पछिल्लो समय सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले अभद्र व्यवहार गर्दै ठेलागाडा नियन्त्रणमा लिएको भिडिओहरू आइरहेका छन्।
बुधबार बिहान मात्रै युवाहरूले 'गरिबको चमेली' गीत गाउँदै ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै बागदरबारस्थित महानगरपालिका भवनअघि प्रदर्शन समेत गरे।
यसै सन्दर्भमा हामीले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई नगर प्रहरीलाई कार्यसम्पादन गर्न कस्तो निर्देशन दिइएको र अभद्र व्यवहार गर्ने नगर प्रहरीलाई कस्तो कारबाही गरिन्छ भन्ने प्रश्न सोधेका छौं।
केही दिनदेखि सामाजिक सञ्जालमा नगर प्रहरीको कार्यसम्पादनबारे आइरहेको भिडिओप्रति महानगर सचेत रहेको प्रमुख पाण्डेले बताए।
'सामाजिक सञ्जालमा धरपकड भएको भनेर आएका भिडिओमा हामी सचेत छौं,' उनले भने, 'ती भिडिओले हाम्रो काम गर्ने शैलीमा परिवर्तन ल्याउनुपर्छ भन्ने बुझाएको छ। त्यसमा हामी काम पनि गर्छौं। आज मात्रै आचरणका विषयमा सबै नगर प्रहरीलाई ब्रिफिङ समेत दिएको छु।'
यस्तै, पाण्डेका अनुसार नगर प्रहरीलाई कार्य सम्पादन गर्दा संयमित र मर्यादित भई काम गर्न निर्देशन दिइएको छ।
'सामान नियन्त्रणमा लिँदा ढलाउने वा लडाउने काम गर्नु हुँदैन र ती कुरा हाम्रो निर्देशन पनि छैन,' उनले भने, 'तर काठमाडौं महानगर ठेला निषेधित क्षेत्र हो। त्यसमा हामी निर्मम छौं।'
कार्यसम्पादन गर्ने क्रममा कसैलाई नराम्रो बोली बोले, मर्यादित भएर काम नगरे, कानुनले वर्जित गरेका काम गर्ने नगर प्रहरीलाई समेत कारबाही गरिरहेको उनले बताए।
त्यस्तै, नगर प्रहरीले अभद्र व्यवहार गरेको देखे आफूलाई सम्पर्क गर्न पाण्डेले आग्रह गरेका छन्।
'यदी तपाईंहरूले नगर प्रहरीले अभद्र व्यवहार गरेको देखे मेरो नम्बर ९८५१०३८८४५ मा फोन गर्नुस्। अथवा महानगरको कल सेन्टरमा पनि जानकारी गराउन सक्नुहुन्छ,' उनले भने, 'त्यसरी जानकारी गराएमा के कारबाही गर्यौं भनेर हामी तपाईंहरूलाई जानकारी समेत गराउँछौं।'
यो पनिः
काठमाडौं महानगरसँग तर्सिएका मानिस
हेर्नुहोस् नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसँग गरिएको कुराकानीः