हड्डी खिइने भनेको उमेर बढ्दै जाँदा देखिने समस्या हो। कुनै चोटपटक लागेको थियो भने जोर्नीहरू भएको भागमा कतै खिइने कतै पलाउने भएर साँघुरो हुने अथवा जोर्नी बांगो हुने हुन्छ। त्यसलाई हामी हड्डी खिइने भन्छौं। त्यो प्राय: ढाडमा घुँडामा कट्टीमा र जोर्नीहरूमा हुन्छ।
कतै खिइएर ठूलो हुन्छ भने कतै हड्डी पलाएर आपसमा ठोक्किएर अथवा एउटै ढिक्का बन्ने हुनसक्छ। यसले गर्दा धेरै खालका समस्या आउन सक्छ। हड्डी खिइएर बाथ समेत हुन्छ। नसा च्यापिएर पनि दु:ख हुन्छ।
हड्डी खिइने आफैंमा रोग होइन। जसरी पानी तान्ने मोटरको क्षमता घट्दै जान्छ। त्यस्तै उमेर बढ्दै गएपछि यो खिइने हुन्छ। अर्को मान्छेको काम, बसाइ र रहनसहनले खिइन्छ। हड्डी आफैंभन्दा पनि अरू कुनै कारणले खिइने हो।
उमेर बढ्दै गएर खिइएको छ भने खिइने क्रम पूरै रोक्न त सकिँदैन तर कम गराउन सकिन्छ। त्यसका लागि औषधि र थेरापीको प्रयोग गर्नुपर्छ। अर्को आफ्नो काम, व्यायाम केले गर्दा हो त्यो अनुसार ध्यान दिनुपर्छ।
घुँडा, कट्टी, ढाड र घाँटीको हड्डीहरू खिइन्छ। जसरी ढाडको हड्डी खिइन्छ त्यसरी नै घाँटीको हड्डी खिइन्छ। काम गराइ, बसाइ रहनसहन नमिले चोट लागेर अनि बाथको कारणले हड्डी खिइन्छ। हड्डी खिइने कारण उस्तै भए पनि उपचार केही फरक हुनसक्छ।
घुँडाको हड्डी खिइयो भने सुरूमा आराम गर्नुपर्छ। त्यसपछि आवश्यकता अनुसार थेरापी गर्नुपर्छ भने औषधि पनि दिनुपर्छ। त्यति गर्दा पनि भएन भने घुँडामै इन्जेक्सन लगाउनुपर्छ। जसले गर्दा खिइने क्रम कम हुन्छ भने दुख्न पनि कम हुन्छ। यति गर्दा समेत भएन भने घुँडाको जोर्नी प्रत्यारोपण गर्नुपर्छ।
कट्टीको हड्डी खिइँदा जोर्नी फेर्न मिल्दैन। घाँटीको हड्डी खिइँदा अपरेसनभन्दा थेरापी र औषधिमा जोड दिइन्छ। कुनै उपाय लागेन भने मात्र अपरेसन गर्नुपर्छ।
मान्छेको तौलको भार घुँडाले थेगेको हुन्छ। सबै तौललाई धान्न पर्ने भएकाले पनि अझै गाह्रो हुन्छ। त्यसैले यो पीडालाई कम गर्न लौरीको प्रयोग गर्नु राम्रो हो। जसले गर्दा दुखाइ कम हुन्छ भने हिँड्न समेत सजिलो हुन्छ। हामी नेपालीको बानी के छ भने लौरी टेक्यो, प्लाष्टर लगायो भने घाँटीमा कलर लगायो भने बिरमी भएछ क्यारे भन्छन् भने लाग्छ। तर लौरो टेक्दा धेरै फाइदा हुन्छ।चिकित्सकले लौरी टेक्नु भन्यो भने टेक्नु राम्रो हो।
(चितवनको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरका कार्यकारी अध्यक्ष रहेका अर्थोपेडिक सर्जन डा.प्रमोद लामिछानेसँग सेतोपाटीका लागि सन्जिब बगाले र राजेश घिमिरेले भिडिओ कुराकानी छन्।)