‘अब हामीलाई हरेक शुक्रबार स्कुलमा बाहिरबाट मिसहरू आएर कसरी मेकअप गर्ने सिकाउनुहुन्छ नि ममी,’ आमाले पुलुक्क छोरीको अनुहार हेरिन्, कुरा सुनिरहिन्।
‘अबदेखि शुक्रबार बुकको भारी ब्याग पनि लग्नुपर्दैन, होमवर्क पनि हुँदैन ममी!’ उनी मुसुक्क हाँसिन्।
स्कुलमा किताबको पढाइ नहुने र नयाँ कुरा सिक्न पाउने खबरले हौसिएकी छोरीको मुहार देखेर आमा दंग थिइन्।
केही साताअघि शुक्रबारको दिन छोरीलाई लिन जाँदा त्रिपुश्वरस्थित विश्व निकेतन स्कुलबाहिर आमा-छोरीबीच भएको संवाद हो यो।
यही शैक्षिक सत्रदेखि काठमाडौं महानगरपालिकाका सबै विद्यालयमा हरेक शुक्रबार 'बुक फ्रि डे' लागू भएको छ। बुक फ्रि डे लागू गर्न महानगरले 'पाइलटिङ'को रूपमा कक्षा ९ का विद्यार्थीलाई विभिन्न ९० घण्टाको पाठ्यक्रम तयार पारी सीपमूलक तालिम दिँदै आएको छ। जसमा कृषि तथा सहरी खेती, सौन्दर्य तथा केश श्रृंगार, काष्ठकला, प्लम्बिङ, सिलाइ-बुनाइ, मूर्तिकला लगायतका सीप विद्यार्थीलाई सिकाउने काम भइरहेको छ।
सधैं झोला भरी किताब बोकेर जाने विद्यार्थीहरू अहिले शुक्रबार बिनाकिताब स्कुल जान पाउँदा मख्ख छन्। तिनै मध्येकी एक हुन् पद्मकन्यामा अध्ययनरत कमला भण्डारी।
‘पहिले सधैं किताब बोकेर स्कुल आउनुपर्थ्यो अनि किताबबाट मात्र पढाइ हुन्थ्यो,’ सिलाइ सिकिरहेकी कमलाले भनिन्, ‘कहिलेकाहीँ अल्छी पनि लाग्थ्यो। तर अहिले पढाइसँगै सीप पनि सिक्न पाइरहेका छौं। अहिले स्कुल आउन एकदमै रमाइलो र खुसी लाग्छ।’
अहिले कमला सिलाइ-बुनाइ सिक्दै छन्। पहिले स-साना लुगाहरू च्यातिँदा पनि टेलरमा पुग्ने आजभोलि उनी आफैं लुगा सिलाउँछिन्।
‘अहिले कसरी मेसिन चलाउने भनेर आउँछ,’ उनले भनिन् , ‘पेटीकोट कसरी काट्ने-सिलाउने भनेर पनि सिकेँ। अब त घरमा आफैं सिलाउन सक्छु।’
उनले स्कुलमा भइरहेको तालिममै लुगा हेबिङ गर्न, टाँक घर राख्न, खिप राख्न लगायतका काम सिकेकी छिन्। स्कुलमा सिकेको सीपमूलक तालिम जीवनमा उपयोगी बन्ने उनको भनाइ छ।
यस्तै विश्व निकेतन माध्यमिक विद्यालयमा अध्ययनरत इशा बरालले प्लम्बिङ सिकिरहेकी छन्। उनले कसरी पाइपहरू काट्ने, विभिन्न किसिमका पाइपहरू कसरी जोड्ने भनेर सिकिरहेकी छन्।
‘मैले स्कुलमा धारा, पोलिथिन, सिटी-भिसी पाइपहरू कसरी जोड्ने, खानेपानीको मोटर कसरी जडान गर्ने, कस्तो कस्तो ठाउँमा राख्ने र कसरी प्रयोग गर्ने भनेर सिकेँ,’ प्लमर सिकिरहेकी इशाले भनिन्, ‘पहिले साना-साना कामलाई समेत मान्छे बोलाउनुपर्थ्यो। अहिले सानो काम पर्दा बनाउने मान्छे बोलाउनु परेको छैन। धारा चुहिँदा आफैं फेर्छु।’
यस्तै, अर्को कक्षाकोठामा केही विद्यार्थीहरू मूर्तिकला सिकिरहेका थिए। मूर्तिकला सिक्दा बनाइएका घर, नेमप्लेट, बास्केट, उल्लु, खरायो लगायतका कोठामा कुनामा सुकाउन राखिएको दृश्य देखिन्थ्यो।
‘अहिले मान्छेको मूर्ति कसरी बनाउने भनेर सिकिरहेका छौं,’ मूर्तिकला सिकिरहेकी एक विद्यार्थीले भनिन्, ‘पहिले पढाइ-पढाइ हुँदा अल्छी लाग्थ्यो। अहिले विभिन्न क्रियाकलापहरू हुँदा स्कुल आउन पनि जाँगर चल्छ।’
कक्षा ९ का विद्यार्थीहरूले बुक फ्रि डे का दिन रूची लगाएर सीपमूलक तालिम सिकिरहेको विश्व निकेतन विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए।
‘शुक्रबार कक्षा ९ का बाहेक अन्य विद्यार्थीहरूलाई विभिन्न क्रियाकलाप गराउने गरेका छौं,’ उनले भने, ‘अन्य कक्षाका विद्यार्थीलाई हस्तलेखन, चित्रकला, निबन्ध लेखन, हाजिरीजवाफ प्रतियोगिता, नृत्य, गायन लगायत गराउने गरेका छौं। दिनहुँ प्रयोग हुने विभिन्न कुराहरू सिकाउने गरेका छौं।’
यस्तै, कक्षा १० का विद्यार्थीलाई भने सैद्धान्तिक ज्ञानसँगै मेल खाने प्रयोगात्मक सीपहरू सिकाउने गरेको उनी बताउँछन्।
बुक फ्रि डे सञ्चालन गर्न आवश्यक पर्ने सामग्री र सोही अनुसार भौतिक पूर्वाधार नहुँदा खर्चिलो र कठिनाइ भएको उनको जिकिर छ।
‘सीपमूलक तालिमका लागि जस्तो किसिमको कोठाहरू चाहिन्छन्, त्यस्ता कोठाहरू हामीसँग छैनन्,’ उनले भने, ‘सीपमूलक तालिमका लागि आवश्यक सामग्रीको व्यवस्थापन नहुँदा कठिनाइ हुने गरेको छ।’
विद्यार्थीहरू नयाँ सीप सिक्दा एकदमै चासो दिएर सिक्ने गरेको प्रशिक्षक संगीना खड्गी बताउँछिन्।
‘पढाइसँगै सीप सिक्न पाइयो भनेर विद्यार्थीहरू एकदमै दंग हुनुहुन्छ,’ उनले भनिन्, ‘तर कार्यक्रम अलि ढिला सुरू भएको र असार मसान्तभित्रै क्रेडिट आवर सक्नुपर्ने बाध्यताले अलिकति कठिनाइ छ।’
क्रेडिट आवर असार मसान्तसम्म सक्न गाह्रो हुने हुँदा बिदाका दिन पनि कक्षा सञ्चालन गरिरहेको उनले बताइन्।
‘शनिबार एकदिन आराम गर्न पाए हुन्थ्यो भनेर विद्यार्थीहरूले कुरा गर्नुहुन्छ,’ उनले भनिन्, ‘तर पनि जिज्ञासा राखेर बिदाको दिनसमेत सीप सिक्न आउनुहुन्छ।’
अहिले कक्षा ९ का विद्यार्थीलाई पनि शुक्रबारै शिक्षामा सीप तालिम दिइरहेको महानगरका शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले बताए।
'बुक फ्रि डे र शिक्षामा सीप तालिम भिन्न हुन्,' उनले भने, 'शिक्षामा सीप तालिम अहिले कक्षा ९ लाई मात्र दिइएको छ। जुन प्लस टु सम्मका विद्यार्थीलाई दिइने गरी विस्तार गरिनेछ। तर बुक फ्रि डे सबै तहका विद्यार्थीका लागि हो।'
महानगरले यो आर्थिक वर्ष शिक्षामा सीप तालिमका लागि दुई करोड बजेट विनियोजन गरेको थियो। जुन कार्यक्रम अहिले महानगरका ५६ वटा विद्यालयमा सञ्चालन भइरहेको उनले बताए।
यस्तै महानगरले अतिरिक्त क्रियाकलापका लागि विनियोजन गरेको एक करोड बजेट नै बुक फ्रि डेमा प्रयोग गरिएको छ। यस कार्यक्रमका लागि महानगरका ९९ वटा विद्यालयमा एकदेखि दुई लाखसम्म बजेट दिएको छ।
यसरी बुक फ्रि डेका दिन पाएको ज्ञान सीपले विद्यार्थीहरूमा विद्यालय जान रूची बढेको छ। अर्कोतिर नयाँ सीप सिक्न उनीहरू उत्तिकै उत्साहित र हर्षित छन्। यो कार्यक्रमको निरन्तरता भए विद्यालयमा विद्यार्थीहरूले जीवन उपयोगी सीप सिकेर पछि आफ्नो रूचीको क्षेत्रमा काम गर्न सहज वातावरण सृजना हुने र बजारमा श्रम क्षेत्रमा समेत योगदान दिनेछन्। त्यसपछि विद्यार्थीहरूले पनि श्रमको सम्मान गर्नुपर्छ भन्ने बुझ्नेछन् र उक्त भाव सानैदेखि उत्पन्न हुनेछ।