लैंगिक तथा अल्पसंख्यक समुदायको हितका निम्ति ठोस उपलब्धि हासिल गर्नुछ।
यसै निम्ति मखमलले आफ्नै पहलमा एक संस्था बनाएका छन्।
भन्छन्, 'यसैमार्फत आफ्नो लक्ष्यमा अघि बढ्दै छु।'