संघीय सरकारको राजस्व अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले घट्दा काठमाडौं महानगरपालिकाले भने आन्तरिक राजस्व बढाएको छ। स्रोत साधनको हिसाबले सबैभन्दा बलियो यो महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजस्व उठाएको हो।
आर्थिक वर्ष २०७८/०७९ मा जम्मा ४ अर्ब ४६ करोड रुपैयाँ आन्तरिक राजस्व उठाउन सफल भएको काठमाडौं महानगरले आर्थिक वर्ष २०७९/०८० मा ५ अर्ब ८२ करोड रुपैयाँ राजस्व उठाएको महानगरको राजश्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए।
उनका अनुसार आन्तरिक राजस्व बढे पनि प्रदेश तथा संघीय सरकारबाट बाँडफाँट र अनुदानबाट आउने राजस्वमा कमी आउँदा समग्र राजस्व घटेको छ। समग्र राजस्व गत वर्षको तुलनामा तीन प्रतिशत अर्थात् ३५ करोड रुपैयाँले कम उठेको हो।
आर्थिक वर्ष ०७८/०७९ मा समग्र राजस्व १० अर्ब ६० करोड बढी उठेकोमा आर्थिक वर्ष ०७९/०८० मा १० अर्ब २५ करोड उठेको महानगर राजस्व विभागले जनाएको छ।
स्थानीय तहले सम्पत्ति, भूमि (मालपोत), घरजग्गा, बहाल, व्यवसायलगायत कर र विभिन्न शुल्क शीर्षकमा राजश्व उठाउँछन्।
आर्थिक वर्ष ०७९/०८० मा महानगरले १० अर्ब ४२ करोड हाराहारी राजश्व उठाउने लक्ष्य राखेको थियो। आन्तरिक राजश्वमा वृद्धि भएता पनि बाँडफाँट र आन्तरिक अनुदानबाट पाउने राजस्वमा कमी हुँदा लक्ष्यअनुसार राजस्व उठाउन नसकिएको काफ्लेले बताए।
‘आन्तरिक आयतर्फ गत आर्थिक वर्ष ०७८/०७९ भन्दा १ अर्ब ३६ करोड बढी संकलन भएको छ,’ उनले भने, ‘जुन यस वर्षको लक्ष्यभन्दा ९७ करोड बढी हो।'
अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तःशुल्कबाट उठेको रकममध्ये ७० प्रतिशत केन्द्र सरकारलाई र १५/१५ प्रतिशत प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ।
बाँडफाँटतर्फ यो वर्ष गत वर्षभन्दा कम राजश्व संकलन भएको काफ्लेले बताए।
‘यसपालि बाँडफाँटबाट महानगरले एक अर्ब ८५ करोड रुपैयाँ पाएको छ,’ उनले भने, ‘यो गत वर्षको तुलनामा १ अर्ब ६८ करोड ९४ लाखले कम हो। अघिल्लो वर्ष झन्डै तीन अर्ब ५५ करोड हाराहारी पाएको थियो।’
आर्थिक वर्ष ०७८/०७९ बाँडफाँटतर्फ ३ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ राजश्व संकलन भएको थियो। ०७९/०८० मा ३ अर्ब ४१ करोड ३७ लाख रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेता पनि १ अर्ब ८५ करोड ९१ लाख मात्र संकलन गर्न सकिएको हो। जुन गत वर्षभन्दा १ अर्ब ६८ करोड ९४ लाख कम संकलन भएको हो।
०७९/०८० मा महानगरले अनुदान र बाँडफाँटबाट प्राप्त हुने करबाहेक आन्तरिक स्रोतबाट मात्रै करिब पाँच अर्ब ८२ करोड ५१ लाख रुपैयाँ उठाएको छ। आर्थिक वर्ष ०७८/०७९ मा चार अर्ब ८५ करोड रुपैयाँ हाराहारी मात्र संकलन भएको थियो।
प्रमुख काफ्लेका अनुसार आन्तरिक राजस्वमा सबभन्दा धेरै योगदान घरबहाल करको छ।
'घरबहालपछि सम्पत्ति कर, नक्सापास दस्तुर र व्यवसाय दर्ता दस्तुर लगायतबाट धेरै राजस्व उठेको छ,' उनले भने।
दोस्रोमा धेरै कर उठ्ने सम्पत्ति करबाट हो। सम्पत्ति करबाट र यसपालि १ अर्ब ८० करोड २५ लाख रुपैयाँ उठेको छ। यो गत वर्षभन्दा २० करोड ३८ लाखभन्दा धेरैले हो।
त्यस्तै नक्सापास दस्तुरबाट पनि गत वर्षभन्दा साढे ३३ करोड रुपैयाँभन्दा धेरै राजस्व उठेको छ।
'यो वर्ष नक्सापास दस्तुरबाट १० करोड ११ लाख रुपैयाँभन्दा बढी राजस्व उठेको छ,' काफ्लेले भने।
करको दायरामा आउन आग्रह गर्दै निरन्तर विभिन्न सञ्चारमाध्यमबाट सूचना प्रभाव गरेका कारण धेरैजना करको दायरामा आएको काफ्लेको भनाइ छ।
'धेरैजना करको दायरामा आउनुभएको भएर आन्तरिक राजस्व उदेश्यभन्दा धेरै उठाउन सफल भएका हौं,' उनले भने,'यसले आन्तरिक राजस्व बढाउन भूमिका खेलेको छ।'
यस्तै महानगरले अनलाइन प्रणालीबाट पनि कर तिर्न पाउने व्यवस्था गरेको छ। तर अनलाइन प्रणालीबाट कर तिर्नेको संख्या भने एकदमै न्यून रहेको छ। आइएमइ पे, इसेवा र कनेक्ट आइपिएसलगायत पेमेन्ट गेटवेबाट महानगरले झन्डै साढे १० लाख राजस्व संकलन गरेको छ।
यस्तै घरबहाल व्यवस्था निर्देशिका-२०७९ जारी भएपछि करसंख्या पनि बढेको उनले बताए। गत वर्ष बहाल कर तिर्ने करिब साढे ५१ हजार बढी थिए। उक्त संख्या यो वर्ष झन्डै १ हजारले मात्र बढेका छन्।
यस्तै यस वर्ष सम्पत्ति कर तिर्नेको संख्या घटेको काफ्लेले बताए। गत वर्ष सम्पत्ति कर तिर्ने ७४ हजार ६ जना थिए भने यसपालि घटेर ७२ हजार ७१७ जना पुगेका छन्।
व्यवसाय करदाताको संख्या भने बढेको छ। गत वर्ष ४४ हजार ७८३ व्यवसाय करदाता थिए। अहिले उक्त संख्या बढेर ४७ हजार ९८ पुगेको छ।
गत वर्ष करदाताको संख्या एक लाख १८ हजार २९ थिए। यो वर्ष कर तिर्नेको संख्या ७ सयले बढेको छ।