सात वर्षदेखि पर्वतारोहणमा काम गरिरहेका ङिमा टसी शेर्पाको मोबाइलमा गत सोमबार विदेशी नम्बरबाट कल आयो। विदेशबाट कसैले आफूलाई फोन गर्ला भन्ने नसोचेका बेला मोबाइल स्क्रिनमा देखिएको नम्बरले उनी सुरूमा अचम्ममा परे।फोन उठाए।
उताबाट फोन गर्ने मान्छे अंग्रेजीमा बोल्यो- नयाँ जीवन दिएकोमा धेरै धेरै धन्यवाद छ! हामी तीन जना एकदिन भेट्नुपर्छ है!
एकछिन त ङिमाले को मान्छे बोलिरहेको छ भन्ने ठम्याउन सकेनन्। अकमक्क परे। केहीबेरमा उनले थाहा पाए- फोन मलेसियाबाट आएको हो र फोनमा उनलाई धन्यवाद दिने मान्छेलाई उनले केही दिनअघि मृत्युको मुखबाट जोगाएका थिए।
यसपालि गृष्मकालीन सगरमाथा आरोहण खुलेसँगै ङिमा र उनका मिल्ने साथी गेल्जे शेर्पा आ-आफ्नो समूहलाई लिएर सगरमाथा चढ्न गएका थिए। उनीहरूको समूहमा सबै आरोही विदेशी थिए।
जेठ ४ गते ङिमा सगरमाथाको चुचुरोमा जान आफ्नो समूहसहित क्याम्प ४ मा पुगेका थिए। त्यही दिन गेल्जे भने शिखरबाट फर्किरहेका थिए।
बिहान ४ बजेतिर ङिमाको रेडियो सेटमा आवाज आयो। उताबाट गेल्जे बोलिरहेका थिए।
गेल्जेले आफूलाई परेको समस्या सुनाएनन् तर पानी ल्याएर क्याम्प-४ भन्दा तीन सय मिटर माथि आउन भने। केही समस्या पर्यो होला भनेर ङिमा पानी बोकेर उकालो लागे।
गेल्जेलाई भेटेपछि थाहा भयो उनलाई पानी होइन अरू नै सहयोग चाहिएको रहेछ। गेल्जेले एक जना मलेसियन आरोही अचेत अवस्थामा फेला पारेको बताए।
शिखर चढेर झर्ने क्रममा गेल्जेले रातिको साढे १२ बजे ती मलेसियन आरोहीलाई बाटोमा भेटेका थिए। उनका हातखुट्टा राम्ररी चलेका थिएनन्। उनी केही भनिरहेका थिए तर त्यो बुझिने खालको थिएन।
सगरमाथामा ८ हजार मिटर माथिको उचाइलाई ‘डेथ जोन’ भनिन्छ। यो ठाउँमा सबै आरोहीलाई कठिन भइरहेको हुन्छ। तर गेल्जे बेहोस भएर लडिरहेका ती मलेसियनलाई त्यहीँ छोडेर आउन सकेनन्। उनलाई बचाउन सकिन्छ होला भन्ठानेर ४ घन्टा जति बोकेर ल्याए।
केही मिटर तल ल्याएपछि उनले साथी ङिमासँग सहयोग मागेका रहेछन्।
मलेसियनको अवस्था देखेपछि ङिमालाई पनि उनलाई बचाउनु पर्छ भन्ने लाग्यो।
‘क्याम्प-४ भन्दा झन्डै ३ सय मिटरमाथि पुगेपछि गेल्जेसँग भेट भयो,’ ङिमाले सेतोपाटीसँग भने, ‘गेल्जेले ती मलेसियनलाई साढे १२ बजे ८ हजार ४५० मिटरको उचाइबाट उद्धार गरेर ल्याएको रहेछ।’
गेल्जेसँग गएका आरोहीहरूलाई क्याम्प-४ बाट प्यारासुटमा बेस क्याम्प झार्ने योजना थियो। आफूले लिएर गएका आरोहीलाई बीचैमा छोडेर उद्धार गर्ने मिल्दैनथ्यो। गेल्जेले क्याम्प-४ बाट आरोहीहरूलाई प्यारासुटबाट उडाएर बेस क्याम्प पठाए।
त्यसपछि दुबै जना मलेसियन आरोहीलाई पनि तल झार्नका लागि लागे।
‘क्याम्प-४ बाट कालो म्याटलगायत उद्धार गर्न आवश्यक पर्ने सामग्री भाइहरूसँग मगायौं,’ उनले भने, ‘ती मलेसियनलाई कठिनाइ नहोस् भनेर फोर्समा अक्सिजन र औषधी खुवाई राम्ररी प्याक गरी क्याम्प-३ मा बोकेर तल पुर्याएका थियौं।’
क्याम्प-४ बाट चट्टान भएका ठाउँमा बोक्दै र हिउँमा घिसार्दै क्याम्प-३ सम्म झारेको ङिमा बताउँछन्। मलेसियनलाई उद्धार गर्न झन्डै पन्ध्र घन्टा लागेको थियो।
ङिमाका अनुसार क्याम्प-३ मा पुर्याउँदा नै मलेसियनको जिउ तात्न थालेको थियो। अक्सिजनको मात्रा राम्ररी पुगेपछि र औषधीले काम गरेपछि उनी होसमा आए, बोल्न थाले।
त्यहाँबाट हेलिकप्टरमा उनलाई काठमाडौं पठाइयो। बाटोमै बेहोस भएर लडेका ती आरोही बाँच्ने भए भनेर गेल्जे र ङिमालाई खुसी लाग्यो।
उनले सोचेका थिए- काठमाडौं पुगेपछि उनीसँग भेट हुन्छ होला।
ङिमा र गेल्जे काठमाडौं आइपुग्दा मलेसियन आरोही आफ्नो देश गइसकेका रहेछन्।
मलेसिया पुगेपछि आफ्नो ज्यान जोगाइदिएकोमा धन्यवाद दिन गत सोमबार उनले ङिमालाई फोन गरे। ती आरोहीको फोनले ङिमालाई एक जना मानिसको ज्यान जोगाउन सकेकोमा खुसी लाग्यो।
पर्वतारोहीको रूपमा ङिमाले काम गरेको झन्डै सात वर्ष भयो। सोलुखुम्बुको थामे गाउँमा जन्मेका २९ वर्षीया ङिमा टसी शेर्पाले छ पटक सगरमाथा आरोहण गरिसकेका छन्।
यसअघि ७५०० मिटरमाथि समस्यामा परेको आरोहीलाई ङिमाले उद्धार गरेका थिए। तर ८ हजार मिटरमाथिबाट कसैलाई उद्धार गरेको भने यो पहिलो पटक हो।
‘यसअघि ८ हजार मिटरमाथि लाशहरू मात्रै देख्थेँ,’ उनी भन्छन्, ‘तर मर्न लागेको मान्छे पहिलोपटक देखेको थिए। बचाउन सकिने मान्छेलाई बचाउनुपर्छ भनेर उद्धार गरेका थियौं। बाँच्ने मान्छेलाई यत्तिकै छोड्न सकिदैँन। मानवताको नाताले भए पनि बचाउनुपर्छ। त्यसैले हामीले कोशिश मात्र गरेका थियौं।’
८ हजार माथिको उचाइबाट मलेसियनलाई उद्धार गर्न निकै कठिन भएको उनको अनुभव छ।
‘हिँड्न एउटामात्र डोरी हुन्छ। त्यहीँबाट तल जाने र माथि आउनेको भीडले गर्दा ट्राफिक हुन्छ। त्यसमाथि डोरीमा क्ल्याम्पर अल्झेर लड्ने डर पनि हुन्छ,’ उनले भने, ‘अर्कोतर्फ भिरालो चट्टानमाथि आइसमा चिप्लेर लडिएला कि भन्ने भय हुन्छ।’
आफ्नो ज्यानको जोखिम नमोली र आवश्यक पर्ने सुरक्षाको विधि अपनाएर समस्यामा परेका मान्छेलाई सहयोग गर्न ङिमा अरूलाई आग्रह गर्छन्। यसले सगरमाथा र नेपालीबारे सकारात्मक सन्देश जाने उनले बताए।
‘हामी नेपाली हौं नि,’ उनले भने, ‘सगरमाथामा कसैलाई अप्ठेरो पर्दा हामीले सहयोग गर्नुपर्छ। त्यसमाथि मानवताको नाताले पनि समस्यामा परेकालाई सकेसम्म सहयोग गरे धर्मै हुन्छ।’
हेर्नुस भिडिओ: