पारलैंगिक महिला छुटकनु चौधरीले ७५ वर्षको उमेरमा नागरिकता पाएकी छन्।
जन्मको लैंगिकता पुरूष भए पनि उनी आफूलाई महिला भनेर चिनाउँछिन्। पारलैंगिक महिलाकै रूपमा नागरिकता लिने मन उनलाई थियो, मिलेन।
आफूलाई छुटकनु चौधरी भनेर चिनाउने उनको नागरिकता राम डगौरा नाममा बनेको छ। तैपनि उनी खुसी छन्।
'महिलाकै लुगा लगाएको फोटो राख्ने मन थियो तर भएन। तैपनि म खुसी छु। पुरूष होस् वा महिला, नागरिकता त पाएँ। अब सरकारको भत्ता पनि खान पाउने भएँ,' उनले भनिन्।
कैलालीको भजनी नगरपालिका वडा नम्बर १ मा बसोबास गर्दै आएकी छुटकनुले नागरिकता पाएसँगै अब वृद्धभत्ता पाउने भएकी छन्।
उनलाई नागरिकता बनाउने प्रक्रिया र पहलमा विर्खराज चौधरीले सहयोग गरेका हुन्। आगामी भदौदेखि छुटकनुले सरकारबाट उपलब्ध गराउने वृद्धभत्ता पाउने भएकी उनले बताए।
'छुटकनुको वृद्धभत्ताका लागि कार्ड बनिसकेको छ। अब तीन महिनापछि भत्ता पाउनुहुन्छ,' विर्खराजले भने।
मितिनी नेपालको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका जेष्ठ नागरिकहरूको परियोजनामा विर्खराज 'फोकल पर्सन' का रूपमा कार्यरत छन्। छुटकनुको नागरिकता पहलका लागि आफू पटकपटक वडा कार्यालय धाएको उनले बताए।
'धेरै दौडधूप गर्यौं, आखिरमा उहाँले नागरिकता पाउनुभयो। हामी धेरै खुसी छौं,' उनले भने।
विर्खराजका अनुसार छुटकनुलाई आफ्नो वास्तविक पहिचानसहितकै नागरिकता बनाउने चाहना थियो। तर पुरूषको नाममै नागरिकता पाउन संघर्ष गर्नुपरेको उनको भनाइ छ।
'पहिचानसहितको नागरिकता बनाइदिन मन भएर मात्र भएन, पुरूषकै नाममा बनाउन त कठिनाइ भइरहेको थियो। धेरै वर्षको प्रयासले पाइयो,' उनले भने।
पहिचानसहितको नागरिकता माग्दा चिकित्सकीय प्रमाण माग्ने चिन्ताले पनि स्थानीय सरकारलाई भन्न नसकेको विर्खराज बताउँछन्। पछि मिल्यो भने पहिचानसहितकै नागरिकताका लागि अपिल गर्ने उनले बताए।
भजनीमा जन्मिएकी छुटकनुले जीवनका सुरूआती दुई दशकभन्दा धेरै समय कमैया भएर बिताएकी थिइन्। त्यो बेलासम्म उनलाई नागरिकताबारे जानकारी नै थिएन। कमैयाबाट मुक्त भएपछिका धेरै वर्ष पनि यसै बिते।
पछि नारायण चौधरीको संगतमा उनले नागरिकताबारे थाहा पाइन्। पारलैंगिक महिला नारायण उनका मिल्ने साथी हुन्। नारायणकै सहयोगमा छुटकनु नीलहीरा समाज (ब्लु डाइमन्ड सोसाइटी) मा पुगिन्। नीलहीरा समाज यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको हकहितका लागि कार्यरत संस्था हो। समाजमा पुगेपछि छुटकनुले आफ्नो समुदायबारे बुझ्ने मौका पाइन्।
उनीहरूले वडाध्यक्षलाई भेटेर छुटकनुको नागरिकताबारे कुरा गरे। उनको उमेर धेरै बितेकाले मुचुल्का बनाउनुपर्छ भनियो। छुटकनुका आमाबाबु उनी दस वर्ष उमेरको छँदै रोगका कारण बितिसकेका थिए। केही वर्षअगाडि नागरिकताका लागि पहल गर्दा वडाले मुचुल्का बनाएर पठाइदियो र सनाखत गर्ने मान्छे लिएर आउन भन्यो।
छुटकनु आफ्ना दाजुभाउजूको आडैमा बस्थे। सनाखत गरिदिने दाजु नै थिए। तर त्यसको केही समयमै दाजुभाउजूको पनि मृत्यु भयो। उनीहरूका सन्तानले सनाखत गरिदिन मिल्थ्यो। तर विभिन्न कारण र प्रशासनिक झमेलाले छुटकनुको नागरिकता बनाउने काम रोकिइरह्यो।
अहिले भने विर्खराज लगायतको सहयोगमा छुटकनुको सपना पूरा भएको हो। छुटकनुकी भतिजीमार्फत नाता प्रमाणित गरी नागरिकताका लागि सिफारिस गरिदिएको वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले जानकारी दिए।
छुट्कनुलाई यसअघि उनको उमेरमै अलमल थियो। हामीसँग एक वर्षअगाडि कुरा गर्दा उनले आफू २०१४ सालमा जन्मिएको बताएकी थिइन्। तर अहिले उनको नागरिकतामा जन्म साल २००५ छ। आफन्तसँग सोधपुछ गरी कुरा बुझ्दा छुटकनु ७५ वर्षकै भएको विर्खराजले बताए।
छुटकनुलाई भने उमेरको कुनै चिन्ता छैन, नागरिकता पाएकोमा सन्तोक छ। राम डगौराको नाममा बनेको नागरिकताले उनको मुहार उजेलिएको छ।
गाउँमा उनलाई कसैले बज्यै भन्छन् त कसैले आमा। कोही दिदी भन्छन् त कोही फुपू। आफ्नो उमेरअनुसार साइनो लगाएर सम्मानपूर्वक बोलाउँछन्।
सम्झना भएसम्म उनलाई १४–१५ वर्षकी हुँदा आफ्नो मन किन केटीको जस्तो छ भन्ने प्रश्न उठेको थियो। जवाफ थिएन। आफू अरू केटाभन्दा फरक छु भन्ने पक्का भए पनि गाउँमा कसैलाई सुनाउने आँट आएन।
'मेरो मनमा किन म केटीजस्तो हुन थालेको छु, किन केटाको लुगा मन पर्दैन भन्ने कुरा आउँथ्यो। तर आफैंलाई थाहा थिएन,' छुटकनुले भनिन्, 'साहुका घरमा धेरै काम गर्नुपर्थ्यो। आफ्नो बारेमा सोच्ने फुर्सद पनि हुँदैन थियो। तर मलाई केटा मान्छेहरूसँग बोल्न मन लाग्थ्यो। आफ्नो मनको कुरा पोख्न मन लाग्थ्यो। भन्न डर लाग्थ्यो।'
२०५७ सालमा कमैयामुक्तिको घोषणा भयो। छुटकनुले साहुको घरबाट छुटकारा पाइन्। छुटकारा त भयो तर जीवन चलाउने कसरी? आफ्नो सम्पत्ति केही थिएन। साहुको काम गरेर बस्न, खान र लाउन चलेको थियो। तर एकातिर मुक्तिको खुसी, अर्कातिर जीवनको अनिश्चित बाटो भइदियो।
छुटकनु काम खोज्दै धनगढी पुगिन्। घर निर्माणमा श्रमिकको काम पाइन्। यही सिलसिलामा भेटिइन् नारायण चौधरी। छुटकनु र नारायण नजिकिए अनि आपसमा मनका कुरा पोख्ने साथी भए। नारायण पुरूष शरीरमा पारलैंगिक महिला थिइन् र उनको पहिचान सार्वजनिक थियो। नारायणले छुटकनुलाई भेट्नासाथ उनको लैंगिक अवस्थाको भेउ पाइन्।
नारायण त्यो दिन सम्झिन्छिन्, 'पहिलो पटक भेट्दा उनी (छुटकनु) केटीजस्तै थिइन्। बोली केटीजस्तै, अरू हाउभाउ र शैली केटीकै थियो। सुरूमा मैले आफ्नो बारेमा सुनाएँ। त्यसपछि उनले पनि आफूलाई केटीजस्तै बन्न मन लाग्छ भनिन्।'
नारायणसँग कुरा भएपछि छुटकनु आफ्नो अवस्थाबारे प्रष्ट भइन्। महिला नै हुँ र महिलाजस्तै भएर बाँच्न सहज हुन्छ भन्ने कुरामा उनलाई कुनै शंका रहेन।
छुटकनु भन्छिन्, 'नारायणसँग भेट भएपछि मैले सबै कुरा बुझेँ। मेरो जीवन नै फेरियो।'
यसपछि उनलाई महिलाको पहिरन लगाउन र शृंगार गर्न कुनै संकोच भएन। श्रम गरेर बचाएको पैसाले महिलाका लुगा किनिन्। लुंगी र टिसर्ट लगाउन थालिन्। टाउकोमा पछ्यौरी बाँध्न थालिन्। टीका, माला, झुम्का लगाइन्।
छुटकनु अविवाहित नै छन्। उनले बिहेको इच्छा गर्नै पाइनन्। शरीर र मनको बेमेलको अलमलमा उमेरको लामो हिस्सा बित्यो।
मुक्त कमैयालाई बसोबासका लागि भनेर छुटकनु र उनका दाजुलाई संयुक्त रूपमा सरकारले तीन कट्ठा जमिन दिएको थियो। त्यसमै छुटकनुको झुपडी छ।
श्रम गरेर गुजारा चलाउँदै आएकी छुटकनु भन्छिन्, 'नागरिकतामा म छुटकनु नै भएको भए, महिलाकै लुगामा फोटो खिच्न पाएको भए अझै दंग पर्थेँ होला। तर मेरो चाहना पूरा भएकामा धेरै खुसी लागेको छ।'