नेपालकै पहिलो कविता रियालिटी शो ‘द पोएट आइडल’ को विजेता बनेपछि निलम गुरूङको व्यस्तता अहिले बढेको छ। शुक्रबारमात्रै नेपालकै पहिलो पोएट आइडल बनेकी निलमलाई अहिले अन्तर्वार्ता दिनमै फुर्सद छैन।
उनले पोएट आइडलको विजेता बनेर १० लाख नगद र पाँच लाख बराबरको पुस्तक सम्झौता पुरस्कार पाएकी छन्।
सिक्किममा जन्मेर हुर्किएकी ३१ वर्षीया निलम आइडलको टाइटल जित्दा एकदमै खुसी भएको बताउँछिन्।
‘टाइटल जित्न पाउँदा एकदमै खुसी भएकी छु,' उनी भन्छिन्, 'अब भने प्रतिस्पर्धा सुरू भएको छ। किनभने अब कसरी यो उपाधिलाई न्याय दिने र कसरी आफ्ना कविताहरूलाई अझ राम्रो बनाएर अगाडि लैजाने भन्ने चुनौती र जिम्मेवारी थपिएको छ।’
कुनै पनि उपाधिमात्र जितेर केही नहुने उनी जिकिर गर्छिन्। साहित्य क्षेत्रलाई कसरी अगाडि बढाएर उपाधिलाई न्याय दिन सकिन्छ भनेर लाग्नुपर्नेमा उनी जोड दिन्छिन्।
निलमले कविता लेख्न थालेको नौ वर्ष भयो। पहिलोपटक स्कुलबाट घर फर्किंदा एउटा नानीले पैसा माग्दा हात खुट्टा छ काम गरेर खानुपर्छ भनेर भन्दा ती बच्चाले आफ्नो कथा सुनाउँदा मन छोएको उनी बताउँछिन्।
'सामान्य हातखुट्टा भएका मानिसले पैसा माग्दा हामीले काम गरेर कमाउनुपर्नेमा जोड दिन्छौं,' उनी भन्छिन्, 'मैले पनि त्यसबखत त्यही भन्दा उसले आफ्नो आमा भर्खरै बितेको बताएकी थिइन्।'
त्यसबेला उनले 'सानो बेलाको व्यथा' कविता लेखेको बताइन्।
पोएट आइडलले नै सिक्किमदेखि नेपाल ल्याइदिएको उनी बताउँछिन्।
'पहिलेदेखि नै नेपाल आउने इच्छा थियो,' उनी भन्छिन्, 'पोएट आइडलले नै त्यो सौभाग्य जुराइदियो।'
निलम कविता पुग्नपर्ने भुइँमान्छेमा पुग्न नसकेको जिकिर गर्छिन्। पहिले सुरूआतीका चरणमा आफ्ना भावनाहरू पोख्न मात्र कविता लेख्थिन्। तर बिस्तारै कविले लेखेका कविताले समाज परिवर्तन गर्न सक्ने हैसियत राख्ने बुझिन्। त्यसपछि उनमा कविताप्रति मोह झन् बढ्दै गयो। अनि कविताबारे अध्ययन गर्न थालिन्।
'पहिलेदेखि सिर्जना गर्न रूचाउने भएता पनि कलेज पढ्ने बेलासम्म पनि मलाई कुनै कविताले प्रभावित गर्न सकेको थिएन,' उनी भन्छिन्, 'सायद मैले पढ्न नरूचाएर पनि होला। कविताले जुन चर्चा र परिचर्चा पाउनुपर्ने थियो त्यो पाएको थिएन र मैले कविता पढ्नुपर्छ भनेर थाहा पाइनँ।'
सिक्किममा निलम कक्षा १० सम्मका विद्यार्थीलाई पढाउँछिन्। उनी शिक्षण पेशामा लागेको ६ वर्ष भयो। निलम आफूले पाएको उपाधि आफ्ना विद्यार्थीमार्फत् प्रस्तुत गर्ने योजना रहेको बताउँछिन्। यस्तै समय-समयमा पहिलेझैं कविता दर्शकस्रोता समक्ष पस्किरहने उनको भनाइ छ।
हेर्नुस्, निलम गुरूङको भिडिओ स्टोरी :