अहिले संस्कृत दरबार हाइस्कुल परिसर जानुभयो भने सिमी खुर्सानी, साग, गोलेभेंडा, भिन्डीजस्ता तरकारीमा चिचिला लागेको देख्न सक्नुहुन्छ। हरिया फर्सीका मुन्टा र साग पनि त्यहीँ पाइन्छ। अरू विभिन्न तरकारीका बिरूवा पनि हुर्किरहेका छन्। यी तरकारी रोप्ने, गोडमेल गर्ने सबै काम यही विद्यालयमा पढ्ने विद्यार्थी आफैंले गरेका हुन्।
विद्यालय परिसरमा भएको खाली ठाउँमा तरकारी रोपी विद्यार्थीहरूले सीपमूलक तालिमअन्तरगत कौसी खेती सिकिरहेको रानीपोखरीस्थित दरबार हाइस्कुल संस्कृत विद्यालयका शिक्षक निश्चल अधिकारीले बताए।
'हाम्रोमा अहिले तरकारी फलिरहेको छ,' उनले भने, ' केही तरकारी त हामी आफैंले पकाएर खायौं। केही त बेच्यौं पनि।'
संस्कृत विद्यालयमा गत फागुनदेखि यो कार्यक्रम सुरू गरिएको हो।
'सबैलाई खेती सिकाउन नसकिने हुँदा गत वर्ष फागुनमा कक्षा ८ का ८५ जना विद्यार्थीलाई सिकायौं। ८ का विद्यार्थी यो शैक्षिक सत्रदेखि ९ मा पुगेको र उनीहरूलाई सिकाउने काम भइरहेको छ,' उनले भने, 'उनीहरूलाई विभिन्न समूहमा विभाजन गरी निश्चित ठाउँमा कृषि सिकाइरहेका छौं।'
विद्यार्थीलाई पाठ्यक्रमभित्र रहेर माटो, मल र बीउका प्रकार चिनाउने, सानो क्षेत्रफलमा पनि कसरी धेरै उत्पादन गर्ने, खेती गर्दा बिरूवालई आवश्यक पर्ने विभिन्न तत्वका बारेमा जानकारी दिने, जैविक मल बनाउनलगायतका कुरा सिकाउने गरिएको उनले बताए।
यस्तै, उनका अनुसार परामर्शदाता तथा विज्ञहरू कुन काम कसरी गर्ने भनेर सहयोग लिइने गरिएको छ। बिनामाटो थोरै ठाउँमा खेती गर्न मिल्ने प्रविधि टावरग्यानिक्स खेतीसमेत गरिएको छ।
‘यहाँ उत्पादन भएको तरकारी छात्रावासमा प्रयोग गर्ने गरेको छ,' उनले भने, 'स्कुलकै क्यान्टिन र छात्रावासमा तरकारी बिक्री गरेको रकम विद्यार्थी कल्याण कोष बनाएर राख्ने योजनामा छौं। जुन विद्यार्थीको क्षमता विकासमा खर्च गर्ने छौं।’
बाझो खन्ने, ड्याङ बनाउने, बीउ उमार्ने, उमारिएका बीउ रोप्ने, गोडमेल गरी मलजल गर्नेलगायत सबै काम विद्यार्थीहरूले शिक्षकले निगरानीमा गर्ने गरेको उनी बताउँछन्।
उनका अनुसार अहिले महानगरको अनुदानमा सीपमूलक तालिम सुरू गरिएको हो। तर यसलाई पछि पनि निरनतरता दिने विद्यालयको योजना रहेको उनले बताए।
'महानगरले यो वर्ष बजेट छुट्याएन भने पनि हामी यो कार्यक्रमलाई निरन्तरता दिने योजनामा छौं,' उनले भने, 'सधै विज्ञहरू बोलाएर सिकाउन सकिँदैन। एक किलो गोलभेंडा फलाउँदा ५ सय पर्यो भने त्यो व्यवहारिक हुँदैन।'
त्यसको लागि सुरूमा विज्ञहरूबाट ८-९ कक्षाका विद्यार्थी र शिक्षकलाई सिकाउने र पछि उनीहरूले नै आफूले पाएको ज्ञान सानालाई सिकाउँदै लैजाने योजना बनाइरहेको उनले बताए।
विद्यालयबाट सिकेको सीप घरमा समेत प्रयोग गरिरहेको विद्यार्थीहरू बताउँछन्। त्यहीमध्येका एक हुन् रूबेन खड्का।
'बाहिरबाट दाइहरूले कसरी कृषि गरिन्छ भनेर सिकाउनुभयो छ,' उनले भने, 'स्कुलमै सिकेर घरमा धनियाँ, प्याज, लसुन र सिमी लगाएको छु।'
यस्तै आयुष देवकोटा पनि पहिले कृषिबारे ज्ञान नभएता पनि अहिले स्कुलमा सिकेको सीप घरमा प्रयोग गरिरहेको बताउँछन्।
'पहिले आमाले तरकारी रोप्नुहुन्थ्यो। मैले त गर्दिँन थिएँ,' उनले भने, 'कसरी ड्याङ बनाउँछ थाहा थिएन। तर अहिले स्कुलमा सिकेँ। केही समयअघि त मैले नै तरकारीको बीउ किनेर लगेँ। घरको कौसीमा धनियाँलगायत रोपेको पनि छु।'
घरमा मकैसमेत रोपेको उनले बताए। यसरी आफैंले रोपेको तरकारी टिपेर खान पाउँदा छुट्टै आनन्द हुने विद्यार्थीहरूको भनाइ छ।
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा नमूना विद्यालय कार्यक्रमका लागि ९० लाख बजेट छुट्याएको थियो।
नमूना विद्यालय कार्यक्रमका लागि महानगरले रानीपोखरीस्थित दरबार हाइस्कुलका दुइटा स्कुल (भानु स्कुल र संस्कृत स्कुल) र क्षेत्रपाटीको कन्या माध्यमिक विद्यालयलाई राष्ट्रिय नमूनाका रूपमा विकास गर्न अनुदानस्वरूप प्रत्येकलाई ३० लाख रुपैयाँ उपलब्ध गराएको महानगरका शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले जानकारी दिए।
'विद्यालयलाई डिजिटल बनाउनेदेखि प्राविधिक शिक्षामा जोरड दिने उद्देश्य लिएर उक्त रकम अनुदानमा दिइएको हो,' उनले भने, 'सोही कार्यक्रमको एउटा पाटो भनेको शिक्षालाई सीपसँग जोड्नु हो। जसका लागि विद्यार्थीहरूलाई सीपमूलक शिक्षा दिने काम भइरहेको छ।'
महानगरले सामुदायिक विद्यालयहरूका साथै संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न, शिक्षकहरूलाई प्रविधिमैत्री सीप विकास, शिक्षण कला, क्षमता विकास र असल अभ्यास शिक्षण सिकाइ आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चाचालनमा ल्याइएको उनले बताए। यस्तै पूर्वाधार विकासलगायत आवश्यकता रहेको जुनसुकै क्षेत्रमा विद्यालयले लगानी गर्न सक्छ।
उनका अनुसार ५ लाख भने अनिवार्य विद्यार्थीको सीपमूलक तालिममा प्रयोग गर्नुपर्छ।
'सोही कार्यक्रमअन्तर्गत यी तीन वटा विद्यालयमा काम भइरहेको छ,' उनले भने, 'संस्कृत विद्यालयमा कौसी खेती, भानु विद्यालयमा इनोभेटिभ क्लास (नृत्य, संगीत, नाटक,चित्रकला, फुटबल र बास्केटबल) र कन्या विद्यालयले ऐतिहासिक महत्वका पोखरी इखा पोखरी अध्ययन गरी ऐतिहासिक महत्वबारे बुझ्ने र पाठ्यक्रम तयारी गर्ने काम गर्ने छ।'
सबै विद्यालयमा काम भइरहेको छ। तर संस्कृत विद्यालयमा भने कौशी खेतीको रिजल्ट देखिन थालेको उनी बताउँछन्।
‘अहिले यी तीन वटा विद्यालयमा परीक्षण गरिरहेका छौं,' उनले भने, 'यसको नतिजा हेरेर राम्रो भए सबै विद्यालयमा विस्तार गर्ने योजना बनाएका छौं।'
यस्तै यही शैक्षिक सत्रदेखि महानगरले पुस्तकविहीन शुक्रबार कार्यक्रमको थालनीसमेत गरेको छ। जसमा विद्यार्थीहरूले व्यावहारिक र जीवनउपयोगी सीप सिक्ने महानगरले बताएको छ।
त्यस्तै, कक्षा ९ मा नमूनाका रूपमा थालिएको ९० घन्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छ। फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ एन्ड इलेक्ट्रिकल), विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा तालिम दिने महानगरको योजना छ।