तपाईंले डान्सिङ, सिङ्गिङ, कमेडी रियालिटी शो हेर्नुभएको होला नभए त्यस्ता कार्यक्रमको चर्चा सुन्नुभएको होला। तर कविताको पनि रियालिटी शो पनि हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ।
नेपालमा अहिले कविताको रियालिटी शो चलिरहेको छ। कविहरू पनि अरू विधाका कलाकारजस्तै हुन् भन्ने उद्देश्यले सञ्चालनमा ल्याइएको नेपालकै पहिलो कविता रियालिटि शो हो, पोएट आइडल। यो शोमा साहित्यप्रेमी र विशेष गरी कविता पारखीहरूले आफ्ना कला प्रस्तुत गरिरहेका छन्।
सुरूवातीका चरणमा खासै चर्चा बटुल्न नसकेको शोको फिनाले आज (शुक्रबार) हुँदैछ।
गत शुक्रबार भएको सेमिफाइनलबाट दुई जना आउट भए। तीमध्ये एक हुन्, मुनु अधिकारी।
पाल्पामा जन्मेकी २७ वर्षीया मुनु तीन पटकसम्म बटम टुमा पुगेर सेमिफाइनलसम्म पुगकी थिइन्। तर फाइनलमा उनले आफ्नो स्थान बनाउन सकिनन्।
‘जुन उद्देश्य लिएर आइडलमा सहभागी भएकी थिएँ, यहाँसम्म पुग्दा त्यो पूरा भयो’, उनले भनिन्।
पाल्पामा जन्मिएकी मुनु कैलालीको सुख्खडमा हुर्किइन्। पाल्पामा जीविकोपार्जन गर्न गाह्रो भएपछि उनको परिवार कैलाली बसाइ सर्यो।
कैलालीमा हुर्किएकी मुनु उच्च शिक्षाका लागि काठमाडौं आइन्। त्यसपछि फेरि सिए पढ्न भारत पुगिन्।
उनले कविता लेख्न थालेको छ वर्षमात्र भयो।
‘मैले सन् २०१७ मा पहिलो पटक आमा कविता लेखेकी थिएँ,’ उनी भन्छिन्, ‘अफिसमा हुँदा एकैचोटि केही कुरा फुर्यो र लेखें।
पाइला टेकेँ यो धर्तीमा आज
तर न्यानो लाग्छ तिम्रो काख
कतै ठेस लाग्न लाग्दा तिमीले सम्हाल्यौ
तर थाहा छैन आमा तिमी कता हरायौ
;सुरूमा उनले यी चार लाइन मात्र लेखेकी थिइन्।
‘पछि घर पुगेरमात्र यो कविता पूरा गरेकी थिएँ।’
मुनु आफ्नो जीवनको अहिलेसम्म महत्वपूर्ण भाग पोएट आइडल भएको बताउँछिन्।
‘आइडलमा हुँदा आफूलाई झन् चिन्ने मौका पाएँ,’ उनी भन्छिन्,‘मेरो विचार परिवर्तन भएको छ। मैले विभिन्न कुराहरूलाई हेर्ने नजरिया परिवर्तन भएको छ। एकदमै पोजिटिभ इम्प्याक्ट पारेको छ आइडलले मेरो जीवनमा।’
बिना कुनै योजना लेख्न मन लागेर लेखेको तर समयक्रमसँगै लेख्दै जाँदा लेख्न सक्छु भन्ने अनुभूति भएको उनले बताइन्।
‘कोरोना महामारीको बेला लकडाउन भएको थियो,’ उनी भन्छिन्, ‘त्यसबेला हो मैले पनि कविता लेख्न सक्छु है भनेर थाहा पाएको। त्योभन्दा अगाडि त खासै कविताहरू पढ्थिनँ। उति रूची पनि थिएन।’
मुनुले कविता लेख्दा सुरूवाती दिनहरूमा आफ्ना भोगाइ र मन छोएका तीता वा मीठा कुरा कवितामा उतार्थिन्।
उनी आज कविता लेख्छु भनेर बस्दिँनन्, जुनबेला फुर्छ, तत्कालै लेखिहाल्छिन्।
कविता लेख्न थालेपछि उनी एक्लै रमाउन थालिन्। एक्लै बसेर लेखेका कविता एक्लै नै वाचन गर्थिन्। आइडलमा जानु अगाडि मुनुले नेपग्याजमको सिस्टर च्यानल साइलेन्स लाउडरमा आफ्नो कविता ‘एक चेलीको पोएट्री पत्र’ प्रस्तुत गरेकी थिइन्। यो कविता युट्युबमा ४१ हजार पटक हेरिएको छ। यस कविता धेरैले रूचाएका थिए। उक्त कवितामा मुनुले बलात्कृत महिलाको अनुभव कवितामार्फत् सुनाएकी छिन्।
पोएट आइडलमा गएर उनले सुरूमा उनले ‘म हत्यारा हुँ आफ्नै सपना’को कविता सुनाइन्। त्यसैगरी चमेलीको रातो रिबन, बसन्मा फुलेकी पुष्पा, मेरो जीवनको पहिलो र अन्तिम पत्र 'मृत्युपत्र', गर्भ, तिमीसँग तिम्रो गाउँ घुम्न आउने छु जस्ता कविताहरू वाचन गरेकी थिइन्। उनले आइडलमा सुनाएका कविताका क्लिपहरू भाइरल भए। धेरैले त्यसमा टिकटकमा बनाए।
‘आत्मविश्वास नभई कविता लेखी आफैं वाचन गरिरहेको हुन्थें। तर कहिले पनि अरूलाई सुनाइनँ,’ उनी भन्छिन्, ‘मान्छेहरू धेरै देख्दा डर लाग्थ्यो। तर एकचोटि साइलेन्स लाउडरमा पहिलो पटक क्यामरा अगाडिमात्र कविता रिसाइट गर्न पाइन्छ भन्ने थाहा पाएको कारण पठाएकी थिएँ। पछि वाचन गर्ने मौका पाएँ।’
प्लेटफर्म खोजिरहेको बेला पोएट आइडल आएका कारण सिधै अडिसन दिन गएको उनी बताउँछिन्।
‘आफैंलाई आफूले आफ्ना कति परिधि भत्काउन सक्छु होला। म कतिसम्म जान सक्छु भनेर थाहा पाउन आइडलले सहयोग गर्छ भनेर अडिसन खुल्नासाथ गएकी थिएँ,’ उनले भनिन्।
अडिसन दिन उनी घरमा कसैलाई नभनिकन गएकी थिइन्। छनोट भएपछि मात्र घरपरिवारलाई थाहा दिएको उनी बताउँछिन्। आफ्नो जीवनमा कविता आशिर्वाद बनेर आएको उनको बुझाइ छ।
‘चार्टर्ड एकाउन्टेन्ट (सिए) पढे पनि कविता आफैं आशिर्वाद बनेर आएको हो,’ उनी भन्छिन्, ‘मैले अलिकति मेहनत गरेर मलजल गर्ने काम, अझ माझ्ने काम गरेकी हुँ।’
पहिले साइलेन्स लाउडरमा र आइडलमा कविता वाचन गर्दा मुनुले ठूलो फरक अनुभूति गरिन्।
‘पोएट आइडलले छोटो समयमै देश तथा विदेशमा सबैसामु तपाईंलाई चिनाइदिने काम गर्छ र चिन्छ। जुन अन्य ठाउँमा हुने हो भने समय लाग्छ। किनकी अन्य ठाउँका दर्शक आइडलको जति धेरै हुँदैनन्,’ उनी भन्छिन्।
सबै कविहरूको आफ्नै लेख्ने र बुझ्ने तरिका हुने मुनुले बताइन्। आइडलमा पनि सबैको आफ्नै शैली र तरिका छ।
‘सबैले आफ्नो भोगाइ र बुझाइ हुन्छ,’ उनी भन्छिन्, ‘त्यहीअनुसार कविताहरू लेखिएका हुन्छन्। तर आफ्नो भोगाइमात्र कविले लेख्छ भन्नेचाहिँ होइन।’
आफूले लेख्ने कविताहरूमा धेरै महिला पक्षको कुरा लेखिरहेको उनी बताउँछिन्। आफैं महिला भएर महिलाको कुरा राम्ररी देख्न, बुझ्न र अनुभव गर्न सक्ने भएर हुन सक्ने उनको बुझाइ छ।
‘हामीले देश, समाज, घर र परिवार बनाउनेजस्ता अनेकौं कुरा गर्छौं तर त्यसमा पनि महिलाको केही न केही योगदान त पक्कै पनि हुन्छ होला नि!,’ उनी प्रश्न गर्छिन्।
आइडलमा जानु अगाडि र अहिले कवितालाई हेर्ने नजर नै परिवर्तन भएको भन्छिन् मुनु।
पहिले जुन कविता बुझ्न जति गाह्रो हुन्छ त्योचाहिँ खत्रा कविता भन्ने सोचिने भए पनि अहिले बुझाइ फरक भएको उनले बताइन्।
‘कविता भनेको आम मानिसहरूले नबुझ्ने विधा हो भन्ने सोच थियो। त्यसैले नबुझ्ने गरी लेखिन्थ्यो। जुन कुरा त्यसबखत ठिक थियो होला। तर कविता भनेको साधारण हुनुपर्छ,’ उनी भन्छिन्, ‘जसको लागि कविता लेखेको हो उसले बुझ्ने त हुनुपर्यो नि।’
मुनुले ‘म हत्यारा हुँ’ भन्ने कविता वाचन गरेर अडिसनमा चुनिएकी थिइन्।
‘मेरा आँखा अगाडि कुनै ऐना नराखियोस्
म अब आफूलाई यो ऐनामा हेर्ने हैसियत राख्दिनँ
कैयौं सपनाहरूलाई एक एक गरी निमोठ्दै निचोर्दै त्यही भित्र राखेकी छु
म हत्यारा हुँ आफ्नै सपनाको,
म हत्यारा हुँ आफ्नै खुसीको।’
आफ्नै सपनाहरूलाई मारेको अनुभूति भएका कारण उक्त कविता लेखेको उनी बताउँछिन्।
‘मैले आफ्नै सपनाहरू मारेकी छु जस्तो लागेर त्यो कविता लेखेकी थिए,’ उनी भन्छिन्, ‘जुन कविता धेरै मानिसहरूले रूचाउनुभयो। तर जब धेरै मानिसहरूले त्यो कविता मन पर्यो भनेर धेरैले भन्नुभयो मलाई मन परेन। किनकी धेरै मानिसहरूले म जस्तै गरी आफ्ना सपनाहरू मार्नुभएको रहेछ नि त।’
आशुँ कविता राउण्डमा कविता लेख्न एकदमै गाह्रो हुने मुनुको अनुभव छ।
‘बटम टुमा परेको मानिसहरू आमनेसामने भएर कविता लेखिरहेको हुन्छ,’ उनी भन्छिन्, ‘के लेख्ने? कविता बन्छ कि बन्दैन पनि थाहा हुँदैन। त्यतिबेला अरू नै सोचिरहेको हुन्छ। विभिन्न कुराहरू मनमा खेलिरहेको हुन्छ।’
कविहरूसँग जमघट र यति लामो समयका लागि बसेको पहिलो पटक भएको मुनु बताउँछिन्।
‘सबै कविको आ-आफ्नो तरिका हुन्छ,’ उनी भन्छिन्, ‘अरूबाट धेरै कुराहरू सिक्न पाइयो। कतिपय कुराहरूलाई अर्को तरिकाले पनि हेर्न सकिने रहेछ भन्ने बनायो। तर अरूको सोच र तरिका आफूमा हाबी हुन दिन हुँदैन भन्नेमा सचेत हुनुपर्छ।’
आफूले केही कुरा लेख्छु भनेर सोचेको तर अर्को साथीले सोही कुरा लेखिसकेको हुने उनको भनाइ छ। एउटै कुरालाई धेरै जनाले हेर्दा एउटै कुरा आउँदा त्यो संयोग हुनर चोरेको नहुने मुनको बुझाइ छ।
भावी योजना खासै नबनाएको भएता पनि कविता भने लेखिरहेने उनी बताउँछिन्।
‘खासै योजना बनाएकी त छैन तर कवितासँगै अगाडि बढ्नेछु। कविता लेख्ने नै छु’, उनले भनिन्।
अहिले फर्किए हेर्दा आफैंले लेखेका कविताहरू के लेखें भन्ने हुने उनी बताउँछिन्।
पहिले कविताहरू धेरै लेख्दा आफूले राम्रो लेखिरहेको छु भन्ने हुन्थ्यो तर अहिले कविता धेरै लेखेर मात्र केही हुँदैन भन्ने थाहा पाएको उनी बताउँछिन्।
‘साहित्य क्षेत्रमा पनि विशेषगरी कविताले थोरै शब्दमा कम हरफमा मीठो तरिकामा सबै कुराहरू भन्न सक्छ,’ उनी भन्छिन्, ‘कसैलाई हप्काउन पर्यो भने पनि नानाथरीका कुराहरू लेखिरहन जरूरी पर्दैन। बिम्बहरू प्रयोग गरेर धेरै कुरा भन्न सकिन्छ। कविता विधा भनेको साहित्य क्षेत्रको राजा विधा हो।’
कवि बनेर नै जीविकोपार्जन गर्न गाह्रो हुन्छ कि भन्ने उनको आशंका छ।
'अहिले कविता लेखेर नै बाँच्न सकिँदैन जस्तो लाग्छ,' उनी भन्छिन्, 'त्यसैले सिएलाई करिअरको रूपमा अगाडि बढाउने योजना छ। तर कविता विधा पनि छोड्दिनँ। किनकी कविताले मलाई मुनु भनेर चिनाएको छ। मेरा दर्शक/स्रोताहरूलाई केही न केही सुनाउने नै छु।'