अमेरिकामा 'कम्युनिटी वर्क' मा स्नातक पढिरहेकी सृच्छा प्रधान नेपाल फर्किने बाटो खोज्दै थिइन्।
धेरै समयसम्म उनले विभिन्न कारण खोजिरहिन्। त्यही बेला मिस नेपाल हुँदै थियो। यो पनि एक राम्रो कारण हुन सक्ने उनलाई लाग्यो। यसलाई धेरै गम्भीरताका साथ भने लिइनन्।
उनी स्नातक अन्तिम वर्षमा पढ्दै थिइन्। हजुरबुबाले उनलाई 'मिस नेपालका लागि आवदेन खुलेको छ, भर' भने।
'बाले पनि केही देखेरै त भन्नुभएको होला भन्ने सोचेँ,' उनले भनिन्, 'मैले प्रयासै गरिनँ भने त यो बाटोले कता पुर्याउँछ भन्ने मलाई थाहै हुँदैन। त्यसैले कुनै पनि उपाधि पाउनुभन्दा पनि आफ्नो कुराहरू राख्नकै लागि पनि मिस नेपालमा सहभागी हुने सोचेँ।'
उनी यसकै लागि अमेरिकाबाट नेपाल आइन्, यस वर्ष मिस नेपाल वर्ल्डको उपाधि पनि जितिन्।
'उपाधि जितेपछि लामो सास फेरेकी थिएँ,' उनले भनिन्, 'एकछिन त के भइरहेको छ भनेर थाहा पाउनै मुश्किल भयो। एक्कासि सानैदेखिका कुराहरू सम्झनामा आयो। अब यो त यात्राको सुरूआत हो भन्ने भावना आएको थियो।'
सानोमा सृच्छालाई मिस नेपाल भनेको बाहिरी स्वरूप 'सुन्दर' हुनु मात्र हो भन्ने लाग्थ्यो। हुर्किँदै जाँदा पूर्वमिस नेपालहरू शृंखला खतिवडा, अनुष्का श्रेष्ठ लगायतलाई देखेपछि उनको धारण बदलियो। मिस नेपाल भनेको बाहिरी स्वरूपको सुन्दरता मात्र नभई धेरे कुरा भएको उनी बताउँछिन्।
'मिस नेपाल भनेको एउटा मञ्च हो जहाँ युवापुस्ताको प्रेरणाको स्रोत बन्न सकिन्छ। सानो हुँदा जसरी बुझेकी थिएँ, त्यो होइन रहेछ,' उनले भनिन्, 'मिस नेपालसँग बौद्धिक क्षमता हुँदैन भन्नु भनेको हामीले उनीहरूलाई उचाइमा पुग्न नदिनु हो। मिस नेपालले आफूसँगै आफ्नो समाजलाई अगाडि बढाउँदै गइरहेका हुन्छन्।'
मिस नेपालपछि आफूमा पनि धेरै परिवर्तन पाएको सृच्छा बताउँछिन्।
'मिस नेपालअघिको सृच्छा सिक्दै थिई र अझै पनि सिक्दै छे,' उनले भनिन्, 'अहिलेको सृच्छा अझै आत्मविश्वासी भएकी छे। यो यात्रामा आउनुअघि पनि आफूलाई विश्वास गर्छु भनेरै आएकी थिएँ तर त्यसको वास्तविक अर्थ अहिले बुझेँ।'
सृच्छा सानोमा ‘ट्युन टाइम’ भन्ने कार्टुन चलाउँथिन्। अन्तर्मुखी स्वाभाव भए पनि स्टेजमा गएर काम गर्न सानैदेखि रूचि भएको उनले बताइन्।
'तपाईंले ग्ल्यामर के हो भन्ने भाष्य आफैंले स्थापना गर्न सक्नुहुन्छ,' उनले भनिन्, 'मिस नेपालको अवधिभरि दीर्घकालीन फेसन भनेको के हो र कस्तो हुन्छ, क्लिन मेकअप कस्तो हुन्छ भनेर जान्न मन थियो। जुन कुरा मैले त्यहाँ सिकेँ।'
यसो त उनी कुनै पनि 'सिस्टम' लाई एकोहोरो पछ्याउनुको साटो आफैं नयाँ बाटो पत्ता लगाउनुपर्नेमा जोड दिन्छिन्। नयाँ कुरा सिक्दा केही समय लागे पनि त्यसैमा निरन्तर लाग्दा सम्भव हुने उनको ठम्याइ छ।
सृच्छा जलवायु परिवर्तनका लागि काम गर्न चाहन्छिन्। कला क्षेत्र पनि मन पराउने उनले कुनै न कुनै रूपमा यो क्षेत्रमा आबद्ध हुने बताइन्।
यसपटक मिस वर्ल्ड-२०२२ मा सृच्छा जान पाउँदिनन्। तर यसले उनलाई अर्कोपटकको मिस वर्ल्डका लागि तयारीका लागि समय मिलेको बताउँछिन्।
'अहिले जान नपाएर पनि खुसी लागेको छ,' उनले भनिन्, 'किनभने मैले सन् २०२२ की मिस नेपाल प्रियंका रानीको मिस वर्ल्ड तयारी नजिकबाट हेर्न पाउने छु। उहाँले एकदमै मेहनत गरिरहनुभएको छ। यसले गर्दा मैले पनि उहाँको यात्राबाट केही सिक्ने मौका पाउने छु।'
मिस नेपालको प्लेटफर्मबाट जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्य रहेको उनी बताउँछिन्।
'यो प्लेटफर्मलाई फोहोर व्यवस्थापन र महिला उद्यमीलाई अगाडि बढाउन प्रयोग गर्ने योजना छ,' उनले भनिन्, 'भावी दिनमा मेरो नामले मलाई नचिने पनि कामले चिनून् भन्ने लाग्छ।'
यस्तै भविष्यमा नीतिनिर्माणमा समेत काम गर्न मन भएको सृच्छाले बताइन्।
'मलाई राजनीति एकदमै ठूलो जिम्मेवारीको काम हो भन्ने लाग्छ जसका लागि धेरै पढ्नुपर्छ,' उनले भनिन्, 'मलाई समुदाय स्तरमा बसेर कस्तो नीति निर्माण गर्दा राम्रो हुन्छ भनेर काम गर्न मन छ।'