ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो दमकल पुनःसञ्चालनमा ल्याएको छ।
बिहीबार पत्रकार सम्मेलन गर्दै १०६ वर्ष पुरानो पुरातात्विक महत्वको दमकल पुनः सञ्चालनमा ल्याइएको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले जानकारी दिए।
उनका अनुसार करिब १०६ वर्षअघि डेनिस कम्पनीको दमकल बेलायती सरकारले तत्कालीन बाग्मती अञ्चलाधीश कार्यालयलाई उपहार स्वरूप दिएको थियो।
'२०४२ को सार्क सम्मेलनताकादेखि यो दमकल बिग्रिएर यतिकै बसेको रहेछ,' मेयर महर्जनले आफ्नो बाल्यकाल सम्झँदै सेतोपाटीसँग भने, '५ वर्षको हुँदादेखि मैले पुल्चोकमा यो दमकल देखेको याद छ।'
यसो त मेयर महर्जन यो दमकल सुनको टुक्रा भएको व्याख्या गर्छन्।
'यो एकदमै राम्रो दमकल हो,' उनले भने, 'यो अहिलेको बाहिर हेर्दा चिटिक्क देखिने कस्मेटिक दमकल जस्तो होइन। एकदमै राम्रो बलियो र पुरातात्विक हो। टायर पन्चर समेत नभएको एकदमै राम्रो काम गर्ने दमकल हो।'
'यो झन्डै लिलामी भइसकेको दमकल हो', उनले अगाडि थपे।
मेयर महर्जनका अनुसार उनको पहिलो कार्यकाल (२०७४ साल) तिर ललितपुरमा लिलामीका लागि सामान राखिएका थिए। त्यसमा ललितपुरका ख्याति प्राप्त डेनिस र डच दमकल पनि थियो। ती दमकल पनि राखिएको थाहा पाएपछि उनका साथीले लिलामी रोक्न सुझाएका थिए।
'बालापनको साथी किशोर महर्जनले पुरानो दमकलहरू समेत लिलामीमा देखेपछि यो एकदमै राम्रो दमकल हो। लिलामी नगर भनेपछि लिलामीको लागि रोकेको थिएँ,' त्यो क्षण सम्झँदै महर्जनले भने।
त्यसपछि छ वर्षअघि एक बिहानको कुरा हो, मेयर चिरीबाबु र उनका बालापनको साथी मोहनप्रसाद नकर्मीको पुल्चोकमा जम्काभेट भयो। मोहनप्रसादले त्यसबेला दमकल परिसरमा राखिएको डेनिस दमकल बनाउन चाहेको इच्छा मेयर साथीसमक्ष व्यक्त गरे।
‘एकदिन अचानक मेयर साथीलाई भेटेपछि यो राम्रो र चटक्क परेको दमकल गाडी छ बनाउनुपर्छ भनेर भनेँ,’ मोहनप्रसादले उत्साहित हुँदै सेतोपाटीसँग भने, ‘मेयरले जति खर्च लाग्छ म दिन्छु बनाऊ भनेपछि झनै उत्साहित हुँदै बनाउन आँट गरेको हुँ।’
पुल्चोकमै जन्मे हुर्केका ६७ वर्षीय मोहन छ वर्ष हुँदादेखि नै मेकानिक्सको काम गर्थे। उनलाई नयाँभन्दा पनि पुराना गाडीहरू बनाउन खुबै चाख लाग्छ। यसो त उनले यो दमकल बिग्रनुअघिदेखि नै बेलाबेलामा मर्मत सम्भार काम गर्ने गर्थे।
मोहनलाई पुरातात्विक र आफूले सानोमा देखेको दमकलसँग लगाव भएका कारण उनलाई यो दमकल बनाउनुपर्छ भन्ने सोच लागेर मेयर महर्जनलाई बताएका थिए।
‘यो दमकल बनाउन आफैंले समेत पहल गरेको थिएँ,’ उनले भने, ‘आफैंले नसकेपछि टोल सुधार समितिबाटै बनाउन समेत लागिपरेका थियौं तर सकेनौं।’
दमकलको टाइमिङ गेयर र टाइमिङ चेन बिग्रिएको थियो। मेयरले बनाउन अनुमति दिएपछि उनी पार्टपुर्जा खोज्न ६ वर्षदेखि निरन्तर लागे। विभिन्न देशहरूमा सम्पर्क गरे। डेनिस कम्पनी नै बन्द भइसकेको हुँदा पार्टपुर्जा भेट्नै मुश्किल भएको उनी बताउँछन्।
दमकलको पार्टपुर्जा खोज्न उनी स्वयं अमेरिका समेत पुगे। तर दमकलको पार्टपुर्जा भेटेनन्। अमेरिकामै भएका कान्छा छोरा पार्टपुर्जा खोज्ने काममा लागि परिरहेका थिए। सोही क्रममा करिब डेढ महिनाअघि अमेरिकामै दमकल बनाउन आवश्यक पर्ने पार्टपुर्जा भेटिएको मोहनले बताए।
'पार्टपुर्जा भेटेको केही समयपछि छोराले ती सामान नेपाल पठाइदियो,' उनले उत्साहित हुँदै भने, 'एक महिनाअघि सामान आएपछि दमकल बनाएका हौं। यसको टाइमिङ गेयर र टाइमिङ चेन मात्र फेर्नु पर्ने थियो। अरू पार्टले राम्ररी काम गरिरहेको छ। अब यो राम्ररी चल्छ।'
महानगरका अनुसार दमकलको पार्टपुर्जा किन्न ३०० डलर परेको छ।
पूरा भिडिओ हेर्नुहोस्ः