के तपाईं चक्रपथमा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ? होसियार रहनुहोला किनभने अहिले महानगरीय ट्राफिक प्रहरी कार्यालयले त्यसरी सवारी साधन हाँक्नेविरूद्ध २४ सै घण्टा निगरानी गरिरहेको हुन्छ।
चक्रपथका विभिन्न ठाउँमा फोटो खिचेजस्तो गरी खिचिक खिचिक गरेको त सवारी चलाउँदा देख्नु नै भएको होला, तपाईंहरूमध्ये धेरैलाई थाहा नहुन सक्छ, उक्त वस्तु स्पिड डिटेक्टर क्यामेरा (एनपिआर) हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही साउनको १५ गतेदेखि एनपिआर क्यामेरा अर्थात् अटोमेटिक नम्बर प्लेट रेकग्नाइजर विथ स्पिड डिटेक्सन क्यामेराबाट कारबाही गर्न सुरू गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
उनका अनुसार तीव्र गतिबाट हुने दुर्घटना कम गर्न यी क्यामरा जडान गरिएका हुन्।
‘रिङरोडको अधिकतम गति सीमा ५० किलोमिटर परआवर तोकिएको छ,’ उनले भने, ‘यदि त्योभन्दा बढी गतिमा चलेको छ भने उक्त सवारी साधनलाई यस क्यामेराले डिटेक्ट गर्छ।’
उनका अनुसार तीव्र गतिको कारण धेरै दुर्घटना हुने क्षेत्र अर्थात् तीन ब्ल्याक स्पटमा यी क्यामेराहरू जडान गरिएको छ।
‘ब्ल्याक स्पट पहिचान गरेरे हाल रिङरोडको कोटेश्वर भाटभटेनी नजिक, थसिखेल र सानेपा हाइटमा जडान गरिएको छ,’ उनले भने, ‘प्रत्येक ठाउँमा आउने र जाने गरी दुइटा क्यामेरा जडान गरी जम्मा छ वटा क्यामेरा जडान गरिएको छ।’
भट्टराईका अनुसार कुनै पनि सडक खण्डमा कति गतिमा सवारी साधन चलाउन पाइन्छ भनेर तोकिएको हुन्छ।
अहिले रिङरोडमा मात्रै जडान भएको हुँदा ५० किलोमिटर पर आवरभन्दा बढी गतिमा चल्ने सवारी साधनलाई यसले डिटेक्ट गरिरहेको उनले बताए।
त्यसो भए यसले कसरी काम गर्छ त?
भट्टराईका अनुसार तोकिएकोभन्दा बढी गतिमा चलाउने सवारी साधनको नम्बर प्लेट यस क्यामेराले फोटो र सानो भिडिओ खिचेर ट्राफिक कन्ट्रोल रूममा पठाउँछ। कन्ट्रोल रूममा रहेका प्रहरीहरूले ती सबै कुरा हेर्छन्। कुन सवारी साधनले ट्राफिक भाइलेसन गरेको हो टिपोट गर्छ र उक्त सवारी साधन कुन दिशातिर गएको भन्ने कुरा कन्ट्रोल रूममा रहेका ट्राफिक प्रहरीले फिल्डमा भएकालाई खबर गर्छन्। त्यसपछि फिल्डमा रहेको प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाउने भट्टराई बताउँछन्।
‘उक्त सवारी साधनलाई कारबाही गर्ने क्रममा प्रहरीले तपाईंले यति गतिमा सवारी चलाउनुभयो, जुन नियम विपरीत हो भनेर तत्काल चालकलाई भनेर कारबाही गर्छ’, उनले भने, ‘तर चालक फेला नपरेको खण्डमा भने हामीले यातायात व्यवस्थापन कार्यालयमा सम्पर्क गरी उक्त नम्बर भएको सवारी धनी खोज्छौं। खोजेपछि सवारी धनीलाई ट्राफिक कार्यालयमा झिकाएर पनि कारबाहीको प्रक्रिया अगाडि बढाउछौं।’
एउटाको सवारी साधन अर्कोले चलाएको छ र उक्त सवारी साधनले नियम उल्लंघन गरेर चालक फेला नपरेपछि सवारी धनीलाई ट्राफिक कार्यालयमै झिकाएर भए पनि कारबाही गर्ने गरेको भट्टराई बताउँछन्।
किनकी सवारी साधनको जिम्मेवार स्वयं सवारी धनी हुने गर्दा त्यसो गर्ने गरेको उनको भनाइ छ।
भट्टराईका अनुसार अहिलेको क्यामेराका डाटा तीन महिनासम्म स्टोरेज हुन्छ। र त्यस्ता चालकलाई तीन महिनाभित्र कारबाहीको दायराभित्र ल्याइसक्ने उनको जिकिर छ।
भट्टराईका अनुसार स्पिड डिटेक्टर अहिले २४ सै घण्टा सञ्चालनमा ल्याइसकेको छैन।
‘अहिले स्याम्पलिङ मात्र गरिएको हो’, उनले भने, ‘त्यही भएर मेन लेनमा मात्र राखिएको छ। यो सर्भिस लेनमा सञ्चालन गरिएको छैन। त्यसैले दैनिक रूपमा ५० जना जति कारबाहीमा पर्ने गर्नुभएको छ।’
यस्तै, हाई स्पिडमा चलाएको कारण लिडरागत र स्पिड डिटेक्टर दुवैबाट भने दैनिक ४०० जना कारबाहीमा पर्ने गर्ने गरेको उनले बताए।
त्यसरी नियम उल्लंघन गर्नेलाई सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ अनुसार कारबाही गर्ने गरिएको छ।
पहिलोपटक ट्राफिक नियम उल्लंघन गर्नेलाई पाँच सय, दोस्रोपटक एक हजार र तेस्रो पटक वा सोभन्दा बढीलाई १५ सयमाथि जरिवाना हुने व्यवस्था रहेको उनले बताए।
भट्टराईका अनुसार अहिले सिस्टमबाट नै डिटेक्ट गर्ने भए पनि म्यानुअल्ली कारबाही गर्नुपर्ने बाध्यता छ।
‘बाहिरी देशहरूमा सवारी दर्ता, लाइसेन्स र व्यक्तिको बैंक खाताका डाटाबेस इन्टर लिंक हुन्छ,’ उनले भने, ‘कुनै नियम उल्लंघन गरे सिधै उक्त व्यक्तिलाई सूचना गएर अटोमेटिङ इ-बिलिङ गरी सवारी धनीलाई पठाउने सिस्टम छ।’
तर नेपालमा त्यस्तो व्यवस्था नहुँदा कारबाही म्यानुअल्ली गर्नुपर्ने स्थिति रहेको उनको भनाइ छ।
यस्तै, उक्त सिस्टम अनुसार कारबाही गर्न पहल समेत गरिरहेको उनले बताए।