काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टेलिफोन, इन्टरनेट तथा केबलका तार व्यवस्थापन गर्नेबारे शुक्रबार सामाजिक सञ्जालमा लेखेको स्ट्याटसले तरंग उत्पन्न गराएको छ।
उनले लेखेका छन्, 'समस्या यथावत् राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौं। आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाडौं महानगर आफ्नो अधिकार क्षेत्रभित्र रहेर कार्य गर्न तत्पर छ। सहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाका लागि हामी क्रियाशील छौं। यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुगेमा हामी खेद प्रकट गर्दछौं।'
मेयरको उक्त स्ट्याटसको आसय के हो भन्नेबारे हामीले शुक्रबारै महानगरका प्रवक्ता नवीन मानन्धरसँग कुरा गर्दा उनले तार व्यवस्थापनका लागि वैशाख २७ सम्मको समय दिएको र त्यो अवधिमा काम पूरा नभए महानगरले आफैं काट्ने चेतावनी दिए।
‘सूचनाको मिति सकिएपछि पनि व्यवस्थापन भएन भने हामी आफैं तार काट्छौं,’ उनले भने, ‘सधैं काम गर्न खोज्दा काम गर्न नदिएर हुन्छ? सबैको आज्ञा मानिराख्न जरूरी छैन। हामीले सम्बन्धित निकायसँग धेरैपटक समन्वय गर्न खोज्दा पनि अटेर गरियो। अब काठमाडौंका ३२ वटै वडाका तार वडा तहबाटै भए पनि काट्छौं।'
काठमाडौं महानगरले तार व्यवस्थापन गर्नू भन्दै वैशाख १२ गते १५ दिने अल्टिमेटमसहितको सूचना जारी गरेको थियो।
यति कम समयमा व्यवस्थापन गर्न नसकिने भन्दै इन्टरनेट सेवाप्रदायक, केबल सञ्चालक तथा अन्य व्यवसायीहरूले कुरा उठाएपछि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले वैशाख १२ गते नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहयोग माग्यो।
त्यसपछि संघीय मामिला मन्त्रालयले अन्धाधुन्ध तार नकाट्न आग्रह गर्दै काठमाडौं महानगरसहित देशभरकै स्थानीय तह सरकारलाई वैशाख १७ गते पत्राचार गर्यो।
काठमाडौंका मेयर बालेन शाहको स्ट्याटस यही पत्राचारको प्रतिक्रियास्वरूप आएको हो।
मेयरको स्ट्याटस र वैशाख २८ देखि अव्यवस्थित तार काट्ने महानगरको चेतावनीले काठमाडौंको इन्टरनेट र केबल सेवा प्रभावित हुने खतरा बढेको छ। दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान) ले लामो समयदेखि गुजुल्टिएर बसेको तार १५ दिनभित्र व्यवस्थापन गर्न नसकिने भन्दै यसका लागि आवश्यक तयारी भइरहेको बताएका छन्। महानगरले जथाभाबी तार काट्दा बैंक, अस्पताल, स्कुलदेखि हरेक कार्यालय र घर-घरमा चल्ने इन्टरनेटसमेत बन्द हुने उनीहरूको भनाइ छ।
त्यसो भए के काठमाडौं महानगरले समन्वय गर्दागर्दै इन्टरनेट सेवाप्रदायक तथा केबल सञ्चालकहरूले आफ्नो तार व्यवस्थापन गर्न अटेर गरेका हुन् त?
यसबारे हामीले महानगरकै सम्बन्धित विभाग प्रमुख र निजी व्यवसायीहरूसँग कुरा गर्यौं। उनीहरूको कुरा सुन्दा तार व्यवस्थापनलाई लिएर महानगर र निजी व्यवसायीबीच समन्वय नै नभएको बुझिन्छ।
महानगरको सार्वजनिक-निजी साझेदारी इकाई प्रमुख महेश काफ्ले यस विषयमा विद्युत प्राधिकरणसँग मात्र कुराकानी भएको र निजी व्यवसायीसँग छलफल गर्न बाँकी रहेको बताउँछन्।
'हामीले पहिले विद्युत प्राधिकरणसँग तार व्यवस्थापनको विषयमा कुरा गरेका थियौं,' उनले भने, 'सबै पोलका तार प्राधिकरणले व्यवस्थापन गर्ने हुँदा उसैसँग मात्र छलफल गरियो। त्यस बेला निजी क्षेत्रसँग कुरा भएन। अब भने निजी क्षेत्रसँग पनि छलफल गरेर तार व्यवस्थापनलाई अगाडि बढाउँदैछौं।'
इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) का प्रमुख कार्यकारी सुभाष खड्का पनि काठमाडौं महानगरले समस्या बुझ्दै नबुझी एकतर्फी रूपमा तार काट्ने धम्की दिएको बताउँछन्।
'हामीसँग भूमिगत तार तान्ने पूर्वाधार नभएकाले तत्काललाई पोलबाट तान्नुको विकल्प छैन,' उनले भने, 'महानगरले समस्या नबुझी एकैचोटि तार काट्ने चेतावनी दियो। त्यसो भयो भने काठमाडौंको इन्टरनेट सेवा ठप्प हुन्छ र यसले सबै क्षेत्रमा असर पर्छ।’
महानगरको सूचनापछि आफूहरू सम्बन्धित विभागसँग निरन्तर सम्पर्कमा रही छलफल गरिरहेको पनि उनले बताए।
सहरका खम्बामा विभिन्न निकायका तार गुजुल्टिएर बसेकाले सबभन्दा पहिला तार पहिचान गरी व्यवस्थापनको योजना अघि बढाउनुपर्ने उनको भनाइ छ।
महानगरका काफ्ले र आइस्पानका खड्काको कुराबाट महानगरले विद्युत प्राधिकरणसँग मात्र छलफल गरेर इन्टरनेट, केबल लगायत निजी व्यवसायीहरूलाई तार व्यवस्थापनको निम्ति १५ दिने अल्टिमेटम दिएको बुझिन्छ।
यति मात्र होइन, महानगरले दूरसञ्चार प्राधिकरणसँग पनि अहिलेसम्म एक चरणको मात्र छलफल गरेको छ। त्यही छलफलबाट तार व्यवस्थापनको गृहकार्य अघि बढे पनि कसरी गर्ने टुंगो लागिसकेको छैन। प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरूसँग छलफल गर्दैछ भने महानगरसँग थप कुराकानी गर्ने तयारी पनि छ।
यसरी सम्बन्धित निकायहरूबीच छलफल जारी हुँदाहुँदै र निजी व्यवसायीसँग कुरा गरेर तार व्यवस्थापनको प्रक्रिया टुंगो नलाग्दै मेयर बालेन शाहले हतारमा स्ट्याटस लेखेको देखिन्छ। महानगरले त्यही स्ट्याटसका आधारमा वैशाख २८ बाट तार काट्ने चेतावनी दिएर अन्यौल बढाएको छ।
तार व्यवस्थापन कसरी गर्ने भन्नेबारे ललितपुर महानगरको अनुभवबाट काठमाडौंले सिक्न सक्छ।
ललितपुरले गत फागुन १२ गते सूचना जारी गर्दै सम्पदा क्षेत्रमा भएका तार ७ दिनभित्र व्यवस्थापन गर्न भनेको थियो। त्यसैबीच महानगर, दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायक संघबीच छलफल भयो। तार व्यवस्थापन सहजीकरण गर्न महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा एउटा समिति गठन गरियो, जसमा प्राधिकरण र आइस्पानका सदस्यसमेत थिए।
'काम गर्न सहज होस् भनेर तीनवटै निकायको प्रतिनिधिसहित समिति गठन गरेर त्यही समितिबाट तार व्यवस्थापनको कार्ययोजना बनायौं,' ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भने, 'त्यसैअनुसार सेवाप्रदायकलाई कुनै असर नहुने गरी तार व्यवस्थापन प्रक्रिया अघि बढाएका छौं।'
ललितपुर महानगरले अपनाएको प्रक्रिया के हो त?
हाम्रो यो प्रश्नमा अर्यालले भने, 'हामीले आइस्पानको समन्वयमा जो सेवाप्रदायक हो, उसैलाई आ-आफ्नो तारको वैकल्पिक व्यवस्था गर्न लगायौं। कुन-कुन ठाउँमा कहिले-कहिले तार व्यवस्थापन गर्ने भनेर समय पनि तोक्यौं। यसरी काम गर्दा पूरै ललितपुरको इन्टरनेट सेवा ठप्प हुन पाएन। समय तालिकाअनुसार आज एउटा ठाउँमा, भोलि अर्को ठाउँमा गर्दै तार व्यवस्थापन प्रक्रिया अघि बढ्दैछ।'
उनका अनुसार पहिलो चरणमा थापाथलीदेखि जावलाखेलको मुख्य सडकको तार व्यवस्थापन गरिएको थियो। त्यसपछि रातो मच्छिन्द्रनाथ रथयात्राको बाटोमा पर्ने पाटनको भित्री सहरको तार व्यवस्थापन गरियो।
'यो काम अहिले पनि जारी छ,' उनले भने, 'हामी अब दोस्रो चरणको काम गर्न रूट तय गर्दैछौं। रूट तय भएपछि त्यसैअनुसार सम्बन्धित सेवाप्रदायक कम्पनीहरूले आ-आफ्नो तारको व्यवस्थापन आफैं गर्ने छन्।'
तार व्यवस्थापन भनेको प्राविधिक काम भएकाले महानगरलाई भन्दा इन्टरनेट सेवाप्रदायक कम्पनीहरूलाई नै यसको राम्रो ज्ञान हुने उनले बताए। उनीहरूसँग समन्वय गरी समय-तालिका निर्धारण गर्ने हो भने पूरै सहरको सेवा अवरूद्ध नहुने गरी क्रमिक रूपमा तार व्यवस्थापन गर्न सकिने उनको भनाइ छ।
'कुन तार आवश्यक हो र कुन होइन भन्ने आइस्पानका प्राविधिकहरूलाई राम्ररी थाहा हुन्छ,' उनले भने, 'जथाभाबी काट्दा अत्यावश्यक तारसमेत काटिएर सेवाग्राहीलाई मर्का पर्न सक्छ। त्यसैले यो महानगर, दूरसञ्चार प्राधिकरण र आइस्पान तीनैवटा निकायको समन्वयमा गर्नुपर्ने काम हो।'
दूरसञ्चार प्राधिकरणका उपनिर्देशक तथा सहायक प्रवक्ता अच्युतानन्द मिश्र काठमाडौंका हकमा पनि विभिन्न ठाउँको रूट तय गरेर मात्र तार व्यवस्थापन गर्नुपर्ने बताउँछन्। यसका लागि काठमाडौं महानगरसँग पहिलो चरणको छलफल भइसकेको उनले जानकारी दिए।
उनका अनुसार तार व्यवस्थापनका लागि काठमाडौंमा १० वटा रूट तयार पारिँदैछ। माइतीघर-एयरपोर्ट, त्रिपुरेश्वर-महाराजगन्ज, माइतीघर-नारायणहिटी-महामहाराजगन्ज, बालुवाटार-महाराजगन्ज, माइतीघर-कंलकी, न्यूरोड-वसन्तपुर-असन, स्वयम्भू-कालिमाटी-बल्खु लगायत रूट तोकिएका छन्। कुन रूटमा कहिलेदेखि काम सुरू गर्ने भन्नेबारे बैठक बसेर टुंगो लगाइने मिश्रले बताए।
'भोलि आइस्पानसँग बैठक बस्दैछौं,' उनले भने, 'आइस्पानसँग छलफल गरेपछि महानगरसँग फेरि बैठक बस्छौं।'
यी सबै पक्षसँग कुराकानी गरेपछि हामीले काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरलाई शनिबार फेरि यसबारे सोधेका थियौं। उनी अघिल्लो दिनभन्दा लचिलो सुनिए। सरोकारवाला निकायहरूसँग छलफल गरेर त्यसै आधारमा तार व्यवस्थापन प्रक्रिया अघि बढाउने उनले बताए।